देश ठूलो कि ‘व्यवस्था’ ?

देश ठूलो कि ‘व्यवस्था’ ?


  • यादव शर्मा

संसारका प्राचीनतम मुलुक मानिने नेपालको एकीकरण भन्नु नै विविधतापूर्ण समाज र संस्कृतिको एकता हो । जसरी यहाँको प्रकृतिमा विविधता देखिन्छ सामाजिक जीवनमा पनि सोहीअनुरूप विविधताको लालित्य भएको महसुस गरिन्छ । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियान शुरु गर्नुहुँदा उहाँ हिमाल, पहाड र तराईलाई समेट्ने योजनाका साथ अघि बढ्नुभएको थियो र, विविधताको एकरूपतामा मात्र नेपाल अकण्टक रहने सन्देश दिनुभएको हो । ‘मेरा साना दुःखले आज्र्याको मुलुक होइन, यो चार वर्ण छत्तीस जातको फूलबारी हो, सबैलाई चेतना भया’ भनेर पृथ्वीनारायण शाहले साढे दुई शताब्दीअघि नै दिनुभएको सन्देशको मर्म कति गहिरो रहेछ भन्ने अहिले बुझ्न थालिँदै छ, जब नेपालको जातीय तथा क्षेत्रीय एकतामाथि हमला गरेर यो देशको अस्तित्वमाथि धावा बोल्ने नियोजित षड्यन्त्र रचियो ।

टेथिस सागर विलोप भएर निर्माण भएको यो विशेष भूमिमा अनगिन्ती विशिष्टताहरू छन् । उत्तरतर्फ पृथ्वीकै उँचो हिमशैलेश र मध्यमा लयबद्ध पहाड हुँदै दक्षिणमा समतल तराईसम्म फैलिएको यो भूखण्ड अपार जलस्रोत, हजारौँ पर्यटकीय आकर्षणका महिमायुक्त केन्द्रबिन्दु, जडीबुटीको भण्डार, अनेक आकारप्रकारका वन्यजीवजन्तु र पन्छीहरूको क्रीडास्थलका रूपमा विश्वमाझ परिचित छ । भूगर्भमा निहित रहस्यको कौमार्य यथावत् रहेको यो पावन भूमि आध्यात्मिक शक्तिको अजश्र स्रोत मानिन्छ र, ऋषिमुनि तथा साधुसन्तहरूको ऊर्जाको केन्द्र एवम् अनेक देवी–देवताहरूको रोजाइको रमणीय तपस्थलका रूपमा समेत नेपाल भूमिको प्रशस्ति धर्मशास्त्रहरूमा गाइएको छ । नेपालमाथि कुनै अधर्मी र बेधर्मीहरूको प्रत्यक्ष शासन कहिल्यै हुन पाएन, तर यसलाई प्रत्यक्ष–अप्रत्यक्ष ढङ्गले पराधीन तुल्याउने प्रयास भने शदियौँदेखि हुँदै आएको छ ।

नेपालीका लागि सबैभन्दा महान् उपलब्धि भनेकै नेपाल हो, तर बेधर्मीका दानापानीमा जीविका चलाउनेहरू धर्मनिरपेक्ष सङ्घीय गणतन्त्रात्मक पद्धतिलाई देशभन्दा महान् उपलब्धि भनेर गोयबल्स शैलीको प्रचार गर्दै छन् ।

इसाईहरूले उतिबेलै धर्मको जञ्जालमा पारेर नेपाललाई काबुमा लिने प्रयास गरेका हुन् । पृथ्वीनारायण शाहले ठीक समयमा एकीकरण अभियान शुरु गरेका थिएनन् भने नेपाल शताब्दीअघि नै इसाई अधीनस्थ बन्न असम्भव थिएन । नेपाल एकीकरणलगत्तै पृथ्वीले प्राथमिकता दिएको विषय काठमाडौं उपत्यकाबाट केपुचिन पादरीहरूको विस्थापन थियो । उनले इसाईहरूप्रति किन त्यति धेरै अनुदारभाव दर्शाएका होलान् भन्ने इतिहासका विद्यार्थीलाई लाग्न सक्थ्यो । राजतन्त्र विस्थापनपछि मुलुकलाई इसाईकरण गर्न भएका प्रयास र इसाईकरणले नेपाली समाजलाई विभाजनतिर लैजान खोजेको विद्यमान परिदृश्यले यसको पनि जवाफ दिइसकेको छ । पृथ्वीनारायणका शब्दमा ‘असली हिन्दुस्थान’ जोगाउन के गर्नुपर्छ भन्ने उनले धेरै राम्रोसँग बुझेका रहेछन् भन्ने उनका कदमहरूले दर्शाएको छ ।

राष्ट्रनिर्माता बडामहाराजाधिराज पृथ्वीनारायण शाहको सालिक ढालेर शुरु गरिएको सङ्घीय धर्मनिरपेक्ष गणतन्त्रात्मक व्यवस्था नेपालको मौलिक धर्म, परम्परा, संस्कृति र देशको आन्तरिक एकता एवम् विश्व पहिचानप्रति वैरभाव राख्दछ भन्ने सत्ता–सञ्चालकहरूको सोच–व्यवहारले छर्लङ्ग पारेको छ । त्यसैले यतिबेला हरेक देशभक्त नेपालीको परम् कर्तव्य भनेको स्वदेशको आन्तरिक एकता मजबुत तुल्याउनु र नेपालको विशिष्ट पहिचान पुनस्र्थापित गर्दै मौलिक धर्म, संस्कृति तथा परम्पराहरूको संरक्षण गर्न कटिबद्ध रहनु हो । बेधर्मीहरूको दानापानीमा हुर्काउन खोजिएको विद्यमान सत्ता सञ्चालकहरूले राष्ट्रिय एकताका प्रवर्तकको स्मरणमा एकनिमेष खर्च गर्न चाहेका छैनन् । राष्ट्रिय एकता दिवसलाई महत्व दिइँदा या पृथ्वीनारायण शाहलाई सम्मान गर्दा गणतन्त्र गल्र्यामगुर्लुम ढल्ने चिन्ता उनीहरूमा देखिन्छ ।

नेपालीका लागि सबैभन्दा महान् उपलब्धि भनेकै नेपाल हो, तर बेधर्मीका दानापानीमा जीविका चलाउनेहरू धर्मनिरपेक्ष सङ्घीय गणतन्त्रात्मक पद्धतिलाई देशभन्दा महान् उपलब्धि भनेर गोयबल्स शैलीको प्रचार गर्दै छन् । कथित परिवर्तनकारीहरूको कोपभाजनबाट मुलुकलाई यथाशीघ्र मुक्त गर्न सकिएन भने कालान्तरमा नेपालको अस्तित्व रक्षा गर्नसमेत कठिनाइ उत्पन्न हुन सक्नेतर्फ हामी सबैको ध्यानाकर्षण हुन विलम्ब गर्नै नहुने अवस्था सिर्जना भएको छ ।