चिसो बढेसँगै न्यानो कपडाको माग दोब्बर

चिसो बढेसँगै न्यानो कपडाको माग दोब्बर


–छविलाल बगाले
चिसोसँगै न्याना कपडाको माग बढेको छ । बजारमा न्याना कपडा खरिदको चहल–पहल बाक्लिएको छ । व्यापारीका अनुसार अघिल्लो वर्षको तुलनामा माग दोब्बरले बढेको छ । सरकारले आयातमा कडाई गर्दा ऊनीको न्यानो कपडामा ५ देखि १५ प्रतिशतसम्म मूल्यबृद्धि पनि भएको छ । दुई साता यता निरन्तर बढिरहेको चिसोबाट बच्न उपभोक्ता न्याना कपडाको खोजीमा छन् । यतिबेला देशभर न्याना कपडाको माग बढ्दा व्यापारिक केन्द्रमा उपभोक्ताको चहलपहल छ ।

चिसोसँगै न्यानो कपडाको माग बढ्नु स्वभाविक भएपनि यस पटक कारोबार दोब्बरले नै बढेको व्यापारीको भनाइ छ । यसबर्ष न्याना कपडामा ५ देखि १५ प्रतिशत मूल्यबृद्धि भएकोले पनि कारोबार बढेको हो । लामो समयदेखि ऊनीका कपडा विक्रि गर्दै आएको नेपाल ऊल हाउसका संचालक दिपेशरत्न तुलाधारका अनुसार न्याना कपडा उत्पादनमा नेपाल आफैं पनि सकारात्मक दिशामा छ ।

सरकारले कडाई गरेका कारण कपडाको आयात भने केही घटेको छ । नेपाली बजारमा चीन र भारतकै दबदबा रहँदा आन्तरिक उत्पादन पनि बढिरहेको व्यापारीको भनाइ छ । तुलनात्मक रुपमा सस्तो रहेका कारण चिनियाँ उत्पादनले बजारको ठूलो हिस्सा ओगट्छ । उपभोक्ता यसवर्ष खासै मूल्यबृद्धि नभएको बताउँछन् ।

न्याना कपडातर्फ स्वदेशी उत्पादनको ३० प्रतिशत हिस्सा छ । बाँकी ७० प्रतिशतमा ठूलो हिस्सा चीन र भारतकै छ । त्यसपछि थाईल्याण्डको उत्पादनले बजार पाएको छ । नेपालले हरेक वर्ष ५० करोड बढिका न्याना कपडा आयात गर्छ ।