श्रीमानद्वारा बन्धक बनाइएकै हुन् त विष्णु माझी ?

श्रीमानद्वारा बन्धक बनाइएकै हुन् त विष्णु माझी ?


  • राजन घिमिरे

सालको पात टपरी हुनी
नहुनी सल्लैको
तिम्रो माया कति छ कति हे बरै
नलाउ पछि हल्लैको…..

यो लोकगीत अहिले सर्वप्रिय, लोकप्रिय र चर्चाको शिखरमा छ, तर यही गीतमा आफ्नो मीठो आवाज प्रदान गर्ने गायिका विष्णु माझी भने गुमनाम र छायामा छिन् । आज यो गीतको हाइडिमान्ड हुँदा गायक कुलेन्द्र विक मात्र स्टेजमा पुग्छन् । श्रोताहरूले विष्णु माझीको डिमान्ड गर्दा उनी पनि अनविज्ञता प्रकट गर्छन् र भन्न बाध्य छन्, ‘विशेष कारणवश उहाँ आउन सक्नुभएन ।’ यस्तो रेडिमेड जवाफ कति दिनु ? उनी पनि आजित भइसके ।

उदेकलाग्दो कुरा त के छ भने यो गीतमा कुलेन्द्र र विष्णुको आवाज छ, तर गीत रेकर्ड भने दुवैले फरक–फरक दिन गरेका हुन् । विष्णुको रेकर्डको दिन कसैलाई पनि खबर गरिएको थिएन । गुपचुप गीत गाइन् र गुपचुप नै हिँडिन् । न त उनीसँग कसैले कुरा गर्न पायो न त फोटो नै खिच्न पायो ।

विष्णुको यो गीत मात्र चर्चामा छैन । उनका सयौँ गीतहरू हिट र चर्चामा छन्, तर दुर्भाग्य ! न उनलाई श्रोताहरूले नजिकबाट हेर्न पाएका छन् न त सङ्गीतकर्मीहरूसँग नै उनको सङ्गत र उठबस छ ? उनी कहाँ बस्छिन् ? अरू के गर्छिन् ? सबै अनभिज्ञ छन् । स्टुडियोमा गीत गाउन आउँदा श्रीमान् सुन्दरमणि अधिकारीसँगै गीत गाउन आउँछिन्, पर्दा लगाएर गीत गाउँछिन् र हिँडिहाल्छिन् । यतिबेला बजारमा विष्णुलाई उनका श्रीमान्ले घरमा नै बन्धक बनाएर राखेको चर्चा चलेको छ । यो कुरामा सुन्दरको जवाफ आएको छैन । सुन्दर आफैँ पनि सर्जक हुन् । सर्जकको भावना त उनले बुझेकै होलान् ? उसो भए किन विष्णुमाथि सुन्दरले यसो गरे ?

विष्णुका फ्यानहरूले जवाफ खोजिरहेका छन् । विदेशमा विष्णुको अत्यधिक माग छ, तर नेपालकै कार्यक्रममा त उनी जान पाउँदिनन् भने विदेशको त कुरै छाडौँ । विष्णुको आवाज मात्र चिन्ने, तर उनको फोटो नदेख्नेले त उनको गीत नयाँ गायिकाले गायो भने विष्णु माझी यही त होइन भन्ने भ्रम पर्न थालेको छ । विष्णुलाई गीत गाउन उनका श्रीमानसँग कुरा गर्नुपर्छ र पारिश्रमिकको कुरा पनि उनले नै गर्छन् ।

सङ्गीतकार, गायक वा गीतकारले विष्णुलाई भेट्न पाउनु भनेको त सपनाको कुरा हो । करिब १० वर्षभन्दा बढी भयो होला विष्णुलाई मैले देखेको छु भन्ने कोही भेटिएको छैन । एल्बममा प्रयोग गरिने उनको तस्बिर पनि पुरानै हुन् ।

एउटी लोकप्रिय गायिकाको जीवनमा किन यस्तो समस्या आइप¥यो वा यो अवस्थामा पु¥याइयो ? किन गुप्तवास बस्नुप¥यो ? उनी आफैँ गुप्तवास बसेकी हुन् वा उनलाई बाध्य बनाइयो ? यतिबेला विष्णु माझीको विषयमा जानकारी पाउन सबैको चासो बढेको छ ।