म काङ्ग्रेसको कुनै गुटमा छैन : ओमप्रकाश सराबगी

म काङ्ग्रेसको कुनै गुटमा छैन : ओमप्रकाश सराबगी


झापाका पाका राजनीतिज्ञ ओमप्रकाश सराबगी हाल प्रदेश नम्बर–१ का पनि पाका प्रदेश सभा सदस्य हुन् । ७५ वर्षीय उनैले ज्येष्ठ सदस्यका नाताले प्रदेश सभाको पहिलो सभामुखको ऐतिहासिक भूमिका पनि निर्वाह गरेका थिए । सराबगी किशोरावस्थादेखि नै सामाजिक र राजनीतिक कर्ममा संलग्न छन् । भद्रपुर नगर पञ्चायतको ३ कार्यकाल (वि.सं. २०२९–०३०, २०३८–०४२, २०४२–०४६) निर्वाचित प्रधानपञ्च उनी विगतमा नेपाल रेडक्रस सोसाइटीको झापा शाखा, झापा उद्योग सङ्घ, झापा उद्योग वाणिज्य सङ्घ र मेची अञ्चल अस्पताल विकास समितिका अध्यक्षका साथै नेपाल–भारत मैत्री सङ्घ समेतका केन्द्रीय अध्यक्ष रहिसकेका छन् । झापा जिल्लामा राजनीतिका साथै समाजसेवा दुवै गर्नेमा शायद सराबगी अग्रपङ्क्तिमा पर्दछन् । ०४६ सालपछि निरन्तर नेपाली काङ्ग्रेसमा सक्रिय उनी हाल काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिसमेत छन् । उनै सराबगीसित समसामयिक विषय र काङ्ग्रेस महासमिति बैठकको पूर्वार्धमा गरिएको कुराकानी-

० लामो राजनीतिक र सामाजिक जीवन बिताउनुभएका तपाईं काङ्ग्रेसका तर्फबाट प्रदेश नम्बर–१ को समानुपातिक प्रदेश सभा सदस्य बनेपछि कस्तो महसुस गर्दै हुनुहुन्छ ?
– किशोर अवस्थादेखि नै राजनीतिक र सामाजिक कार्यमा संलग्न मलाई प्रदेश सभा सदस्य बनेपछि एउटा गहिरो जिम्मेवारीबोध भएको छ । जनता र राष्ट्रका लागि अझ थप केही गरौँ भन्ने लागेको छ ।

० लामो समय पञ्चायती राजनीतिमा पनि रहनुभयो । विगत तीन दशकदेखि बहुदलीय राजनीतिमा हुनुहुन्छ । दुवैमा फरक के पाउनुभएको छ ?
– पञ्चायतमा खुलापन थिएन । विकास निर्माणको गतिमा तीव्रता थिएन । बहुदलमा स्वाभाविक रूपमा खुला समाज हुन्छ, स्वतन्त्रता रहन्छ ।

० काङ्ग्रेसभित्रको वर्तमान विकृतिले के असर पारेको ठान्नुहुन्छ ?
– काङ्ग्रेसभित्रको वर्तमान विकृतिले पार्टी कमजोर स्थितिमा पुगेको नस्वीकार्नु पार्टीप्रतिको बेइमानी हुन्छ । त्यसैले म यसलाई स्वीकार गर्दछु । गुट–उपगुटसँग म सन्तुष्ट छैन । नेतृत्व र कार्यकर्तामाझ पनि म यो कुरा राख्तछु, राखेको पनि छु ।

० प्रतिपक्षी भूमिकामा काङ्ग्रेसलाई कस्तो पाइरहनुभएको छ ?
– प्रमुख प्रतिपक्षको भूमिकामा काङ्ग्रेस जति प्रभावकारी हुनुपर्ने हो, पार्टीभित्रको गुटबन्दीले गर्दा त्यति प्रभावकारी हुन सकेको छैन । सरकार पूर्णतः असफलतातर्फ उन्मुख छ । दुईतिहाइ बहुमतको सरकार भएर पनि जनचाहना पूरा गर्न सकेको छैन । जनता असन्तुष्ट छन् । प्रतिपक्षीले यस्तो मौकाको राम्रो सदुपयोग गर्नुपर्दछ ।

० प्रतिपक्षीको काम सरकारको विरोधै गर्नु मात्र हो र ?
– होइन । हामीले त्यसो गरेका पनि छैनौँ । जतिसक्दो रचनात्मक प्रतिपक्ष बन्ने काङ्ग्रेसको चाहना हो । तर, जब सरकार नै जनचाहना पूरा गर्न सक्दैन, तब प्रमुख प्रतिपक्ष चुपचाप रहनुहुँदैन र यस कुरामा काङ्ग्रेस थप सजग बन्नुपर्छ ।

० अहिलेसम्म प्रदेश नम्बर–१ को नामकरण र स्थायी राजधानी टुङ्गो लागेको छैन । के हुनुपर्छ प्रदेशको नाम र कहाँ हुनुपर्छ राजधानी ?
– अहिलेसम्म प्रदेश सरकारले यी दुवै विषयमा कुनै औपचारिक प्रस्ताव ल्याएको छैन । प्रस्ताव आएपछि दुवै विषयमा काङ्ग्रेसका तर्फबाट सामूहिक र ठोस धारणा आउनेछ । दुईतिहाइ बहुमत प्राप्त सरकारले यी दुवै विषयमा अहिलेसम्म प्रस्ताव नै ल्याउनु नसक्नु लाजमर्दो भएको छ ।

० राजधानी अलग ठाउँमा, संसद् अलग ठाउँमा र प्रदेशप्रमुखको कार्यालय अलग ठाउँमा गरी तीनतिर राख्नुपर्ने चर्चा पनि आएका छन् । तपाईंलाई कस्तो लाग्छ ?
– यसो गर्नु झन्झटिलो र जनतालाई दुःख दिनेखालको काम हुनेछ र व्यावहारिक पनि छैन । मुख्यमन्त्रीद्वारा यस्ताका कुरा आए भन्ने सुनेपछि हामीले सोध्दा आफूले त्यसो नभनेको बताउनु भएर उहाँले आफूलाई सच्याउनुुभएको छ ।

० यसै महिनाको अन्त्यमा काङ्ग्रेसको महासमिति बैठक बस्दै छ । यसबाट के अपेक्षा गर्नुभएको छ ?
– काङ्ग्रेसको यो महासमिति बैठकबाट पार्टीभित्रको गुट–उपगुटको अन्त्य हुनुपर्दछ । यसो हुन सकेन भने पार्टी बलियो हुनु सट्टा अझ कमजोर बन्नेछ भन्ने कुरा म खुला रूपमा भन्न सक्छु ।

० तपाईंचाहिँ काङ्ग्रेसको कुन गुटमा हुनुहुन्छ ?
– म कुनै गुटमा छैन; काङ्ग्रेसमा छु । काङ्ग्रेसमा गुटबन्दीको अन्त्यमा लागेको र काङ्ग्रेसलाई एक ढिक्का बनाउने प्रयासमा लागेको एउटा सानो कार्यकर्ता सम्झन्छु आफूलाई । त्यसैले सबै कार्यकर्तालाई गुट–उपगुटमा होइन, काङ्ग्रेस बनेर काम गर्न आह्वान गर्दछु ।

० तपार्इं लामो समयसम्म भद्रपुरको प्रधानपञ्च पनि भएर बस्नुभयो । त्यो नाताले हाल भद्रपुर नगरपालिकाको काम–कारबाहीलाई कसरी हेरिरहनुभएको छ ?
– भद्रपुर नगरपालिका क्षेत्रमा जनअपेक्षाअनुसार काम भइरहेको छैन नै । अधिकारसम्पन्न जनप्रतिनिधिहरूले नगरवासीले महसुस गर्नेगरी काम गर्न सकिरहेको छैन भन्ने मलाई लाग्छ ।