घर

घर


  • बबिता बस्नेत

अन्ततः उसले घर बनाई । घरपैँचोको दिन उसका नातेदार र साथीहरू आए । कसैले फूलका गुच्छा लिएर आए, कसैले घर सजावटका सामान, कसैले मिठाई त कसैले कपडा, कोही केही नलिई आए । जो जसरी आए पनि सबैले भने– ‘छोरी भएर पनि नीलिमाले घर बनाई, जिन्दगीमा घर बनाउनु निकै ठूलो कुरा हो । बधाई छ तपाईंको घर भयो !’

‘घर !’ उसले सोची, शायद ठूलै कुरा हो । आफ्नै मेहनत र पसिनाले बनाएको त्यो घरलाई लिएर उसले आफैंमाथि शङ्का गर्दै प्रश्न गरी– के यो मेरै घर हो ? जब ऊ सानी छुकछुके बालिका थिई उनीहरूको मूल घरलाई सबैले हजुरबुबाको घर भन्थे । ‘यो घर बनाउँदा यतिजनाको सीप खर्चिएको छ, यति ढुङ्गा लागेको छ, यो गाउँमा टिन (च्यादर) को छानो लगाउने पहिलो व्यक्ति मै हुँ,’ हजुरबुबाको गौरवपूर्ण गाथा उसले धेरैपटक सुनेकी छे ।

खोटाङको एउटा दुर्गम गाउँमा पनि राणाजीको स्टाइलको बैठक, विभिन्न कलात्मक बुट्टा कँुदिएका झ्याल–ढोकाहरू, माथिल्लो तलामा भान्सा– साँच्चीकै राम्रो थियो त्यो घर । काठमाडौंमा लामो समयसम्म राणाजीको सेवामा जुटेर फर्किएका उसका हजुरबुबाको गाउँमा आफ्नै शान–सौकत थियो । शब्दैपिच्छे राणाजीहरूको बयान गर्ने, राणाजीका महारानीहरूको सुन्दरताको चर्चा गर्ने र सिकारमा उनीहरूको बहादुरीको ब्याख्या गरेर कहिल्यै नथाक्ने ।

समयक्रमसँगै उसका हजुरबुबाको मृत्यु भयो, त्यतिबेला ऊ मात्र १२ वर्षकी थिई, त्यसपछि त्यो घर हजुरआमाको भयो । चाडबाडमा सबैजना हजुरआमाकहाँ जम्मा हुन्थे । बिहान चिया खाँदा उसको बुबा र ठूलोबुबाहरू सधैं हजुरआमाकहाँ जान्थे । राति पनि अबेलासम्म हजुरआमा हुक्का तान्दै छोराछोरीहरूसँग गफ गरेर बस्नुहुन्थ्यो । आमा, ठूलीआमा र काकीहरूको खासै महत्व थिएन । उनीहरू कि त ढिकीजाँतोमा हुन्थे कि त भान्सामा । घरमा सहयोगीहरू नभएका होइनन्, तर उनीहरूभन्दा निकै तल्लो दर्जामा थिए आमाहरू अर्थात् बुहारीहरू । हजुरआमाको घर भनेपछि सबैजना हुरक्कै हुन्थे । दसैंमा टीका लगाउन गाउँलेको भीड लाग्थ्यो । टीका लगाउनेहरूले कसैले पलफुल बोकेर आउँथे, कसैले दही त कसैले मह ।

दसैंमा मात्र होइन, हजुरबुबाको श्राद्धमा पनि गाउँलेलाई निम्त्याइन्थ्यो । बाह्रदेखि पन्ध्रजना त बाहुन मात्रै हुन्थे । गाउँभरि सबैको आस्थाको केन्द्र नै हुनुहुन्थ्यो हजुरआमा । तर, एक दिन एक्कासि उहाँलाई ज्वरो आयो, दम त पहिलेदेखि नै थियो । गाउँमा हस्पिटल थिएन, के भएको थियो कसैलाई थाहा भएन र अकस्मातै उहाँको निधन भयो । उहाँको निधनमा परिवार मात्र होइन, पूरै गाउँ शोकमग्न भयो । त्यतिबेला ऊ १८ वर्षकी थिई ।

दिनहरू बित्दै गए, हजुरआमाको काजकिरिया सकियो । त्यसपछि त्यो घर काकाको नामले चिनिन थाल्यो । उनीहरू पनि त्यो घरलाई काकाको घर भन्न थाले । गाउँलेको निम्ति त्यो घर अब मीनबहादुर बस्नेतको घर भयो । समय–परिस्थितिसँगै काकाको बाटो हिँड्डाहिँड्दै भीरबाट खसेर अकस्मातै निधन भयो । काजकिरिया सकियो र वर्ष दिनपछि सप्ताह पुराण पनि लगाइयो । त्यसपछि सबैले त्यो घरलाई दिनेशको घर भन्न थाले ।

दिनेश अर्थात् उसका काका मीनबहादुरको जेठो छोरा । उसका काकाको मृत्युको वर्ष दिनपछि दिनेश बसाइँ सरेर तराई झ¥यो सप्तरी जिल्लाको फत्तेपुरमा । त्यसपछि त्यो घर खाली भयो । केही वर्षको रित्तोपनपछि वर्षायामको दर्किंदो झरीसँगै एक दिन त्यो घर भत्कियो । र, त्यहाँ भग्नावशेष मात्र बाँकी रह्यो । आफू जन्मिएको मूल घर हुनाले उसलाई अक्सर त्यो घरको सम्झना आउँछ । घर भत्किए पनि राति सपनामा प्रायः ऊ आफूलाई त्यही घरवरिपरि पाउँछे । घर भत्किएको वर्षाैंपछि अहिले ऊ सोचिरहेकी छे– साँच्ची खासमा त्यो घर कसको थियो ? तर, त्यो प्रश्नको जवाफ उसले अहिलेसम्म पाउन सकेकी छैन ।

समयक्रमसँगै उसका बुबाहरूको सम्पत्ति पनि पहिलेजस्तो रहेन । स्कुल शिक्षा खोटाङमै सकेर ऊ काठमाडौं झरेकी हो । आफ्नो पढाइ पूरा गरेर आफ्नै खुट्टामा उभिने चाहनाले ऊ काठमाडौंतर्फ लागेकी थिई । काठमाडौंमा टिक्न उसले सोचेजति सजिलो थिएन । पहिले उसका नातेदारको आडमा काठमाडौं आएकी उसले त्यहाँ पुगेपछि थाहा पाई कि काठमाडौंमा बाँच्न कति गाह्रो छ ।

पैसा भए समय त किन्न सकिन्छ भनी उसको नजिकको एक साथीले तर्क गरेपछि पैसाले समय किन्छ कि समय खर्चिएपछि पैसा कमाउन सकिन्छ ? भन्ने कुराले उसको मनमा लामो समयसम्म तर्क–वितर्क गरिरह्यो ।

पढ्ने क्रममा उसले धेरै दुःख गरी, बच्चाहरूलाई ट्युसन पढाई, त्यही ट्युसन पढाएर आएको दुई–चार पैसाको भरमा आफ्ना सीमित आवश्यक्ताहरूलाई पुरा गरी । संघर्ष गर्दै जाँदा उसले काम पाई । त्यसअघि काम खोज्ने सिलसिलामा उसले कति कार्यालयहरू चहारी, कतिपटक लोकसेवाका जाँचहरू दिई– भनेर साध्य छैन । आफ्ना नातेदार या आफन्तहरू ‘ठाउँ’ मा नहुँदा उसले निकै भुक्तमान खप्नुप¥यो ।

अन्ततः आफ्नै प्रयासले उसले काम पाई– एउटा नाम चलेको पत्रिकामा । कथा, कविता ऊ पहिलेदेखि नै लेख्थी । पत्रकारितामा भने उसलाई खासै ज्ञान थिएन । तर, परेपछि उसले जानी । ऊ पत्रकार सम्मेलनहरूमा गई, राजनीतिज्ञहरूको अन्तर्वार्ता लिई, नाम चलेको पत्रिका हुनाले उसले चाँडै नाम कमाई ।

नीलिमा क्षेत्री भनेपछि अब उसलाई धेरैले चिन्न थाले । त्यसबीचमा उसले देश–विदेशमा पत्रकारिताको प्रशिक्षणहरू लिने अवसर पाई र आफूलाई परिमार्जन गरी । उसले लेखेका कुराहरू पढ्ने र त्यसलाई विश्लेषण गर्नेहरूको सङ्ख्या बढ्दै गयो । आफन्त र साथीहरू भन्थे, उसले नाम कमाई ।

त्यसैबीच, उसको विवाह पनि भयो । र एउटा छोरा जन्मियो । उसको छोरा र करियरलाई उसले आफ्नै सङ्घर्षले अगाडि बढाउँदै लगी । डेराको बसाइ थियो, बच्चा बढ्दै गएपछि खेल्न खोज्थ्यो, दौडिन खोज्थ्यो तर अरुले केही भन्लान् कि भनेर उसले छोरालाई भन्ने गर्थी– बाबु बिस्तारै खेल, नदौड, घरमा बस्ने अरूलाई डिस्टर्भ हुन्छ, गाली गर्छन् । त्यही घरमा बहालमा बस्नेहरूले उसलाई कतिपटक भनेका छन्– ‘तपाईंको छोराले दौडिएर ढङढङ आवाज आएकोले हामीलाई डिस्टर्भ भयो, सम्झाउनोस् ।’

बच्चाले खेल्न थाल्यो कि तल्लो तलामा बहालमा बस्नेहरूको आवाज सुनिन्थ्यो, ‘नीलिमाजी ! त्यहाँ केको आवाज आएको हँ ?’ सार्वजनिक जीवनमा उसको जतिसुकै नाम, सम्मान भए पनि डेरामा उसको जीवन डेरावालकै थियो । ऊ चाहन्थी– उसको एउटा राम्रो घर होस्, बच्चालाई खेल्ने ठूलो कम्पाउन्ड होस्, एउटा आफ्नै संसार होस् ।

प्रत्येक भेटपिच्छे आफन्त र नजिकका साथीहरूले उसलाई भन्ने गर्थे– घर किन नबनाएको ? अब त एउटा घर बनाउने बेला भएन ? या यस्तै केही । जवाफमा ऊ भन्ने गर्थी– हेर्नुस् न घर बनाउन दुईवटा कुरा चाहिँदोरहेछ– पैसा र समय, मसँग दुवै छैन । उसको जवाफ सुनेर प्रश्न गर्नेहरू मजासँग हाँस्थे । पैसा भए समय त किन्न सकिन्छ भनी उसको नजिकको एक साथीले तर्क गरेपछि पैसाले समय किन्छ कि समय खर्चिएपछि पैसा कमाउन सकिन्छ ? भन्ने कुराले उसको मनमा लामो समयसम्म तर्क–वितर्क गरिरह्यो । अन्तमा उसलाई लाग्यो– रूख हुनलाई बिउ चाहिन्छ कि बिउ हुनलाई रूख ? न रूखबिना बिउ हुन सक्छ न बिउबिना रूख । पैसा कमाउन समय चाहिन्छ र पैसा भएपछि समय किन्न सकिन्छ । समय र पैसा दुवै अन्तरसम्बन्धित कुरा हुन् ।

आज उसको आफ्नै घर छ । पार्टीमा मानिसहरू रमाइलो गरिरहेका छन् । अन्त्यमा पुनः बधाई दिँदै आगन्तुकहरू फर्किए । अब कम्पाउन्ड पूरै रित्तो भयो । निकै फराकिलो कम्पाउन्ड छ उसको घरको । त्यो कम्पाउन्ड देखेर उसले आफ्नो बच्चाले बिताएको बाल्यपन सम्झी । उसको बच्चाले चाहेर पनि कहिल्यै फुटबल खेल्न पाएन न त बास्केटबल र क्रिकेट नै खेल्न पायो । अहिले आफ्नो घरको कम्पाउन्ड देखेर उसलाई आफ्नो बच्चासँग भन्न मन लाग्यो– ‘बाबु जाऊ न यही बत्तीको प्रकाशमा भए पनि एकछिन फुटबल खेल, बास्केटबल या क्रिकेट खेल ।’ यही भन्नका लागि उ छोराको कोठामा पसी । त्यतिबेला रातिको ११ बजिसकेको थियो र उसको छोरो कम्प्युटरमा कुनै जरुरी अफिसियल काम गरिरहेको थियो । अब ऊ बच्चा थिएन र त्यस्ता खेलहरू खेल्ने उसलाई कुनै रहर थिएन न त ऊसँग समय नै थियो ।

भोलिपल्ट बिहानै अहिल्लो साँझ पार्टीमा आउन नपाएका छिमेकी आए र बधाइ दिंदै भनें, ‘ल…अब आफ्नै स्थाइ घर भो, घर भनेको ठेगाना पनि हो, स्थाइ घर ठेगाना भन्ने त चलननै छ नि, बधाई छ ।’ धन्यवादका साथ चिया टेबुलमा राख्दै उसले भनी– ‘खै हजुर, जीन्दगी नै स्थाई छैन, घर त के होला र ?’

(सम्बन्धहीन सम्बन्धहरू कथा संग्रहबाट)