प्रधानमन्त्रीज्यू ! तुइनयुग कहिले समाप्त होला ?

प्रधानमन्त्रीज्यू ! तुइनयुग कहिले समाप्त होला ?


०७२ असोज २५ मा पहिलोपटक प्रधानमन्त्रीमा नियुक्त भएकै दिन राष्ट्रपतिबाट शपथ लिएर सिंहदरबार प्रवेश गरेपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा देशलाई तुइनमुक्त बनाउने पहिलो निर्णय गराएका थिए । तर, पहिलो प्रधानमन्त्रीकालमा त सो कार्य पूरा भएन नै अहिले दोस्रो कार्यकालको दशौँ महिना चल्दै गर्दा पनि देशमा तुइनको समस्या समाधान भएको छैन ।

तुइनबाट कलिला विद्यार्थी ओहोरदोहोर गर्ने, सर्वसाधारण मेलापात र हाटबजार गर्न मात्र होइन, विभिन्न सामान खोला तार्ने र सवारी साधन नै तुइनमा झुन्ड्याएर तार्ने अवस्था दोस्रो कार्यकालको दश महिनामा पनि विद्यमान छ । यो निजी क्षेत्रका संघसंस्था र सर्वसाधारणले लगाएको लाञ्छना होइन, नेपाल सरकारकै आधिकारिक समाचार संस्था राससले पेस गरेको प्रमाण हो । राससका हेमन्त केसीले जाजरकोटमा लिएको यो तस्बिरले यही भन्छ । तस्बिरमा जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत डोल्पाको त्रिपुराकोट–५ खदाङस्थित भेरी नदीमा भएको तुइनबाट ट्याक्टर तारिँदै छ ।