‘समृद्धि र आर्थिक विकासका लागि दलहरु मिल्नुको विकल्प छैन’

‘समृद्धि र आर्थिक विकासका लागि दलहरु मिल्नुको विकल्प छैन’


विभिन्न राजनीतिक दलका नेताहरुले संविधानको प्रभावकारी कार्यान्वयनसँगै सबै राजनीतिक दल मिलेर देशलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी सङ्घ लिमिटेडको छैटौं वार्षिक साधारण सभाको अवसरमा आयोजित कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले जनताको एक मात्र चाहना समृद्धि र आर्थिक विकासलाई अगाडि बढाउन दलहरु मिल्नुको विकल्प छैन भने । उनले देशको आर्थिक समृद्धिका लागि सहकारी क्षेत्रले पु¥याएको योगदानको चर्चा गर्दै त्यसलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

सांसद एवं राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव वडाल र पूर्वमन्त्री एवं प्रदेश नं ३ प्रदेशसभा सदस्य राजेन्द्रप्रसाद पाण्डेले मुलुकको आर्थिक विकासमा सहकारीले महत्वपूर्ण योगदान पु¥याएको बताए । राष्ट्रिय सहकारी बैँक लिमिटेडका अध्यक्ष केबी उप्रेती, राष्ट्रिय योजना आयोग तथा व्यवस्थापनविज्ञ जनक शाह, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनाली, अन्तराष्ट्रिय सहकारी महासङ्घका उपाध्यक्ष ओमदेवी मल्ल, सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेललगायतले सरकारले सहकारीलाई अझै व्यवस्थित गर्नुपर्नेमा जोड दिए ।

सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले देशभर सञ्चालित बहुउद्देश्यीय सहकारी सङ्घसंस्थाले रु दुई खर्बभन्दा बढीको निक्षेप परिचालन गरी सोही बराबरको कर्जा लगानी गरेको जानकारी दिए । उनले रु २५ अर्बभन्दा बढीको पूँजी परिचालन भएको बहुउद्देश्यीय सहकारी सङ्घसंस्थाको दीर्घकालीन विकास गर्न संस्थागत सुशासन अपरिहार्य भएको बताए ।

तीन वर्षअघि स्थापित नेपाल बहुउद्देश्यीय सहकारी सङ्घअन्तर्गत १२ सङ्घ र २४७ संस्था आबद्ध छन् । सङ्घअन्तर्गत ३६ जिल्लामा जिल्ला कार्यालय रहेका छन् । सङ्घले २०७५ साल भदौ १ गते काठमाडौँको न्यूरोडमा सदस्य सुविधा काउण्टर सञ्चालन गरेको छ ।