डा. तुल्सी गिरीसँग जोडिएको क्षणको सम्झना

डा. तुल्सी गिरीसँग जोडिएको क्षणको सम्झना


  • दी भरतबहादुर बिसुराल (हिमालयन टाइगर)

डा. तुल्सी गिरीलाई भन्न त सबैले क्रिश्चियन धर्मावलम्बी भन्ने गर्दछन्, तर उहाँ भगवान् योहोवाको साक्षी (योहोवा विट्नेस) हुनुहुन्थ्यो । नेपालीमा ‘प्रहरी धरहरा’ अङ्ग्रेजीमा ‘वाच टावर’ भनिन्छ । ‘वाच टावर’भित्र प्रार्थना सभा रहेको हुन्छ यसलाई ‘किङडम हल’ भनिन्छ । तर, रोमन क्याथोलिक क्रिश्चियानिटीभित्र पनि रहेका मेथोडिस्ट, बापतिष्ठलगायतका विभिन्नखाले क्रिश्चियन धर्मावलम्बीहरू भने क्रचेसमा ‘क्राइस्ट जेसस’लाई सजाएर पूजा–आराधना गर्ने गर्दछन् अर्थात् भगवान् जेसस हाम्रा लागि बलिवेदीमा चढेर मृत्युवरण गरी त्याग गरिएको सचित्र देखाउँछन् ।

खासगरी डा. तुल्सी गिरीले लिएको धर्म योहोवाको साक्षी भगवान् एक दिन यो पृथ्वीमा आउनुहुन्छ र आफ्नो प्याराडाइज घोषणा गर्नुहुन्छ । तत्पश्चात् मृत्यु, वृद्ध, रोगी, पीडा, शोषण, उत्पीडनजस्ता खराबीहरू समाप्त हुनेछन् । भगवान् योहोवाका साक्षीहरू जो मरेर खरानी र माटो भए उनीहरूले पनि खरानी तथा माटोबाट फर्केर जीवन पाउनेछन् । त्यसपछि त बाघ र बाख्रा–पाठाहरू, सर्प र चरा–मुसा, चल्लाहरू पनि एक–आपसमा मित्रभावमा खेल्नेछन् । कोही कसैको शत्रु हुँदैन, कोही कसैको कुरा काट्ने हत्या हिंसा गर्ने दुश्मन र हत्यारा हुने छैनन् । तर जानकार भएर पनि जो बुझ पचाउँछ योहोवाप्रति अविश्वास गर्दछ भने त्यस्ता व्यक्तिहरूले यस्तो संसार तथा प्याराडाइजमा स्थान पाउने छैनन् ।

योहोवाले आफ्नो प्याराडाइज घोषणा नगरेसम्म यस धर्तीमा भएको कामचलाउ व्यवस्थापनलाई स्वीकार गर, तर राजनीतिमा मतदान पनि नगर, यो योहोवाविरोधी गतिविधि हुनेछ, अहिलेका पापी, अपराधी, भ्रष्टचारी, पाखण्डी, पक्षपातीहरूको सङ्गत गरेर भुलेर पनि त्यस्तो शासकको जमातमा नलाग भन्ने भगवान् योहोवाको यस धर्तीमा आगमन अडकलअनुसार दोस्रो विश्वयुद्धको युगको अन्तिम मान्छेको मृत्युपश्चात् योहोवाले धर्तीलाई आफ्नो प्याराडाइज घोषणा गर्नुहुुनेछ भन्ने विश्वास छ ।

वाच टावरका हर्ताकर्ता सबैजसोले धर्म परिवर्तन गरी योहोवा विट्नेस बनिहाल्नु बुद्धिमानी हुनेछ भन्थे, तर मेरो मनले धर्म परिवर्तन बुद्धिमानी होइन, यदि मन परिवर्तन हुन सकेन भने धर्म परिवर्तनले झन् जीवनलाई क्षति पुऱ्याउँछ भन्ने लागिरह्यो र गरिनँ ।

तर, डा. गिरी राजनीतिक प्राणी र त्यो पनि औपचारिक पद ग्रहण गरिसकेको दलविहीन पञ्चायत कन्जरभेटिभ स्वभावको व्यक्तित्व आफ्नो धर्मपत्नीको सङ्गतबाट सहज रूपमै योहोवा विट्नेस धर्ममा लाग्नुभयो । म्याडम गिरी श्रीलंका शाखामा खटिनुभएपछि उहाँसँगै डा. गिरी पनि जानुभयो । त्यसपछि त योहोवा विट्नेश धर्मावलम्बीहरूले संसारभर नेपालका बहालवाला प्रधानमन्त्रीले भगवान् योहोवाको अध्ययनपश्चात् पद, पैसा, मान, सम्मान त्यागेर योहोवाको धर्म प्रवेश गरी वापताइज गरेको भन्ने हल्ला व्यापक चलाएका थिए । म अमेरिका प्रवास कालमा हुँदा विष्णु तारा चित्रकारको जोडी जो योहोवा विट्नेस नै थिए, विश्वकै केन्द्रीय वाच टावर ब्रुकलिन हाइटमा उहाँहरू बस्नुहुन्थ्यो । उहाँहरूको अनुरोधअनुसार करिब २ वर्ष योहोवा विट्नेस बाइबल अध्ययन गर्ने छलफल गर्ने बहुसङ्ख्यक योहोवाका साक्षीहरू दिदीबहिनी, दाजुभाइहरूसँग सुमधुर सम्बन्ध रह्यो त्यो पनि अवसर नै थियो ।

त्यस्ता भेटघाटमा वाच टावरका सबैभन्दा जेठा हर्ताकर्ता रोजमन्ड (रोज) ब्रदरदेखि सबैजसोले तिम्रो देशको प्रधानमन्त्रीले यसो गरे, त्यसो गरे भन्ने कहानी सुनाएर तिमी के हेरिबसेको ? ढिलो नगर तिमी पनि धर्म परिवर्तन गरी योहोवा विट्नेस बनिहाल्नु बुद्धिमानी हुनेछ भन्थे । तर, मेरो मनले धर्म परिवर्तन बुद्धिमानी होइन, यदि मन परिवर्तन हुन सकेन भने धर्म परिवर्तनले झन् जीवनलाई क्षति पुऱ्याउँछ भन्ने लागिरह्यो र गरिनँ ।

सन् १९९२ को अमेरिकी राष्ट्रपति निर्वाचनमा मतदाताको तथ्याङ्क नै निकालेको थियो । अमेरिकाभर १२ मिलियन अर्थात् १ करोड २० लाख योहोवा विट्नेस वालिग भए पनि मतदान गर्ने छैनन् भनिन्थ्यो र जोडघटाउको परिणाम मिलाउन समाचार मिडियाहरू लागेका थिए । यस अर्थमा डा. तुल्सी गिरी हिजो नेपालको धर्म, राजनीति, देश र जिम्मेवारी त्यागेर योहोवाका साक्षी भन्ने धर्ममा प्रवेश गर्नुभएको थियो भने अन्तिममा योहोवाको त्यस्तो राजनीतिविरुद्धको मूल्य, मान्यता र विश्वासलाई बिर्सेर राजाको मनोनीत पद मन्त्रिपरिषद्को वरिष्ठ उपाध्यक्ष स्वीकार गर्न आउनुभयो । जुन समयमा एकातिर सात दल संसदवादीहरू र जङ्गलबाट माओवादीले धावा बोलिरहेको अवस्था थियो, त्योसँग भिड्ने डा. गिरीसँग न त सङ्गठन नै थियो न त उहाँका सर्कलका व्यक्तित्वहरूको मित्रता र राम्रो सङ्गत नै थियो । न पञ्चायतकालीन भाषणले नै काम गर्दथ्यो न त उहाँको परिवर्तित राजनीतिक परिवेशको वातावरण बुझेर भाषण गर्ने अभ्यास नै थियो । बरु हामी देश, राजनीति, राजा, धर्म मानेर बस्नेहरूलाई पाखा लगाएर देश, धर्म, राजनीति र जिम्मेवारी त्यागेर गएको व्यक्तिलाई ल्याएर वरिष्ठ उपाध्यक्ष बनाएकोमा सबै चिढिएका थिए । लौ त कसरी पार लगाउँदो रहेछ डा. गिरीले भनेर खुलेआम राजालाई तर्साउनेखाले मन्तव्य पनि प्रकट गर्दथे । वास्तवमा कुनै सभा–समारोह उद्घाटन र दर्शनका कुरा आए भने राजाको तस्बिरमा अबिर, माला नचढाई कार्यक्रम गर्न मिल्दैनथ्यो ।

त्यस्तो कार्यका लागि २ नम्बर उपाध्यक्षलाई पनि लगेर परम्परा र कर्मकाण्डी पूरा गर्न लगाइन्थ्यो । देशमा राजा, धर्म, संस्कार र राजनीतिक व्यवस्थाको खलल पुऱ्याउने डरत्रासबाट बचाउने बेला उल्टै राजा, धर्म र संस्कारप्रति मान्यता नराख्ने डा. गिरीको व्यवहार र सङ्गठनबिनाको व्यक्तित्वले झन् राजतन्त्र र त्यो शासन व्यवस्था धराशायी हुँदै गयो । त्यही समयमा अञ्चल प्रशासक, क्षेत्रीय प्रशासक र जिल्ला सभापति, उपसभापति, मेयर, उपमेयरको छनोट गरी काम चलाउन नियुक्ति गर्ने हल्ला आयो । तत्कालीन अर्थमन्त्री मधुकरशमशेर जबरासँग राम्रो चिनजान र मित्रता थियो । एक दिन भेटघाट गर्न बोलाउनुभयो । उहाँले भननुभयो– अब मेरो सल्लाह मान्नुपऱ्यो, मन्त्रीहरूको सिफासिरमा माथि उल्लेखित पदहरू पूर्ति गर्ने निर्णय भएको छ, म तपाईंलाई ललितपुरवासी भएकोले ललितपुरकै सभापतिका लागि सिफारिस गरेको छु ।

एउटा उपसभापति राम्रो मान्छे खोजेर स्थानीय विकासमन्त्री खड्गबहादुर विसीलाई भेटिहाल्नुस् भनेर पठाउनुभयो र मैले मन्त्रीलाई भेटेर कुरा राखेँ । तर, मन्त्री विसीले सभापतिभन्दा धौलागिरीतिर प्रशासक भएर जानोस् भनेपछि मैले रुचि राखिनँ र सम्पर्कमा जान छाडेँ । तर, डा. गिरीलाई भेट्ने जमर्को गरेँ । २ बजे समय मिल्यो सिंहदरबारमै, तर नेपाल बन्द र चक्काजामले आउन नसकेको खबर पीएलाई पठाएँ । भोलिपल्ट बिहानै निवासमा गएँ । त्यहाँ पनि योहोवाका साक्षीहरू, निजी सचिवहरू रहेछन् । योहोवाका विषयमा कुरा गरेर प्रभाव पारी भेटघाट मिलाएँ । माथि बोलाइयो । कुर्थासुरुवाल पहिरिएका उनी त्यतिबेला घटना र विचार साप्ताहिक पत्रिका पढेर बसेका रहेछन् । मलाई देखेपछि डा. गिरीले ‘हिजो पनि समय लिएको होइन, किन नआएको ?’ भनेर सोध्नुभयो । मैले गाडी जलाएको छ, वातावरण राम्रो थिएन भनेँ । तपाईं पहलमान मान्छे पनि बन्द, हडताल, चक्काजामसँग डराउने भन्दै पत्रिका पढ्दै गर्नुभयो ।

पत्रिका बिसाएर शिरदेखि पाउसम्म नियाल्नुभयो । ‘के तपाईं पनि योहोवा विट्नेस हो र, कुरा त त्यस्तो छ नि ?’– उहाँले सोध्नुभयो । मैले ‘अध्ययन र प्राक्टिस त लामै छ, तर धर्म परिवर्तनचाहिँ गरेको छैन’ भनेँ । भेटघाटको तात्पर्यतर्फ मोडिएर उहाँले ‘तपाईं खेलाडी मान्छे, केमा अड्कियो त ?’ भन्ने सवाल राख्दा मैले प्रशासक या सभापति दिने कुरा आइरहेकोजस्तो लाग्छ, बरु खेलकुद परिषद्तिर के छ नि ?’ भनेँ । परिषदमा सम्भावना नरहेको बुझियो र त्यहाँ सम्भावना छैन भनेपछि ‘सभापति, प्रशासक के जानु, यस्तो खेल–एक्सपर्टलाई खेलकुदमन्त्री नै बनाउँला नि एकदिन ढिलोचाँडो, हुँदैन र ?’ भन्नुभयो । ‘तपाईंले योहोवा विट्नेसको धर्ममा लागेर बाइबल अध्ययन गरेको विषय मलाई मनपऱ्यो । तपाईं सुझबुझको व्यक्ति, देश–परदेश घुमेको, स्वस्थ, बलियो र जल्दोबल्दो व्यक्तित्व हुनुहुन्छ । हाम्रो धर्म पनि, आत्मा पनि र कर्म पनि मिलाएर सँगसँगै हिँड्नुपर्छ । आज मिटिङ छ, लामो समय नबसौँ, भेटघाटमा आइरहनुपर्छ, सँगै काम गर्नुपर्छ’ भनेर बिदा गर्नुभयो । आज त्यही क्षणको स्मरण गर्दै डा. तुल्सी गिरीप्रति हार्दिक श्रद्धाञ्जली अमेन !