सुशीलविरुद्ध प्रस्ताव ल्याउन देउवामाथि दबाब

सुशीलविरुद्ध प्रस्ताव ल्याउन देउवामाथि दबाब


sherbahadurमाघ आठ गते संविधान जारी नहुने निश्चित भएपछि काङ्गे्रस संसदीय दलको नेतासमेत रहेका प्रधानमन्त्री सुशील कोइरालाविरुद्ध संसदीय दलमा अविश्वासको प्रस्ताव ल्याउन काङ्गे्रसकै नेताहरुले वरिष्ठ नेता शेरबहादुर देउवालाई सुझाव दिन थालेका छन् । सुशील कोइराला मुलुकमा सहमति बनाउन पूर्ण असफल भएको, बहुमतीय प्रक्रियाद्वारा संविधान जारी गर्न पनि नसक्ने अवस्थामा रहेको र कोइराला प्रधानमन्त्रीको जिम्मेवारीमा रहेपछि पार्टी गतिविधि पूर्णत: सिथिल भएको तर्क प्रस्तुत गर्दै देउवालाई केही सभासद् र केन्द्रिय सदस्यहरूले समेत सुझाव दिएका हुन् । यसरी सुझाव दिनेहरूमा केही पहिले सुशीलको पक्षमा मतदान गर्ने सदस्यहरू पनि रहेका छन् ।
देउवालाई अविश्वास प्रस्ताव ल्याउन अहिले सुझाव दिनेहरूले माघ आठपछि भने दबाब नै दिने तयारी गरिरहेका छन् । माघ आठसम्मको स्थिति हेर्ने र त्यसपछि कोइरालाविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गर्न देउवालाई दबाब दिने सोच सभासद्हरूले बनाएका छन् । आफूलाई यस प्रकारको सुझाव दिनेहरूलाई देउवाले कुनै ठोस प्रतिक्रिया दिने गर्नुभएको छैन । ‘संविधान नबनेपछि सुशीलजीले पदबाट राजीनामा दिने कुरा पहिल्यै गरिसक्नुभएको छ र उहाँको छवि पनि पदका लागि राजनीति नगर्ने व्यक्तिका रूपमा भएकोले माघ आठपछि उहाँले आफैं राजीनामा दिनुहुनेछ’, सुझाव दिनेहरूलाई देउवाको जवाफ हुने गरेको छ । तर, देउवाले भन्नुभएजस्तै संविधान नबन्दैमा पद त्याग गर्ने पक्षमा यतिबेला सुशील कोइराला हुनुहुन्न । बरु माघ आठपछि पनि कसरी प्रधानमन्त्री पदमा कायम रहने भन्ने उपायको खोजिमा कोइराला लागिसक्नुभएको छ । एमालेले साथ छोडेपछि एमाओवादी र मधेशी मोर्चालगायतका साना दलहरूलाई साथ लिएर आफ्नो सरकारलाई निरन्तरता दिने योजना कोइरालाले बनाइसक्नुभएको छ ।
यसैबीच एमाओवादी अध्यक्ष प्रचण्डले एमालेले छोडे पनि समर्थन गरिरहने वचन दिनुभएपछि कोइरालाको आत्मविश्वास बढेको छ । देउवाले अविश्वासको प्रस्ताव ल्याएमा रामचन्द्र पौडेललाई कार्यवाहक सभापति बनाएर भए पनि देउवासँग भिड्ने सोच उहाँले बनाउनुभएको बालुवाटारनिकटको सूत्रहरूले जनाएका छन् । ज्ञातव्य छ, सुशील कोइराला काङ्गे्रसको आगामी महाधिवेशनसम्म प्रधानमन्त्री बनिरहन चाहनुहुन्छ । प्रधानमन्त्री पद गुमेको अवस्थामा आफू या आफूले तोकेको व्यक्तिलाई पार्टी सभापति बनाउन नसकिने ठम्याई कोइरालाको रहेको छ ।

चिनियाँ विदेशमन्त्री खाना नखाई किन हिँडे ?
चिनियाँहरू पाुहनाहरूको स्वागत–सत्कार र मान–सम्मान प्रकट गर्न संसारमै अगाडि मानिन्छन्, तर गत साताको विहीबार (पुष १०) होटल पाक एण्ड यतीमा चिनियाँ पक्षले दिएको रात्रिभोजमा नेपाल भ्रमणमा रहेका विदेशमन्त्री वाङ यीले देखाउनुभएको व्यवहारलाई भने चिनियाँ संस्कारअनुरुपको मानिएन । सो साँझ नेपाली नेताहरूलाई विदेशमन्त्री वाङका तर्फबाट चिनियाँ राजदूतावासले एक रात्रिभोजको आयोजना गरिएको थियो । कुनै पत्रकारलाई नबोलाइएको भोजमा नेपाल टेलिभिजन, कान्तिपुर टेलिभिजन र सगरमाथा टेलिभिजनलाई मात्र सहभागी गराइएको थियो । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, झलनाथ खनाल, प्रचण्ड, बाबुराम भट्टराई, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द, परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डे, मधेशकेन्द्रित नेताहरू महेन्द्र यादव, अनिल झा, विजय गच्छदार, हृदयेश त्रिपाठी, राजेन्द्र महतो र जितेन्द्रदेव लगायतलाई निम्ताकार्ड र एसएमएसमार्फत् भोजमा आमन्त्रण गरिएको थियो । आमन्त्रित पाहुनामध्ये भोजकक्षसँगैको एउटा कोठामा पूर्वप्रधानमन्त्रीहरूलाई बस्ने व्यवस्था मिलाइएको थियो । नेपालका शक्तिशाली नेताहरूले केहीबेरको प्रतीक्षापछि उक्त कक्षमा चिनियाँ विदेशमन्त्रीलाई देख्न पाएका थिए । विदेशमन्त्रीले त्यहाँ कसैसँग पनि शिष्टाचारस्वरुप पनि बोलेनन् । बरु त्यस कोठमा अचानक झुल्किएका रामेशनाथ पाण्डेसँग भने दुई मिनेटजति वार्तालाप गरे र लगत्तै मूख्य हलतर्फ जान सबैलाई इसारा गरे । हलमा बस्ने राम्रो व्यवस्था थिएन । केही अग्लो ठाउँमा राखिएको कुर्चीमा विदेशमन्त्री वाङ बसे र भाषण गरे । उनको भाषण पूर्वप्रधानमन्त्रीलगायत उपस्थित नेताहरूले लामबद्ध भएर सुने । भाषण सकिनेवित्तिकै विदेशमन्त्री वाङ उठे, नेपालका परराष्ट्रमन्त्री महेन्द्र पाण्डेले समेत त्यहाँ धन्यवादका दुई शब्द प्रकट गर्न पनि पाएनन् । उपस्थित नेपाली नेताहरूमध्ये केहीसँग एकक्षण भलाकुसारी गरेझैँ गरेर विदेशमन्त्री वाङ खानासमेत नखाइ बाहिरिए । आफैंले आयोजना गरेको भोजमा खाना नखाइकन विदेशमन्त्री बाहिरिँदा त्यहाँ उपस्थित सबैले नमिठो मानेका थिए । उपस्थितमध्ये केही मधेशकेन्द्रित नेताहरूले निकै मज्जाले चिनियाँ भोजन ग्रहण गरे र तँछाडमछाड गर्दै विदेशमन्त्रीसँग तस्बिर पनि खिचाए । तर पूर्वप्रधानमन्त्रीहरूले भने त्यहाँ आफूहरू उपेक्षित भएको महसुस गरेका थिए ।
भोजमा निमन्त्रणा भएर पनि एमाले अध्यक्ष केपी ओली त्यहाँ पुगेका थिएनन् । औपचारिक रूपमा आयोजित उक्त रात्रिभोजमा चिनियाँ विदेशमन्त्रीसँग केही अनौपचारिक कुराकानी हुने अपेक्षा पूर्वप्रधानमन्त्रीहरूले राखेका थिए, तर अपेक्षाविपरीत विदेशमन्त्री वाङ खाना समेत नखाएर बाहिरिँदा ठूला नेताहरू स्तब्ध भएका थिए । कार्यक्रममा नेताहरू खिन्न भए पनि मन्त्री वाङले निकै मिठो सम्बोधन गरे । उनले नेपाललाई स्थिरता र आर्थिक विकासको खाँचो भएकोमा मूख्य जोड दिए । चिनियाँ राष्ट्रपतिको सम्भावित नेपाल भ्रमणको तयारीका क्रममा विदेशमन्त्री वाङको भ्रमण भएको बताइएको छ । यही भ्रमणका क्रममा नेपाललाई हुँदै आएको आर्थिक सहयोग एकै पटक पाँच गुणा वृद्धि गरिएको घोषणा पनि चीनले गरेको छ ।
विदेशमन्त्री वाङले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्रीबाहेक अन्य कसैसँग भेटवार्ता गरेनन् । ज्ञातव्य छ, चीन नेपाली राजनीतिक दलका नेताहरू जुन प्रकारको सङ्घीयतामा जान खोज्दैछन् त्यसप्रति सन्तुष्ट देखिँदैन र यसअघि कतिपय नेताहरू चिनियाँ उच्चाधिकारीहरूले सङ्घीयताबारे आफ्नो धारणा स्पष्ट रूपले बताइसकेका छन् । चीनले दिएको सुझावप्रति नेपाली नेताहरू गम्भीर नभएकोले विदेशमन्त्री वाङले नेताहरूसँग अलग्गै भेटवार्ता गर्न आवश्यक नठानेको हुनसक्ने अनुमान कुटनीतिज्ञाताहरूले गरेका छन् । जे भए पनि सो साँझको रात्रीभोजमा देखिएको अव्यवस्था, पूर्वप्रधानमन्त्रीहरूको उपेक्षा र विदेशमन्त्री आफैं खानासमेत नखाई बाहिरिएको घटनालाई चाहिँ चिनियाँ संस्कृतिविपरीत भएको मानिएको छ ।

निगम आफै ‘माफियागिरी’मा
अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा दिन–प्रतिदिन उच्च गिरावट आइरहेको छ । तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा यतिबेला पैँसठ्ठी रूयैयाँ अमेरिकी डलरको हाराहारीमा छ । तेलउत्पादक राष्ट्रहरूको सङ्गठन ओपेकका अनुसार तेलको मूल्यमा अझै गिरावट आउने छ । तेलको विश्वव्यापी मागमा देखिएको मन्दीका कारण कच्चा तेलको मूल्यमा कमी आएको हो । तर, नेपाली उपभोक्ताले घटेको मूल्य मा सहजै तेल पाउँदैनन् । बढेको मूल्यमा सहजै पाइने तेल घटेको मूल्यमा पाउन किन सकिँदैन त ? नेपाल आयल निगमले पनि नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार तेल दिँदैन । उसले निगमको घाटालगायतका विभिन्न कारण देखाउँदै खरिद गरेभन्दा झण्डै दोब्बर मूल्यमा इन्धन बिक्री गर्दै आएको छ । तैपनि नेपाली उपभोक्ताले सजिलै इन्धन भर्न पाएका छैनन् ।
अन्तर्राष्ट्रिय बजारमा यतिबेला कच्चा तेलको मूल्य प्रतिब्यारेल अमेरीकी डलर ६१ छ । अन्तर्राष्ट्रिय वेवसाइटहरूका अनुसार गत सेप्टेम्बर २९ मा प्रतिब्यारेल कच्चा तेलको मूल्य ९५ दशमलव ७० अमेरिकी डलरमा कारोबार भएकोमा डिसेम्बर १५ मा आइपुग्दा यसको भाउ घटेर प्रतिब्यारेल ६१ दशमलव ८५ डलरमा झरेको छ । विश्वबजारमा तेलको मूल्यमा यति धेरै कमी आउँदा नेपालमा भने जम्मा २४ रुपैयाँ मात्र घटाएर मूल्यमा १७ प्रतिशत मात्र कमी गरी बिक्री गर्दै आएको छ । यद्यपि, निगमले इन्धनमा अझै घाटा रहेको बताउँदै आएको छ । निगमले घाटापूर्ति गर्न भन्दै अन्तार्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको एक हप्ताभन्दा बढी हुँदा पनि घटेको सूचि नआएको भन्दै पुरानै मूल्यमा बिक्री गर्दै आएको छ । पछिल्लोपटक भारतीय आयल कर्पोरेसन्सले गत १६ तारिख अर्थात् पुस एक गते नै इन्धनको नयाँ मूल्यसूचि पठाएको थियो । तर, नेपालले भने त्यसको चार दिनपछि केही मूल्य घटाएको थियो । निगमले नयाँ मूल्यसूचि पाए पनि प्राविधिक कारणले तत्काल मूल्य घटाउन नसकिएको निगमका प्रवक्ता मकुन्दप्रसाद घिमिरेले जानकारी दिए । ‘एक–दुई दिन ढिला भए पनि निगमले अन्तर्राष्ट्रिय बजारमा भएको मूल्यअनुसार नै मूल्य कायम गरेका छौँ ।’ तर, नेपाली उपभोक्ताले अहिलेसम्म पनि घटेको मूल्यमा सहजै तेल पाउन सकेका छैनन् । व्यापारीहरूले इन्धनको मूल्य घट्नुअगावै निगमसँग खरिद गरिएको तेल नयाँ मूल्यमा दिन नसक्ने भन्दै पेट्रोल पम्पहरू बन्द गरेपछि उपभोक्ताले उपत्याकाका विभिन्न पेट्रोलपम्पबाट सहजै इन्धन पाउन नसकेका हुन् ।
नेपालले भारतसँग पट्रोल ५४ रुपैयाँ १० पैसा, डिजल ५८ रुपैयाँ ७९ पैसा, हवाईइन्धन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडानका लागि ६६ रुपैयाँ १९ पैसा र एलपी ग्यास १२ सय ३० रुपैयाँमा खरिद गर्छ । तर, उसले नेपाली बजारमा पेट्रोल एक सय १७, डिजल ९२, मट्टितेल ९२, हवाई इन्धन राष्ट्रिय उडानका लागि एक सय ३३, हवाई उडान अन्तर्राष्ट्रिय उडानका लागि एक सय ३७, एलपी ग्यास सत्र सय ७० रूपैयाँमा बिक्री गर्दै आएको छ । बजारमा तेल अभाव सिर्जना गर्ने र कमिसन बढाउन बाध्य पार्न व्यापारीहरू उद्यत् रहेको देखिन्छ । साथै निगमले देखाउने चुहावटको वाहना निकै डरलाग्दो छ । यसतर्फ सम्बन्धित निकायको पर्याप्त ध्यान गएको देखिँदैन ।
मूल्य घट्दा अर्थतन्त्रमा असर
इन्धनको मूल्यमा आएको कमीका कारण तेल उत्पादन गर्ने राष्ट्रहरूको आर्थिक अवस्था खस्कँदै गएको बताइन्छ । खाडीको अर्थतन्त्र स्थिर राख्नकै लागि तेलको मूल्य ८५ अमेरिकी डलर प्रतिब्यारल हुनुपर्छ, तर अहिले ६१ अमेरिकी डलरको हाराहारीमा छ । विश्वको सबैभन्दा ठूलो तेल उपभोगकर्ता अमेरिकाले पहिलेको अनुमानमा सुधार गरी सन् २०१५ मा तेलको मूल्य सरदर ६२.७५ अमेरिकी डलर ब्यारल हुने प्रक्षेपण गरेको छ । गत नोभेम्बरमा अमेरिकाले तेलको मूल्य ७७.७५ अमेरिकी डलर प्रक्षेपण गरेको थियो । अमेरिकाले दैनिक एक करोड ९१ लाख ब्यारल तेलको खपत गर्छ भने ९३ लाख २० हजार ब्यारल आफैं उत्पादन गर्दछ । अमेरिकाले टेक्सास, नर्थ डकोटाजस्ता राज्यमा स–साना कुवाबाट तेल उत्खनन गरिरहेको छ । एउटा कुवा खन्न त्यहाँ केवल १५ लाख अमेरिकी डलर लगानी भइरहेको छ । तर, खाडीमा तेलको दोहन सन् १९७० पछि ब्यापक भएकोले जमीनबाट तेल निकाल्न करोडौँ अमेरिकी डलर खर्च पर्छ । तेलको मूल्य घट्दा उत्खनन महँगो पर्ने भएकोले नयाँ उत्खनन हुँदैन, फलत: यसको दीर्घकालीन असर पर्छ ।
यस्तै, तेलउत्पादक राष्ट्रको सङ्गठन (ओपेक)का सदस्य नाइजेरिया र भेनेजुयलामा तेलको मूल्यको असर देखिन थालिसकेको बताइन्छ । तेलको मूल्य पहिलेझैँ ९० अमेरिकी डलर प्रतिब्यारलको स्थितिमा नपुगे खाडीराष्ट्रहरू सङ्कटमा पर्ने विश्लेषण छ । अन्तर्राष्ट्रिय मुद्राकोषका अनुसार साउदीअरबको वार्षिक बजेटलाई व्यवस्थित गर्न तेलको मूल्य एक सय चार अमेरिकी डलर ब्यारल हुनुपर्छ भने अन्य राष्ट्रहरू संयुक्त अरब इमिरेट्स, कुवेत र कतारको हकमा क्रमश: ८१, ७८, ७७ अमेरिकी डलर हुनुपर्ने बताइन्छ । आगामी वर्षमा भने तेलको मूल्य बढ्ने अनुमान ओपेकको छ । आगामी वर्षको अन्त्यमा तेलको मूल्य बढ्ने छ ।

मेलम्चीको पानी पिउन सत्तरी वर्ष पर्खनु पर्ने !
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको काम अहिलेकै गतिमा भए आयोजना सम्पन्न भएर राजधानीमा पानी आइपुग्न ८४ वर्ष लाग्ने देखिएको छ । आयोजना सुरु भएको १४ वर्ष बितिसकेको छ । यसबीचमा जम्मा १७ प्रतिशत मात्र काम सम्पन्न भएको छ । यदि यही गतिमा काम हुने हो भने नेपालीको सरदर आयु ६० वर्षलाई मान्दा हाम्रो पालामा मात्र होइन यतिबेला जन्म लिने बच्चाले पनि मेलम्चीबाट आएको पानी आफ्नो जीवनकालमा पिउन पाउने छैनन् । किनकि, अहिलेकै चालमा काम भए राजधानीमा मेलम्ची आउन अझै ७० वर्ष लाग्छ । त्यस अवधिमा मेलम्ची खोलाबाट अहिलेको तुलनामा आधा पनि पानी ल्यान सकिँदैन । मौसम परिवर्तनका कारण मेलम्चीमा अहिलेको तुलनामा ७० वर्षपछि पानीको मात्रामा निकै कम आउन सक्छ ।
सन् २०१२ मा चिनियाँ ठेकेदारसँग मेलम्ची आयोजनाको ठेक्का तोडिँदा ६ हजार चारसय ४४ मिटर सुरुङ निर्माण भइसकेको थियो । त्यसपछि ठेक्का पाएको इटालियन कम्पनी सिएमसी डि राभेन्नाले अहिलेसम्म ४० प्रतिशत समय गुजारिसक्दा जम्मा १७ प्रतिशत मात्रै काम सकेको छ । सरकारले २०७३ वैशाखमा मेलम्चीको पानी काठमाडौंवासीलाई वितरण गर्ने लक्ष्य राखेको छ, तर लक्ष्यमा मात्र सीमित हुने पक्कापक्की देखिएको छ । हालसम्मको प्रगति हेर्दा उक्त अवधिमा काम सकिने सम्भावना शुन्य प्रतिशत मात्र छ ।
मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक घनश्याम भट्टराईका अनुसार मेलम्ची खानेपानीको आयोजनाको हालसम्म १७.५१ प्रतिशत काम सम्पन्न भएको छ । आयोजनाले विभिन्न प्राविधिक कारण देखाउँदै काममा विलम्ब गरेकाले तोकिएको समयमा काम सम्पन्न हुने नदेखिएको हो । यद्यपि, सरकारले उपात्यकामा मेलम्चीबाट ल्याएको पानी वितरणका लागि पाइप बिछ्याउने कार्यलाई तीव्रता दिँदैआएको छ । उसले एक वर्षभित्र पाइप बिछ्याइसक्ने लक्ष्य लिएको छ । तर, पानी ल्याउनका लागि खनिनु पर्ने सुरुङमार्गको काम नै नसकिने भएपछि बिछ्याइएको पाइपबाट पानी होइन हावा मात्र आउने छ ।
सुरुङमार्ग निर्माण मात्र नभई पानी प्रशोधन केन्द्र निर्माणको कामसमेत हुन सकेको छैन । गतवर्ष नै सम्पन्न गर्ने लक्ष्यका साथ आयोजनाको पुनर्संरचना गरिए पनि ठेकेदारले सम्झौताअनुसार काम नगरेको भन्दै सरकारले गत आर्थिक वर्षको अन्त्यमा इटालियन सीएमसीलाई नयाँ ठेक्का दिएको थियो । ०६५ माघ ८ गते काम सुरु गरेको चीनको सीआरसीसी कम्पनीसँग सरकारले २०६९ असोज ९ गते ठेक्का रद्द गरेको थियो । इटालियन कम्पनी सीएमसी डी राभेन्नासँग २०७१ असार ३१ सम्झौता गरिएको थियो ।
हालसम्म सिन्धुपाल्चोकको अम्बाथानबाट तल ६ सय मिटर, ग्याल्थुमबाट माथि ६ सय ९५ मिटर तथा तल ३ सय ६२ मिटर, सिन्धुकोटमाथि एक सय मिटर तथा तल ६ सय ७२ मिटर र सुन्दरीजलभन्दा माथि एक हजार एक सय ९५ मिटर सुरुङ खनिएको छ । कमजोर भौगर्भिक अवस्था र कमसल खालको चट्टान फेला परेकाले काममा समय लागेको जनाएको निर्माण कम्पनीको भनाई छ ।

हिन्दुको खिल्ली उडाउँदा अर्बौको कमाई !
अमीर खान अभिनीत हिन्दी सिनेमा पीके विवादास्पद भए पनि उक्त फिल्मले दश दिनभित्रै दुईसय छत्तिस करोड भारतीय रुपैयाँ कमाएको छ । सनातन हिन्दु धर्मको परम्परागत मूल्य–मान्यताको खिल्ली उडाइएको उक्त सिनेमामा इस्लाम र इसाई धर्मको पनि सामान्य आलोचना गरिएको छ । सनातनी हिन्दुहरूले गर्ने गरेको मूर्तिपूजा बकवास भएको पुष्टि गर्ने प्रयत्न सिनेमाले गरेको छ । त्यस्तै धर्म गुरुहरू जो प्रवचनमार्फत् मानिसमा धार्मिक आस्था र अभिवृद्धि गर्न क्रियाशील छन् तिनीहरू ढोँगी, पाखण्डी र ठग प्रवृत्तिका हुन्छन् भन्ने पनि सिनेमामा देखाइएको छ । सनातन हिन्दु धर्मप्रति सकारात्मक मानिने भारतीय जनता पार्टी पूर्ण बहुमतका साथ सत्तामा आएपछि यस प्रकारको सिनेमा निर्माण गरी प्रदर्शनमा ल्याइनुलाई एउटा संयोग मात्र मानिएको छैन, विजेपी र प्रधानमन्त्री नरेन्द्र मोदीको बढ्दो प्रभावलाई नियन्त्रण गर्ने नियतले ल्याइएको अनुमान धेरैले गरेका छन् र भारतमा जनस्तरबाटै त्यसको व्यापक विरोधसमेत भइरहेको छ । सिनेमामा सनातन हिन्दु धर्मको खिल्ली जसरी उडाइएको छ त्यसको पच्चिस प्रतिशत मात्र आलोचना इस्लाम धर्मको गरिएको भए अभिनेता अमीर खान र सिनेमाको सम्पूर्ण टोलीविरुद्ध कतिवटा इस्लामिक सङ्घ संस्थाहरुले फतवा जारी गरिसकेका हुन्थे, त्यसको सहजै अनुमान गर्न सकिन्छ । तर, हिन्दु धर्मावलम्बीहरूमा हुने व्यापक उदारता र सहिष्णुताका कारण सिनेमाको सामान्य विरोध मात्र भइरहेको छ । आलोचना हुँदाहुँदै पनि करोडौँ हिन्दुले नगद बुझाएरै पीके हेरिदिएका छन् । भारतमा कतिपयले यसलाई अन्धविश्वासविरुद्धको सिनेमा पनि भनेका छन् । जे होस्, अमीर खानको सिनेमा पीके सार्वजनिक हुन दिएर भारतीय जनताले हिन्दुहरूको उदारता सिद्ध गरिदिएका छन् ।

को नेता कुन पक्षमा ?
संविधान निर्माणका निम्ति विभिन्न स्तर र अनेकौँ चरणमा भएका बैठकमा प्रकट धारणाका आधारमा राजनीतिक दलका नेताहरूलाई कम्तिमा तीन श्रेणीमा विभाजित गर्न सकिने देखिएको छ । एकथरि नेताहरू जसरी भए पनि सहमतिमै संविधान जारी गर्नुपर्छ भन्ने पक्षमा रहेका, एकथरि जस्तो र जसरी भए पनि संविधान आउनुपर्छ भन्ने र अर्का एकथरीचाहिँ राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकतालाई दखल पु¥याउने प्रकारको संविधान बनाउन नहुनेमा दृढ देखिएका छन् ।
राष्ट्र, राष्ट्रियता र राष्ट्रिय एकताका पक्षधरहरू : डा. रामवरण यादव, केपी शर्मा ओली, शेरबहादुर देउवा, विद्या भण्डारी, झलनाथ खनाल, डा. रामशरण महत, डा. शेखर कोइराला, खुमबहादुर खड्का, नारायणमान बिजुक्छे, चित्रबहादुर केसी, कमल थापा ।
सहमतिमा मात्र संविधान जारी गर्नुपर्छ भन्नेहरू : प्रचण्ड, डा. बाबुराम भट्टराई, डा. अमरेशकुमार सिंह, राजेन्द्र महतो, महेन्द्र यादव, महन्थ ठाकुर ।
जसरी भए पनि संविधान जारी हुनुपर्छ भन्नेहरू : रामचन्द्र पौडेल, माधवकुमार नेपाल, कृष्णप्रसाद सिटौला, नारायणकाजी श्रेष्ठ, वामदेव गौतम, डा. मीनेन्द्र रिजाल ।
यसरी विभिन्न दलका नेताहरूले विभिन्न सोच बनाएका भए पनि प्रधानमन्त्री सुशील कोइराला भने विलखबन्दमा परेको महसुस हुँदैछ । केही महिना अघिसम्म जसरी भए पनि माघ आठमै संविधान बन्नुपर्छ र नबने प्रधानमन्त्री पदबाट राजिनामा दिन्छु भन्दै हिँड्नुहुने कोइराला पछिल्लो समयमा भूमिकाविहीन र धारणाहीन बन्नुभएको छ । उहाँ न राष्ट्रियताको पक्षमा, न प्रजातन्त्रको पक्षमा, न माघ आठमा जसरी भए पनि संविधान जारी गर्ने पक्षमा त न सहमतिबाट संविधान जारी गर्ने पक्षमा नै हुनुहुन्छ । कोइराला यतिबेला एउटा कुराको मात्र पक्षमा देखिनु भएको छ, त्यो हो– संविधान बने पनि नबने पनि प्रधानमन्त्री पदमा चाहिँ आफैं रहिरहनुपर्छ भन्ने पक्ष । प्रधानमन्त्री कोइरालाले लिनुभएको यस्तो पक्षमा काङ्गे्रसका केही नेता र केही मन्त्रीहरू पनि देखिएका छन् ।

प्रधानमन्त्रीको व्यवहारबाट किचेन क्याबिनेटमै असन्तुष्टि
नेपालको इतिहासमा सर्वाधिक असक्षम, सङ्कीर्ण र सङ्कुचित मानिएका प्रधानमन्त्री सुशील कोइरालाबाट उनकै किचन क्याविनेटका सदस्यहरू समेत हैरान रहेका समाचार प्राप्त हुन आएको छ । अहिले प्रधानमन्त्रीको किचन क्याविनेटमा डा. सशाङ्क कोइराला र सुजाता कोइराला तथा अर्थ–सल्लाहकार डा. चिरञ्जीवी नेपाल, परराष्ट्र–सल्लाहकार दिनेश भट्टराई, प्रमुख स्वकीयसचिव वसन्त गौतम, स्वकीयसचिव अतुल कोइराला, सल्लाहकार मृदुला कोइराला, स्वकीयसचिव रमेश शर्मा (भण्डारी) र भण्डारीपत्नी प्रभा रहेका छन् । यी बाहेक आनन्द ढुङ्गाना, दिलेन्द्रप्रसाद बडु, डा. मीनेन्द्र रिजाल र महेश आचार्यले पनि आफूलाई किचन क्याविनेटकै सदस्यका रुपमा प्रस्तुत गर्दछन् । यसरी सुशील कोइरालाको निकट देखिएका कसैलाई पनि सुशील कोइरालाले विश्वासमा लिन सकेका छैनन् । महेश आचार्य र अतुल कोइरालाबाहेक सबैमा आफूलाई प्रधानमन्त्रीले विश्वास नगरेको भान परेको छ ।
प्रधानमन्त्रीको वरिपरि रहेर काम गर्नेहरू सबैमा सुशील कोइरालाले अरुलाई भन्दा अलिक बढी आफूलाई विश्वास गरुन् भन्ने चाहना रहेको पाइन्छ र आफूलाई विशेष व्यवहार नगर्नुको सिधा अर्थ हरेकले ‘मलाई विश्वास नगरेको’ भनेर लगाएका छन् । किचन क्याविनेटका हरेक सदस्यहरू आफूलाई त्यहिँभित्रकै सदस्यहरूले षड्यन्त्र गरिरहेको ठान्दछन् । हुन पनि सुशील कोइरालाले आफ्ना हरेक कर्मचारी–सहयोगीहरूका बारेमा त्यहिँभित्रैबाट नकारात्मक कुराहरू सुन्नु परिरहेको छ । एक्लै भेट्ने मौका पाउनेवित्तिकै अर्काको विरुद्ध प्रधानमन्त्रीलाई कुरा लगाउन कोही पनि चुक्ने गर्दैनन् । सुशील कोइराला त्यसै पनि सङ्कीर्ण र सङ्कुचित स्वभावका मानिस, त्यसमाथि नकारात्मक कुराहरू सुनेपछि उनी झनै टाढिने गर्छन्, सत्य/तथ्य बुझेर व्यवहार गर्ने उनको बानी कहिल्यै रहेन । राजनीतिक सिँढी चढ्ने क्रममा पाइला–पाइलामा सहयोग गर्दै आएका रामचन्द्र पौडेल, डा. रामशरण महत, डा. नारायण खड्का र दीपकुमार उपाध्याय जस्ता नेताहरूलाई समेत प्रधानमन्त्री कोइरँलाले विश्वास गरेका छैनन् । बरु उनले आफ्ना कर्मचारी र मन्त्रीहरूले के–के गरिरहेका छन्, एकअर्काको सुराकी गरी सुचना प्राप्त गर्न कोशिस गरिरहेका छन् । डा. महत, डा. खड्का, मीनेन्द्र रिजाल र विमलेन्द्र निधिलगायतका मन्त्रीहरूले के गरिरहेका छन् बुझेर सूचना दिने जिम्मेवारी विराटनगरका महेश आचार्यले पाएका छन् । राजनीतिकर्मीमध्ये कोइरालाले डा. सशाङ्क, आनन्द ढुङ्गाना, दिलेन्द्र बडु र महेश आचार्यलाई मात्र विश्वास गर्ने गरेको बताइन्छ ।
किचेन क्याविनेटभित्रै एकअर्काविरुद्ध सुराकी हुन थालेपछि प्रधानमन्त्री कोइरालाप्रति सबै सशङ्कित हुनुपर्ने स्थिति बनेको छ । कोइराला कुनै पनि विषयको निर्णय समयमै लिन सक्दैनन् । उनको यस्तो व्यवहारबाट मन्त्रीहरू समेत हैरान भइरहेका छन् । किचेन क्याविनेटभित्र पैदा भएको संशय र त्रासका कारण कतिपयले कोइरालाबाट टाढा पुग्ने इच्छा राख्न थालेका छन् । यसक्रममा वसन्त गौतम नामक स्वकीयसचिव र सल्लाहकार दिनेश भट्टराईले राजदूत भएर कतै जाने इच्छा जाहेर गरेका छन् । मृदुला कोइराला पनि राजदूतकै आकाङ्क्षी देखिएकी छिन् । डा. चिरञ्जीवी नेपालले चाहिँ राष्ट्र बैंकको गभर्नर बन्ने इच्छा प्रधानमन्त्रीसमक्ष प्रकट गरिसकेको बुझिएको छ । जानका लागि कुनै ठाउँ नदेख्नेहरू चाहिँ भित्रभित्रै मुरमुरिएर भए पनि कोइरालाकै वरिपरि दौडधुप गरिरहन बाध्य भएका छन् ।

नेता खड्का दिल्लीतर्फ
नेपाली काङ्गे्रसका प्रभावशाली नेता एवम् हिन्दुराष्ट्र स्थापना महाअभियानका संयोजक खुमबहादुर खड्का दुई सातासम्म भारतमा रहनुहुने भएको छ । पुस १६ गते बुधबार भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गर्नुहुने खड्का दुई सातापछि स्वदेश फर्कनुहुनेछ । नयाँ दिल्लीमा रहँदा उहाँले त्यहाँ भारतका विभिन्न नेतासँग भेटवार्ता गर्नुहुने बुझिएको छ ।

महानगरका सडक मेलम्ची देखाएर भताभुङ्ग
सार्क सम्मेलनताक एक पत्रिकामा छापिएको कार्टुनले निकै चर्चा पाएको थियो । खानेपानी र टेलिकमका कर्मचारी हातमा गैँची लिएर सडकछेउ उभिएका देखाइएको उक्त कार्टुनका पात्रहरू भन्दै थिए– ‘केही दिन’भो, सडक खन्न नपाएर हातै चिलायो ।’ सार्कको सातादिन केही सभ्य र भव्य देखिएको राजधानीका सडक त्यसको केही दिनमै फेरि भत्काएर बिजोग पारिएको छ । महानगरपालिका र मेलम्ची खानेपानी आयोजनाले एकैचोटि सडक खन्न सुरु गरेका छन् । भक्तपुर र ललितपुरको हालत पनि उस्तै छ ।
मेलम्चीको खानेपानी आयोजना सम्पन्न हुन अझै करिब अढाई बर्ष लाग्नेछ । त्यो बेलासम्म राजधानीवासी सडकको यो बिजोगबाट मुक्ति पाउने छैनन् । चक्रपथको पुन:निर्माण थालेर त्यत्तिकै अलपत्र छोडिएको छ । महानगरपालिकाले बबरमहलको बाणिज्य विभागअगाडिको ढल निर्माण थालेको दुई बर्ष भइसक्यो । तर, निर्माण सकेर कालोपत्रे नहुँदा यो सडकको धुलो र हिलोबाट सर्वसाधारण आजित भएका छन् । मैतीदेवी सडकमा चर्को विरोध सुरु भएपछि बल्ल काम अघि बढेको छ ।
अहिले मेलम्ची खानेपानी आयोजनाले सडक भत्काएर मर्मत कार्यमा ढिलाई गर्दा अधिकांश सडक बिजोग हालतमै छन् । महानगरभित्रका सडक निर्माणमा सरकारका दुई निकाय जिम्मेवार छन् । भित्रीसडक महानगरपालिकाले बनाउनुपर्छ भने मुख्यसडकचाहिँ सडक विभागको जिम्मामा छन् । तर, दुबै निकाय सडक निर्माणको सुस्तताको दोष एकअर्कालाई दिन्छन् । न सडक विभागले चक्रपथलगायतका मुख्य सडक निर्माणलाई दुरुस्त तुल्याउन सकेको छ, न महानगर कार्यालयले भित्रीसडकलाई व्यवस्थित पार्न सकेको छ । सडक विभागका एक अधिकारीका अनुसार ठेकेदारको मनपरीका कारण सरकारी निकाय लाचार बनेका छन् । यिनै ठेकेदारलाई राजनीतिक तहबाट संरक्षण हुने हुँदा विकासका काम सुस्त भएको ती अधिकारीले बताए ।
महानगर कार्यालय खानेपानी, टेलिकम लगायतसँग दीर्घकालीन समन्वय नगर्दा गतिला सडक पनि फोरिएका छन् । बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा विस्तार गर्न थालिएका सडक बेलैमा निर्माण नसक्दा राजधानीवासी ‘बिजोग’ सडकबाट आजित बनेका छन् । महानगरपालिकाले राजधानीलाई धुलोमुक्त बनाउने हो भने भित्रीसडकलाई व्यवस्थित गरेर ढल निर्माण कार्य गर्नुपर्ने स्थानीयको माग छ । भित्रीसडकबाट आएको माटोका कारण कालोपत्रे भएका मूल सडक पनि धुलाम्मे हुँदा राजधानीको गरिमा झनै बिग्रिएको छ ।

समाचार माग्दा पत्रकारमाथि दुब्र्यवहार
विज्ञान प्रविधि तथा वातावरणरण मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले समाचारका विषयलाई लिएर पत्रकार कमल पराजुलीलाई दुव्र्यवहार गर्दै धम्की दिएका छन् । समाचार सङ्कलनका लागि सोमबार दिउँसो मन्त्रालय पुगेका चक्रपथ डटकममा कार्यरत पत्रकार पराजुलीलाई पौडेलले समाचार नलेख्न धम्की दिएको पीडित पत्रकारले बताए । ‘किन समाचार चाहियो ? को होस् तँ ?’ जस्ता शब्द प्रयोग गरेका सचिव पौडेलले सुरुमै पराजुलीसँग परिचयपत्र मागेका थिए । परिचपत्र देखाएपछि आफूले सोधेको विषयबस्तु कुनै समाचार नबन्ने तर्क गर्दै सचिव पौडेलले उक्त समाचार नलेख्न धम्की दिएका थिए । विज्ञान मन्त्रालयको विभागीय जिम्मेवार समेत लिएका प्रधानमन्त्री सुशील कोइराला एक बर्षमा एक पटक पनि मन्त्रालय नगएको भन्ने विषयमा समाचार लिन जाँदा पौडेलले पत्रकार पराजुलीलाई चेतावनी र धम्कीका साथ आफ्नो कार्यकक्षबाट जबर्जस्ती बाहिर निकालीदिएको पराजुलीले जानकारी दिए ।

‘कन्भर्सेसन्स’मा सरोज र भीष्म
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय राजदूतावासको आयोजनामा ‘कन्भर्सेसन्स’को २२औँ संस्करण गत साता नेपाल एयरलाइन्स भवनमा सम्पन्न भयो । नाम चलेका कवि/साहित्यकार भीष्म उप्रेती र प्रख्यात सर्जन एवम् कवि डा. सरोज धिताल ‘कन्भर्सेसन्स’मा सहभागी भए । कवि भीष्मको लेखनी र लेखन यात्राबारे आफ्नो धारणा राख्दै डा. धितालले भने– ‘भीष्म कुनै प्लान बनाएर लेख्दैनन्, स्वतन्त्र, स्वच्छन्द लेखन नै उनका सिर्जनाको सुन्दरता हो । जे देख्छन् भीष्म तत्काल कवितामा ढाल्न सक्छन् । उनका कविता बहुअर्थ बोकेका ब्यंग्यात्मक एवम् साङ्केतिक भावका हुन्छन् । उप्रतीले आफ्ना कविता एवम् लेखनका माध्यमबाट विभिन्न विषयको वकालतसमेत गर्दै आएका छन् भने उनलाई एक रोमान्टिक कविका रूपमा पनि मैले बुझेको छु ।’
कवि उप्रेतीले डा. धितालको अभिव्यक्तिप्रति समर्थन जनाउँदै आफू एक रोमान्टिक कवि नै भएको बताए । तर, आफ्ना हर लेखनीमा रोमान्टिकता समावेस नहुने प्रस्ट्याउँदै उनले भने– ‘जीवन सुख, दु:ख, हाँसो, खुशी, त्रासदी तथा विविध उतारचढावले भरिएको हुन्छ र यी सबै मानवीय भोगाइहरू मेरा लेखनीमा झल्कन्छन् । कवितामा विभिन्न रुपक प्रयोग गर्ने क्रममा म आफ्ना कविताबाट कुनै न कुनै कुराको वकालत पनि म गरिरहेको हुन्छु ।’
कन्भर्सेसन्सको उक्त श्रङ्खलामा डा. धितालले उप्रेतीका केही कविताको भावबारे ब्याख्या गरे भने कवि उप्रेतीले पनि ‘कवितामा पहाड’लगायतका विभिन्न चर्चित कविताका अर्थ प्रस्ट्याउने प्रयत्न गरेका थिए । कवि भीष्मका अनुसार उनी कवि मञ्जुलका कविता पढेर कविता लेखनतर्फ आकर्षित भएका हुन् । आफू एक बैंकरको रूपमा कार्यरत भए पनि पेसागत रूपले एक कवि नै रहेजस्तो अनुभूति हुने गरेको ठट्यौली पनि सर्जक भीष्मले गरे । बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले अतिथिद्वयलाई मायाको चिनो प्रदान गर्दै कार्यक्रमको अन्त्य गरे ।

माधव नेपाल भन्छन्– ‘सडक दुर्घटनाको प्रमुख दोषी प्रधानमन्त्री’
नेकपा (एमाले)का नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले पछिल्लो समय दिनप्रतिदिन सडक दुर्घटना बढ्नुमा प्रधानमन्त्री दोषी रहेको अभिव्यक्ति दिएका छन् । एमालेको भातृसङ्गठन युवा सङ्घ नेपाल काठमाडौंले गत सोमबार राजधानीमा आयोजना गरेको ‘बढ्दो सडक दुर्घटना तथा न्युनीकरण’ विषयक अन्तरक्रियामा सहभागी भएका नेता नेपालले मन्तव्यको क्रममा यस्तो दाबी गरेका हुन् । सडक दुर्घटना बढ्नुमा प्रधानमन्त्री के कारणले दोषी भए भन्ने सन्दर्भमा थप प्रस्ट नपारी नेता नेपालले नेपालमा सडकको गुणस्तर कमजोर भएको, गाडीको अवस्था नाजुक रहेको, चालकहरू सक्षम नभएका र आमजनतामा सडकसम्बन्धी जनचेतनाको अभावका कारण पनि दिनप्रतिदिन दुर्घटना बढेको धारणा अघि सारे । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलासमेत उपस्थित कार्यक्रममा नेपालले दुर्घटनाका दोषीहरूलाई कडा कारबाहीको माग गर्दै प्रधानमन्त्रीय स्तरबाट दुर्घटना न्युनीकरणको पहल गर्नुपर्ने तर्क गरे ।
सोही अवसरमा एमाले नेता नेपालले आगामी माघ ८ मा संविधान जारी नहुने हो भने अबको चार वर्षपछि पनि संविधान नबन्ने दाबीसमेत गरे । प्रमुख दलबीच मिलनबिन्दु खोजेर माघ ८ मै संविधान जारी गर्नुपर्नेमा जोड दिएका उनले एमाओवादीप्रति लक्षित गर्दै भने– ‘एमाले माघ ८ मा संविधान जारी गर्न कतिसम्म लचिलो हुनुपर्ने हो त्यसमा तयार छ, काङ्ग्रेस र एमालेले पेलेर बहुमतका आधारमा संविधान जारी गर्न खोजे भनी आरोप लगाउनेहरूले पनि हामी यो बिन्दुसम्म मिलेर जान तयार छौँ भनेर प्रस्ताव ल्याउनु प¥यो नि !’ नेकपा एमाले कुनै पनि हालतमा जातीय सङ्घीयतका पक्षमा नरहेको प्रष्ट पार्दै उनले ‘एमाओवादी संविधान जारी गर्ने पक्षमा छ भने मिलनबिन्दुको प्रस्ताव ल्याउँछ, अन्यथा माघ ८ मा जसरी पनि संविधान जारी हुन्छ ।’

‘आइटीइसी’ दिवस भव्य रूपमा सम्पन्न
हरेक वर्ष मनाईंदै आएको ‘मौलना आजाद एवम् भारतीय प्राविधिक तथा आर्थिक सहयोग दिवस’ भारतीय सांस्कृतिक केन्द्रको सहयोगमा यस वर्ष पनि भारतीय राजदूतावासले आयोजना गरेको छ । शहरी विकासमन्त्री नारायण खड्काको प्रमुख आतिथ्यतामा गत ११ गते आयोजित कार्यक्रममा नेपाल सरकारका वरिष्ठ प्रशासकहरू, भारतीय शैक्षिक संस्थाका दीक्षितहरू, सञ्चार जगत तथा नेपाल र भारतका प्रबुद्ध नागरिकहरूको समेत उपस्थिति थियो भने भारतीय संस्कृति केन्द्रका विद्यार्थीहरूले सुमधुर प्रस्तुति गरेका थिए ।
आइटीइसी भनेर चिनिएको भारतीय प्राविधिक तथा आर्थिक सहयोग कार्यक्रममा बाह्रजना नेपाली सहभागीसहितको प्रथम समूह सन् २००० मा भारत गएको थियो भने आइटीइसी कार्यक्रमअन्तर्गत सन् २००० मा छुट्टाइएको १२ कोटालाई बढाएर गत वर्ष १ सय ८० पु¥याइएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको गत साउनमा भएको नेपाल भ्रमणको अवसरमा ७० सिट बढाएर यस वर्षदेखि २ सय ५० बनाउने घोषणा गरिएको थियो । आइटीइसी कार्यक्रमअन्तर्गत नेपाल सरकारका साथै निजी तथा सार्वजनिक क्षेत्रका व्यक्तिहरूले भारतका ख्यातिप्राप्त संस्थानहरूबाट कम्प्युटर, इन्जिनियरिङ, पत्रकारिता, बैंकिङ, विधायकी, उर्जा, रिमोट सेन्सिङ, मानव संसाधन अनुसन्धान, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानुनको कार्यान्वयन, ब्यापार योजना तथा प्रबद्र्र्धन, लेखा तथा वित्त इत्यादि क्षेत्रमा तालिम प्राप्त गरिसकेका छन् । बितेको तेह्र वर्षमा आठ सयभन्दा बढी सहभागीले भारतमा छोटो अवधिका पाठ्यक्रममा सहभागी भई लाभान्वित भइसकेका छन् ।
बताइएअनुसार आइटीइसी आपसी हितका लागि सहयोग तथा साझेदारीसँग सम्बन्धित छ । विकासोन्मुख देशहरूको अनुरोधअनुसार यसले ती देशहरूका आवश्यकतालाई सम्बोधन गर्दछ । छिमेकी मित्रराष्ट्र भारतले आइटीइसी गतिविधिका लागि वार्षिक ८० करोडभन्दा बढी खर्च गर्दछ । यस हिसाबले भारतले सन् १९६४ देखि यस कार्यक्रमअन्तर्गत छिमेकी देशहरूसहित अन्य विकासोन्मुख देशहरूलाई दुई अर्ब अमेरिकी डलरभन्दा बढी मुल्यको प्राविधिक सहयोग प्रदान गरिसकेको छ ।
हालसम्म नेपालमा मानव संसाधन विकासमा भारत नेपाल सहकार्यले ठूलो योगदान गरिसकेको छ । भारत सरकारले प्रविणता, स्नातकोत्तर तथा विद्यावारिधिलगायत विविध तहमा चिकित्सा शास्त्र, कृषि, विज्ञान, कानुन, कला, पशुविज्ञान, औषधी विज्ञान, कम्प्युटर विज्ञान आदि विषयहरूमा गरी तीन हजारभन्दा बढी नेपाली विद्यार्थीलाई वार्षिक रुपमा छात्रवृत्ति प्रदान गर्दै आएको छ । यसले एनआईटी, जेएनयू, बीएचयू, दिल्ली केन्द्रिय विश्वविद्यालय, ओस्मानिया विश्वविद्यालयलगायत ख्यातिप्राप्त शैक्षिक केन्द्रहरूमा छात्रवृत्तिमा अध्ययनको लागि सिफारिस गर्दै आएको छ । भारतीय राजदूतावासले २००५–०६ देखि प्रदान गर्दै आएको छात्रवृत्ति/तालिममार्फत् १८ हजार पाँचसय भन्दा धेरै व्यक्ति लाभान्वित भएका छन् ।
काठमाडौंस्थित होटल ¥याडिसनमा आयोजित समारोहमा स्वतन्त्र भारतका प्रथम शिक्षामन्त्री तथा भारतीय सांस्कृतिक सम्बन्ध परिषद्का संस्थापक मौलना अव्दुल कलाम आजादको १२६ औं जन्मजयन्ती मनाइयो । १९९२ मा भारतको सर्वोच्च नागरिक सम्मान ‘भारत रत्न’ले मृत्युपर्यन्त विभुषित आजादको जन्मदिवस राष्ट्रिय शिक्षा दिवसको रुपमा भारतभरि मनाइन्छ । भारतको शिक्षामन्त्रीको रूपमा मौलना आजादले भारतीय प्राविधिक शिक्षालय तथा राष्ट्रमा उच्च शिक्षाको विकास र अनुगमन गर्ने एक महत्वपूर्ण निकाय विश्वविद्यालय अनुदान आयोगको जग बसाल्नुभएको थियो । भारत बढ्दो विश्वविद्यालय र कलेजहरू सहित सिकाइको केन्द्र बन्न सफल हुनुको पछाडि मौलना आजाद जस्ता महत्वपूर्ण व्यक्तिहरूको प्रयास रहेको बताइन्छ । विज्ञान, प्रविधि, परम्परागत कला, मानविकी आदि विविध विषयमार्फत् ज्ञान छर्नको लागि यी विश्वविद्यालय तथा उच्च शिक्षा एवम् अनुसन्धान प्रतिष्ठानहरूको महत्वपूर्ण योगदान रहेको छ भने नेपालजस्तो मित्रवत् राष्ट्रका विद्यार्थीलाई भारतीय सांस्कृतिक सम्बन्ध परिषद् तथा भारतीय प्राविधिक शिक्षा सहकार्यमार्फत यी केन्द्रहरूले आफ्ना दक्षता बाँडिरहेका छन् ।
‘आइटीइसी’ कार्यक्रम भारत सरकारको द्विपक्षीय सहयोग कार्यक्रमको रूपमा सन् १९६४ मा लागु गरिएको थियो । स्मरणीय छ, आइटीइसी तथा यसको कोरोलरी एससीएएपी (अफ्रिका कार्यक्रमका लागि कमनवेल्थ विशेष सहयोग)बाट भारतको विकास अनुभवलाई बाँड्न आमन्त्रण गरेअनुरुप एसिया, पूर्वी युरोप, मध्य एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका १ सय ५६ देशले भारत स्वतन्त्रताको छ दशकभन्दा अघिदेखि सहयोग पाएका छन् ।

‘आत्मकथा’सम्बन्धी कटवालको प्रस्टोक्ति
पुर्वप्रधानसेनापति रुक्माङगत कटवालले सेनाको अन्तर्राष्ट्रिय अभ्यासविरुद्व उभिएर नेपाली सेनाले जनतालाई साथ दिएको बताएका छन् । लुम्बिनी वाङ्मय प्रतिष्ठान नेपाल (बुटवल)ले आयोजना गरेको कटवालको आत्मकथा पुस्तक बारेको अन्तरक्रिया कार्यक्रममा मन्तव्य दिने क्रममा आत्मकथा प्रकाशनपछि थप चर्चित बन्न पुगेका पुर्वप्रधानसेनापति कटवालले अधिकांश मुलुकमा सेना जनताको अधिकारविरुद्व गएको देखिँदै आएको परिवेशमा नेपालमा जनताको अधिकार र स्वतन्त्रताको पक्षमासेनाले अडान लिएको दाबी गरे । ०६२/६३ को लोकतान्त्रिक आन्दोलनको बेला सेनाले दरबारलाई साथ नदिएको भन्ने सवालमा उनले भने– ‘दरबारलाई मबाट धोका भन्ने कुरै होइन, म त पात्र मात्र थिएँ, नेपाली जनताको चाहनाअनुसार सेनाले अडान लिँदा त्यस्तो देखिएको हो ।’ प्रजातान्त्रिक पद्धतिमा विश्वास गर्ने व्यक्तिको अठोटका कारण सेनाले अडान लिएको तर्क गर्दै कटवालले सबैभन्दा पहिले नेपाल, त्यसपछि नेपाली, अनि भुगोलसुहाउँदो पद्धति हुनुपर्ने धारणा अघि सारे ।
बायोग्राफीबारे बोल्दै उनले अनेक नेताका आग्रहमा इतिहासको कालखण्ड सुरक्षित गर्न आफुले आत्मकथा लेखेको जानकारी दिए । इतिहासको कालखण्डमा बिरलै घट्ने घटना आफ्नो कार्यकालमा दुईपटक भएको बताउँदै भविष्यका सन्ततीलाई इतिहास सुरक्षित राख्न नेपाल, नेपाली र नेपाली सेनालाई शिरमा राखेर आत्मकथा लेखिएको उनले प्रस्ट्याए । आत्मकथा प्रकाशित भएपछि ९० प्रतिशत जति ताली पाए पनि सत्य स्वीकार्न नसक्नेहरूले चाहिँ गाली पनि गरेको कटवालको भनाई थियो । आफ्नो कथा प्रकाशित गर्न विदेशी प्रकाशन संस्थाले आग्रह गरे पनि पहिला नेपालीले जानकारी पाउन् भनेर नेपाली भाषामै आत्मकथा प्रकाशन भएको भन्दै निकट भविष्यमै अङ्ग्रेजी संस्करण पनि प्रकाशन हुने जानकारी उनले दिए ।
कार्यक्रममा लेखक प्राध्यापक डा. बाबुराम ज्ञवाली, गोपीरमण उपाध्याय, जंग शाह, नेपालयका गिरीश गिरी लगायतले रुक्माङगत कटवालको आत्मकथामा इतिहासको कालखण्डमा घटेको विशेष घटनाहरू उल्लेख गरिदिएकाले पुस्तक रोचक रहेको बताएका थिए ।

यस्तो छ सैनिक महाविद्यालयको योगदान
सैनिक आवासीय महाविद्यालयको ३७ औं बार्षिकोत्सव सांस्कृतिक कार्यक्रम तथा अन्य विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । प्रधानसेनापति गौरव शम्शेर जबराको प्रमुख आतिथ्यमा सोमबार सम्पन्न कार्यक्रममा सैनिक आवासीय महाविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सो अवसरमा उक्त विद्यालयमा अध्ययनरत सैनिक तथा गैरसैनिकका जेहेन्दार विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने सिएनसी जबराले सैनिक आवासीय महाविद्यालयद्वारा प्रकाशित ‘सैनिक महाविद्यालय विगत र वर्तमान’ र उक्त महाविद्यालयको मुखपत्र ‘सल्लाघारी’को विमोचनसमेत गरेका थिए । समारोहमा महाविद्यालयका प्रिन्सिपल समिम अनवर समिमले स्वागत मन्तव्य दिँदै आमन्त्रित प्रमुख अतिथिलगायत अभिभावकहरूप्रति कृतज्ञता ज्ञापन गरेका थिए ।
वि.सं. २०३५ मा मकवानपुर जिल्लाको भीमफेदीमा स्थापना भएको उक्त महाविद्यालय वि.सं. २०४४ देखि भक्तपुर जिल्लास्थित सल्लाघारीमा सञ्चालन हुँदै आएको छ । महाविद्यालयलाई क्रमश: विकास र विस्तार गर्दै लैजाने नेपाली सेनाको नीतिअनुरुप उक्त महाविद्यालयमा ०६९ सालबाट बीएस्सी तथा ०७० सालबाट स्नातक तहमा बीबीए कार्यक्रम सञ्चालन गरिएको थियो । नेपाली सेनाको सैनिक कल्याणकारी कोषबाट देशभर विभिन्न ९ वटा विद्यालय तथा एक मेडिकल कलेज र एक नर्सिङ कलेज मुनाफारहित रुपमा सञ्चालन गरी हाल ५ हजार ५ सय ३३ जना सैनिक र गैरसैनिकतर्फका २४ सय ४४ जना गरी जम्मा ७ हजार ९ सय ७७ जना छात्र–छात्राहरूलाई शिक्षाको अवसर उपलब्ध गराउँदै आएको छ । उक्त शैक्षिक गतिविधि सञ्चालनतर्फ ११ सय ४९ जना महिला तथा पुरुषहरूलाई विभिन्न कार्यमा रोजगारी समेत प्रदान गर्दै आइरहेको छ । यसरी, नेपाली सेनाको कल्याणकारी कोषसँग रहेको सीमित श्रोत र साधनलाई अधिकतम् परिचालन गरी विद्यालय तथा कलेजहरू सञ्चालन गर्दै सैनिक एवम् गैरसैनिकका सन्ततिलाई गुणस्तरीय शिक्षा प्रदान गर्न नेपाली सेनाले प्रयास गरिरहेको छ, जसले देशको समग्र शिक्षा क्षेत्रमा योगदान पुगेको विश्वास नेपाली सेनाले लिएको बताइएको छ ।

मोर्चाद्वारा एकीकरण दिवसको तयारी
नेपाललाई हिन्दूराष्ट्रकै रूपमा कायम राखी संवैधानिक रूपमा संस्थागत गर्नुपर्छ भन्ने उद्देश्यका साथ लागिपरेका नेपाली काङ्ग्रेसका नेता डा. मिठाराम विश्वकर्माको संयोजकत्वमा विभिन्न राजनीतिक दल, धार्मिक सङ्घ–संस्था एवम् सम्बन्धित पक्षहरूलाई समेटेर निर्माण गरिएको संयुक्त सनातन मोर्चाले नेपालगञ्जबाट आन्दोलनको घोषणा गरेको छ । सो मोर्चाले हिन्दू धर्म, संस्कृति, सभ्यता र हिन्दूराष्ट्रको पहिचानले नै सबै नेपालीलाई एकआपसमा जोड्ने तथा राष्ट्रिय अखण्डता कायम राख्ने दाबी गर्दै धर्मनिरपेक्षता भनेको धर्मान्तरण गराई पछि नेपाललाई ईसाइराष्ट्र बनाउने षड्यन्त्र भएको जनाएको छ ।
एक प्रेस विज्ञप्ति प्रकाशित गरी मोर्चाले हिन्दूधर्मले देशको विकासलगायतका कुनै पनि क्षेत्रमा अवरोध नगरेको उल्लेख गर्दै सोझासाझा जनताको गरिबीको नाजायज फाइदा उठाउँदै भ्रममा पारेर धर्मान्तरण गराई धर्मको नामबाट हस्तक्षेप गर्ने दुष्साहस गरिएको बताएको छ । देशलाई धर्मनिरपेक्षता गराउने तथा धर्मनिरपेक्षताको वकालत गर्नेहरू राष्ट्रघाती–आत्मघाती हुन् भन्दै विज्ञप्तिमा यस्तो षड्यन्त्र नबुझी मतियार बन्ने नेताहरू राजनीतिका खलनायक भएको ठोकुवा गरिएको छ ।
मोर्चाले यही पौष २७ गते राष्ट्रिय एकीकरण दिवस मनाउने, आगामी माघ ३ गते विराटनगर, वीरगञ्ज र नेपालगञ्ज नाकासहित पूर्व–पश्चिम राजमार्ग पूर्ण रूपमा ठप्प पार्ने र माघ ८ गते संविधानसभा घेराउ गर्ने कार्यक्रम रहेको पनि जनाएको छ ।

गजेन्द्रमोक्षधाममा राप्रपा युवक सङ्गठनको भेला
राष्ट्रिय प्रजातान्त्रिक युवक सङ्गठनले आफ्नो तेस्रो केन्द्रिय महाधिवेशन नवलपरासी जिल्लाको गजेन्द्रमोक्षधाममा सम्पन्न गरेको छ । देशभरबाट उपस्थित करिव चारसय प्रतिनिधि र राप्रपा कार्यकर्तामाझ यही पुस ६ र ७ गते महाधिवेशन सम्पन्न गरेको हो । पार्टीअध्यक्ष लोकेन्द्रबहादुर चन्दले उद्घाटन गरेको महाधिवेशनमा पार्टीका वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, महामन्त्री विक्रम पाण्डे, उच्चस्तरीय कार्यसम्पादन समिति सदस्य धु्रवबहादुर प्रधान केन्द्रिय सदस्यहरू मीना सुवेदी, वसन्तमानसिं अधिकारी, भोला शाह, जगत गौचन, दुर्गा श्रेष्ठ, मीनबहादुर कुँवर, महेश्वर रोक्का, गोविन्दविक्रम शाह लगायत नेताहरूले उक्त कार्यक्रममा शुभकामना मन्तव्य राखेका थिए । महाधिवेशन आयोजक समितिका संयोजक पंकज प्रधानको सभापतित्वमा सञ्चालन भएको अधिवेशनमा उद्घाटन सत्रलगत्तै बन्द सत्र सुरु गरिएको थियो । सो बन्द सत्रले राजनीतिक कार्यक्रम र प्रस्ताविक विधानलाई संशोधनसहित पास गरेको थियो । बन्दसत्रले पंकज प्रधानकै नेतृत्वमा ६ वरिष्ठ केन्द्रिय सदस्यसहित ३४ जना रहेको कार्यसमिति चयन गरेको छ । वरिष्ठ केन्द्रिय सदस्यहरूमा दिनेश कार्की, गणेश विष्ट, जनक पाठक, धु्रव रायमाझी, सुनिल साह र नरेश राई चुनिएका छन् ।

आश्रमका गाई र माईलाई अमेरिकाबाट सहयोग
लमजुङस्थित लायन्स सर्वोदय ज्येष्ठ नागरिक आश्रममा आश्रय लिइरहेका वृद्ध बाआमाहरूलाई देश–विदेशबाट आर्थिक सहयोग आउने क्रम तीव्र रूपमा अघि बढेको छ । आश्रममा रहेका बा–आमाहरूलाई कहिले भारत, कहिले मलेसिया, कहिले कतार त कहिले कुवेतबाट आर्थिक सहयोग जुटिरहेको बेला अहिले अमेरिकाबाट पनि सहयोग जुटेको छ । आफ्नो घरपरिवार, धनसम्पत्ति सबै त्यागेर लामो समयअघिदेखि आश्रमको आश्रय लिएका बाआमा र आश्रममा पालिएका गाईलाई अमेरिकाबाट वर्षभरि पुग्ने धान र पराल किन्न हजार अमेरिकी डलर सहयोग प्राप्त भएको हो ।
अमेरिकाको टेक्सास सहरमा रहेका नेपालीले डेभलपमेन्ट फर पिस नामक संस्था खोलेर नेपालमा रहेका आश्रमलाई सहयोग गर्दै आएका छन् । संस्थाका योजनाकार एवम् संस्थापक दिनेश मैनालीले आफू प्रवासमा रहेर पनि नेपालमा रहेका दीनदु:खीहरूलाई सहयोग गर्ने उद्देश्यले यस्तो सामाजिक संस्थाको स्थापना गरेको बताए । सो संस्थाका अन्य सदस्य रमेश पोखरेल, इरा आचार्य, दीपक खरेल र वैकुण्ठ आचार्यको सहयोगमा अमेरिकामा बस्दै आएका नेपालीसँग सहकार्य गरी नेपालका विभिन्न जिल्लामा लाखौँ रूपैयाँ सहयोग गर्दै आएका छन् ।
पूर्वी लमजुङको तार्कुघाटस्थित लायन्स सर्वोदय ज्येष्ठ नागरिक आश्रममा एक कार्यक्रमको आयोजना गरी अमेरिकाबाट आएको हजार डलर साक्षरता नेपालका निर्देशक मणि चौलागाईंले आश्रमका सदस्यसचिव सुकदेव रिसाललाई हस्तान्तरण गरेका थिए । अमेरिकामा बस्दै आएका डेभलपमेन्ट फर पिस नामक संस्थाका योजनाकार मैनाली भन्छन्, ‘लमजुङको आश्रमलाई दिएको यो सहयोग पहिलो हो, त्यसैले आजीवन रूपमा संस्थाले आश्रममा बस्दै आएका नौजना बाआमालाई वर्षभरि पुग्ने धान र नौवटा गाईलाई वर्षभरि पुग्ने पराल किन्ने रकम उपलब्ध गराउनेछौँ ।’
केही समययता विभिन्न सञ्चारमाध्यममा आश्रमबारे समाचारहरू आउन थालेपछि सहयोगी हातहरू बढ्न थालेका हुन् । आजभोलि दिनहुँजसो आश्रममा केही न केही सहयोग पुग्ने गरेको छ । सहयोगी हात फैलाउने क्रममा यसअघि लमजुङ सेवा समाज कुवेतद्वारा आश्रममा बसेका वृद्ध बाआमाहरूलाई सहयोग गरेको थियो ।
आश्रम चलाउन आश्रमले धान, मकै तथा तरकारी खेतीसमेत गर्दै आएको छ । जसबाट आश्रमको केही आवश्यकता पूरा भएको छ । आश्रमलार्ई धानबाट २५, मकैबाट ३० र तरकारीबाट ६० प्रतिशत आत्मनिर्भर गराएको आश्रमका अध्यक्ष कृष्णराज ओलियाले बताए । वृद्धवृद्धाहरूलाई दूध खुवाउने उद्देश्यले आश्रममा अहिले नौवटा गाईसमेत पालिएको छ । आश्रममा वृद्धवृद्धाहरू बस्ने भएकाले ढिकी, जाँतो, सिलौटोलगायतका अन्य परम्परागत घरेलु सामग्रीहरू प्रयोगमा ल्याइएका छन् जसले वृद्धवृद्धाहरूलाई उत्साही बनाइदिएको अध्यक्ष ओलिया बताउँछन् । अपाङ्गमैत्री यस आश्रममा भजनकीर्तन, सत्सङ्गलगायतका सांस्कृतिक कार्यहरूसमेत गर्ने गरिन्छ ।
आश्रम सञ्चालनका लागि दैनिक रु. १ को दरले अक्षयकोषको समेत स्थापना गरिएको छ । सो अक्षयकोषमा अहिले ६ लाख रूपैयाँ सङ्कलन भइसकेको आश्रमले जनाएको छ । आश्रममा सन्तान हुनेहरूलाई सशुल्क र सन्तान र सम्पत्ति दुवै नहुने असहायलाई नि:शुल्क बस्ने व्यवस्था मिलाइएको छ ।
हाल आश्रमले २५ जना अट्ने चारवटा भवन निर्माण गरिसकेको छ । जसमा ६ वटा एट्याज ट्वाइलेट बाथरूपसहितका कोठा अनि पुस्तकालय, व्यायाम हल, भान्साकोठा र बैठककोठा रहेका छन् । त्यस्तै खानेपानी, बिजुली, फूल बगैँचाका साथै अन्य आवश्यक संरचनाहरू निर्माण गरेको छ । ५० जना क्षमताको आश्रमसँगै ५० शया क्षमताको प्राकृतिक स्वास्थ्य शिक्षण अस्पताल निर्माण गर्ने योजनाका साथ आश्रम लागेको छ ।
आश्रममा असहाय, बेसहरा बनेका र धनसम्पत्ति हुँदाहुँदै पनि एक्लिनुपरेका दुवैखाले वृद्धावृद्धहरू रहनेछन् । गरिब, असहाय वृद्धावृद्धलाई नि:शुल्क र सम्पत्ति भएर पनि एक्लो जीवन बिताइरहेकाहरूले सशुल्क बस्न पाइउनेछन् । आधुनिकतासँगै अहिले धन–सम्पत्ति नभएर मात्र होइन सम्पत्ति भएकाहरू पनि एक्लिँदै गएका छन् । आश्रमले त्यस्ता वृद्धवृद्धाका लागि ठूलो राहत मिलेको छ ।
आश्रममा वृद्धवृद्धाको स्याहार–सुसारसँगै योग शिविर, अकुपन्चर कक्षा, इमेल–इन्टरनेटका साथै उनीहरूका लागि दैनिक जीवनमा आवश्यक पर्ने सबै किसिमका सेवा–सुविधा उपलब्ध गराउने अध्यक्ष ओलियाले बताए । एक सय ५० रोपनी क्षेत्रफल रहेको आश्रमका लागि ६० रोपनी जग्गा व्यक्तिले नै दान गरेका हुन् । अघिल्लो आर्थिक वर्षमा आश्रममा दुई लाख ६० हजार र यो आर्थिक वर्षको मङ्सिरसम्ममा दुई लाख ७६ हजार चन्दा सङ्कलन भएको आश्रमका अध्यक्ष ओलियाले बताए ।
लमजुङको प्रवेशद्वार पाउँदीबजारपारिपट्टि हर्राबोटस्थित मस्र्याङ्दी किनारमा रहेको सर्वोदय ज्येष्ठ नागरिक आश्रमसँगै हिमालय पर्वत र ऋषिमुनी कुटी निर्माण गर्न लागिएको छ । हिमालय पर्वतको सिरानमा शिवको मूर्ति रहनेछ । शिवको शिरको जटाबाट निस्कने जल एक सय ११ शिवलिङ्ग छुँदै फेदमा बनाइने कुण्डमा झर्नेछ । विभिन्न हिमशृङ्खलाको दर्शनसँगै एक सय ११ शिवलिङ्गको दर्शन मिल्ने विश्वमै पहिलो तीर्थस्थल बन्ने ओलियाले बताए ।
– छविलाल बगाले