सम्मान-पुरस्कारले स्वतन्त्र पत्रकारिता प्रभावित हुनुहुँदैन !

सम्मान-पुरस्कारले स्वतन्त्र पत्रकारिता प्रभावित हुनुहुँदैन !


– डिल्लीराम अम्माई

सुचनाको सेवालाई समाजसेवाबाट अलग गरेर हेर्न मिल्दैन । अर्थात्, यो पनि समाजसेवाको एक अंग हो। मिडियामा काम गर्नेहरुले पनि अथाह समय खर्चेर सुचना संकलन गरिरहेका हुन्छन् । उनीहरुले शारीरिक, मानसिक र प्राविधिक तीन कार्य एकैसाथ गर्नुपर्ने हुन्छ। त्यहाँ पनि प्रशिक्षार्थीदेखि अनुभवी पत्रकारहरुको तह हुन्छ। उनीहरुले पनि निरन्तरको कठिन अभ्याससँगै विषयगत अध्ययन कार्य गरिरहनु पर्छ।

समाजका अन्तरकुन्तर लुकेका विकृति, विसंगति, विष्फोटन र समाधानबारे गहन अध्ययन, बहस छलफल, प्रमाणहरुको संकलन र सुचनाको प्रवाहसम्मको कठिन यात्रा लडाइँको मोर्चा सम्हालेको सैनिकको भन्दा अझ कठिन छ। एक सैनिकको शहादत सन्मुखबाट गरिएको आक्रमणबाट हुन सक्छ, तर पत्रकारितामा त्यो भन्दा दर्दनाक र कठिन शहादत हुन सक्ने सम्भावना हरदम जीवित रहन्छ।

टर्कीमा अवस्थित साउदी वाणिज्य दुतावासभित्र पत्रकार जमाल खशोगीको हत्या गरियो । उनको लासलाई टुक्राटुक्रा पारेर एसिडको ट्यांकीमा हाली बेपत्ता बनाइयो।

यस्तै, मेक्सिकोमा पनि पत्रकार मारियो गोमेजको गत सेप्टेम्बरमा अज्ञात बन्दुकधारीबाट हत्या भयो । दैनिकजसो यो संसारमा पत्रकारमाथि आक्रमण भएको छ। झुक्याएर वा योजना बनाएर पत्रकारहरु निरङ्कुश तरिकाले मारिएका छन् । त्यसैले यो पेशा कति जोखिमले भरिएको छ सहजै अनुमान लगाउन सकिन्छ।

तर, समाज वा राज्यका भ्रष्टहरुले पत्रकार सम्मानित भएको वा पत्रकारको सुखद आगमन भएको देखि सहँदैनन् । पत्रकारिता दबिएका आवाजहरुको आवाज हो, भिन्न प्रकारको तर उत्कृष्ट समाज सेवा हो, स्वतन्त्रताको पहरेदार हो र पत्रकारिता निरंकुशता, विभेद र अन्यायविरुद्धको चुनौतीपूर्ण आवाज हो। असामाजिक तत्वहरुलाई यी कुराहरु थाहा हुँदाहुँदै पनि आफ्नो स्वार्थको चुनौती सम्झेर पत्रकार देखिसहँदैनन्।

पत्रकारितालाई समाजको एक विशिष्ट कार्य मानेर नेपाली व्यवशायी संघ बेल्जियमले पंक्तिकार काम गरिरहेको घटना र विचार साप्ताहिक तथा घटना र विचार अनलाइनको सम्पूर्ण परिवारलाई सम्मान गर्यो । यो आफैमा सुन्दर कार्यको थालनी हो भन्दै सरोकारवाला सबैतिरबाट तारिफ भयो । सुचना क्षेत्रमा काम गर्ने पत्रकारहरुलाई समाजसेवाको एक अभिन्न अंग सम्झी सम्मान गर्ने कुराको थालनी भएको छ। सम्भवतः युरोपको त भन्न नसकिएला तर बेल्जियममा संचार घर सम्मानित भएको यो पहिलोपटक हो। नेपाली ब्यवसायी संघ बेल्जियमका मित्रहरुले जुन सम्मान हाम्रो संचारगृहलाई समर्पण गरेर संचारकर्मी सम्मानको थालनी गर्नुभएको छ त्यसबाट पंक्तिकारले आभार अनुभूति गरेको छ ।

अर्को कुरा के पनि सत्य हो भने सामाजिक हितमा लाग्ने सबै अभियन्ता सम्मानित गरिने कार्य हरहमेशा मात्र प्रेरणाको श्रोत, मात्र गहन जिम्मेवारीबोधको उत्प्रेरक र मात्र निरन्तर निष्पक्ष सेवाको भावतर्फ लक्षित हुनुपर्छ। सहि सुचनाको बाधक, निहित स्वार्थको कवच र सेल्फ सेन्सरसिपको कारक सम्मान, पुरस्कारहरु कदापि बन्नु वा बनाइनु हुँदैन। छोटकरीमा भन्दा सम्मान वा पुरस्कारलाई प्रभावित पार्ने औजार बनाइनु हुँदैन। यसमा एक पत्रकार सदैव सजक हुनैपर्छ।

मैले हाम्रो सुचना घरले पाएको सम्मान डायस्पोराका सम्पूर्ण सञ्चार अभियन्ता, पत्रकार महासंघ युरोप शाखाका सहकर्मी, हाम्रो सुचना घर वा घटना र विचार साप्ताहिकका प्रधानसम्पादक आदरणीय देवप्रकाश त्रिपाठी, बबिता बस्नेत, कार्यकारी सम्पादक जयप्रकाश त्रिपाठीसहित सिंगो परिवारलाई समर्पण गरिसकेको छु । इमान्दारीपुर्वक आफ्नो सञ्चारघर र कार्यरत अग्रज तथा सहकर्मीहरुको प्रतिष्ठा, पेशागत धर्मको निर्वाह र संचार जगतप्रतिको सहधर्मितालाई आफ्नो लक्ष्य बनाएको छु। हाम्रा अग्रजहरुले सिकाएको पनि त्यही हो। यिनै कुराहरुले नै संचार क्षेत्रमा सुचना सन्तुलनलाई बचाइरहने छ र सुचनाको सन्तुलन तथा विश्वसनीयताको उचाई अझ थपिदिने छ।

सम्मानका हकदार सामाजिक अभियन्ता हुँदैहुन् । पवित्र भावनाबाट सम्मान गर्ने संघको अभिप्रेरणा, सम्मानित महामहिम तथा दुतावास परिवार र वाणिज्यदुत सबैलाई हार्दिक साधुवाद ।