नयाँवर्षको पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान

नयाँवर्षको पुर्वसन्ध्यामा शुभकामना आदानप्रदान


डिल्लीराम अम्माई, बेल्जियम

बेल्जियममा बसोबास गर्ने नेपालीले धुमधामका साथ अंग्रेजी नयाँ वर्षको स्वागतका साथै सांस्कृतिक सदभावको लागि कर्मभूमिको ठुलो पर्व क्रिसमससमेत मनाएका छन् । नवलपुर सहायता समाज तथा नेपाली पूर्वेली समाजले छुट्टाछुट्टै सद्भावपूर्ण भेटघाटको आयोजना गर्दै नेपाली स्वादको खानपिनको आयोजना गरी अंग्रेजी नयाँवर्षको स्वागतमा शुभकामना आदानप्रदान कार्यक्रम गरेका हुन्।

नयाँवर्ष मात्र नभई बेल्जियममा रहेका नेपालीलगायत सबैजसो चाडपर्व पनि नेपाली समुदायले मनाउने गरेका छन् । कर्मभूमिमा रहेर पनि स्थानीय तथा नेपाली चाडपर्वहरु श्रद्धापूर्वक मनाउने चलन पुरानो हो । दशैं, तिहार, तिज, नयाँ वर्ष, छठ, नेपाल सम्वत, साकेला, ल्होछार आदि आफ्ना मौलिक चाडपर्वहरु उत्तिकै श्रद्धा तथा आस्थापुर्वक नेपालीहरुले मनाउँदै आइरहेका छन् ।

आफ्ना छोराछोरीसँगै आफ्ना संस्कृति, चाडपर्व ,भाषा परम्परालाई उत्तिकै महत्वका साथ मनाउने गरिएको छ । जसले गर्दा संस्कृति तथा परम्पराको दोश्रो पुस्तालाई हस्तान्तरणमा सहजता आउने आँकलन गरिन्छ। यी पर्वहरुमा मिठा खानाका परिकार बनाएर खाने र सपरिवार जम्मा भई खुशियाली मनाउने, नाच्ने गाउने गरिन्छ ।

नवलपुर समाज बेल्जियमले पनि बेल्जियमको लुभेनमा अवस्थित बुद्ध रेस्टुरेन्टमा नयाँ बर्षको खुशियाली कार्यक्रममा आफ्ना साथीभाइ, आफन्त, परिवारबीच शुभकामनापत्र आदान प्रदान गरि कर्मभूमिको आगामी क्यालेन्डरलाई भब्यरुपमा स्वागत गरेका हुन् ।

छोटो औपचारिक कार्यक्रममा समाजका महासचिव नरहरि सापकोटाले कार्यक्रम संचालन गर्दै उत्सवको उद्देश्यबारे प्रष्ट पारे भने सम्पूर्ण पाहुनाहरुलाई स्वागत गर्दै उपाध्यक्ष हरि सापकोटाले खुसियाली तथा सदभाव कार्यक्रमले नवलपुर समाजलाई हरेक प्रकारले सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए। नवलपुर समाजका अध्यक्ष विजय मल्लको सभापतित्वमा सम्पन्न शुभकामना कार्यक्रम डिसेम्बर २४ आइतबार बेलुका अबेरसम्म चलेको थियो।

त्यस्तै पूर्वेली नेपाली समाजको सदभाव तथा शुभकामना कार्यक्रम बेल्जियमको आन्त्वेर्पेनको एभरेष्ट कुजिनमा एक पार्टी आयोजना गरी सम्पन्न भएको थियो। कार्यक्रम पूर्वेली समाजका अध्यक्ष अनन्त वस्तीको अध्यक्षतामा भएको थियो भने संचालन समाजका महासचिव गोपाल दाहालले गरेका थिए।