बद्रीनरसिंहको पुनर्जन्म जुद्धशमशेर !

बद्रीनरसिंहको पुनर्जन्म जुद्धशमशेर !


वि.सं. १९३० वैशाखमा पाल्पा गौडा सम्हाली बसेका पश्चिमतर्फका प्रधानसेनापति बद्रीनरसिंह कुँवर राणाजीको रिडी काली गण्डकीको तीरमा जम्मा त्रिपन्न वर्षको उमेरमा मृत्यु भयो । यिनका छोराहरू मेजर लेफ्टिनेन्ट कर्णेल भैरवनरसिंह, अमीरनरसिंह, कुमारनरसिंह र किशोर नरसिंहहरूलाई किरियाकर्म इत्यादि सकी काठमाडौं आउनू भन्ने आदेश श्री ३ जंगको आएकाले किरियाकर्म सकी सबै काठमाडौं फर्के ।

धेरै पाल्पाली बूढापाकाहरूको भनाइ छ कि पश्चिमतर्फका प्रधानसेनापति बद्रीनरसिंह हमेसैजसो भनिरहन्थे कि– ‘बिनाकसुर मैले सजाय भोग्नु परिरहेको छ, तसर्थ राणाशासनको अन्त हेर्न पाऊँ ।’ तसर्थ उनी ज्यादातर पाल्पा–तानसेनबाट रिडी काली गण्डकीमा आफ्नो शरीर कम्मरसम्म डुबाई घन्टौँ जप गरी तपस्या गर्ने गर्दथे । यिनले आफ्नो यही जीवनमा त राणाशासनको अन्त देख्न सकेनन्, तर यिनको मृत्युको ठीक दुई वर्षपछि याने वि.सं. १९३२ वैशाखमै जुद्धशमशेर जन्मे । यिनलाई नै बद्रीनरसिंहको अवतार लिई जन्मेका हुन् भन्दथे । संयोग, जुद्धशमशेरकै समयदेखि राणाशासनको अन्त्यको शुरुवात भएको स्पष्टै छ । जंगबहादुरको समयका झैँ अपढ, सीधा–साधा, सोझा जनता थिएनन्, उनमा जागृति आइसकेको थियो ।

जुद्धशमशेरले देशभक्त कतिपय नेपाली जनताको हत्या गरे, कतिको जीवन नष्ट गरे, कतिलाई दर्दनाक सजाय गरे । यिनले आफ्ना सम्बन्धित र हितैषीहरूलाई पदच्यूत गरी राणाशासनकै पतनको शुरुवात गरे । मुगल शासक औरङ्गजेवले अन्याय, अत्याचार गरेबाट मुगल शासनको अन्त्यको शुरुवात भएझैँ राणाशासनको अन्त्यको प्रारम्भ यिनै जद्धशमशेरले गरेका थिए । भनाइको तात्पर्य पश्चिमतर्फका प्रधानसेनापति बद्रीनरसिंहको इच्छाबमोजिम कार्य पूरा गरी जुद्धशमशेर बाध्य भई रिडी–काली गण्डकीको किनारामा जहाँ बद्रीनरसिंहले जपतप गर्ने गर्दथे त्यहीँ आई शरण लिन पुगेको छ साथै यिनी राणाशासनको पतन भएको देखेर मात्र मरेका छन् ।

(श्री ३ हरूको तथ्यवृत्तान्त)