यसरी बित्यो सन् २०१८

यसरी बित्यो सन् २०१८


– जीवन भण्डारी

सन् २०१८ आजदेखि हामीबाट बिदा हुँदै छ । यस वर्ष पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटना पनि विश्वव्यापी भए । वर्षभरिका चर्चित मुख्य घटनाक्रमहरूको सूचीमा राजनीतिक घटनाहरू नै धेरै भएका छन् । त्यसबाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरू पनि चर्चाको शिखरमा पुग्न सफल भएका छन् । यस वर्षका मुख्य केही घटनाको यहाँ सङ्क्षेपमा स्मरण गरिएको छ ।

इन्डोनेसियामा दुई हजारको ज्यान लिने भूकम्प

यस वर्षको सम्भवतः सबैभन्दा ठूलो विनाशकारी घटनाको रूपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ । सेप्टेम्बर २८ तारिखका दिन आएको ७.४ म्याग्निच्युडको भूकम्पले दुई हजारभन्दा बढीको ज्यान लिएको छ भने झन्डै सात सयजना अझै पनि बेपत्ता छन् । सुलावेसीलाई केन्द्रबिन्दु बनाएर आएको यस भूकम्पमा परी १७ सय घाइते भएका थिए भने लाखौँको भौतिक संरचनामा क्षतिग्रस्त भएका थिए ।

अनपेक्षित ट्रम्प


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचित भएको दुई वर्ष बितिसक्दा पनि राष्ट्रपतिका रूपमा अपेक्षितभन्दा पनि अनपेक्षित भूिमकाहरू धेरै देखाए । सञ्चारमाध्यमहरू, आफ्नै मन्त्री र कर्मचारीहरूलाई पनि पूर्ण विश्वास कहिल्यै गरेनन् । उनले यो अवधिमा झन्डै डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीहरूलाई बर्खास्त गरे भने अन्य देशहरूसँगको सम्बन्धमा पनि विश्वास बढाउन सकेनन् । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ताबाहेक उनको प्रशंसायोग्य भूमिका कमै भएको अधिकांशको ठम्याई छ । पछिल्लो समयमा केही ठाउँमा भएको निर्वाचनको नतिजा र मेक्सिको पर्खालको बजेट पारित नभएपछि कर्मचारी तलबविहीन भएका घटनाले धक्का दिएको छ ।

ब्रेजिक्टमै अल्झियो बेलायत

युरोपेली संघसँग बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुंघोमा पु¥याउन निकै मिहिनेत गर्नुपरेको छ । प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धहरूमा धेरै ध्यान दिन भ्याएकी छैनन् भने ब्रेक्जिट मामिलामा दुईजना विदेश मन्त्रीसहित अन्य केही मन्त्री र वरिष्ठ अधिकारीहरूले समेत उनलाई साथ दिएनन् । सन् २०१६ को जुनमा भएको जनमतसंग्रहमा ५२ प्रतिशत अर्थात १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए । ४८ प्रतिशत अर्थात १ करोड ६१ लाख मतदाताले भने बेलायत (युरोपियन युनियन) इयूकै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए । साढे दुई वर्ष बितिसक्दा पनि इयू छाड्ने प्रक्रिया टुंगिन्छ भन्ने विश्वासमा नै अझै पनि अनिश्चितामा बेलायत छ ।

उत्तर कोरिया र अमेरिकाको नाटकीय सम्बन्ध

लामो समयदेखि एक–अर्कालाई प्रमुख दुश्मन मान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१८ मा नाटकीय परिवर्तन भयो । एक अर्कालाई सिध्याउने चेतावनी दिएको केही महिनामै ती देशका नेताहरूले गत जुन १२ का दिन सिंगापुरमा भएको शिखर सम्मेलनको क्रममा एक–अर्कालाई अँगालो हालेको भिडियो सार्वजनिक भएपछि विश्व समुदाय नै अचम्भित भएको छ । यो सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई जान्छ । सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्वीपलाई आणविक निशस्त्रीकरण गर्ने अभियान सन् २०१९ मा पनि जारी राख्ने प्रतिबद्धता तीनै देशबाट व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको दोस्रो शिखर बैठक सन् २०१९ को शुरुमै गर्ने तयारी हुँदै छ भने उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाको भ्रमण गर्ने योजना छ ।

नेतृत्व त्याग्ने मार्केलको घोषणा


जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक पार्टीमा १८ वर्षदेखि एकछत्र नेतृत्व गरेकी चान्सलर एन्जेला मर्केलले यस वर्ष पार्टी नेतृत्वबाट बिदा लिएकी छिन् । यसलाई पनि एउटा महत्वपूर्ण घटनाको रूपमा लिइएको छ । मर्केलले चान्सलरका लागि आफूले चौथो कार्यकालको अन्त्यपछि उम्मेदवारी नदिने घोषणा गरिसकेकी छिन् । उहाँको चौथो कार्यकाल आगामी सन् २०२१ मा सकिँदै छ ।

पुटिन चौथो कार्यकालका लागि निर्वाचित

रुसको राष्ट्रपतिका रूपमा भ्लादिमिर पुटिन यस वर्ष चौथो कार्यकालका लागि निर्वाचित हुनु अर्को चर्चाको विषय बन्यो । गत मार्च १८ मा भएको निर्वाचनबाट उनी अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । रुसमा एउटै व्यक्ति दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहेकाले पुटिन विगत १८ वर्षदेखि रुसमा राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा रहेका छन् । अहिले ६५ वर्ष पुगेका पुटिनको यो कार्यकाल सन् २०२४ सम्मको जोड्दा उनको शासन २५ वर्षको हुनेछ ।

पत्रकार खसोग्जीको हत्या


साउदी अरबका पत्रकार जमाल खसोग्जीको गत अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास भएको हत्याको विषय लामो समयसम्म विश्वव्यापी चर्चामा रह्यो । दशकौँसम्म साउदी राजपरिवारको सल्लाहकार भएका, तर पछि सम्बन्ध बिग्रेपछि अमेरिका बस्दै आएका खसोग्जीले अमेरिकी पत्रिका द वासिङ्टन पोस्टमार्फत साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्दै आएका थिए ।

अमेरिकी सेनाको फिर्ती


सिरियामा तैनाथ दुई हजार अमेरिकी सेनालाई इस्लामिक स्टेटविरुद्धको युद्ध समाप्त भएको भन्दै डिसेम्बर १९ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सेना फिर्ता लैजाने घोषणा गरे । तर, इराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती कहिले हुन्छ भन्ने अन्योल कायमै छ ।

विश्वकप फुटबलको २१औँ संस्करण


२१औँ संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोलअन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रोपटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफीसँगै रु. चार अर्ब १० करोड पुरस्कार प्राप्त गरेको छ । विश्वकप फुटबल २०१८ को कुल पुरस्कार राशि रु. ४३ अर्ब रहेको थियो । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका ७ सय ३६ खेलाडी प्रतियोगितामा सहभागी थिए । क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

श्रीलंकामा असफल सत्ता फेरबदल


श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले गत अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिंघेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेपछि झन्डै सात हप्ता राजनीतिक संकट उत्पन्न भयो । बहालवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने उनको दुवै निर्णय अवैध भएको भन्दै अदालत र संसदले खारेज गरिदिएपछि अहिले फेरि पुरानै अवस्थामा पुगेको छ । अवैध कदम अहिलेको संसारमा टिक्न सक्दैन भन्ने सन्देश दिनेगरी टुंगिएको यो घटना यस वर्ष दक्षिण एसियामा चर्चामा रह्यो ।

यमन युद्धविराम

संयुक्त राष्ट्रसंघको मध्यस्थतामा यमनको होडेडामा हुथी विद्र्रोही र सरकारबीच डिसेम्बर १९ मा युद्धविराम भएको छ । दश हजारभन्दा बढीको मृत्यु र लाखौँ मानिस विस्थापित गराइसकेको यमन गृहयुद्धले मानवीय संकट निम्त्याएको राष्ट्रसंघको भनाइ छ ।

इरानी आणविक सम्झौताबाट अलग

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी आणविक सम्झौताप्रति इरानी सत्ता जवाफदेही नरहेको भन्दै मे ८ मा फिर्ता हुने तथा इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाउने घोषणा गरे । अमेरिकाले प्यालेस्टिनीको विरोधका बाबजुद मे १४ मा इजरायलमा रहेको राजदूतावास जेरुसेलममा स्थानान्तरण गरेको थियो ।

त्यसैगरी जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन, मि–टु अभियान, अमेरिका र चीनको व्यापार युद्ध, सिरिया, यमन, अफगानिस्तान आदिमा जारी द्वन्द्व, पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई छोरीसहित जेलमा राखिएको छ भने विश्वविश्यात क्रिकेट खेलाडी इमरान खानले सत्तारोहण गरेका छन् । मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ९२ वर्षको उमेरमा फेरि देशको नेतृत्व सम्हालेका छन् भने पूर्वप्रधानमन्त्री नजिब रजाक भ्रष्टाचारको आरोपमा कारावासमा रहेका छन् । बंगलादेशमा प्रधानमन्त्री शेख हसिनालाई चौथोपटक कार्यकाल सम्हाल्दै गर्दा उनकी चिरप्रतिद्वन्द्वी खालिदा जियाले ७३ वर्षको उमेरमा अस्वस्थ अवस्थामा जेलभित्रै छटपटारहनुपरेको छ । यस्तै उतारचढावबीच वर्ष २०१८ को बिदाइ र नयाँ वर्ष २०१९ को स्वागत गरिएको छ । नयाँ वर्षलाई स्वागत, सबैलाई शुभकामना ।

rss