कादर खानका छोराले दुःखी हुँदै भने- ‘पिताजी ज्युँदै हुनुहुन्छ !’

कादर खानका छोराले दुःखी हुँदै भने- ‘पिताजी ज्युँदै हुनुहुन्छ !’


वलिउडका विख्यात चरित्र अभिनेता एवम् संवाद लेखक कादर खान यतिबेला गम्भीर बिमारीका कारण अस्पतालमा उपचाररत छन् । सास फेर्न अप्ठ्यारो हुने समस्यासमेत थपिएपछि उनलाई वाइपैप भेन्टिलेटरमा राखिएको छ । केही वर्षदेखि छोरा–बुहारीका साथ क्यानडा बस्दै आएका कादरको क्यानडामै उपचार चलिरहेको छ ।

यसरी गम्भीर हालतमा उपचार जारी रहेकै अवस्थामा अल इण्डिया रेडियोको आधिकारिक ट्वीटर ह्याण्डिलबाट कादर खानको निधन भएको समाचार ट्वीट गरिएपछि एकाएक भारतीय मिडियामा कादर खान रहेनन् भन्ने समाचारको बाढी नै चल्यो । यसबाट दुःखी हुँदै कादरका क्यानडावासी छोरा सरफराज खानले आफ्नो पिता जिवीत नै रहेका र चिकित्सक टीमले उपचार जारी राखेको जानकारी दिएका छन् । ज्युँदै रहेका व्यक्तिलाई मृत घोषणा गरेर मिडियाले अफवाह फैलाएकोमा उनले अपसोच प्रकट गरेका छन् ।

तथापि, आफ्नो बुबाको हालत एकदम नाजुक रहेको भने सरफराजले स्वीकार गरेका छन् । यस्तो अवस्थामा झन् बढि ‘केयर’ गर्नुु आवश्यक रहेको भन्दै आफूले आफ्नो अभिभावकको विशेष ख्याल राखिरहेको पनि उनले जनाएका छन् ।

उनको यस स्वीकारोक्तिले कादर खानको स्वास्थ्य अवस्थामाथि स्वतः आशङ्का जन्माएको छ । कादर बिरामी भएको समाचार केही समयअघि देखि नै चर्चाको सन्दर्भ रहँदै आएको थियो ।

करोडौँ सिनेप्रेमीद्वारा सह्राइएका कादर खानको जन्म १९३७ मा काबुलमा भएको थियो । उनले सन् १९७३ मा ‘दाग’ नामक फिल्मबाट आफ्नो अभिनय करिअर शुरु गरेका थिए । उक्त सिनेमामा राजेश खन्ना मूख्य भूमिकामा थिए । यसअघि उनले रणधीर कपुर र जया बच्चनअभिनित फिल्म ‘जवानी–दिवानी’को सम्वाद लेखेका थिए ।

एक पटकथा लेखकको रूपमा खानले मनमोहन देसाइ र प्रकाश मेहराको साथमा कैयन फिल्मको कथा लेखे । देसाईसँग मिलेर उनले धर्मवीर, गंगा जमुना सरस्वती, कुली, देशप्रेमी, सुहाग, अमर अकबर एन्थोनी र मेहरासँग ज्वालामुखी, शराबी, लावारिस, मुकद्दरका सिकन्दर जस्ता बहुचर्चित फिल्मको कथा लेखेर आफूलाई अब्बल कथा–पटकथा तथा संवाद लेखकको रूपमा उभ्याएका थिए । कुली नम्बर वन, मैं खेलाडी तू अनाडी, कर्मा, सल्तनतलगायत फिल्मका संवादको निम्ति पनि कादर खान अविष्मरणीय बनेका छन् ।

आफ्नो फिल्मी करिअरका क्रममा करिव तीन सय फिल्ममा काम गरेका कादर खानले दुई सय पचास फिल्मको सम्वाद लेखेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म तीन वर्षअघि प्रदर्शनमा आएको थियो । कादर खानको जोडदार फिल्मी सम्वाद एवम् हास्यरसले भरिपूर्ण तर गम्भीर अभिनयबाट प्रभावित करोडौँ हिन्दी फिल्मप्रेमी विश्वभर छरिएर रहेका छन् ।