सार्क सम्मेलनमा पाकिस्तानी मनोविज्ञान बेग्लै

सार्क सम्मेलनमा पाकिस्तानी मनोविज्ञान बेग्लै


othernewsदक्षिण एसिया सुदृढ शक्ति बन्ने अपेक्षा
सार्क राष्ट्रहरूको १८औँ शिखर सम्मेलन काठमाडौंमा भव्य समारोहबीच सम्पन्न गर्ने तयारी भए पनि पाकिस्तानका कारण यो सम्मेलन अपेक्षाकृत उपलब्धिमूलक हुनेमा आशङ्का पैदा भएको छ । मङ्सिर १० र ११ गतेसम्म राजधानीको राष्ट्रिय सभागृहमा हुने सार्क शिखर सम्मेलनले विभिन्न महत्वपूर्ण निर्णय लिनुका साथै केही विशेष प्रस्ताव पारित गर्ने तयारी भइरहँदा पाकिस्तानले भने आन्तरिक तयारी नपुगेको भन्दै कतिपय विषयमा शालीन ढङ्गले असहमतिको सङ्केत दिएको छ । यसले गर्दा सार्कले जे–जस्ता महत्वपूर्ण निर्णय गर्नुपर्ने हो ती विषयमा छलफलसमेत नभई केही निर्णयसहित घोषणापत्र जारी गरेर सम्मेलन सकिने देखिएको छ । भारतप्रतिको पाकिस्तानी सोचका कारण सार्क सम्मेलनले महत्वपूर्ण विषयमा निर्णय गर्न नसक्ने अनुमान गरिएको हो ।
भारत–पाकिस्तान सम्बन्धमा देखापरेको सूक्ष्म तनावका कारण अपेक्षा गरिएजति उपलब्धि हुनेमा आशङ्का उत्पन्न भएको परराष्ट्रविज्ञहरूको भनाइ छ । भारतसँग दूरीको सम्बन्ध बनाउँदै आएको पाकिस्तानले सार्क सम्मेलनलाई उपलब्धिपूर्ण बनाउनेभन्दा पनि भारतको भूमिकालाई सीमित तुल्याउनेतर्फ सचेत भएकोले कतिपय महत्वपूर्ण विषयमा साझा धारणा बनाउन समस्या पैदा भएको महशुस विदेश मामिला विज्ञहरुले गरेका छन् । यदी भारत र पाकिस्तानका बीच विश्वासपूर्ण सम्बन्ध कायम भएको भए सार्क निकै सुदृढ शक्ति बन्ने विश्लेषकहरुको भनाइ छ ।
यसअघि सार्कलाई युरोपेली युनियनजस्तै प्रभावकारी बनाइनेबारे पटकपटक छलफल भएको थियो । यस विषयलाई बैठकमा उठाइने सोच उच्च तहमा बनेको थियो । तर, यस विषयमा सम्मेलनमा कुरासमेत नउठने सङ्केत देखिएको परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिए । साथै सार्कको साझा मुद्रा बनाउनेबारे प्रारम्भिक दिनहरूका भएको छलफलले सम्मेलनमा स्थान नपाउने निश्चितप्रायः भएको छ । सम्मेलनमा आर्थिक अन्तरनिर्भरतातर्फ उन्मुख गराउने तथा सार्क राजधानीमा सीधा हवाई सेवा जोड्ने, सस्तो, सुलभ सञ्चार सुविधा प्रदान गर्न छुट्टै सञ्चार भूउपग्रहको व्यवस्था गर्ने विषयमा समेत छलफल हुने भनिए पनि यसले सम्मेलनमा स्थान पाउने सम्भावना कम देखिएको स्रोतका भनाइ छ । यसअघि भएको छलफलमा उठेका कतिपय विषयले आकार नै नलिई सेलाउने गरेको पनि देखिएको छ । यद्यपि सार्क शिखर सम्मेलनमा सुरक्षा, व्यापार, गरिबलक्षित सहयोगका कार्यक्रम, विकास निर्माण, रेल्वे सम्झौता, सवारी सम्झौता र ऊर्जा सहयोगलगायतका विषयलाई प्रस्तुत गरिने निश्चित भएको छ । स्वास्थ्य, शिक्षा, पर्यावरण, विपत्ति व्यवस्थापन र सुदृढ सार्क कोष विकासबारे सम्मेलनले महत्वपूर्ण निर्णय लिने बताइएको छ ।
नेपालबाहेक अन्य सात देशका साढे तीन सयभन्दा बढी प्रतिनिधि सहभागी हुने शिखर सम्मेलन कैयन दृष्टिले महत्वपूर्ण हुने मानिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार सम्मेलनमा सरकारप्रमुख तथा राष्ट्रप्रमुख, परराष्ट्रमन्त्री, परराष्ट्रसचिव, सहसचिव, सार्क शाखाका अधिकृत, शिष्टाचार अधिकारीहरूको सहभागिता रहनेछ । साथै केही पर्यवेक्षक राष्ट्रले काठमाडौं र भारतको दिल्लीस्थित आफ्ना राजदूतलाई सार्कमा सहभागी गराउनेछन् । सार्क शिखरमा चीन, इरान, अमेरिका, दक्षिण कोरिया, मरिसस, म्यानमार, युरोपेली युनियन र जापानले पर्यवेक्षकका रूपमा सहभागिता गराउनेछन् । ती मुलुकबाट उच्च अधिकारीहरू प्रतिनिधिका रूपमा काठमाडौं आइसकेका छन् । सार्कका नौ पर्यवेक्षकमध्ये जापान र युरोपेली युनियनका राजदूतहरूले पर्यवेक्षकको रूपमा सहभागिता जनाउने भएका छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीका अनुसार इरानबाट सडक यातायातमन्त्री, चीन र कोरियाबाट उपविदेशमन्त्रीले सहभागिता जनाउनेछन् ।

गाई काट्ने गिरोह पक्राउ
अर्काको गोठमा बाँधेर राखिएका गाई चोरी गरी काटेर मासु खाने एउटा गिरोहलाई पक्राउ गरी धादिङ प्रहरीले मुद्दा चलाएको छ । पक्राउ परेकाहरूमा क्याउले चेपाङ, बलबहादुर चेपाङ, रामजी चेपाङ र देवीस्थाने मगरलाई मुद्दा चलाइएको भए पनि उनीहरूसँगै पक्राउ परेका तीनजना महिलालाई भने हिरासतमुक्त गरिएको छ । प्राप्त समाचारअनुसार धादिङको धुषा गाविसअन्तर्गत वडा नं. २ गाल्धुप, तातोपानीमा रामबहादुर चेपाङकी पत्नीले पालेको गाई गत बिहीबार (मङ्सिर ४) राति गोठमा बाँधेर राखिएकोमा कसुरदारहरूले घनले हानी मारेको र काटकुट गरी मासु भाग लगाएर खाएका थिए । त्यसअघि मङ्सिर १ गते राति पनि उनीहरूले पदमबहादुर मगरले पालेको गाई गोठमै गएर काट्ने प्रयत्न गरेका थिए । गाई काट्न लाग्दा कराएको र त्यस आवाजले गाईधनी ब्युँझिएर कराउन थालेपछि हत्याराहरू घाइते अवस्थाको गाई छाडेर भागेका थिए । उक्त दिन कसले त्यस किसिमको अपराध गरेको भन्ने जानकारी हुन सकेको थिएन । तर, रामबहादुरकी पत्नीले पालेको गाई मारिएपछि मात्र अपराधीहरूको पहिचान हुन सकेको थियो । मङ्सिर ५ गते हत्याराहरूलाई पक्राउ गरी गाउँलेले प्रहरीलाई जिम्मा लगाएका थिए । उनीहरू पक्राउ परेपछि माओवादीका केही जिल्ला नेताहरूले बिनाकारबाही हिरासतमुक्त गर्न दबाब दिएका थिए । तर, प्रहरीले कानुनविपरीत कार्य गरेको प्रमाणित भएकाले अपराधीहरूलाई छाड्न नमिल्ने भन्दै कानुनी कारबाहीका लागि मुद्दा चलाएको हो ।

तीन केन्द्र खारेज हुने
सार्क सम्मेलनले सार्कको तीन केन्द्र खारेज र चार केन्द्र एक–अर्कामा गाभ्नुका साथै दक्षिण एसियाली महिला विकास फोरमको स्थापना गर्ने छ । परराष्ट्र प्रवक्ता अधिकारीका अनुसार सार्कका ११ वटा क्षेत्रीय केन्द्रमध्ये सूचना केन्द्र, मानव संसाधन केन्द्र र सार्क अभिलेख केन्द्र खारेज हुनेछन् । त्यस्तै वन व्यवस्थापन केन्द्र, विपद् व्यवस्थापन केन्द्र, तटीय क्षेत्र व्यवस्थापन केन्द्र र जलवायु केन्द्रलाई गाभेर एउटै बनाइनेछ । सम्मेलनले भक्तपुरमा रहेको सार्क क्षयरोग तथा एचआईभी र एड्स केन्द्रलाई स्तरोन्नति गर्ने निर्णयसमेत गर्नेछ । प्रवक्ता अधिकारीका अनुसार कृषिको उत्पादकत्व वृद्धि, सार्क कनेक्टिभिटी, प्रविधि र जलवायु परिवर्तनका विषयलाई सुदृढ गरिनेछ ।

सुरक्षाका लागि २८ हजार प्रहरी
सार्कको सुरक्षाका लागि सरकारले २८ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ । सम्मेलनस्थल वरपर सर्वसाधारणलाई हिँड्नसमेत दिइएको छैन । राजधानीमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ । स्रोतका अनुसार भारत र पाकिस्तानका प्रधानमन्त्रीको सुरक्षाका कारण पनि सार्क सम्मेलनको सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको हो । यी दुई देशले आफ्ना सरकारप्रमुखको सुरक्षा व्यवस्था आफैं मिलाएका छन् । साथै उनीहरू फरकफरक स्थानमा बस्नेछन् । नेपाल सरकारले सार्कका अति विशिष्टसहित सबै पाहुनालाई राजधानीको होटेल सोल्टीको रिगल स्विटमा बस्ने व्यवस्था मिलाएको छ । तर, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने होटल सोल्टीकै अर्को भवनस्थित प्रिन्सेस स्विटमा बसेका छन् ।

सार्कभन्दा मोदीप्रति बढी अपेक्षा
सर्वसाधारण जनताले सार्क शिखर सम्मेलनभन्दा पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीप्रति बढी अपेक्षा गरेका छन् । उनीहरूले सम्मेलनका क्रममा नेपाल भ्रमणमा रहेका मोदीले नेपाललाई गर्ने आर्थिक तथा भौतिक सहयोगलाई लिएर सर्वसाधारणले मोदीप्रति बढी आशा गरेका हुन् । साथै सार्क सम्मेलनमा पनि मोदीले पेस गर्ने एजेण्डाबारे बडो चासो दिइएको छ । उनीहरूले मोदीले सम्मेलनमा के भन्छन्, त्यसले नेपाललाई कस्तो फाइदा पु-याउँछ भन्नेमा उत्सुकता जनाइरहेका छन् । सरकारले पनि भारतीय प्रधानमन्त्रीप्रति विशेष चासो र अपेक्षा राखेको छ ।
यसैबीच मोदीले हिजो मंगलबार भारतीय सहयोगमा निर्मित ट्रमा सेन्टर भवन नेपाल सरकारलाई हस्तान्तरण गरेका छन् । साथै उनले नेपाली सेनाका लागि उपहारस्वरूप दुईवटा हेलिकोप्टर पनि हस्तान्तरण गरेका छन् ।

सात राष्ट्रप्रमुख नेपालमा
सार्क सम्मेलनमा सहभागी हुन सात राष्ट्रका राष्ट्रप्रमुखहरू मंगलबार नेपाल आइपुगेका छन् । सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफ आफ्नै विशेष विमानमा सुरक्षा दस्तासहित नेपाल आएका छन् । त्यस्तै सार्कमा सहभागी हुन अफगानी राष्ट्रपति असरफ घानी, श्रीलंकाली राष्ट्रपति महेन्दा राजापाक्षे, भुटानका प्रधानमन्त्री ल्योन्चन छिरिङ टोब्गे, माल्दिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना राजधानी आइपुगेका छन् । सम्मेलनमा सहभागी हुन आएका श्रीलंकाली राष्ट्रपति राजपाक्षे त्रिभुवन विमानस्थलबाट लुम्बिनी दर्शनका लागि गए पनि अन्य सरकारप्रमुखहरू सोझै सोल्टी होटेल पुगेका थिए ।
त्यस्तै भारतीय प्रधानमन्त्री मोदी भने केही समय होटल सोल्टीमा आराम गरेपछि वीर अस्पताल परिसरमा निर्माण गरिएको ट्रमा सेन्टर उद्घाटनमा सहभागी भएका थिए । साथै उनले प्रधानमन्त्री सुशील कोइरालालाई ट्रमा सेन्टर हस्तान्तरण गरे । नेपाली सेनालाई हेलिकोप्टर प्रदान गरेपछि उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमसँग लगानी बोर्डले गर्न लागेको पीडीए सम्झौता कार्यक्रममा सहभागी भएका थिए ।

सार्कलाई ‘भव्य’ बनाउन अन्ठाउन्न हजारको साडी !
प्रधानमन्त्री सुशील कोइरालाको छवि स्वच्छ, मितव्ययी र अत्यन्त साधारण रहेको मान्नेहरू नेपाली समाजमा अझै छन् । कोइरालाको भान्साबाट बाह्र लाख रुपैयाँ हराएको घटनाबारे कमैलाई जानकारी भए पनि सम्पत्तिको नाममा उहाँको तीनवटा मोबाइल फोन सेट मात्र रहेको जानकारीचाहिँ धेरैलाई छ । उहाँलाई मितव्ययी र शालीन मान्ने हो भने पनि उहाँका वरिपरिका मानिस कतिसम्म भड्किला छन् भन्ने कुराको एउटा दृष्टान्त हालै फेला परेको छ । यतिबेला मृदुला कोइरालालाई सुशील कोइरालाको सर्वाधिक निकटतम् र अत्यन्तै निकटतम् महिलाका रूपमा लिइन्छ । प्रधानमन्त्रीको किचेन क्याबिनेटकी महत्वपूर्ण सदस्य मृदुलाले सार्क सम्मेलनलाई भव्य र सफल बनाउन के–कस्ता योगदान दिइरहेकी छिन् त्यसको जानकारी हुन सकेको छैन । तर, सम्मेलनका क्रममा मृदुलाले नेपालकै सबभन्दा महँगो साडी लगाएर ‘भव्यता प्रदर्शन’ गर्ने इच्छा राखिन् र दरबारमार्गदेखि नयाँ सडकसम्मका महँगा साडी पसलहरू चहारिन् । एकदेखि डेढ लाखसम्मको साडी खरिद गर्ने सोच र तयारीका साथ बजार चहार्न पुगेकी मृदुलाले एक लाख जाने साडी कहीँ कतै पाउन सकिनन् र अन्त्यमा बाध्य भएर एउटा पसलबाट अन्ठाउन्न हजार रुपैयाँ पर्ने साडी खरिद गरिन् । सार्कमा भव्य देखिन प्रयोग गरिने उक्त साडीले प्रधानमन्त्री सुशील कोइरालाको ‘साख’ कति बढाउने हो प्रतीक्षाको विषय बनेको छ ।

हिन्दूराष्ट्र स्थापना महाअभियानको कार्यक्रम प्रारम्भ
झापामा २७ गते शुभारम्भसभा
हिन्दूराष्ट्र स्थापना महाअभियानका संयोजक एवम् नेपाली काङ्गे्रसका नेता खुमबहादुर खड्का अभियानको सिलसिलामा जिल्ला भ्रमणमा जानुहुने भएको छ । महाअभियानको पहिलो सभा झापाको दमकमा मङ्सिर २७ गते हुँदै छ र खड्का उक्त शुभारम्भ सभाको प्रमुख वक्ताको रूपमा भाग लिन मङ्सिर २६ गते दमक पुग्नुहुने भएको छ । सो सभालाई महाअभियानका सहसंयोजक एवम् काङ्गे्रस नेता लक्ष्मणप्रसाद घिमिरे, पूर्वसभामुख, काङ्गे्रस नेता एवम् महाअभियानका सदस्य तारानाथ रानाभाट, सभासद् शङ्कर भण्डारी, केन्द्रीय सदस्य पुष्पा भुसाल, काङ्गे्रसका युवानेता मोहम्मद नक्की खाँ र युवानेता वर्मा लामालगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि खुमबहादुर खड्का बुटवलको परासी रोडमा आयोजित महाअभियानको कार्यक्रममा भाग लिन मङ्सिर २२ गते बुटवल पुग्नुहुनेछ । मङ्सिर १५ गते नुवाकोटको विदुरमा आयोजित भेलामा सहभागी हुन खड्का जानुहुने भएको छ । खड्कालाई पर्साको वीरगन्जबाट पनि निमन्त्रणा आएको छ । मङ्सिर २९ गते गर्ने भनिएको वीरगन्जको कार्यक्रम सो दिन गर्ने या केही दिन पछि गर्ने भनी टुङ्गो नलागेको हुनाले खड्काको वीरगन्ज भ्रमणको निधो भइसकेको छैन । झापाको कार्यक्रमपछि खड्का मोरङ, सुनसरीलगायत पूर्वी तराईका केही जिल्लामा कार्यकर्ता भेटघाटका कार्यक्रममा सरिक हुनुहुने भएको छ ।
यसैबीच, नेता खड्काले गत सोमबार (मङ्सिर ८ गते) एक विज्ञप्ति जारी गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबाट हुने भनिएको धार्मिक स्थलहरूको भ्रमण स्थगित भएकोमा आफू स्तब्ध र दुःखी भएको बताउनुभएको छ । विज्ञप्तिमा उहाँले भन्नुभएको छ, ‘छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट नेपालका सुप्रसिद्ध धार्मिक स्थलहरू रामजानकी मन्दिर (जनकपुर), मुक्तिनाथ र बुद्धको जन्मस्थल (लुम्बिनी) भ्रमण कार्यक्रम स्थगित भएको खबरबाट हामी स्तब्ध र दुःखी हुन पुगेका छौँ । मित्रराष्ट्रका प्रधानमन्त्रीबाट धार्मिक स्थलहरूको भ्रमण हुँदा ती क्षेत्रको महिमा बढ्ने, तीर्थस्थलको अन्तर्राष्ट्रीयकरण भई पर्यटन व्यवसायमा समेत परिणामदायी सकारात्मक प्रभाव पर्ने हाम्रो विश्वास थियो र छ ।’
‘यस्ता भ्रमणबाट भौतिक सुखतर्फ मात्र उन्मुख समुदायलाई आध्यात्मिक जागरण, शान्ति र समृद्धितर्फ लैजाने विश्वास पनि हामीले गरेका छौँ । तर, अनायासै धार्मिक स्थलहरूको भ्रमण स्थगित हुनुले हामीलाई चिन्तित तुल्याएको मात्र छैन, नेपालको कूटनीतिक क्षमता र परिपक्वतामाथि गम्भीर प्रश्न पनि उठाएको छ’ भन्दै खड्काले विज्ञप्तिमा अगाडि भन्नुभएको छ, ‘पवित्र धामहरूको भ्रमण रोकिएबाट आमनेपाली जनता असन्तुष्ट बनेका छन् र सरकारको सङ्कीर्ण एवम् अपरिपक्व व्यवहार पनि यस क्रममा उजागर भएको हामीले ठानेका छौँ । यस घटनाले नेपाल–भारत सम्बन्ध सबलीकरणका विरोधीहरूलाई लाभ पु-याएको हाम्रो ठम्याइ छ । नेपाल र नेपालीको हितविपरीतको व्यवहार प्रस्तुत गरी छिमेकका प्रधानमन्त्रीको भ्रमण नै स्थगित हुने तहसम्म पु-याएको यो घटना लज्जास्पद र निन्दनीय छ ।’ उहाँले नेपालमा भारतीय प्रधानमन्त्रीबाट हुने भनिएको उल्लिखित धार्मिक स्थलहरूको भ्रमण उपयुक्त समयमा सुचारु गर्न माग पनि गर्नुभएको छ ।

दुई नेताबीच बोलचाल बन्द !
समय र परिस्थितिले मानिसको सम्बन्धलाई कतिसम्म प्रभावित गर्दोरहेछ भन्ने कुराको उदाहरण नेपाली राजनीतिका दुई चर्चित पात्र बनेका छन् । एमाओवादी अध्यक्ष प्रचण्ड र काङ्गे्रस महामन्त्री कृष्ण सिटौलाबीचको सम्बन्ध एक समय यति कसिलो मानिन्थ्यो कि प्रचण्डसँगको मित्रताकै कारण काङ्गे्रसभित्र सिटौलालाई माओवादीको मान्छेका रूपमा लिइन्थ्यो । ०६३ असार १ गते कास्की पुगेर प्रचण्ड–बाबुरामलाई काठमाडौं ल्याउने कार्य गरेयता सिटौलालाई सधैं प्रचण्डनिकटका व्यक्तिको रूपमा हेनेए गरिएको थियो । तर, संविधानसभाको दोस्रो निर्वाचनपछि दुई नेताबीचको सम्बन्ध हिउँझैँ चिसो हुन पुगेको छ । प्रचण्डको विचारमा ‘सिटौला एक खुँखार षड्यन्त्रकारी’ हुन् र उनकै कारणले एमाओवादीलाई अप्ठ्यारो परिरहेको छ । प्रचण्डले सिटौलाको बारेमा आफ्ना निकटका व्यक्तिहरूसँग उल्लिखित टिप्पणी गर्न थालेको धेरै भए पनि सिटौलाको मुखैमा ‘षड्यन्त्रकारी’ भनिदिएकोचाहिँ धेरै भएको छैन । दुई साताअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको शीर्ष नेताहरूको बैठकमा प्रचण्डले सिटौलाको भूमिकाप्रति असन्तुष्टि प्रकट गर्दै भन्नुभएको थियो, ‘यो सब षड्यन्त्र गर्ने तपाईं नै हुनुहुन्छ । तपाईंकै कारण सहमति बन्न सकिरहेको छैन ।’ त्यसरी सिटौलालाई षड्यन्त्रकारी भनिसकेपछि उहाँहरूबीच खासै संवादको स्थिति रहेको छैन र बुझिएअनुसार प्रचण्डले सिटौलासँग कुनै संवाद गर्न चाहनुभएको पनि छैन । प्रचण्डझैं सिटौला आफ्नो स्वभावअनुसार प्रतिक्रिया जनाउने या नकारात्मक टिप्पणी गर्ने गर्नुहुन्न । तर, पछिल्लो समयमा प्रचण्डसँग संवाद गर्न त्यति उत्साही पनि उहाँ हुनुहुन्न । दुई नेताबीच अहिले सामान्य बोलचालसमेत हुन सकेको छैन । प्रचण्ड रक्षात्मक अवस्थामा पुगेपछि धेरैले उहाँको साथ छोडिसकेका छन्, त्यसैले सिटौला वक्री हुनुलाई अनौठो भने मानिएको छैन ।

विप्लव भूमिगत
नेकपा माओवादीको नेतृत्वसँग सम्बन्धविच्छेद गरेर नेता नेत्रविक्रम चन्द विप्लव भूमिगत हुनुभएको छ । माओवादी आन्दोलनमा क्रान्तिकारी धारको नेतृत्व गर्नुहुने चन्दलाई षड्यन्त्रमूलक ढङ्गले गिरफ्तार गर्ने योजना बनेको बुझिएपछि उहाँ भूमिगत हुनुभएको हो । चन्दलाई पक्राउ गर्न उपप्रधानमन्त्री एवम् गृहमन्त्री वामदेव गौतमले विशेष अग्रसरता लिनुभएको र गौतम उहाँलाई तत्कालै पक्राउ गर्ने पक्षमा रहनुभएको बताइन्छ । तर, सार्क सम्मेलनको समापनलगत्तै गिरफ्तार गर्नु उचित हुने सुझाव प्राप्त भएपछि गृह मन्त्रालयले विल्पवमाथि कडा निगरानी गर्ने योजना बनाएको थियो । विप्लवलाई पक्राउ गर्ने पक्षमा गृहमन्त्री गौतम र प्रधानमन्त्री सुशील कोइरालाबाहेक एमाओवादी अध्यक्ष प्रचण्डको समेत सहमति रहेको बताइएको छ । तर, प्रचण्डको सचिवालय सूत्रले जनाएअनुसार विप्लवलाई गिरफ्तार गराउने विषयमा प्रचण्डको कुनै चासो नरहेको, बरु बिनाकारण कुनै पनि नेतालाई गिरफ्तारी गर्ने कुराको विरुद्ध प्रचण्ड रहनुभएको छ । ज्ञातव्य छ, नेत्रविक्रम चन्द निकट भविष्यमै सशक्त र सशस्त्र प्रकृतिको सङ्घर्ष गरी क्रान्तियात्रालाई निरन्तरता दिने योजनामा रहनुभएको छ । उहाँले सङ्घर्षको सुरुवात आगामी फागुन १ गतेसम्ममा गरिसक्नुहुने बुझिएको छ ।

खलङ्गाको विद्यालयलाई मित्रराष्ट्रको सहयोग
दार्चुलाको खलङ्गास्थित महेन्द्र नमुना उच्च माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि मित्रराष्ट्र भारतले तीन करोड तीन लाख आर्थिक अनुदान सहयोग गर्ने भएको छ । नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत प्रदान गरिने यस सहयोगसम्बन्धी सम्झौतापत्रमा भारतीय राजदूतावास, दार्चुला जिविस र सम्बन्धित विद्यालयबीच हस्ताक्षर भएको छ । उक्त परियोजना जिल्ला विकास समिति (दार्चुला) ले कार्यान्वयन गर्ने सम्झौतापत्रमा उल्लेख छ ।
सन् १९६० मा निम्नमाध्यमिक विद्यालयको रूपमा स्थापित तथा १९९३ मा उच्च माविमा स्तरोन्नति गरिएको महेन्द्र नमुना उच्चमाध्यमिक विद्यालय सुदूरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्ला खलङ्गा–४ मा अवस्थित जिल्लाको सबभन्दा पुरानो सरकारी विद्यालय हो । विद्यालयमा हाल उपलब्ध पूर्वाधार जीर्ण तथा सबै विद्यार्थीका लागि अपर्याप्त रहेको छ । नयाँ भवन निर्माण भएपछि उक्त विद्यालयमा अध्ययनरत करिब हजार छात्रछात्राका निम्ति अत्यावश्यक कक्षाकोठाहरू उपलब्ध भई सहज शैक्षिक वातावरण सिर्जना हुनुको साथै जिल्लाको शैक्षिक विकासमा योगदान पुग्ने विश्वास गरिएको छ । उक्त परियोजनाका अतिरिक्त दार्चुलामा भारत सरकारको दुई करोड ४८ लाख सहयोगमा दुईवटा परियोजना सम्पन्न भएका छन् भने दुईवटा एम्बुलेन्स पनि सो जिल्लालाई प्रदान गरिएको छ ।
नेपालमा बढ्दो विकासकोे महत्वलाई आत्मसात् गर्दै सोका लागि सम्भाव्य सम्पूर्ण सहयोग प्रदान गर्न भारत प्रतिबद्ध रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुने परियोजना नेपालका लगभग सबै जिल्लालाई समेट्ने गरी शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हालै कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला–साना चार सय ९० भन्दा धेरै परियोजनाको लागत ६६ अर्बभन्दा बढी रहेको बुझिएको छ ।

श्रवणशक्ति नभएकाहरूको क्रिकेट सङ्घलाई तीन लाख सहयोग
भारतको हिमाचलस्थित धर्मशालामा रहेको क्रिकेट स्टेडियममा हुन लागेको क्रिकेट प्रतियोगितामा सहभागिता जनाउन लागेका श्रवणशक्ति नभएका क्रिकेट खेलाडीको सहयोगार्थ भारतीय दूतावासले तीन लाख सहयोग प्रदान गरेको छ । नेपाल, भारतलगायत सार्क राष्ट्रका अन्य टिमको समेत सो प्रतियोगितामा सहभागिता रहनेछ । नेपालका लागि भारतीय राजदूत रणजीत रायले बहिराहरूको क्रिकेट सङ्घका प्रतिनिधिलाई तीन लाखको चेक प्रदान गर्नुभयो । यस सहयोग रकमले श्रवणशक्ति नभएका क्रिकेट खेलाडीलाई हिमाचलको प्रतियोगितामा सहभागी भई आफ्नो क्षमता प्रदर्शन गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

‘पण्डित जशराजसँग एक साँझ’
बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान र भारतीय दूतावासको संयुक्त आयोजनामा काठमाडौंस्थित आर्मी अफिसर्स क्लबमा ‘पण्डित जशराजसँग एक साँझ’ कार्यक्रम सम्पन्न भएको छ । भारतका सुविख्यात शास्त्रीय गायक पण्डित जशराजलाई सुन्न राष्ट्रपति रामवरण यादवसमेत प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति यादव र नेपालका लागि भारतीय राजदूत रणजित रायले संयुक्त रूपमा पानसमा बत्ती बालेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
भारतको अत्यन्त सम्मानित पदवी पद्म भूषणबाट सुशोभित भइसक्नुभएका पण्डित जशराजलाई उहाँकै चेला पण्डित रतनमोहन शर्माले गायनमा सघाउनुभएको थियो भने पण्डिता तृप्ति मुखर्जीले भोकल र हार्मोनियम दुवै विधामा साथ दिएकी थिइन् । यस्तै, तबलामा आदित्य बनर्जी तथा मधुमिता सवता र अञ्जुला शर्मा तानपुरामा पण्डित जशराजका सहयोगी बनेर प्रस्तुत भएका थिए । सो समूहले खयाल, बन्दिस, तराना, ध्रुपद र टप्पाजस्ता चित्ताकर्षक विभिन्न शास्त्रीय भजन प्रस्तुत गरेर श्रोताको मन जितेको थियो भने प्रस्तुतिको सराहना गर्दै कार्यक्रमको अन्त्यमा राष्ट्रपति यादवले कलाकारहरूलाई सम्झनाको चिनो प्रदान गर्नुभएको थियो ।

सुत्केरी बिदा लिँदा पत्रकार निस्कासित !
सुत्केरी बिदामा रहेको समयमा अमानवीय ढङ्गबाट जागिरबाट निकालिएकी माउन्टेन टेलिभिजनकी पत्रकार अञ्जु न्यौपानेलाई तत्काल पुनर्वहाली गर्न नेपाल प्रेस युनियन काठमाडौं शाखाले माग गरेको छ । शाखाका अध्यक्ष नकुल अर्यालले प्रेस विज्ञप्तिमार्फत सुत्केरी बिदामा बसेकी समाचारवाचिका न्यौपानेलाई जागिरबाट निकालिएको घटनाको विरोध गर्दै उनलाई क्षतिपूर्तिसहित तत्काल पुनर्वहाली गर्न माग गरेका हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘श्रमजीवी पत्रकार ऐनको मर्मविपरीत सुत्केरी बिदामा बसेको अवस्थामा महिला पत्रकारलाई जागिरमुक्त गरिनु विषेशगरी श्रमजीवी महिला पत्रकार र समग्र पेसागत हितकै विरुद्धमा छ भन्ने हाम्रो ठहर छ । सुत्केरी बिदामा बसेको समयमा महिला पत्रकारलाई थप सेवा–सुविधा र हौसला प्रदान गर्नुको साटो रोजगारीमुक्त गर्ने माउन्टेन टेलिभिजनको रवैयाको नेपाल प्रेस युनियन काठमाडौं शाखा घोर भत्र्सना गर्दछ । साथै, यथाशीघ्र पीडित पत्रकार अञ्जु न्यौपानेलाई क्षतिपूर्तिसहित पुनर्वहाली गर्न जोडदार माग गर्दछौँ ।’
पीडित पत्रकार न्यौपानेले हालै एक लेखमार्फत लिखित र मौखिक स्वीकृति लिएर सुत्केरी बिदा बसेको भए पनि गत साउनमा माउन्टेन टेलिभिजनका प्रशासन प्रमुख गोपाल बस्नेतले आफूलाई जागिरबाट निकालेको बताएकी थिइन् ।

रुकुम तरुण दलमा विष्ट
नेपाल तरुण दल रुकुमको तेस्रो जिल्ला अधिवेशन नन्दबहादुर विष्टको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको छ । गत कात्तिक २४ देखि २६ गतेसम्म चलेको अधिवेशनले रुकुम क्षेत्र नम्बर १ मा रामु घर्ती र क्षेत्र नम्बर २ मा तेजबहादुर विष्टको अध्यक्षतामा क्षेत्रीय कार्यसमिति गठन गरेको छ ।
तरुण दल केन्द्रीय सदस्य महेश खरेल केन्द्रीय प्रतिनिधि एवम् अधिवक्ता रत्नबहादुर खड्का निर्वाचन अधिकृत भएको प्रतिनिधिमण्डलले रुकुम जिल्लाका वरिष्ठ नेता एवम् पूर्वराज्यमन्त्री गोपालजीजंग शाह, पूर्वसांसद कृष्णप्रसाद गौतम, महासमिति सदस्य कृष्णबहादुर रोकायलगायतका नेताहरूको सर्वसम्मत गराउने प्रयासलाई अन्तिम रूप दिँदै विष्टको नेतृत्वमा ने.का. रुकुमका युवानेता शिवलाल आचार्यलाई केन्द्रीय पार्षद् र अन्य व्यक्तिहरूलाई पदाधिकारी र सदस्यका रूपमा चयन गरेको छ । चुनवाङ गाविसका पूर्वअध्यक्षसमेत रहेका बिष्ट नेका रुकुमका जुझारु नेताका रूपमा चिनिन्छन् ।

पत्रकारमाथि आक्रमणको सर्र्वत्र निन्दा
प्रेस युनियन चितवनका अध्यक्ष तथा रासस प्रतिनिधि नारायणप्रसाद अधिकारीमाथि भएको आक्रमणको सर्वत्र निन्दा भएको छ । मङ्सिर ४ गते साँझ कार्यालयको काम सकेर आफ्नै घर भरतपुर फर्कन लाग्दा अधिकारीलाई नचिनेका व्यक्तिले आक्रमण गरी घाइते बनाएका थिए । खुकुरी प्रहारबाट हातमा गम्भीर चोट लागेपछि उनको भरतपुर शिक्षण अस्पतालमा उपचार गरिएको थियो । उनको आक्रमणप्रति सञ्चारसम्बद्ध विभिन्न संस्थाले निन्दा गरेका छन् । नेपाल पत्रकार महासङ्घ चितवन, प्रेस युनियन, प्रेस चौतारी, दुवै क्रान्तिकारी पत्रकार सङ्घ/महासङ्घ, स्वतन्त्र पत्रकार सङ्घलगायतले आक्रमणकारीमाथि कडा कारबाहीको माग गरेका छन् । पर्यटन पत्रकार मञ्चले समेत विज्ञप्ति जारी गरी पत्रकार अधिकारीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै कायरतापूर्वक आक्रमण गर्ने अपराध प्रवृत्तिका व्यक्तिलाई तुरुन्त पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका छन् । अधिकारी मञ्चका सल्लाहकारसमेत छन् । प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले यो प्रेसमाथिको सिङ्गो आक्रमण भएकाले दोषी पत्ता लगाएर छिटो कारबाही गर्न सरकारसँग माग गरे । रासस चितवनका प्रमुखसमेत रहेका अधिकारीमाथि आक्रमण गर्नेको खोजी कार्य तीव्र पारिएको प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर बिक र एसपी सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।

अमृतनगरमा शहिद घिमिरेको शालिक
०६२/६३ को लोकतान्त्रिक आन्दोलनका क्रममा गोली लागेर शहादत हासिल गरेका सहिद वासुदेव घिमिरेको कीर्तिपुर अमृतनगर (ट्याङ्लाफाँट) क्षेत्रका वासिन्दाले अमृतनगरमा सालिक स्थापना गरेका छन् । घिमिरेको योगदानको सम्मान तथा स्मरणमा निर्माण गरिएको ‘सहिद वासुस्मृति पार्क’मै उनको अद्र्धकदको सालिक निर्माण गरिएको छ । गत शनिबार आयोजित एक विशेष समारोहबीच सभासद् एवम् एमाओवादी नेता जनार्दन शर्मा ‘प्रभाकर’, काठमाडौं क्षेत्र नम्बर १० बाट संविधानसभामा प्रतिनिधित्व गर्ने नेपाली काङ्ग्रेसका नेता राजेन्द्रकुमार केसी र एमाले नेता एवम् पूर्वमन्त्री मुकुन्द न्यौपानेले संयुक्त रूपमा सहिद घिमिरेको सालिक अनावरण गरे । स्थानीय समाजसेवी तथा अमृतनगर नागरिक समाजका सचिव रामशरण त्रिपाठीको उद्घोषण तथा सो समाजका अध्यक्ष कपिलमणि ज्ञवालीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा जनआन्दोलनका घाइते अमृतनगरवासी कमलप्रसाद पाण्डे, माया त्रिपाठी, राजकुमार राणा, सुशीला ढुङ्गाना र चन्द्रकला अधिकारीलाई सम्मान एवम् प्रमाणपत्र वितरण गरिएको थियो ।

चार स्रष्टालाई पहलमान पुरस्कार
‘अटलबहादुर’मार्फत मौलिक नेपाली नाट्यलेखन परम्परा थालनी गर्ने पहिलो नेपाली मौलिक नाटकका सर्जक पहलमानसिंह स्वाँरको राजधानीमा सम्झना गरियो । स्रष्टा पहलमानको १३६औँ जयन्तीका अवसरमा गत शनिबार राजधानीमा विभिन्न चार स्रष्टालाई सम्मान गरियो । पहलमानसिंह स्वाँर स्मृति प्रतिष्ठानले वसन्तकुमार शम्र्मा नेपाललाई दीर्घ साहित्य साधक पुरस्कार, साहित्यकार एवम् सञ्चारकर्मी नवराज लम्साललाई साहित्य प्रतिभा पुरस्कार, प्रा. द्विजराज उप्रेतीलाई तारामान सिंह–अम्बिकादेवी स्वाँर शिक्षा पुरस्कार र रंगकर्मी हरिहर शर्मालाई बलमानसिंह स्वाँर चलचित्र पुरस्कार प्रदान गरेको हो । दीर्घ साहित्य साधक पुरस्कारमा २५ हजार रुपैयाँसहित ताम्रपत्र रहेको छ भने अन्य पुरस्कारमा १०–१० हजार रुपैयाँ र ताम्रपत्र राखिएका छन् । कार्यक्रमका प्रमुख अतिथि सिँचाइमन्त्री नारायणप्रकाश साउदले पुरस्कार र ताम्रपत्र हस्तान्तरण गरेका हुन् ।
प्रतिष्ठानले रंगमञ्च र चलचित्रमा योगदान पु-याएका व्यक्तित्वलाई सम्मान गर्ने गरी बलमानसिंह स्वाँर चलचित्र पुरस्कार यसै वर्षदेखि स्थापना गरेको हो भने प्रा. द्विजराजले आफूले पाएको १० हजार पुरस्कार राशि पहलमानसिंह मेमोरियल उच्च माध्यामिक विद्यालयलाई सहयोगार्थ दिएका थिए ।

शरद सम्मानित
ज्योति साहित्य प्रतिष्ठानको ९६औँ शृङ्खलामा उपन्यासकार तथा कवि शरद निरौलालाई सम्मान गरियो । प्रमुख अतिथि प्रा.डा. गार्गी शर्माले अमेरिकाबाट आएका स्रष्टा निरौलालाई सम्मान गर्दै विगतमा आधा दशक अवधिमै ११ वटा जासुसी उपन्यास लेखेर एकप्रकारको कीर्तिमान बनाएका शरद निरौलाले नेपाली भाषाको ठूलो सेवा गरेका छन् भन्दै अमेरिकामा समेत नेपाली साहित्यको सेवामा उनी समर्पित रहेको बताइन् । स्रष्टा शरद निरौलाले अमेरिकाको वासिङ्टन डीसीमा नियमित कवितावाचन गर्दागर्दै सङ्ग्रहित भएका कविताको नयाँ सङ्ग्रह ‘लजाएका परेली’ प्रकाशन भएको र अब फेरि नेपाल आउँदा रहस्यपूर्ण राजनीतिक उपन्यास लिएर प्रकट हुने बताउँदै प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहलाई सम्मानको निम्ति धन्यवाद दिए । सम्मानले आफूलाई साहित्यप्रति थप उत्प्रेरित गरेको अनूभूति पनि उनले बाँडे । सो अवसरमा कवि तथा राजनीतिक विश्लेषक आनन्दराम पौडेलले रोचक शैलीमा कविता वाचन गरेका थिए । समारोहमा कमला रिसाल ज्योति, प्रभा बराल, गीता रेग्मी, राधेश्याम लेकाली, पुण्य गौतम विश्वास, उर्मिला पन्त, रश्मी रिमाल, जनार्दन अधिकारी धड्कन, प्रीति कौर, निबन्ध आचार्य, मेदनी केवल, ब्रह्मप्रिय प्रेमस्वरूप, उपप्राध्यापक ज्ञाननिष्ट ज्ञवाली, हरिप्रसाद पाण्डेय, नेत्र बस्नेत, शिशिर सापकोटा, तर्कना शर्मा, पुष्कर लोहनी, गंगा कर्माचार्य पौडेल, कमला श्रेष्ठ, ईश्वर थापा, अशोक घिमिरेलगायतले पनि कविता वाचन गरेका थिए ।
ज्योति साहित्य प्रतिष्ठानले हरेक महिनाको पहिलो शुक्रबार नियमित साहित्यिक कार्यक्रम गर्दै आएको र ९६औँ शृङ्खलामा शरद निरौलाजस्ता श्रेष्ठलाई सम्मान गर्न पाउँदा हर्ष लागेको प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले बताए ।

धरणीधर पुरस्कार छाङ्छालाई
धरणीधर पुरस्कार प्रतिष्ठान विराटनगरले हरेक वर्ष प्रदान गर्दै आएको धरणीधर स्मृति साहित्य पुरस्कार यस वर्ष आख्यानकार जय छाङ्छालाई प्रदान गर्ने निर्णय गरेको छ । प्रतिष्ठानले ११ हजार एक सय ११ रुपैयाँ राशिसहित सम्मानपत्रबाट छाङ्छालाई पुरस्कृत गर्ने निर्णय गरेको हो । गत वर्ष यो पुरस्कारबाट साहित्यकार पवन आलोक पुरस्कृत भएका थिए । यस्तै यस वर्षको धरणीधर सम्मान कथाकार पद्मावती सिंहलाई प्रदान गर्ने निर्णय भएको छ । विगत पाँच दशकदेखि नेपाली आख्यान साहित्यमा कलम चलाउने सिंहलाई ताम्रपत्रसहित सम्मान गरिनेछ । गत वर्ष यो सम्मान साहित्यकार दधिराज सुवेदीलाई प्रदान गरिएको थियो । घोषित पुरस्कार र सम्मान आगामी माघ २४ गते राजधानीमा विशेष समारोहका बीच प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष कृष्णराज कोइरालाले जानकारी दिए ।

भैरहवामा नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र
रुपन्देही/ निर्माण सुरु भएको लामो समयपछि अन्ततः भैरहवामा नेपालकै पहिलो विशेष आर्थिक क्षेत्र (सेज) उद्घाटन भएको छ । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले गत साता भैरहवामा आयोजित एक कार्यक्रमबीच सेजको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा मन्तव्य दिँदै गृहमन्त्री गौतमले विशेष आर्थिक क्षेत्रमा स्थापना भएका उद्योगहरूलाई सरकाले विशेष सहुलियत प्रदान गर्दै आवश्यक पर्ने कच्चा पदार्थ, मेशिनरी समान लगायत उत्पादन प्रक्रियामा विभिन्न सुविधा उपलब्ध गराउने नीति लिइएको बताए । विशेष क्षेत्रमा लगानी गर्न आउने लगानीकर्तालाई कुनै पनि बस्तु र सेवाको सहज रुपमा निकासी र पैठारीका लागि सरलीकृत एकद्वार प्रणालीको सेवा उपलब्ध गराउने, आयकर, अन्तःशुल्क, मुल्य अभिवृद्धि कर र भन्सारमा ऐन तथा कार्यविधिमा तोकिएका सेवा र सुविधा प्रदान गर्ने उनको कथन थियो ।
सोही कार्यक्रममा विशेष अतिथिका रूपमा बोल्दै उद्योगमन्त्री महेश बस्नेतले देशको नीति तथा प्रक्रियाले निर्माणका काम कमजोर र गुणस्तरहीन हुन पुगेको बताए । औद्योगिक ब्यावसाय ऐन मन्त्रिपरिषद्को विधेयक समितिमा गएर अल्झेको खुलासा गर्दै उनले यसलाई एमाले र काङ्ग्रेस सरकारको पालामै अगाडि बढाउन उनले उपस्थित सभासदहरूसित आग्रह गरे ।
उद्योग मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रुपन्देहीका सभासदहरु दिपक बोहोरा, भरत कुमार शाह, आदित्य नारायण कशौधन, सिद्धार्थनगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विष्णु शर्मा, बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष महेशमान सिंहलगायतले सेजको उदघाटन गरेर मात्र नहुने, यसको सञ्चालनको लागि विधेयक चाँडो पारित गर्न पहल गरिदिन आग्रह गरे ।
स्मरण रहोस्, ५२ बिगाहामा फैलिएको सेजमा ६८ वटा प्लट रहेको र त्यसबाट निस्कने फोहोर छान्न १० वटा फिल्टर प्लान्ट समेत निर्माण गरिएको छ । विशेष आर्थिक क्षेत्रमा वातावरणलाई असर नगर्ने खालका उद्योग सञ्चालन हुने र यस्ता उद्योगले अनिवार्य रूपमा उत्पादित वस्तुको ७५ प्रतिशत बिदेशमा निर्यात गर्नुपर्ने ब्यवस्था रहेको छ । सेजमा बिशेषगरी खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्वल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा ऊनि सामान, पश्मिना तथा रेशम, हातेकागजका बस्तु गरि १७ किसिमका उद्योग दर्ताको लागि मापदण्ड तथा कार्यविधि–०७१ तोकिएको छ ।

फुट्दै राप्रपा नेपाल
कमल थापालाई लावती पक्षको चेतावनी
राप्रपा नेपालको असन्तुष्ट पक्षले अध्यक्ष कमल थापा कार्यकर्ताको भावनाविपरीत चलेको भन्दै २१ दिनभित्र राजीनामा दिन चेतावनी दिएका छन् । यही ५ र ६ गते भएको दुईदिने राष्ट्रिय भेलाले थापाको पक्षपातपूर्ण कार्यले पार्टीमा इमानदार कार्यकर्ता अन्यायमा परेको गुनासो गरे । थापाले अध्यक्ष पदबाट राजीनामा नदिए देशभर राप्रपा नेपालको समानान्तर समिति बनाउने चेतावनी दिए । देशभरबाट जुटेका कार्यकर्ताले २१ दिनभित्र अध्यक्ष थापाले राजीनामा नदिनु भनेको राप्रपा नेपाल औपचारिक रूपमै फुटेर सङ्गठन विस्तारमा लाग्ने घोषणा गरेका छन् ।
६३ जिल्लाबाट आएका एक हजार पाँच सय कार्यकर्ताले अध्यक्ष थापालाई नै उल्टो कारबाही गरेर पार्टी हाँक्न राप्रपा नेपाल सुदृढीकरण अभियानका संयोजक तथा पार्टी उपाध्यक्ष पद्मसुन्दर लावतीलाई आग्रह गरेका छन् । भेलाले राजनीतिक अवधारणापत्र, सङ्गठन र भ्रातृ संस्थाहरूको कार्यपत्र संशोधनसहित पारित गरेको छ । आफूपक्षीय कार्यकर्तालाई सम्बोधन गर्दै नेता लावतीले अध्यक्ष थापाले आत्मालोचना गरेनन् र राजीनामा पनि दिएनन् भने सम्पूर्ण पार्टी आफू मातहतबाटै सञ्चालन हुने दाबी गरे । उनको यो आक्रोशले तीन सातापछि राप्रपा नेपाल औपचारिक रूपमै विभाजन हुने सङ्केत देखिएको छ । भेलामा देशभरबाट आएका कार्यकर्ताले पनि अध्यक्ष थापाको कार्यशैलीप्रति निकै आक्रोश व्यक्त गरेका छन् ।
यी मागलाई बेवास्ता गरे अध्यक्ष थापा राप्रपा नेपालमा नैतिकताको आधारमा बस्न मिल्दैन, धौलागिरी अञ्चलबाट प्रतिनिधित्व गरेका अभियान समितिका केन्द्रीय सदस्य कृष्णराज शर्माले भने, ‘अध्यक्ष थापाले जिल्ला जिल्लामा गरेको भेदभावले यो ज्वाला विस्फोट भएको हो ।’ अध्यक्ष थापाको नाम बेचेर विभिन्न जिल्लामा राप्रपा नेपालका कार्यकर्ता बीचफाटो ल्याउने काम उनकै पक्षका केही जिल्ला नेताबाट भएपछि देशव्यापी अध्यक्ष थापाविरुद्ध आवाज उठेको उनले बताए । पार्टीभित्र इमानदार, जुझारू र देशभक्त कार्यकर्तालाई केन्द्रीय नेतृत्वले समेट्न नसक्दा यो विद्रोहको आवाज उठेको हो, सबैको भावना समेट्न सक्ने नेतृत्वको आवश्यकता भएकाले यो भेला भएको शर्माले जानकारी दिए । भेलाले पार्टी फुटाउन नभई राप्रपा नेपाललाई अझ एकता र सुदृढीकरण गर्नुपर्ने माग उठाएको बताउँदै उनले पार्टीलाई एक ढिक्का बनाउन केन्द्रीय नेतृत्वसँग माग गरे ।
भेलापछि संयुक्त रूपमा पारित ११ बुँदे माग सार्वजनिक गर्दै राप्रपा नेपाल असन्तुष्ट पक्षले अध्यक्ष थापाको राजीनामालाई जोडदार रूपमा उठाएको छ । एक सय ५९ जनाको केन्द्रीय कार्यसमितिलाई मान्यता दिनुपर्ने, गैरकानुनी कार्यसमिति रद्द गर्नुपर्ने, तुरुन्त प्रथम महाधिवेशन गर्नुपर्ने, विघटित भ्रातृ सङ्गठनलाई नै तुरुन्त बहाली गर्नुपर्ने, सभासद्बापत रकम लिने बद्नामी सांसदलाई फिर्ता बोलाई उक्त रकम सार्वजनिक गर्नुपर्ने, पार्टीको आय–व्यय सार्वजनिक हुनुपर्ने, अध्यक्ष कमलको भाइ गणेश थापालाई सभासद् पदबाट फिर्ता बोलाई अर्को योग्यलाई सभासद् बनाउनुपर्ने, भवन निर्माण गर्दा विदेशबाट आएको सहयोग सार्वजनिक गर्नुपर्ने, विकास निर्माणका लागि सरकारले दिएको सभासद्मार्फतको १५ लाख स्वविवेकले खर्च गर्न पाउनुपर्नेलगायतका मागलाई भेलाले जोडदार रूपमा उठाएको छ ।

कोसी र गण्डक परियोजनाको संयुक्त बैठक
कोसी र गण्डक परियोजना संयुक्त समितिको सातौँ बैठक हालै काठमाडौंमा सम्पन्न भएको छ । गत ११ र १२ नोभेम्बरमा भएको उक्त बैठकमा भारतीय पक्षको नेतृत्व भारत बिहार सरकारको जलस्रोत विभागका सचिव दीपककुमार सिंहले र नेपाली पक्षको नेतृत्व नेपाल सरकार सिँचाइ मन्त्रालय, सिँचाइ विभागका महानिर्देशक माधव बेलवासेले गर्नुभएको थियो । बैठकमा पारस्परिक हितका विविध विषयमा छलफल गरिएको बुझिएको छ । कोसी ब्यारेजको माथिल्लो तथा तल्लोतटीय क्षेत्रका बाँधमा भएको क्षय तथा गण्डक परियोजना क्षेत्रवरपर भएको बाढी तथा डुबानबारे समेत दुवै पक्षले बैठकमा जानकारी गराएको थियो । गण्डक परियोजनाका ज्वलन्त समस्या निक्र्योल गर्नका निम्ति एक उपसमिति गठन गर्ने सहमति पनि बैठकमा भएको थियो भने यस्ता बैठकलाई नियमित रूप प्रदान गर्नुपर्ने निचोडमा पुगेका दुवै पक्ष अर्काे बैठक सन् २०१५ को अप्रिल/मेमा गर्ने निर्णय गर्दै सम्पन्न भएको सम्बद्ध पक्षबाट जानकारी दिइएको छ ।

नेत्रज्योति सङ्घको सेवा पचहत्तरै जिल्लामा
रूपन्देही नेपाल नेत्रज्योति सङ्घले आँखासम्बन्धी सेवालाई अभियानकै रूपमा देशभर विस्तार गर्ने भएको छ । मुलुकका ७५ वटै जिल्लामा सेवा विस्तार गर्न कार्ययोजना मस्यौदा समितिसमेत गठन गर्ने निर्णय गरिएको छ । गत आइतबार भैरहवामा आयोजित सङ्घको दुईदिने क्षेत्रीय गोष्ठीका सहभागीले सोसम्बन्धी सर्वसम्मत निर्णय गरेका सङ्घका अध्यक्ष प्रा.डा. तीर्थप्रसाद मिश्रले जानकारी दिए । सङ्घ अब सेवा प्रदान गर्नका लागि दातृनिकायको मुख ताक्नुभन्दा पनि स्थानीय स्रोत–साधनको परिचालन गरी दिगो रूपमा प्रभावकारी सेवा प्रदान गर्नेतर्फ क्रियाशील रहने पनि उनले बताए ।
यस्तै, महासचिव श्यामकुमार पोखरेलले ०३५ सालमा स्थापित संस्थासामु अझै चुनौती रहेकाले गम्भीर हुनुपर्ने बताए । सरकारले गर्न नसकेको कामसमेत सङ्घले गरिरहेकोमा गौरव गर्दै आँखासम्बन्धी सेवालाई अझै गुणस्तरीय, सर्वसुभल प्रभावकारी ढङ्गले अगाडि बढ्ने निर्णय भएको सङ्घका केन्द्रीय सदस्य सागरप्रताप राणाले जानकारी दिए ।
नेपाल नेत्रज्योति सङ्घ रूपन्देहीका अध्यक्ष सागरप्रताप राणाको सभापतित्वमा आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका उपमहामन्त्री सुदर्शनप्रसाद नेपाल, सञ्चारकर्मी दिलीप भट्टराई, नेपाल नेत्रज्योति सङ्घ रूपन्देहीका सचिव गणेश क्षेत्रीलगायतले मन्तव्य दिएका थिए ।
– चन्द्रकान्त खनाल