विद्रोही समूहबीचको झडपमा सिरियामा १९ को मृत्यु

विद्रोही समूहबीचको झडपमा सिरियामा १९ को मृत्यु


उत्तरी सिरियामा परस्पर दुई विद्रोही समूहबीच भएको झडपको क्रममा कम्तीमा १९ जनाको मृत्यु भएको सिरियामा जारी द्वन्द्वलाई निरीक्षण गरिरहेका मानव अधिकारीवादी संस्थाले जानकारी दिएका छन् ।

सिरियाको पश्चिमी प्रान्त अलेप्पोको पश्चिमी भागमा अल कायदाआबद्ध हयात ताहरिर अल–शाम (एचटीएस) र सिरियाली विद्रोही समूह नुरेद्दिन अल–जिन्कीबीच झडप भएको सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जानकारी दिएको छ ।

सो झडपका क्रममा आफ्ना पाँच लडाकु मारिएको एचटीएसले पुष्टि गरेको छ । त्यसैगरी एचटीएसले सिरियाको उत्तरपश्चिम प्रान्त इदलिबमा विद्रोहीको अखडालक्षित भीषण आक्रमण शुरु गरिसकेको पनि बताएको छ ।

बेलायतसँग आबद्ध अब्जरभेटरीका प्रमुख रमी अब्देल रहमानका अनुसार १२ जना एचटीएस र पाँच जिन्की समूहका सदस्य मारिएका छन् । साथै यस झडपमा परी दुईजना सर्वसाधारण समेत मारिएका अब्जरभेटरीका प्रमुख रहमानमा बताए । यस झडपमा अन्य ३५ जना घाइते भएको उनको भनाइ छ ।

नुरेद्दिन अल–जिन्की विद्रोही समूह नेसनल लिबरेसन फ्रन्ट (एनएलएफ) को मुख्य खेलाडीको रूपमा रहेको छ । एनएलएफ टर्कीआबद्ध विद्रोहीको संयुक्त गठबन्धन हो । एचटीएसले र अन्य जिहादी समूहले इदलिब प्रान्तको आधाभन्दा बढी इलाकामा प्रभुत्व जमाएको छ ।

सिरियाका सन् २०११ को मार्चमा सिरियाका राष्ट्रपति बसर अल असदको राजीनामाको माग गर्दै शुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो ।

सो युद्धमा हजारौँको संख्यामा जिहादी र विदेशी शक्तिको सहभागिता रहँदै गयो । सन् २०११ देखि हालसम्म जारी यस युद्धमा ३ लाख ६० हजारभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । त्यसगरी यस आन्दोलनको क्रममा सिरियाभित्रै र छिमेकी देशमा दशौँ लाख व्यक्ति शरणार्थी बन्न बाध्य भएका छन् ।