मधेशी मन्त्रीबाट फेरि कुटिए कर्मचारी

मधेशी मन्त्रीबाट फेरि कुटिए कर्मचारी


मधेशबाट प्रतिनिधित्व गर्दै मन्त्री बनेका केही मधेसी मूलका मन्त्री कर्मचारीलाई पिट्ने र बाथरुममा थुन्ने कार्यले चर्चामा आएका थिए । यसमा मातृका यादव र करिमा वेगमले रचेको इतिहासलाई आज प्रदेश २ का आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले उद्योग वन, पर्यटन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई आफ्नै कार्यकक्षमा बोलाएर कुटपिट गरी निरन्तरता दिएका छन् ।

सचिव झालाई मन्त्री यादवले आइतबार आफ्नै कार्यकक्षमा बोलाई कुटपिट गरेका हुन् । संघीय सरकारले सशर्त अनुदानअन्तर्गतको गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो एनजीओलाई छनोट नगरेको भन्दै मन्त्री यादवले आफूमाथि कुटपिट गरेको पीडित सचिव झाले भनाइ छ । सो कार्यक्रमका लागि मन्त्रालयमा १ सय ९३ वटा गैरसरकारी संस्थाले आशयपत्र बुझाएकोमा ४० वटा संस्था छनोट भएका थिए । तर, ती ४० मा मन्त्रीको संस्था भने छनोटमा परेको थिएन ।

मन्त्री यादवको कुटपिटबाट सचिव झाको अनुहार सुन्निएको बताइएको छ । झालाई मन्त्रीले कुटपिट गर्दा सभामुख सरोजकुमार यादव मन्त्रीकै कार्यकक्षमा रहेका थिए ।

मन्त्री यादवले सचिव झालाई कुटपिट गरेपछि उल्टै प्रहरीलाई फोन गरेर आफूमाथि दुव्र्यवहार गरेको भन्दै पक्राउ गर्न निर्देशन दिएका छन् । तर, मन्त्री यादवले सचिवलाई कुटपिट गरेको अस्वीकार गरेका छन् ।

सचिव झा कुटिएपछि कार्यालयका कर्मचारीले मन्त्रीको विरोधमा धर्ना दिएका छन् । कर्मचारीको धर्नाका कारण कुटपिट गर्ने मन्त्री कार्यकक्षमै थुनिएपछि सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।