एक मिटरमा घर बनाउनुपर्ने !

एक मिटरमा घर बनाउनुपर्ने !


भरतपुर महानगरपालिकाले सङ्घसंस्थाका निम्ति घर निर्माण गर्न बनाएको मापदण्ड सरोकारवालाका निम्ति पीडाको र अन्यका निम्ति हास्यको विषय बनेको छ ।

एक कट्ठाभन्दा बढी जमिन भएका सङ्घसंस्थाले घर निर्माण गर्नुपर्दा दुवैतिर पाँच–पाँच मिटर जमिन छोड्नुपर्ने मापदण्ड महानगरले बनाएको छ । महानगरको यस्तो मापदण्डका कारण कम्तीमा पच्चीस सङ्घसंस्थाहरू सकसमा परेका छन् ।

नगरमा हिन्दू स्वयम्सेवक सङ्घको नाममा एघार मिटर मोहोडा भएको दुई कट्ठा जमिन रहेको, तर त्यसको दुईतर्फ पाँच–पाँच मिटर जमिन छोड्नुपर्ने भएपछि एक मिटर धर्सो मात्र बाँकी जमिनमा कसरी घर बनाउने भन्ने समस्या उत्पन्न भएको छ । यस्तो मापदण्डका कारण रेडक्रसले पनि भरतपुर महानगरमा आफ्नो कार्यालय भवन बनाउन पाएको छैन ।

विभिन्न पच्चीस सङ्घसंस्थाहरू यस्तो समस्याबाट पीडित बनेको र महिनौँदेखि महानगरको निर्माणसम्बद्ध शाखामा फाइलहरू थन्किएर बसेको भए पनि महानगर प्रमुख रेणु दाहाल समस्याप्रति संवेदनशील भएकी छैनन् । पीडितहरूले बारम्बार आग्रह गर्दा पनि नगरप्रमुख दाहालले वास्ता गरेकी छैनन् ।

उनले भन्ने गरेकी छिन्, ‘आगामी असारमा हामी छलफल गरेर एउटा निर्णयमा पुग्नेछौँ ।’ असार आउन अझै ६ महिना बाँकी छ, सङ्घसंस्थाहरू मेयरका कारण अप्ठ्यारोमा परेका छन् ।