बंगलादेशमा बिहान ८ बजेदेखि मतदान, दुईको मृत्यु

बंगलादेशमा बिहान ८ बजेदेखि मतदान, दुईको मृत्यु


बंगलादेशमा मतदानकै दिन आइतबार निर्वाचन क्रममा भएको झडपमा परी दुईजनाको मृत्यु भएको छ । मतदानकै सिलसिलामा विभिन्न ठाउँमा हिंसात्मक घटना भएको र दुुईजनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।

विपक्षीहरूले मतदान केन्द्रमा आक्रमण गर्न थालेपछि प्रहरीले चलाएको गोलीबाट उनीहरूको मृत्यु भएको जनाइएको छ । घटना दक्षिणी सहर बासखालीमा भएको हो । ‘गोली लागेर घाइते भएका एकजनाको मृत्यु भएको छ,’ स्थानीय प्रहरी प्रमुख मोहम्मद कमाल हुसेनले भने । त्यसैगरी दक्षिणपूर्वी क्षेत्रमा पर्ने रंगमती जिल्लामा पनि विपक्षीहरूले मतदान केन्द्रमा अवरोध गर्न खोज्दा प्रतिवाद गर्ने सत्तारुढ दल अवामी लिग पार्टीका सक्रिय कार्यकर्ताको मृत्यु भएको प्रहरीको भनाइ छ ।

‘उहाँको अस्पतालमा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो,’ स्थानीय प्रहरी प्रमुख जाजिबुल इस्लामले भने । लामो प्रतिपक्षीपछि भएको निर्वाचनअन्तर्गत बंगलादेशमा स्थानीय समयअनुसार आइतबार बिहान आठ बजे मतदान शुरु भएको अधिकारीहरूले जनाएका छन् ।

कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भइरहेको छ, कतिपय हिंसात्मक घटनाहरूका विवरणहरू आउने क्रम जारी रहेको जनाइएको छ । अधिकारीहरूले सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मीहरू गरी झन्डै ६ लाख परिचालन गरिएको जनाएका छन् ।
विगत केही दिनदेखि हिंसात्मक घटना बढ्दै गएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ । सुरक्षाकर्मीहरूलाई विभिन्न समूह तथा तहका विभाजन गरेर मतदान केन्द्रदेखि गाउँगाउँसम्म खटाइएको छ ।

यसपटकको निर्वाचनको सिलसिलामा मतदान गर्ने अघिल्लो दिनसम्म १३ जनाको मृत्यु भएको र अरू हजारौँ घाइते भएका थिए । प्रधानमन्त्री शेख हसिना नै फेरि निर्वाचित हुने अपेक्षा गरिएको आमनिर्वाचनका लागि देशभर झन्डै ४० हजार मतदान केन्द्र तय गरिएको छ ।

मुस्लिम समुदायको बाहुल्य रहेको यस देशमा अहिले प्रधानमन्त्री हसिनाको सत्तारुढ दल र प्रमुख विपक्षी दल बंगलादेश नेसनल पार्टी (बीएनपी) बीच प्रतिस्पर्धा हुने देखिएको छ । प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएकी छिन् भने विपक्षीहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन् ।

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छिन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता हुन् ।

कडा सुरक्षा व्यवस्थासहित निर्वाचन भइरहेको छ, कतिपय हिंसात्मक घटनाका विवरण आउने क्रम जारी रहेको र सुरक्षाका लागि देशभर प्रहरी, सैनिक र अन्य सुरक्षाकर्मी गरी झन्डै ६ लाख परिचालन गरिएको जनाइएको छ

यी दुजै महिला नेतृ सन् १९८० को दशकदेखि नै बिरासतका आधारमा राजनीतिक रूपमा सक्रिय रहेका छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासीन हुने रेकर्ड बनाउनेछिन् ।

यसअघि दुवै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्युत गरी लोकतन्त्र पुनस्र्थापना गरेका थिए ।

तर, सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भएको थियो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन्, र प्रतिशोधको राजनीति चरम बिन्दुमा पुगेको छ । विपक्षी दलकी अध्यक्ष जियालाई भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय तोकिएकोले उनी अहिले जेलमा छिन् । बंगलादेशी कानुनबमोजिम जियाले चुनाव लड्न पाएकी छैनन् ।

उनको दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) ले उक्त आरोप ‘राजनीतिक प्रेरित’ रहेको भन्दै आलोचना गरिरहेको छ । निर्वाचनको पूर्वसन्ध्यामा पार्टीसम्बद्ध हजारौँ कार्यकर्तालाई पक्राउ गरिएको बीएनपीले जनाएको छ ।