बंगलादेशमा आइतबारको निर्वाचनका लागि मौन अवधि शुरु

बंगलादेशमा आइतबारको निर्वाचनका लागि मौन अवधि शुरु


चर्को विवाद, तनाव र हिंसाबीच बंलादेशमा हुन लागेको निर्वाचनका लागि प्रचारप्रसार अभियान बन्द भएको छ । शुक्रबारदेखि मौनअवधि शुरु भएकाले बिहीबार अन्तिम प्रचारप्रसारका कार्यक्रम भएको निर्वाचन अधिकारीहरूले जानकारी दिएका छन् ।

आइतबार हुने निर्वाचनका लागि दुवै पक्षले एक–अर्कालाई आरोपित गर्दै आएका छन् भने आफ्नो पक्ष राम्रो भएको प्रचार गरेका छन् ।

निर्वाचनमा प्रधानमन्त्री शेख हसिनाले आफ्नो जित सुनिश्चित भएको दाबी गर्दै आएकी छिन् भने विपक्षीहरूले निष्पक्ष र स्वतन्त्र निर्वाचन हुनेमा आशंका गरिरहेका छन् । प्रधानमन्त्री हसिनाले विपक्षीहरूले आफूविरुद्ध बम आक्रमण गराएको आरोप लगाएकी छिन् भने उनलाई विपक्षी दलले राज्यआतंक मच्चाएको दाबी गरेको छ ।

विपक्षी दलकी प्रमुख खालिदा जिया हाल ढाकास्थित जेलमा छिन् । ७३ वर्षीया जिया पूर्वसैनिक तानाशाहकी विधवा हुन् भने प्रधानमन्त्री हसिनाका बुबा बंगलादेशका संस्थापक नेता । यी दुवै महिला नेतृ सन् १९८० को दशकदेखि नै विरासतका आधारमा राजनीतिक रूपमा सक्रिय छन् । यो चुनावमा विजयी भए शेख हसिनाले बंगलादेशमा सबैभन्दा लामो अवधिसम्म सत्तासीन हुने रेकर्ड बनाउनेछिन् ।

यसअघि दुवै महिला नेतृले जनआन्दोलनको आडमा सन् १९९० मा सैनिक तानाशाह हुसेन मोहम्मद एर्सादलाई सत्ताच्युत गरी लोकतन्त्र पुनर्स्थापना गरेका थिए ।

तर, सन् १९९१ मा प्रधानमन्त्रीमा जिया निर्वाचित भएपछि यी दुई महिला नेतृबीच चरम कटुता उत्पन्न भयो । त्यसपछिका चुनावबाट यी दुई लगभग आलोपालो प्रधानमन्त्री भइरहेका छन् र प्रतिशोधको राजनीति चरम बिन्दुमा पुगेको छ ।