भियनामा आयोजित पर्यटन मेलामा नेपालको उपस्थिति

भियनामा आयोजित पर्यटन मेलामा नेपालको उपस्थिति


  • Sagar Subedi, Austria

अस्ट्रियाको राजधानी भियनामा वार्षिक रुपमा आयोजना गरिने पर्यटन मेलामा नेपालले प्रथम पटक आफ्नो सहभागिता जनाएको छ । आगामी गर्मी महिना लागेसँगै शुरु हुने अस्ट्रियन होलिडेलाई मध्यनजर गर्दै आयोजना गरिने पर्यटन मेला, भियनामा प्रवर्द्धन गरिने अन्य मेलाहरु मध्ये आकर्षक, जनचासो तथा धेरै आगन्तुकलाई आकर्षित बनाउने मेला तथा संख्याको हिसाबले पनि यो पर्यटन प्रवर्द्धन मेला लगभग पहिलो नम्बरमै परेको मेला घुमेका आगन्तुकहरुको आकर्षणले देखाउँछ । त्यसमा पनि पर्यटन मेलासँगै लाग्ने गिनुस् (खानपान, परिकार) मेला तथा वार्षिक रुपमा आयोजना गरिने गाडीहरुको प्रदर्शनी ‘भियना अटो सो’को कारण यो मेलामा आगन्तुकहरु अरु समयमा आयोजना गरिने तथा ब्यापारिक रुपमा प्रवर्द्धन गरिने मेलाभन्दा ज्यादा ब्यक्तिबाट भ्रमण गरिने प्रदर्शनीको रुपमा परिचित छ ।

पर्यटन मेलामा नेपालको सहभागिता चाहिँ नेपाली राजदुतावास भियनाको सहयोगमा नेपाल टुरिजम बोर्डले गरेको थियो भन्ने कुरा नेपाली राजदुतावासका सेकेण्ड सेक्रेटरी बलिरामप्रसाद धामीले जानकारी दिए भने पंक्तिकार स्वयमले पनि प्रदर्शनीमा आगन्तुकको अत्याधिक चासोमा नेपाल परेको प्रस्टै अवलोकन गऱ्यो ।

नेपाल टुरिजम बोर्डले उपलब्ध गराएका उच्च शिखर सगरमाथालगायतका पम्प्लेट तस्बिर लगायतका नेपाल चिनाउने सामग्री प्रदर्शनीमा आएका आगन्तुकका लागि नौला तथा जिज्ञासाजनक देखिन्थे ।

‘भियना फेराइन मेसे’ नाम दिइएको यो प्रदर्शनी १० देखि १३ जनवरीसम्म चल्ने तथा आयोजक ‘रिड मेस्से एक्जिभीसन’ले दिएको छ । बताइएअनुसार यसपटक विश्वभरका ८० भन्दा बढी राष्ट्रबाट भाग लिइएको तर यो गन्तीमा अस्ट्रियामा अवस्थित ट्राभल एजेन्सी तथा युरोपमा बहुप्रतिष्ठित ट्राभल एजेन्सी एवम् विभिन्न एयरलाइन्सका स्टललाई समावेश गरिएको थिएन । यो प्रदर्शनीमा लाखौंको संख्यामा आगन्तुकहरु आएको आयोजकले प्रेस नोट जारी गरी जनाएको छ ।

नेपाल पर्यटन बोर्डले राखेको स्टलमा नेपाल प्रवर्द्धनका निमित्त सहयोगी भूमिकामा स्वयम नेपाली राजदुत प्रकाश कुमार सुवेदी तथा शनिबार र आइतवार राजदुतावास बिदाको फाइदा लिँदै राजदुतावासका कर्मचारी पनि नेपाल चिनाउन तथा भ्रमणको निम्तो दिन खटिएका थिए । नेपाल पर्यटन बोर्डबाट आएका कर्मचारीहरु पनि नेपालप्रति जिज्ञासा राख्नेहरुलाई जानकारी दिइरहेका देखिन्थे ।

प्रथम पटक नेपाल सहभागी भएको मेलामा जर्मनभाषी देश अस्ट्रियामा बसोबास गरिरहेका गैरआवासीय नेपालीहरुको पनि सहयोग लिइएको भने अझ उत्तम हुन्थ्यो नि भनी राखिएको जिज्ञासाको जवाफमा दुतावासका द्वित्तीय सचिव धामीले दूतावासले सहयोगी भूमिका मात्र निभाएको उल्लेख गर्दै नयाँ अनुभव हुनाले कमी कमजोरी रहेको र आगामी दिनमा आयोजना हुने यस्ता कार्यक्रममा परिस्कृत रुपमा प्रस्तुत हुने बताए ।

केही कमजोरीका बाबजुद दूतावासका कर्मचारी तथा जर्मन बोल्न जान्ने आफ्ना नानी बाबुहरुलाई पनि प्रदर्शनी स्टलमा राखेर आगन्तुकका जिज्ञासा मेटाइदिने प्रयास गरिएको जानकारी पनि उनले दिए ।

नेपाल पर्यटन बोर्डले विश्वका नेपाली हरुको जनघनत्व रहेका मुलुकहरुमा नेपाली पर्यटन प्रवर्द्धनका निमित्त पर्यटन दूतहरु नियुक्ति गर्ने प्रचलन रहिआएको छ । तर यहाँ आयोजना गरिएको प्रदर्शनीमा अस्ट्रियाका लागि नेपाल पर्यटन बोर्डबाट नियुक्त भएका दुत (रेप्रिजेन्टिभ) साल्ज्बुर्ग निवासी बालाराम सुनार चाहिँ यो प्रदर्शनीको विषयमा बेखबर जस्तै देखिए । हुन त यो भन्दा पहिला पनि अस्ट्रियाको संघीय राज्य टिरोलमा लामो समयदेखि बसोबास गरिरहेका गैरआवासीय नपाली तथा गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समुन्वय परिषदका पूर्व प्रथम सदस्य (आइसीसी)का दीपेन्द्र हिमालय कार्कीको पहल तथा संयोजकत्वमा ‘अल्पिन मेसे टिरोल’मा दुईवटा स्टलहरु राखिएका थिए । एक स्टल नेपाल पर्यटन बोर्डको थियो भने अर्को स्वयम कार्कीको संयोजकत्वमा एलसीसी टिरोलका गैरआवासीय नेपालीहरुको सहयोगमा नेपालको पर्यटन प्रवर्द्धन तथा सानो नै सही सांस्कृतिक नाच अनि निःशुल्क नेपाली परिकार समेतको स्टल राखिएको समयमा समेत बालाराम सुनारलाई जानकारी नभएको प्रस्ट भयो । यस विषयमा हाल संघीय राज्य साल्ज्बुर्गमा ब्यवसाय गर्ने सुनारलाई प्रश्न गर्दा उनले पनि आफूलाई खबर नभएकोमा आश्चर्य व्यक्त गरे । आफ्नो तर्फबाट गर्न सकिने काम गर्दै आइरहेको उल्लेख गर्दै उनले यदि खबर गरिएको भए आफुले सकेको ठाउँमा सहयोग गर्ने र चासो राख्दाराख्दै पनि जानकारी नदिइएकोमा दुःख प्रकट गरे ।

नेपाल नेपाली भूगोल, नेपालका मनमोहक दृश्य तथा नेपालमा पर्यटकलाई अझ लोभ्याउन गरिने यस्ता किसिमका प्रबर्द्धनात्मक कार्यक्रम भोलीका दिनमा गैरआवासीय नेपालीसँगको हातेमालोमा गर्ने हो भने एकातिर नेपाल सरकारको पैसा जोगिन्छ भने अर्कोतर्फ नेपालको पर्यटन प्रवर्द्धनको निमित्त ठुलो फट्को सावित हुनेछ ।