सर्वोच्च-आदेशको अवहेलना भयो

सर्वोच्च-आदेशको अवहेलना भयो


नेपाल सरकारको मिति ०६६ कात्तिक ६ को निर्णयअनुसार स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा नियुक्त भई पुन: सरकारको मिति ०६७ जेठ ११ को निर्णयबाट पाँच वर्ष पदावधि हुनेगरी नियुक्त भई नियमानुसार कामकाज गर्दै आएको व्यक्ति हुँ म । यसबीच ०६८ जेठ १३ मा मन्त्रिपरिषद्ले मेरो नियुक्ति रद्द गरी राजबहादुर गिरीलाई कार्यकारी निर्देशक पदमा नियुक्त गर्‍यो, जुन कदम स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान ऐन २०४९ को दफा १२ (२) बमोजिम नियुक्त भएको मेरो हकमा नियमविपरीत थियो । तर्सथ, गत जेठ २० गते सर्वोच्च अदालतमा रिट दायर गरेँ र सर्वोच्चले त्यस रिटउपर सुनुवाइ गरी ‘कार्यकारी निर्देशक डा. गोविन्दप्रसाद गुरागाईंको नियुक्ति रद्द गर्ने र राजबहादुर गिरीलाई नियुक्ति गर्ने तथा सोसँग सम्बन्धित पत्रहरू कार्यान्वयन नगर्नू/नगराउनू’ भन्ने अन्तरिम आदेश जारी भयो । तर, राजबहादुर गिरीबाट सर्वोच्च अदालतको आदेश वा निर्णयको सम्मान गरिएन, बरु अदालतको आदेश र म्याद नबुझी उनले म डा. गोविन्दप्रसाद गुरागाईंलाई नियमित बहाली गर्नमा अवरोध सिर्जना गरिरहेका छन् । कानुनी शासनको खिल्ली उडाउने यस कार्यको घोर निन्दा गर्दछु । अदालतको आदेशपछि पनि कार्यकारी निर्देशककै हैसियतबाट प्रशासनिक तथा आर्थिक कारोबार उनबाट भइरहनु गैरकानुनी र आपत्तिजनक छ ।
तर्सथ, सर्वोच्च अदालतको आदेशको पालना अविलम्ब कार्यान्वयन गराउने कार्यमा आवश्यक व्यवस्था गर्न स्थानीय विकास मन्त्रालयका मन्त्रीज्यू एवम् सचिवज्यूहरूमा अनुरोध गर्दछु ।
– डा. गोविन्दप्रसाद गुरागाईं
कार्यकारी निर्देशक, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर

यी एसपी आएपछि यस्तो भयो
बुटवल इलाका प्रहरी कार्यालयका डीएसपी दानबहादुर कार्कीले फैलाएको प्रहरीआतङ्कले यो क्षेत्र नै आतङ्कित भएको छ । उनले सुरुमा होटलमा यौनधन्दा र जुवाको अखडामा छापा मारी कडाइ गरेको अभिनय गरे । त्यसको केही समयपछि महिनावारी कमिसन पाउने सर्तमा यी सबै कुरामा छुट दिए र ठूला अपराधीहरूबाँट मासिक रूपमा मोटो रकम खाने अनि साना अपराधीलाई पक्रेर मिडियामा चर्चामा आउन खोज्ने गरे । यसबाट जुवा र यौनधन्दा झन् फैलिन गयो । जिल्ला प्रहरी कार्यालयबाट एसपी शेरबहादुर बस्नेतले बुटवल इप्रकालाई थाहै नदिई छापा मारेर जुवाडे पक्रेपछि आफूले कारबाही नगर्ने र कारबाही गर्ने एसपीलाई मेरो क्षेत्रमा हस्तक्षेप गर्‍यो भन्दै गाली गर्दै हिँड्ने गर्न थालेका छन् ।
उनी बुटवल इलाका प्रहरी कार्यालय आएपछि बुटवल प्रतिष्ठित व्यापारी रमेश भण्डारीको दिनदहाडै हत्या भयो, थानानजिकै शंकर खनालको घरमा चोरी भयो, दिलीप कुँवरको अपहरण भयो, राजु गुरुङको निजी जग्गामा गुण्डाहरूले घर बनाए, प्रशान्त कोइरालालाई मर्नेगरी गुण्डाहरूले पिटे, यी कामहरू गर्ने गुण्डाहरू, अपराधीहरूलाई पक्रने त परै रहोस्, उल्टै उनीहरूबाट मोटो रकम असुल गरी संरक्षण गरिएको छ ।
‘म आईजीपी साहेवको मानिस हुँ, माथि मोटो रकम बुझाएर आएको छु, मलाई कसैले केही गर्न सक्दैन’ भन्दै सर्वसाधारण जनतालाई उनी हप्काउने गर्छन् । उनको एकसूत्रीय काम भनेको कानुनको पालना गर्ने-गराउनेभन्दा पैसा असुल्ने मात्र छ । यी भ्रष्ट र घमण्डी डीएसपीलाई प्रहरी विभागबाटै बर्खास्त गर्नुपर्छ भन्ने हाम्रो माग छ ।
– बुटवलवासी पीडित जनता

यस्तो पो पत्रकारिता !
वर्ष १६, अङ्क ४८ मा ‘यस्ता पो मन्त्री’ शीर्षकअन्तर्गत ऊर्जामन्त्री गोकर्ण विष्टले गरेका राम्रा कामहरूको प्रशंसा गरेको पढ्न पाउँदा असाध्यै खुसी लाग्यो । हो, अहिलेको असल नेताको खडेरी लागेको बेलामा र त्यसमाथि लोडसेडिङले आक्रान्त पारेको समयमा ऊर्जामन्त्रीले गरेका केही ऊर्जावान प्रयासहरू साँच्चै नै प्रशंसायुक्त छन् । व्यक्तिगत स्वार्थ र पार्टी घेराभन्दा माथि उठी नेपाल विद्युत् प्राधिकरणको प्रमुख कार्यकारीको नियुक्ति खुला प्रतिस्पर्धाबाट गर्नेजस्ता कामहरू उदाहरणीय छन् । त्योभन्दा पनि नेपालका पत्रिका त्यसमा पनि साप्ताहिक, जो कुनै पार्टीविशेष र अझ गुटविशेषको मुखपत्र भइरहेको अवस्थामा घटना र विचार साप्ताहिक जो प्रजातन्त्र पक्षधर पार्टीको वकालत गर्ने साप्ताहिकका रूपमा चिनिएको पत्रिकाले क्रमभङ्ग गर्दै विशुद्ध व्यावसायिक पत्रकारिताको नमुना प्रस्तुत गर्दै ऊर्जामन्त्रीले गरेका राम्रा कामको चर्चार् गरिदिनाले राम्रा काम गर्नेहरूमा थप ऊर्जा थप्छ भन्ने लागेको छ । भविष्यमा पनि यस्तै समाचार विवेचना पढ्न पाइयोस् । घटना र विचार परिवारप्रति साधुवाद ।
– राम भण्डारी, गुल्मी