बेलायतमा मन्दिर बनाउँदै नेपाली

बेलायतमा मन्दिर बनाउँदै नेपाली


– प्रकाश केसी, लण्डन

संसारमा विभिन्न राष्ट्रमा स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने नेपालीबाट आफ्नो संस्कृति र परम्पराहरूको सम्वद्र्धनमा लागीपर्ने कुरा कुनै आश्चर्यजनक होइन । मौलिक संस्कृतिहरू भनेको समुदायको अस्तित्वको धरोहर हो तर आफ्नो संस्कृतिसहित आप्रवासी स्वरुपमा बसोबास गर्नु आप्रवासीहरूको मूल मर्म हो । बेलायतमा नेपालीहरूले केहीअगाडि आफ्नो प्रभुत्वमा एक वौद्ध गुम्बाको स्थापना गरेका छन् जो सबैबाट लोकप्रिय अनि आस्थाको प्रतीक बनिसकेको छ र योपालि बेलायतमा बस्ने नेपालीहरूबाट एक हिन्दू मन्दिरको स्थापनाको लागि द्रूतगतिमा काम भइरहेको छ ।

सन् २००७ साल शुरुबाट बेलायतको अल्डरशट क्षेत्र जहाँ नेपालीहरूको अत्यन्तै ठूलो अनुपातमा बसोबास हुन्छ र जहाँ अक्सर ठूलो संख्यामा विविध कार्यक्रमहरूको आयोजना गरिन्छ, मा एक हिन्दू मन्दिरको आवश्यकता महसुस गरी त्यसको लागि पहल शुरु गरेका थिए । शिव कल्चर एण्ड कम्युनिटि सेन्टर नाममा शुरु भएको संस्थाले धेरै लामो समयसम्म मन्दिरको सो योजनाको लागि खास केही गर्न सकेको थिएन । तर संस्थाले सन् २०१४ मा प्रकाश राउतको अध्यक्षता र भीम बानियाको अर्थ संकलन संयोजकत्वमा एउटा कोशे ढुंगा ठड्याउन भने सफल भएको थियो ।

त्यो साल, एक बैठकले उपस्थित सदस्यहरूबाट ३ वर्षे अवधिमा रकम जम्मा गर्ने गरी एक लाख ३ हजार पाउण्डको कबुल गरायो । तर विविध केही कारणले बीचमा आएर उक्त कबोल गरिएको रकम जम्मा गर्ने काम रोकियो र योजना सफल हुन सकिरहेको थिएन । नेपाली समाजका धेरै व्यक्तिहरूले यो ठूलो रकमको योजना भएकाले सम्भव छैन भनेर आशा मारेर बाटो पनि छोडेका थिए ।

शिव कल्चर एण्ड कम्युनिटी सेन्टरको अथक प्रयासलाई साथ दिनको लागि वुद्दिष्ट कम्युनिटी सेण्टर युकेका उपाध्यक्ष तथा गोर्खा टेनिस एशोसियनका अध्यक्ष हर्क गुरुङ्गले आफैले एक भवन खोजेर पूर्ण योजनासहित संस्थाका पदाधिकारीहरू खोज्दै आएपछि भने मन्दिर भवन खरीद प्रक्रिया गत केही हप्तबाट द्रूत गतिमा अगाडि वढेको छ ।

अल्डरशटमा भवनको मूल्य तीनलाख पाउण्ड रहेको छ भने हाल सम्ममा संस्थाले नगद १ लाख ३५ हजार जम्मा गरी सकेको । १ लाख ८ हजार ७२९ उठ्न अझै बाँकी रहेको छ जसलाई संस्थाका पदाधिकारीहरूबाट शालीनतवरमा दानवीरहरूलाई तागेता दिइरहेका छन् । यदि कवुल गरेका दाताहरूले सबै रकम जम्मा गरी दिएको खण्डमा ५८ हजार पाउण्ड मात्र भवनको कूल लागतमा अपुग देखिएको छ । तर जब मन्दिरको भवन नै खरिद हुन लाग्यो भन्ने समाचार सुनेपछि यूके भरिबाटै दानवीर दाताहरूले दिनदिनै रकम जम्मा गरी आफ्नो नाम चढाउँदै गएकाले रकम पूरा हुने आशा राखिएको छ । यस कार्यमा संस्थागत रुपमा सहयोगी फार्नवरोह साई सेण्टरले ५० हजार पाउण्डभन्दा वढी सहयोग गरेको छ ।

विश्वकर्मा समाज यूके, श्रृजनशील समाज यूके, एशियन महिला एशोसियन यूके (आमा), तमू धिं यूके र ग्रेटर रशमुर नेपाली कम्युनिटी पनि सक्दो रकम जम्मा गरी सहयोग गर्न लागीपरेका बताइएको छ । यो भवन खरीद भई सकेपछि दुई किसिमबाट सम्पूर्ण नेपालीहरूले प्रयोग गर्न मिल्ने छ । पहिलो, यसभित्र एउटा शिव मन्दिर र सर्वधर्म प्राथना कक्ष हुनेछ भने दोश्रो, मन्दिर क्षेत्र आवश्यक समयमा मात्र खोलिने हंँदा अरु समयमा हललाई सामाजिक कार्यमा प्रयोग गर्न सकिने छ ।

विगत केही हप्ताबाट यस कार्यमा भइरहेको कार्यको चर्चाहरू, पत्रपत्रिकाहरू, अनलाइन मिडियाहरूलगायत सामाजिक सञ्जाल हुँदै सामाजिक कार्यक्रमहरूमा चलेकोले बेलायतमा लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले यही शनिबार सोे भवनको प्रत्यक्ष अवलोकन गर्ने चाहनाअनुसार आएका थिए । राजदूत सुवेदीलाई संस्थाका अध्यक्ष रोहित गुरुङ महासचिव विक्रम भट्ठराई, कोषाध्यक्ष वाचस्पती रेग्मी, भवन खरिद संयोजक हर्क गुरुङ र सल्लाहकार भीम बानियाँले हाल सम्मको प्रगति विवरण सुनाएका थिए । राजदूत सुवेदीले नेपाल सरकारका तर्फबााट गर्न सकिने सबै प्रकारका सहयोगका साथै बेलायतका नेपाली समुदायलाई यो नेपालीहरूकै गौरव र ऐतिहासिक भवनका लागि सहयोग गर्न अपिल गर्ने प्रतिवद्धतासमेत व्यक्त गरेका छन् ।

भवन खरिदका सदस्य तथा सल्लाहकार भीम बानियाँका अनुसार यस भवनको खरिदपछि मर्मत तथा स्थाइ मन्दिर व्यवस्थापन खर्च जुटाउनका लागि आगामी २०१९ जनवरी ४, ५ र ६मा नेपालका वाचन शिरोमणी दिनवन्धु पोखरेलबाट श्रीमद् भागवत र वौध्द धर्मसम्वन्धी वाचन गरिँदै छ । यो कार्यक्रम भवन उदघाटन नभई श्रीमद् भागवत र बौध्द दर्शनका वारेमा वाचनका लागि मात्र हुनेछ भने भवनको उदघाटन शिव मन्दिरको पूर्ण स्थापना र मूर्तिको प्राण प्रतिस्थापनसँगै भव्य समारोहका साथ पछि गरिने छ ।