प्रधानमन्त्री हसिनाको दललाई भारी बहुमत, २८१ क्षेत्रमा जित

प्रधानमन्त्री हसिनाको दललाई भारी बहुमत, २८१ क्षेत्रमा जित


बंगलादेशमा भएको आम निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाको दलले बहुमत ल्याएको छ । उनको दल अवामी लिग अत्यधिक मतका साथ विजयी भएको त्यहाँको निर्वाचन आयोगले जनाएको छ ।

कुल ३०० संसदीय क्षेत्रमध्ये हसिनाको दल अवामी लिगले अहिलेसम्म २८१ स्थानमा बहुमत हासिल गरेको छ । स्थानीय समय अनुसार मतदान आइतबार अपराह्न चार बजेसम्म भएको थियो ।

चुनावी पर्यवेक्षणले प्रधानमन्त्री हसिनाको दल विजयी हुने अनुमान पहिलेदेखि नै गरिँदै आएको थियो । यस चुनावमा बहुमत हासिल गरेसँगै शेख हसिना चौथोपटक बंगलादेशको प्रधानमन्त्री बन्ने पक्का भएको छ । उनको पार्टीले यसपटक लगातार तीन आम निर्वाचनमा जित हात पारेको हो ।

मुख्य विपक्षी दल ब‌ंगलादेश नेस्नलिष्ट पार्टीले भने निर्वाचन परिणाम अस्वीकार गरेको छ । उसले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै पुनः मतदानको माग गरेको छ । २२१ संसदीय निर्वाचन क्षेत्रमा व्यापक धाँधली भएको बीएनपीका प्रवक्ताले आरोप लगाएका छन् । विपक्षीहरुले चुनावअघि आफ्ना कार्यकर्तामाथि सरकारले ज्यादती गरेको आरोप लगाउँदै आएका छन् ।

विपक्षी गठबन्धनका झण्डै ४७ उम्मेदवारले निर्वाचनमा गडबडी हुन लागेको भन्दै मतदान सुरु नहुँदै बुथ बहिष्कार गरेका थिए । बीएनपीले निर्वाचनका क्रममा भएको झडपमा आफ्ना थुप्रै कार्यकर्तासमेत गुमाएको छ । मतदानका क्रममा भएका हिंसात्मक घटनामा परी अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको जनाइएको छ । निर्वाचनमा हिंसा हुन दिन करीब ६ लाख सुरक्षाकर्मी परिचालन गरिए पनि अप्रिय घटना रोक्न सकिएन । एजेन्सी