हवाई कारबाहीमा २५ तालिबानी लडाकुको मृत्यु

हवाई कारबाहीमा २५ तालिबानी लडाकुको मृत्यु


अफगानिस्तानको राजधानी काबुलबाट करिब ३५ किलोमिटर पश्चिममा रहेको पूर्वी प्रान्त वार्दाकमा अफगान हवाई सुरक्षा अधिकारीहरूले गरेको हवाई कारबाहीमा परी कम्तीमा २५ तालिबान लडाकु मारिएका छन् ।

अफगानिस्तानको रक्षा मन्त्रालयले सोमबार सो जानकारी दिएको समाचारमा जनाइएको छ । वार्दाक प्रान्तको सेयेद अबाद जिल्लामा आइतबार भएको हवाई कारबाहीको क्रममा २५ लडाकु मारिएका मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीमा परी विभिन्न चार प्रदेशका स्थानीय तालिबान कमान्डर मारिएको पनि जारी विज्ञप्तिमा जनाइएको छ । हवाई कारबाहीको क्रममा सो लडाकु समूहका ६ सवारीसाधन र तीन मोटरसाइकल पनि ध्वस्त भएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

यस कारबाहीको तालिबान लडाकु समूहले भने कुनै टिप्पणी गरेका छैनन् ।