क्यास्ट्रोद्वारा अमेरिकी राष्ट्रपतिमा दाबी

क्यास्ट्रोद्वारा अमेरिकी राष्ट्रपतिमा दाबी


संयुक्त राज्य अमेरिकाको सन् २०२० मा हुने राष्ट्रपतीय निर्वाचनका लागि पूर्वराष्ट्रपति बाराक ओबामाले टेक्सास राज्यको सान एन्टोनियो नगरका पूर्वप्रमुख जुलियन क्यास्ट्रोलाई समर्थन गरेका छन् ।

आफ्नो मन्त्रिपरिषदका सदस्यसमेत रहेका क्यास्ट्रो अमेरिकाको पहिलो स्पेनभाषी राष्ट्रपतिसमेत हुन सक्ने अनुमान गरिएको छ । अमेरिकामा सन् २०२० मा हुने राष्ट्रपतिमा उम्मेदवार हुन चाहनेहरूले नाम घोषणा गर्ने क्रम शुरु भएको छ । यसक्रममा डमोक्रेटिक पार्टीबाट दर्जनौँ नेताले उम्मेदवारी घोषणा गरिसकेका छन् ।

आप्रवासन र सीमा सुरक्षाका विषयमा आक्रामक छलफलहरू भइरहेका बेला देशको विविधतालाई ख्याल गर्नुपर्ने क्यास्ट्रो पक्षधरको भनाइ छ । सान एन्टोनियोको ऐतिहासिक ग्वाडालुप प्लाजामा ठूलो भिडका बीचमा ४४ वर्षीय क्यास्ट्रोले भने, ‘म अमेरिकाको राष्ट्रपतिका लागि उम्मेदवार बन्न चाहन्छु ।’

मेक्सिकोबाट अमेरिका आएको परिवारका सदस्य क्यास्ट्रोले आफ्नो मन्तव्यमा आप्रवासीहरूको परम्परा तथा मर्मबारे धाराप्रवाह बोलेका थिए । क्यास्ट्रोलाई डेमोक्रेटिक पार्टीमा उदाउँदो ताराका रूपमा चिनिन्छ । उनी ओबामा मन्त्रिपरिषदको सबैभन्दा कान्छो सदस्य रहेका थिए ।

आगामी निर्वाचनमा राष्ट्रपतिको अर्का उम्मेदवार वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प नै हुने देखिएकाले क्यास्ट्रोले ट्रम्पलाई चुनौती दिन सजिलो हुने दाबी गरिएको छ ।

ट्रम्पले मेक्सिकोसँगको सिमानामा पर्खाल लगाउने मुख्य एजेण्डा बनाएकाले पनि मेक्सिकोबाट आएका क्यास्ट्रो उनका लागि गतिलो प्रतिस्पर्धी हुने ठानिएको समाचारमा उल्लेख छ ।

तर, डेमोक्रेटिक पार्टीको ‘प्राइमरी’मा पूर्वउपराष्ट्रपति जो बाइडेन, सिनेटर एलिजाबेथ वारेन, बर्नी स्यान्डर्स तथा कमला ह्यारिस र अर्बपति व्यापारी माइकल ब्लुमबर्ग पनि दौडमा छन् । हवाई राज्यकी तुल्सी गब्बार्डले पनि चुनावी प्रतिस्पर्धामा भाग लिने बताइसकेकी छिन् ।