बन्द भएको १३ दिनपछि तल्लो लिखुको निर्माण सुचारु

बन्द भएको १३ दिनपछि तल्लो लिखुको निर्माण सुचारु


रामेपाछको लिखु तामाकोसी गाउँपालिकाको अवरोधका कारण अवरुद्ध २८.१ मेगावाटको तल्लो लिखु जलविद्युत आयोजनाको निर्माण सुचारु भएको छ । गत पुस १७ गतेबाट रोकिएको आयोजनाको निर्माण १३ दिनपछि आइतबारबाट सुचारु भएको हो ।

आयोजना प्रभावित स्थानीय वडाका जनप्रतिनिधि र स्थानीय जनताबीच ४ बुँदे सहमितपछि आयोजनाको निर्माण पूर्णरूपमा सुचारु भएको स्वेतगंगा हाइड्रो पावर कम्पनीका संचालक सुवर्णदास श्रेष्ठले बताए । उनका अनुसार स्थानीय जनताको पहलमा आयोजनाको निर्माणले पुन गति लिएको छ ।

यसअघि गाउँपालिकाका अध्यक्ष गोविन्द खड्काको निर्देशनमा गत पुस १७ गतेदेखि आयोजनाको निर्माण ठप्प पारिएको थियो । अध्यक्ष खड्काले प्रवर्द्धक कम्पनी समक्ष गाउँपालिकाका लागि अस्पताल निर्माण, निशुल्क सेयर र विद्युतको माग राखेका थिए । गाउँपालिकाको माग बमोजिमका सर्त पूरा गर्न नसकिने बताएपछि आयोजनाको काम रोकिएको श्रेष्ठले बताए । ‘पुस १६ गते आयोजनाको क्रसर रोक्नु भन्ने निर्देशन आयो,’ उनले भने,‘ १७ र १८ गते आयोजनाको संरचना निर्माणको काम रोक्न भनियो र हामीले काम रोक्यौं ।’ आयोजना अघि बढाउन स्थानीय जनताको पूर्ण साथ र समर्थन भए पनि स्थानीय निकायबाट अवरोध हुनु दुखःद भएको उनले गुनासो गरे ।

सरकासँग अनुमति लिएर निर्माण अघि बढाइएका आयोजनामा अवरोध हुनुले सरकारको १० वर्षमा १५ हजारको सीमा पूरा हुन नसक्ने पनि उनले बताए । विद्यमान कानुनी प्रावधान अनुसार वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनमा उल्लेखित स्थानीय पूर्वाधार विकासमा छुट्याइएको रकम कम्पनीले खर्च गर्ने उनको भनाइ छ । ‘हामीले स्थानीय पूर्वाधार विकासको क्षेत्रमा खर्च गर्ने रकमको विवरण सरोकारवालालाई पारदर्शीरुपमा बुझाएका छौं,’ उनले भने, ‘२ गाउँपालिकाको ६ वडाका प्रतिनिधिको प्रस्ताव गर्ने पूर्वाधार विकासमा रकम खर्च हुनेछ । ’

स्थानीय पूर्वाधार विकासका आयोजनाबारे जानकारी दिन कम्पनीले आगामी माघ १२ गते सर्वसाधारणको भेला आयोजना गर्ने भएको छ । भेलामा प्रभावित वडाका प्रतिनिधिले तयार पारेका पूर्वाधार विकासको योजना सार्वजनिक गरिने भएको छ । आयोजना निर्माण गर्न प्रयोग हुने ढुंगा, गिटी, बालुवाको राजश्व गाउँपालिकामा बुझाउने दस्तुर तोक्न आग्रह गरे पनि अहिलेसम्म कार्यान्वयन नभएको कम्पनीले जनाएको छ । गाउँपालिकामा गत असार २६ गते दस्तुर रोक्न कम्पनीले आवेदन दिएको थियो । आयोजना रामेछाप र ओखलढुंगाको सीमामा पर्दछ । रामेछापको लिखु तामाकोसी र ओखलढुंगाको लिखु गाउँपालिकाका ६ वडा आयोजनाबाट प्रभावित छन् । चालु वर्षबाट निर्माण सुरु भएको आयोजना २०७८ मा सम्पन्न गरेर विद्युत उत्पादन गर्ने लक्ष्य छ ।