जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध


पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो ।

सूचनामन्त्री फवाड चौधरीले दिएको जानकारीअनुसार मुद्रा अपचलनसम्बन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ ।

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको एएफपीले जनाएको छ । अनुसन्धानको सूचीमा रहेका १७२ जना सबैलाई देश बाहिर जान नपाउनेगरी प्रतिबन्ध लगाइएको चौधरीले जनाए ।

पुर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति रहेका थिए । उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् ।

जर्दारीकी श्रीमती र पूर्व प्रधानमन्त्री बेन्जेजिर भुट्टोको हत्या भएको ११औँ वार्षिकी मनाउदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो ।