राष्ट्रिय महिला भलिबलमा उपाधि एपीएफलाई

राष्ट्रिय महिला भलिबलमा उपाधि एपीएफलाई


हो वान्जी न्यु डायमण्ड कप दोस्रो खुला राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि विभागीय टिम एपीएफले जितेको छ । पुस २८ गते शनिबार भएको फाइनल खेलमा एपीएफले साविक विजेता न्यु डायमण्डलाई ३–१ को सेटमा हराउँदै उपाधि चुमेको हो । च्याम्पियन भएको एपीएफले ३ लाख १ हजार प्राप्त गऱ्यो । उपविजेता न्यु डायमण्डले २ लाख १ हजारमा चित्त बुझाउनुप¥यो ।

एपीएफले पहिलो सेट १६–२५ ले गुमाए पनि खेलमा फर्कंदै लगातार तीन सेट २५–२१, २५–२३ र २५–१८ ले आफ्नो पक्षमा पारेको थियो । फाइनलमा न्यु डायमण्डकी प्रतिभा मालीले स्पाइकमा ३६, ब्लकमा ३ र सर्भरबाट ३ अंक जोडेकी थिइन् । त्यस्तै, एपीएफकी सरस्वती चौधरीले स्पाइकमा २८, ब्लकमा १ र सर्भरबाट २ अंक जोडेकी थिइन् ।

प्रतियोगिताको विधागततर्फको पुरस्कारमा न्यु डायमण्डको बर्चस्व रहन गयो । विजेता टिमकी सरस्वती चौधरी उत्कृष्ट खेलाडीको उपाधि जितिन् । उनले १५ हजार नगद प्राप्त गरिन् । न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट स्पाइकर घोषित भइन् । न्यु डायमण्डकी सलिना श्रेष्ठ उत्कृष्ट डिफेन्डर र ललितानाथ उत्कृष्ट क्विकर घोषित भइन् । न्यु डायमण्डकै अनिषा सुनुवार उत्कृष्ट सेटर र झरना श्रेष्ठ उत्कृष्ट सर्भर घोषित भए । एपीएफकी उषा विष्ट उत्कृष्ट ब्लकर चुनिँदा ज्ञानेन्द्र्र विष्टले उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पारे । विधागततर्फको उत्कृष्टले जनही ५–५ हजार नगद प्राप्त गरे ।

लिगकम नकआउटका आधारमा सञ्चालन गरिएको प्रतियोगितामा ८ टोली सहभागी थिए । पोखराको टप्स माविलाई पराजित गर्दै अर्को विभागीय टिम पुलिसले तेस्रो स्थान हात पार्न सफल भयो । पुलिसले टप्सलाई २५–११, २५–२१ र २५–१४ को सोझो सेटमा हरायो । तेस्रो स्थान हात पारेको पुलिसले १ लाख १ हजार तथा टप्सले ५१ हजार हात पा¥यो ।

फाइनल खेल अन्तर्राष्ट्रिय रेफ्रीद्वय गौतमप्रसाद लासिवा र चन्द्र्रबदना राईले सञ्चालन गरेका थिए । सुकेधारास्थित हो वान्जी बौद्ध समाज नेपालको मुख्य प्रायोजन सञ्चालन भएको प्रतियोगिताको विजेताले खेलाडी तथा टिमलाई सभामुख कृष्णबहादुर महरा, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, मदन भण्डारी स्पोर्टस् एकेडेमीका अध्यक्ष विनोद श्रेष्ठलगायतले पुरस्कृत गरेका थिए । विधागततर्फको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने नगद पुरस्कारको प्रायोजन सेन्चुरी कमर्सियल बैंकले गरेको छ ।