माघे संक्रान्ति पनि महंगो बन्दै, व्यापारीको मनपरी मूल्य

माघे संक्रान्ति पनि महंगो बन्दै, व्यापारीको मनपरी मूल्य


माघे संंक्रान्ति नजिकिएसँगै बजारमा चहलपहल पनि शुरु हुन थालेको छ । संक्रान्तिका लागि किनमेल गर्न आउने सर्वसाधरणको काठमाडौंका विभिन्न स्थानमा भीड नै लागेको छ । तर, संक्रान्तिकै मौका छोपेर व्यापारिले अधिकांश सामग्रीको मूल्य बढाएपछि उपभोक्ता चर्को मूल्यमा सामग्री खरिद गर्न बाध्य छन् । तर नियामक निकायले भने प्रभावकारी बजार अनुगमनमा कुनै चासो देखाएको छैन् ।

प्रतिकेजी ४० रुपैयाँ परेको तरुल एकसय रुपैयाँसम्म विक्रि
अघिल्लो वर्षको तुलनामा बजार भाउ केही बढेपनि चाडपर्वमा भने मूल्य आकाशिने गरेको छ । संक्रान्तिलाई लक्षित गरी किसानको बारीबाट प्रतिकेजी ४० रुपैयाँ परेको तरुल कालिमाटी बजारसम्म आइपुग्दा प्रतिकेजी एकसय रुपैयाँसम्म विक्रि गरिरहेको छ । यस्तै, कालिमाटी थोकबजारमा प्रति ढक एकसय ५० रुपैयाँसम्म विक्रि भइरहेको तरुल खुद्रा बजारमा भने प्रति ढक चार सय रुपैयाँमा विक्री भइरहेको छ । जुन कालिमाटी बजार भन्दा चौगुणाले बढी हो । त्यस्तै, कालिमाटीको बजारमा पसल अनुसार मुल्य फरक फरक पाइएको छ । कालीमाटी तरकारी थोकबजारबाट ३० रुपैयाँ केजीमा खरिद गरि ल्याइएको तरुल असन बजारमा प्रतिकेजी २ सय रुपैयाँसम्म विक्रि भइरहेको उपभोक्ताहरुको गुनासो छ ।

घ्यु र चाकुको मुल्य पनि उस्तै
त्यस्तै घ्यु, चाकुको मुल्यमा पनि गत वर्षको तुलनामा बढेको छ । गत वर्षभन्दा बजारमा चाकु प्रतिगोटा ५० रुपैयाँले वृद्धि भएको छ । संक्रान्तिका लागि दैनिक १० हजार रुपैयाँ बराबरको चाकु विक्रि हुने गरेको छ । थोकबजार र खुद्रा बजारमा सामग्रीमा नै यति धेरै अन्तर देखिंदा पनि सरकारको अनुगमन प्रभावकारी ढंगले नहुँदा उपभोक्ता मारमा पर्दै आएका छन् । चाडपर्व पनि मनाउनुपर्ने र महंगोमा सामग्री पनि खरिद गर्नुपर्ने हुँदा उपभोक्ता सरकार र अनुगमन निकायसँग आक्रोशित छन् ।

नियामक निकाय भने रमिते
सरकारले हस्तक्षेप गरे आन्दोलनमा उत्रने कालिमाटी व्यापारी चाडपर्वकै समयमा मूल्य बढाउने र व्यवसाय नभइ कमाउ धन्दा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकारले प्रभावकारी अनुगमन गर्न जरुरी छ । बजारमा व्यवसायीले खुलेआम लुट मच्चाएपनि नियामक निकाय भने रमिते बनेको छ ।