धुर्मुस–सुन्तलीको जगाए सुदुरका जनता

धुर्मुस–सुन्तलीको जगाए सुदुरका जनता


सामाजिक अभियन्ताका रूपमा समेत लोकप्रियता कमाएका हास्य कलाकारद्वय धुर्मुस र सुन्तली (सीताराम कट्टेल र कुञ्जना घिमिरे) केही दिनअघि डोटीको पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुगे । आफ्नो प्रस्तुति दिन उनीहरूको आगमन हुने खबर सुनेर स्थानीयवासी निकै रोमाञ्चित भए । कार्यक्रमका दिन दिपायल पिपल्ला र कार्यक्रम स्थल उद्योग वाणिज्य सङ्घको चौरमा मानिसको बाक्लो भीडभाड थियो । उनीहरू कार्यक्रम शुरु हुनुअघि नै औपचारिक तवरमा धुर्मुस–सुन्तलीलाई देख्न चाहन्थे ।

तर, उनीहरू त्यसरी त्यखिएनन् । एकाएक चौरको मञ्चमा हास्यव्यङ्ग्य प्रस्तुतिका साथ उनीहरू प्रकट भए । दर्शकहरू दङ्ग परे । धुर्मुस–सुन्तलीको कलाकारिता देखेर दिपायल पिपल्लाका दर्शकहरू विभोर भएर तालीको गडगडाहटले उनीहरूको तारिफ गरे । उनीहरूले दिपायल प्रवेश हुने डाक्टर केआई सिंह राजमार्ग साँघुरो तथा खाल्डाखुल्डी भएको अवस्था झल्काउँदै नेताले सडक फराकिलो र सुधार नगरेकोमा व्यङ्ग्य गरेका थिए ।

वास्तवमा उक्त कार्यक्रम ‘सन नेपाल लाइफ इन्स्योरेन्स’ कम्पनीले सर्वसाधारणमा बीमा जागरणका लागि आयोजना गरेको थियो । कार्यक्रममा कलाकार सुन्तलीले पुरुषलाई लक्षित गर्दै भनिन्– ‘रक्सी–जाँड खाने पैसाले अब बीमा गर्नुहोस् र आफ्नो परिवार खुशी बनाउनुहोस् ।’ महिलालाई पनि उनले छोडिनन्, भनिन्– ‘बिँडी–तमाखु खाने पैसाले बीमा गर्न गर्नुहोला है ।’

आफूहरू दोस्रोेपटक डोटी पुगेको जानकारी दिँदै घुर्मुस र सुन्तलीले कार्यक्रममा सहभागी हजारौँ दर्शकलाई जाँड, रक्सी बिँडी–चुरोट खाने पैसा बचत गर्न अनुरोध गरे । धुर्मुस र सुन्तलीका कुरा सुनेपछि दर्शकले आफ्नो जीवन बीमासमेत गराए ।