हिन्दूराष्ट्रको पक्षमा सोझिँदै काङ्ग्रेस

हिन्दूराष्ट्रको पक्षमा सोझिँदै काङ्ग्रेस


नेपाली काङ्ग्रेसभित्र हिन्दूराष्ट्रका पक्षधरहरूको सङ्ख्या सर्वाधिक रहेको पुष्टि दश दिन चलेर गत आइतबार सम्पन्न भएको महासमिति बैठकले गरेको छ । यदाकदा हिन्दूराष्ट्रका पक्षमा अभिव्यक्ति दिने नेताहरू डा. शेखर कोइराला र डा. शशाङ्क कोइरालाले प्रत्यक्ष सक्रियता नदेखाए पनि केही युवा नेताहरूको सक्रियतामा चलाएको हस्ताक्षर अभियानमा सात सय छत्तीस (७३६) महासमिति सदस्यले हिन्दूराष्ट्र आवश्यक भएको भन्दै सहभागिता जनाएका छन् ।

युवा नेताहरू शङ्कर भण्डारी र कर्ण मल्लको विशेष सक्रियतामा शुरु भएको हिन्दूराष्ट्र अभियानमा झन्डै साढे सात सयजनाले सहभागिता जनाउनुले काङ्ग्रेसका अधिकांश कार्यकर्ता के चाहन्छन् भन्ने स्पष्ट सन्देश दिएको छ । हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर चलाउन युवा नेता भण्डारी र मल्लबाहेक पूर्वसांसद एवम् सन्तनेता शङ्कर पाण्डे, अर्का जुझारू नेता चन्द्र केसी, अछाम काङ्ग्रेसका सभापति भरत स्वाँर, मकवानपुर काङ्ग्रेसका सभापति इन्द्र बानियाँ, कास्की काङ्ग्रेसका सभापति कृष्ण केसी र युवानेता लोकेश ढकाललगायत पनि विशेष रूपले सक्रिय भएका थिए ।

पार्टीका पूर्वमहामन्त्री एवम् पूर्वसभामुख तारानाथ भाट, नेताहरू लक्ष्मणप्रसाद घिमिरे र चिरञ्जीवी वाग्ले, केन्द्रीय सदस्यहरू पुष्पा भुसाल र शिला खड्कालगायतले पनि हस्ताक्षर अभियानमा सक्रिय सहभागिता जनाएका थिए । यस अभियानमा महामन्त्री पूर्णबहादुर खड्का, डा. शेखर र डा. शशाङ्कको सक्रिय सहभागिता भइदिएको भए हस्ताक्षरकर्ताहरूको सङ्ख्या बाह्रसय नाघ्ने अनुमान गरिएको छ ।

काङ्ग्रेसमा १२ सयजना निर्वाचित, दशजना सभापतिद्वारा मनोनीत, ११ जना जनसम्पर्क समितिहरूबाट प्रतिनिधित्व गर्नेहरू, २७ जना भ्रातृ तथा शुभेच्छु संस्थाहरूबाट र ८५ जना केन्द्रीय कार्यसमितिका पदाधिकारी एवम् सदस्यहरू महासमितिका सदस्य छन् । सभापति शेरबहादुर देउवाले बैठक शुरु हुनुभन्दा केही दिनअघि २१९ वटा फाराम उपसभापति विजय गच्छदारलाई उपलब्ध गराएकाले पहिलेको सङ्ख्यामा २१९ जना स्वतः थपिन पुगेका छन् ।

महासमिति बैठकमा पुस ६ गते आफ्नो धारणा राख्दै युवानेता कर्ण मल्लले सभापति शेरबहादुर देउवालाई हस्ताक्षरसहितको प्रस्ताव बुझाउनुभएको थियो । मल्लले ‘पन्चानब्बे प्रतिशत ओमकार परिवारसम्बद्ध र एकासी प्रतिशत सनातनी हिन्दूहरू बसोबास गर्ने यो देशमा सरकारप्रमुखवाट समेत धर्मविरुद्ध आक्रमण भएको छ भन्दै नेपाली काङ्ग्रेस हिन्दूराष्ट्र नेपाल बनाउन लागिपर्नुपर्ने स्पष्ट गरी सभापति देउवाको हातमा हस्ताक्षरसहितको आवेदन सुम्पनुभएको थियो । यसबाहेक १५०८ जना काङ्ग्रेस नेता तथा अगुवा कार्यकर्ताले पनि हिन्दूराष्ट्रको एजेन्डा काङ्ग्रेसले ग्रहण गर्नुपर्ने भन्दै छुट्टै आवेदन सभापति देउवासमक्ष प्रस्तुत गरेका छन् ।

स्मरणीय छ, डडेल्धुरा काङ्ग्रेसका सभापति एवम् प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले डडेल्धुरामा काङ्ग्रेस जिल्ला भेलाबाट समेत हिन्दूराष्ट्रका पक्षमा जुट्न अनुमति लिनुभएको थियो । प्रमुख अतिथि शेरबहादुर देउवा रहनुभएको भेलामा जिल्ला सभापति मल्लले हिन्दूराष्ट्रको पक्षमा सक्रिय रहन अनुमति माग्नुहुँदा उहाँलाई भेलाका सम्पूर्ण सहभागीहरूले लिखित तथा मौखिक रूपले हिन्दूराष्ट्र स्थापनाका निम्ति सक्रिय रहन समर्थन दिएका थिए ।

महासमिति बैठकमा लिखित प्रस्ताव सभापति देउवासमक्ष प्रस्तुत गरेपछि घटना र विचारसँग कुरा गर्दै युवानेता मल्लले भन्नुभयो, ‘म डडेल्धुराका पार्टी साथीहरूसहित सबै दिदीबहिनी र दाजुभाइहरूप्रति आभारी छु । उहाँहरूको प्रेरणा र ईश्वरको आशीर्वादले हामीलाई सफलताको बाटोमा डो¥याएको छ । अब काङ्ग्रेसले हिन्दूराष्ट्रको एजेन्डा नबोकी सुखै छैन ।’

महासमिति बैठकमा हिन्दूराष्ट्रको एजेन्डामा पार्टी जानुपर्ने लिखित प्रस्ताव प्रस्तुत भएपछि केन्द्रीय समितिको बैठकमा नेता शङ्कर भण्डारीले अब यस विषयमा छलफल गरी निर्णय लिनुपर्ने धारणा प्रकट गर्नुभएको थियो । उहाँको प्रस्तावमा नेताहरू बालकृष्ण खाण र गुरुराज घिमिरेले पनि समर्थन गर्नुभएको थियो । उहाँहरूले यति धेरै साथीहरूले दस्तखत गरेर प्रस्ताव राखिसकेपछि यसलाई पार्टीको सम्पत्तिको रूपमा ग्रहण गर्दै विषयलाई विधिवत् रूपमा टुङ्गो लगाउनुपर्ने धारणा राख्नुभएको थियो ।

अब काङ्ग्रेस हिन्दूराष्ट्रको एजेन्डालाई उपेक्षा गरेर अघि बढ्न सक्ने अवस्थामा छैन । विधानअनुसार अबको तीन महिनाभित्रै काङ्ग्रेस कार्यसमितिले यस विषयमा टुङ्गो लगाउनुपर्ने हुन्छ । कम्युनिस्टहरू क्रिश्चियन धर्मअनुकूल व्यवहार गर्न लाग्दा काङ्ग्रेस भने बहुसङ्ख्यक जनताको भावनाअनुरूप हिन्दूराष्ट्रको पक्षमा लाग्ने सम्भावना बढेको छ ।