चीनमा कोइला खानीमा दुर्घटनामा २१ को मृत्यु

चीनमा कोइला खानीमा दुर्घटनामा २१ को मृत्यु


चीनको एउटा कोइलाखानीमा भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या २१ जना पुगेको छ । अधिकारीहरूले आइतबार दिएको जानकारीअनुसार चीनको उत्तरी साङ्सी प्रान्तको एक कोइला खानीमा जमिनमुनि ८७ जना कार्यरत रहेका बेला शनिबार दिउँसो उक्त दुर्घटना भएको थियो ।

दुर्घटनालगत्तै पुरिएकाको उद्धार थालिएको थियो । खानीमा हराएका दुईजनालाई आइतबार बिहान मृत अवस्थामा भेटिएको स्थानीय अधिकारीले बताएका छन् । चिनियाँ सञ्चारमाध्यम सिन्ह्वाका अनुसार अन्य ६६ जनालाई भने कोइलाखानीबाट सकुशल उद्धार गरिएको छ । निजी कम्पनी बाइजी माइनिङद्वारा सञ्चालित खानीमा भएको उक्त दुर्घटनाबारेमा अनुसन्धान भइरहेको छ ।

पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन् । ठूला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ ।

कोइला उत्पादनमा सुधार ल्याउन तथा गैरकानुनी उद्योगहरू बन्द गर्न पहल गरिए पनि खानी दुर्घटनाका समाचारहरू आइरहने गरेका छन् । गत वर्ष डिसेम्बरमा पनि चीनको दक्षिण पश्चिममा भएको कोइला खानी दुर्घटनामा सात जना कामदारको मृत्यु हुनुका साथै अरू तीनजना गम्भीर घाइते भएका थिए ।

चीनको राष्ट्रिय कोइला खानी सुरक्षा प्रशासनका अनुसार सन् २०१७ मा कोइला खानीमा कार्यरत तीन सय ७५ जनाको मृत्यु भएको थियो । अघिल्लो वर्षको तुलनामा यो करिब २८ प्रतिशतले न्यून हो ।