कलेजो प्रत्यारोपण अब नर्भिक अस्पतालमै

कलेजो प्रत्यारोपण अब नर्भिक अस्पतालमै


नेपाली चिकित्सा फाँटमा विगत २५ वर्षदेखि अन्तर्राष्ट्रिय स्तरको चिकित्सा सेवा पुऱ्याउँदै आएको निजी क्षेत्रको एक बहुआयामिक एवम् अग्रणी स्वास्थ्यसेवा प्रदायक संस्था नर्भिक इन्टरनेशनल हस्पिटलले निकट भविष्यमै कलेजो प्रत्यारोपण सेवाको सुरुवात गर्ने भएको छ ।

अत्यधिक एवम् अनियन्त्रित मद्यपान, धुम्रपान, केहि विशेष प्रकारका हेपाटाइटिस आदिका कारण हाल नेपाली जनसंख्याको ठूलै हिस्सा कलेजोको असाध्य रोगबाट ग्रसित हुँदै गएकोले कलेजो फेल हुने, कलेजोको शिरोसिस हुने, कलेजोको क्यान्सर हुनेजस्ता विकराल स्थिति सिर्जना भइरहेको छ । साथै कलेजो फेर्ने प्रक्रियाका लागि अथाह धनराशी बोक्दै विदेसिनुपर्ने वाध्यता पनि विकराल बन्दै गएको पाइन्छ ।

त्यस्ता समस्याहरूलाई मध्येनजर गर्दै कुनै पनि नेपालीले नेपालमै, अझ आफ्नै घर आँगनमा, सर्वसुलभ एवम् स्तरीय कलेजो प्रत्यारोपण सेवा प्राप्त गर्न सकून् भन्ने अभिप्रायले नर्भिकले कलेजो प्रत्यारोपणजस्तो अत्यन्तै जटिल शल्यक्रियात्मक उपचार सेवा सुरु गर्ने तयारी गरेको नर्भिक व्यवस्थापनको भनाई छ । सो को तयारीस्वरुप नर्भिकले आवश्यक पर्ने चिकित्सकीय टोली तयार पार्ने, आवश्यक पूर्वाधारणमा सुधार गर्ने, अन्य जनशक्तिलाई तालिम दिने जस्ता कार्यको सुरुवात गरिसकेको समेत बुझिएको छ ।

स्तरीय व्यवस्थापनका लागि आइएसओ प्रमाणिकरण प्राप्त गर्ने राष्ट्रकै पहिलो सो हस्पिटलले सन् २००० मा नै मुलुकमै सर्वप्रथम क्याथल्याव सेवाको शुभारम्भ गर्दै मुटुरोग लगायत अन्य इन्टरभेन्सनल प्रक्रियाहरूमा अग्रणी भूमिका खेल्दै मुटु स्वचालित अवस्थामै जटिल मुटुरोग शल्यक्रिया, स्नायु शल्यक्रिया लगायतका १०औं हजार जटिल शल्यक्रियात्मक उपचार सेवामा समेत कोशेढुङ्गा स्थापित गर्न सफल भइसकेकोमा प्रशंसित रहेको छ ।

झण्डै डेढ दशकपूर्व स्थापित भई सन् २०१२ मा देशकै अत्याधुनिक सुविधासम्पन्न पाचन प्रणाली उपचार केन्द्रका रुपमा रुपान्तरित हुँदै नर्भिकको उक्त केन्द्रले पेट तथा कलेजोका अत्यन्तै जटिल रोगहरूको उपचार गर्दै आइरहेको छ ।

साथै इन्डोेस्कोपीक अल्ट्रासाउण्ड र वेलुन इन्टेरोस्कोपी जस्ता प्रविधिमा अग्रणी यस केन्द्रले इण्डोस्कोपी, कोलोनोस्कोपी तथा पोलीपेक्टोमी इण्डोस्कोपिक अल्ट्रासाउण्ड, इ.आर.सी.पी. इन्टेरेस्कोपी, वेलुन डायलाटेसन जस्ता प्रक्रियाहरू गरी ७५००० भन्दा बढी सफल प्रक्रियाहरू गरिसकेको अस्पतालको दाबी छ भने आर्गन ल्पाज्मा कोगुलेसन जस्ता प्रविधि तत्कालै भित्रिने तयारीमा रहेको बताइउको छ ।

डिडीसीको विस्तारीत विशिष्ट चिकित्सा सेवाअन्तर्गत वरिष्ठ चिकित्सक तथा पेटरोग विशेषज्ञ डा. मधु घिमिरेको नेतृत्वमा आरम्भ गरिने उपर्युक्त सेवा सञ्चालनमा डिडीसी प्रमुख डा. सन्दीपराज कुँवर लगायतका पेटरोग विशेषज्ञहरू पनि संलग्न रहने नर्भिकका सञ्चार अधिकारी आरपी मैनालीले जनाएका छन् ।

उनका अनुसार हाल नर्भिक पूर्वाधार निर्माणमा केन्द्रित रहेको, सेवा सञ्चालनका लागि प्रक्रियागत लाइसेन्स लिने कार्यलाई अगाडि बढाएको र थप चिकित्सकीय तथा अन्य मानव संशाधनको तयारीमा जुटेको छ । मानव संशाधन विकासतर्फ कलेजो प्रत्यारोपण विशेषज्ञ शल्य चिकित्सकहरू, कलेजो प्रत्यारोपण विशेषज्ञ चिकित्सकहरू (कलेजो रोग विशेषज्ञ÷फिजिसियन), कलेजो प्रत्यारोपण विशेषज्ञ रेडियोलोजिष्ट, कलेजो प्रत्यारोपण विशेषज्ञ वाल चिकित्सक र कलेजो प्रत्यारोपण विशेषज्ञ प्याथोलोजिष्ट आदि रहेका छन् ।

नर्भिकसँग आवद्ध कलेजो प्रत्यारोपणसम्बन्धी तालीमप्राप्त एवं अनुभवी विशेषज्ञ शल्यचिकित्सक/चिकित्सकहरूमा डा. जयन्तकुमार साह, डा. सञ्जयकुमार यादव, डा. सुजितकुमार साह र डा. अनिषा तिवारी (शल्यचिकित्सक), डा. सागर पौडेल (प्रत्यारोपण विशेषज्ञ कलेजोरोग चिकित्सक), डा. बिरेन्द्रकुमार राउत, डा. किरण अधिकारी र डा. बालचन्द्र कार्की (विशेषज्ञ एनेस्थेसियोलोजी/क्रिटिकल केयर मेडिसिन), डा. विवेक साह (विशेषज्ञ रेडियोलोजिष्ट), डा. सुशीलराम श्रेष्ठ (विशेषज्ञ प्याथोलोजिष्ट) र डा. रञ्जित साह (विशेषज्ञ इन्फेक्सीयस डिजिज) आदि रहेका छन् । त्यसरी नै कलेजो प्रत्यारोपण विशेषज्ञ पेडियाट्रिसियनहरूमा डा. अमृत ढुङ्गेल र डा. हेमन्त शर्मा उपलब्ध रहेका बताइएको छ ।

हाल तीव्र तयारी भइरहेको तथा यही पुस १९, २० र २१ गते कलेजो प्रत्यारोपणसम्बन्धी विशेषज्ञ ओपीडी सेवा सञ्चालन गरिने र नेपाल सरकारवाट स्वीकृति प्राप्त हुनासाथ कलेजो प्रत्यारोपण सेवा सञ्चालन गरिने नर्भिक व्यवस्थापनले जनाएको छ ।