नेपाली काङ्ग्रेसमा नयाँ अनुहार, भन्छन्- ‘देश बनाउन गाह्रो छैन’

नेपाली काङ्ग्रेसमा नयाँ अनुहार, भन्छन्- ‘देश बनाउन गाह्रो छैन’


काङ्ग्रेस पार्टीको युवा पुस्तामा एउटा अर्को नयाँ अनुहार थपिएको छ । भर्खरै चौबीस वर्ष पूरा भएका युवाले पार्टी निर्माण र विस्तारमा ठोस कुनै योगदान पुऱ्याएका छैनन्, तर बाँकी सम्पूर्ण जीवन पार्टी, प्रजातन्त्र र देशका निम्ति समर्पण गर्ने अठोट यिनले गरेका छन् । धेरै शक्तिशाली नेताका छोराछोरी किशोरावस्थादेखि नै अनेक कारणबाट विवादमा आउने र आफ्ना आमाबाबुको छविमा समेत नकारात्मक असर पुऱ्याउने गरेका भए पनि यी युवा यस सन्दर्भमा एउटा बेग्लै दृष्टान्त हुन् । जो कहिल्यै विवादमा आएनन् र राजनीतिज्ञ पितालाई अप्ठ्यारोमा पार्ने काम गरेनन् ।

यी हुन् अनुराग खड्का, काङ्ग्रेसमा प्रभावशाली मानिएका नेता खुमबहादुर खड्काका सुपुत्र । खुमबहादुर खड्काको देहावसान यति चाँडै होला भन्ने अनुमान कसैले गरेका थिएनन्, झन् पुत्रले गर्ने कुरै भएन । पढाइ पूरा गर्ने, बुबाको काममा सहयोग पुऱ्याउने र सिक्दै राजनीतिमा सरिक हुने उनको इच्छा थियो, तर समय उनको इच्छाअनुसार अघि बढेन । गत वर्ष (०७४) को चैतमा पिता खड्काको निधन भएपछि एक्कासि धेरै ठूलो बोझ उठाउनुपर्ने अवस्थामा अनुराग खड्का पुगेका छन् । बेलायतमा स्नातकोत्तर (मार्केटिङ) अध्ययन गरिरहेका उनी आफ्नो पढाइ पूरा गरेर नेपाल फर्किएका छन् र, भन्छन्– देश बनाउने सपना देखेको छु, बनाउनकै निम्ति राजनीतिमा सक्रिय हुन खोज्दै छु ।

विक्रम सम्वत् २०५१ को बुद्ध पूर्णिमाका दिन भारत मुम्बईको ब्रिचक्यान्डी अस्पतालमा जन्मिएका अनुरागको प्रारम्भिक शिक्षा नेपालको सेन्टजेभियर्स स्कुलबाट शुरु भएको हो । आठ कक्षासम्म नेपालमा पढेका अनुरागले नौदेखि बाह्र कक्षासम्म हरियाणाको जीडी गोयन्का वल्र्ड स्कुलमा अध्ययन गरेका र पूणेको सिम्ब्यासिस कलेजबाट स्नातक गरेका थिए । उनले बेलायतको ग्ल्याग्जो क्यारोडेनिएन युनिभर्सिटीबाट मार्केटिङ विषयमा स्नातकोत्तर गरेका छन् । खेलकुद र घुमघाममा समेत रुचि राख्ने अनुराग नयाँ–नयाँ मानिससँगको भेटघाटमा अलिक बढी रमाउने गर्दछन् । अविवाहित खड्का आफ्नो निजी खुसीका सपना देख्न नपाउँदै आफ्नो पिताले छोडेर गएका जिम्मेवारी पूरा गर्नुपर्ने दायित्वले बाँधिएका छन् । घटना र विचारको एउटा जिज्ञाशा मेट्दै अनुरागले भने, ‘बुबाको स्वर्गवास हुनुभन्दा धेरै पहिलेदेखि नै मेरो रुचि राजनीतिर्फ थियो । पढ्दै थिएँ, त्यसैले आफ्नो रुचिबारे बुबालाई केही भन्नै पाएको थिइनँ । यति चाँडै उहाँले हामीलाई छोडेर जानुहोला भन्ने लागेको पनि थिएन । अब आफ्नै निर्णयले राजनीतिमा सक्रिय हुने भएको छु ।’

० राजनीतिमा लाग्ने मान्छेले त देश बुझेको हुनुपर्छ नि, बुझिएको छ त ?
– बुझाइ सबैको हुन्छ र मेरो पनि छ । उमेर धेरै भएकाहरूले देश बुझेर व्यवहार गर्छन् भनौँ भने सबै दलमा ६५ वर्ष नाघिसकेकै नेताहरूको बाहुल्य छ । धेरै पढेकाहरूले देश बुझेका हुन्छन् भनौँ भने पीएचडी गरेपछि निर्दोष नेपाली जनताको गर्धन रेट्दै हिँडेको पनि देखियो । त्यसैले कसले देश बुझेको छ भन्ने ? मैले बुझेको देशचाहिँ के हो भने यहाँ गरिबी छ, राज्यले रोजगारी सिर्जना गर्न सकेको छैन । लगानीको वातावरण बनाएर स्वदेशी र विदेशी लगानीकर्तालाई आकर्षित गर्ने कार्य यहाँ भएको छैन । भ्रष्टाचार बढेको बढेकै छ, कर्मचारी प्रशासन जनमुखी नभएर सत्तामुखी र अवसरमुखी छ, गरिबको जीवनस्तर उठाउने कुनै प्रभावकारी कार्यक्रम सरकारले ल्याउन सकेको छैन । पछिल्लो समयमा त झन् हाम्रो सार्वभौमसत्ता, राष्ट्रियता र राष्ट्रिय एकता पनि कमजोर भएको छ । हाम्रो आफ्नो धर्म र संस्कृतिमाथि ठूलो आक्रमण भएको छ । धेरै ठूलो सम्भावना बोकेको देशलाई धेरै नराम्रोसँग सङ्कटमा पुऱ्याएको देख्छु म ।

० देश सुधार्न के गर्नुपर्ला त ?
– सबभन्दा पहिले संविधान संशोधन गरेर नेपाललाई हिन्दूराष्ट्र बनाइनुपर्छ । ट्रेड युनियनहरू बलियो भएको देशमा लगानी आकर्षित हुँदैन, संविधान संशोधन गरेर टे«ड युनियन व्यवस्थित गर्ने प्रावधानहरू समेट्नुपर्छ र, कलेक्टिभ बार्गेनिङ गर्न पाउने या हड्ताल गर्ने अधिकार खारेज गर्नुपर्छ ।

० हिन्दूराष्ट्रका रूपमा देश पहिले थियो त, त्यसबेला पनि देश माथि उठेको त थिएन नि !?
– देश यति तल झरेको पनि थिएन त्यसबेला । राष्ट्रिय एकता र सद्भावको वातावरण थियो । माथि चढ्ने क्रम शुरु हुँदै थियो । अहिलेको स्थितिले देशलाई माथि नलैजाने मात्र होइन, देश नै नरहने हो कि, टुक्रिने पो हो कि भन्ने भइसक्यो ।

० त्यसो भए तपाईं पनि बुबाकै पथमा हो ?
– बुबा देश एकताबद्ध रहनुपर्छ, हिमाल, पहाड र तराईबीच एकता र सद्भाव कायम हुनुपर्छ भन्ने गर्नुहुन्थ्यो । हिन्दूराज्यले हिमाल, पहाड र तराईबीचको एकतालाई बलियो बनाउँछ भन्ने उहाँँको विचार थियो । यो विचारलाई मैले मात्र होइन हामी सबैले ‘फलो’ गर्नुपर्छ जस्तो मलाई लाग्छ ।

० केटाकेटीदेखि नै बाहिर (विदेशमा) पढ्नुभयो, बाहिरको प्रभाव आफूमा कसरी परेको छ भन्ने अनुभूति हुन्छ ?
– विदेशमा भएको विकास र त्यहाँका मानिसको सभ्य व्यवहारको असर ममा छ, तर म नेपालकै प्रभावमा छु, नेपाललाई माया गर्छु, मेरो देशलाई उनीहरूको भन्दा राम्रो कसरी बनाउने होला भन्ने चिन्ता गर्छु । हाम्रो पासपोर्टले संसारमा सम्मानित स्थान बनाउन के गर्नुपर्ला भन्ने चिन्ता गर्छु, विदेशबाट मैले सिकेको आफ्नै देशका बारेमा चिन्ता र चिन्तन गर्न हो ।

० दुःख हुन्छ नि राजनीति गर्न, सक्नुहुन्छ ?
– म जनतासँगै बाँच्न र मर्न चाहन्छु । उनीहरू जस्तो खान्छन् त्यस्तै खान्छु, जस्तो ओछ्यानमा सुत्छन् त्यस्तै ठाउँमा सुत्छु । मलाई मेरो बुबाले यो सिकाउनुभएको थियो । समाजसँग घुलमिल भएर बस्न र जीवनभरि सङ्घर्ष गर्न तयार हुनुपर्छ भन्ने बुबाको भनाइ थियो, म त्यति गर्न तयार भएर मात्र राजनीतिमा जान कस्सिएको हुँ ।

० बुबालाई त भ्रष्टाचारको आरोपमा जेल सजाय पनि दिइयो, त्यसबेला कस्तो अनुभूति भएको थियो ?
– त्यसबेला म सक्ड (स्तब्ध) भएको थिएँ । सधैँ जनताको सेवा गर्ने, जनताकै बीचमा रहन मन पराउने, हरेकको समस्या समाधान गर्न खोज्ने मान्छेलाई प्रजातन्त्रमा जेल किन पु¥याइन्छ भन्ने प्रश्न मेरो मनमा उठ्यो । यो सब राजनीतिक चाल भन्ने बुझेपछि सामान्य लागेको थियो । मेरो बुबा मेरै पार्टीका केही नेता र विदेशीहरूको षड्यन्त्रको सिकार हुनुभएको भन्ने बुझेको छु । यस विषयमा म धेरै कुराहरू कोट्याउन चाहन्न ।

० ठीक छ, नकोट्याऊँ । अब काङ्ग्रेसलाई माथि उठाउनचाहिँ के गर्नुपर्छ त ?
– पार्टीलाई बीपीको विचारअनुरूप क्रियाशील तुल्याइनुपर्छ । बीपीको विचार भनेको जनतालाई गरिबीबाट मुक्त गर्ने, कम्युनिस्ट प्रभावबाट देशलाई जोगाउने र बाँकी सबै शक्तिसँग हातेमालो गरेर अघि बढ्ने हो । कम्युनिस्टले देश बनाउन होइन बचाउन पनि सक्दैनन् । त्यसैले विचारमा स्पष्ट भएर सुसङ्गठित ढङ्गले सक्रिय भइयो भने काङ्ग्रेस माथि उठ्छ जस्तो मलाई लाग्छ, तर पार्टीले हिन्दूराष्ट्रको एजेण्डाचाहिँ बोक्नैपर्छ ।

० देश बनाउनचाहिँ के–कस्ता कुराहरूमा ध्यान पुऱ्याउनुपर्ला त ?
– यो विकासशील होइन, अविकसित मुलुक हो । यहाँ अनुशासन र कानुनी शासनको स्थिति बन्नु–बनाउनुपऱ्यो । सबैले देशलाई केन्द्रमा राखेर सोच्नुप¥यो । धेरै ठूला काम गर्न सानो कुराबाट थालनी हुनुपर्छ । सडक, विद्युतीकरण, सिँचाइ, पर्यटन प्रवद्र्धन, सरसफाइ, सभ्य यातायात सेवा, सभ्य यातायात सेवा, सफा सार्वजनिक शौचालय, रोजगारी वृद्धिका निम्ति उत्पादनमुखी योजना र कार्यक्रमजस्ता कुराले देशलाई माथि उठाउन सक्छ भन्ने ठान्छु म । दूरदर्शी नेतृत्व र इमानदार तथा जनमुखी प्रशासन भयो भने देश माथि उठ्ने क्रम आरम्भ हुन्छ जस्तो मलाई लाग्छ ।