‘कान्तिपुर’को भूमिकाप्रति सत्तापक्ष सशङ्कित

‘कान्तिपुर’को भूमिकाप्रति सत्तापक्ष सशङ्कित


सबैभन्दा बलियो मानिने मिडिया हाउस कान्तिपुरमा एमाओवादी र चिनियाँ चलखेलप्रति सत्तारुढ दल काङ्ग्रेस र एमाले झस्किएका छन् । कान्तिपुरले एकपक्षीय ढङ्गले एमाओवादीका एजेण्डालाई प्राथमिकता दिँदै आएको विषय प्रधानमन्त्री सुशील कोइरालाको समेत चासोको विषय बनेको बालुवाटार स्रोतले जानकारी दियो । कान्तिपुरले केही समयदेखि छापेका सामग्री र त्यसमा एमाओवादीको साँठगाँठसमेतबारे कोइरालाले निकटस्थ मन्त्रीहरूसँग कुरा बुझेका थिए ।
स्रोतका अनुसार कानुनमन्त्री नरहरि आचार्य र सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग अघिल्लो सोमबार यसबारे प्रधानमन्त्री कोइरालाले खुलेरै छलफल गरेका थिए ।
‘कान्तिपुरले एमाओवादीको एजेण्डा मात्र बोकिरह्यो, कहिलेकाहीँ तटस्थजस्तो देखिने अनि मौका मिल्नासाथ प्रचण्डजीलाई बोकिहाल्ने,’ कोइरालाले भनेका थिए ।
मन्त्रीहरूसँग भएको छलफल उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठूलो मिडियाबाट एकपक्षीय समाचार आउँदा समस्या हुन्छ ।’ मन्त्री आचार्यले कान्तिपुरको संदिग्ध भूमिकाबारे आफू पनि आश्चर्यमा परेको सुनाएका थिए ।
एमाओवादी सबैतिरबाट खस्किँदा पनि ठूलो मिडिया हाउसमा उसकै निर्देशनमा काम भएको पाएपछि खासगरी काङ्ग्रेस र एमालेका नेताहरू गम्भीर भएका हुन् । कोइरालानिकट केही मन्त्रीहरूले एमालेका वरिष्ठ नेताहरूसँग समेत यसबारे कुरा पुर्‍याएका छन् । ‘कोइरालाले त एक भेटमा कान्तिपुरका सम्पादकलाई लोकतान्त्रिक व्यवस्थाका लागि कान्तिपुरको योगदान अमूल्य छ । तपाईंहरू आफ्नो भूमिका आफैँ नभुल्नुहोस् । हामीलाई पनि उचित स्पेस दिनुहोस् । धेरै कुरा सुनिन्छ,’ सम्म भनेको प्रधानमन्त्रीका एक सहयोगीले बताए ।
कान्तिपुरमा एमाओवादीका एजेण्डा निरन्तर आइरहने मात्र नभई अन्य पक्षधर पत्रकारमाथि अनेक जालझेल गर्दै बिदा गर्ने प्रवृत्तिले समेत शङ्का बढाएको हो । अहिले कान्तिपुरको समाचारकक्ष पूर्णत: एमाओवादी समर्थक पत्रकारहरूको नियन्त्रणमा छ । लोकतान्त्रिक विचारधारा बोक्ने सेकेन्ड म्यान हरिबहादुर थापा, बलराम बानियाँलगायतलाई पनि सम्पादक शर्माले भूमरीमा पारेको, व्यवस्थापनसामु गलत सूचना पुर्‍याउने गरेको त्यहाँबाट अवकाश पाएका एक वरिष्ठ कर्मचारीले जानकारी दिए । यही क्रममा समाचार संयोजक पदमा लामो समयदेखि काम गरेका गोपाल खनाललाई गाडी खरिदमा अनियमितता गरेको भन्दै जागिर छाड्न बाध्य पारिएको थियो ।
खनाललाई नयाँदिल्ली हँुदा कार्यालयका लागि सेकेन्डह्यान्ड गाडी खरिदमा अनियमितता गरेको कागजात पेस गर्न सम्पादक शर्माले हाल दिल्लीमा कार्यरत देवेन्द्र भट्टराईलाई निर्देशन दिएका थिए । भट्टराई र खनालबीच काठमाडौं हँुदै त्यस्तै अर्को प्रकरणमा खटपट बढेको थियो । शैक्षिक उद्यमी उमेश श्रेष्ठबाट पैसा लिएर पत्रकार भट्टराई चीन भ्रमण गएको, विभिन्न एनजीओ, आईएनजीओको सल्लाहकार बनी रकम असुलेकोजस्ता आरोप लगाई भट्टराईलाई कतार पठाएर खनाल समाचार संयोजक बनेका थिए ।
अहिले खाली रहेको संयोजक पदमा कसलाई नियुक्त गर्ने भन्नेमा सम्पादक शर्माकै कारण ढिलाइ भइरहेको एक पत्रकारले जानकारी दिए । समाचारकक्षमा रहेका वरिष्ठ नौजनामध्ये सरोजराज अधिकारीलाई बनाउन सम्पादकले भित्री इच्छा प्रकट गरे पनि थापासहितले कुनै हालतमा त्यसो गर्न नहुने, सिस्टम बिग्रने भन्दै वरिष्ठलाई बनाउन दबाब दिएका छन् । शर्मा कुनै हालतमा युनियन समर्थकलाई बनाउने पक्षमा देखिँदैनन् ।