सानो कुरामा ठूलो नेता सामेल !

सानो कुरामा ठूलो नेता सामेल !


प्रधानमन्त्रीको जिम्मेवारी बहन गरिसकेका एक नेताको लापरबाहीका कारण नेपाल कम्युनिस्ट पार्टीका अर्का उच्चस्तरीय नेताको बदनामी हुन पुगेको जानकारी घटना र विचारलाई प्राप्त भएको छ । केही दिनअघि राष्ट्रिय सभा सदस्यसमेत रहेकी चर्चित लोककलाकार कोमल वली र नेकपाका वरिष्ठ नेता एवम् प्रवक्ता नारायणकाजी श्रेष्ठबीच विवाह हुने भन्ने हल्ला चल्यो र कतिपय सञ्चारमाध्यमहरूमा यसप्रकारको हल्ला समाचार बनेर तस्बिरसहित सार्वजनिक पनि भयो । यसरी श्रेष्ठसँग कोमल वलीको नाम जोडेर हल्ला– चर्चा हुनुको मुख्य कारण नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भएको जानकारी प्राप्त भएको छ ।

एक प्रत्यक्षदर्शीले जनाएअनुसार समूहमा बसिरहेका भए पनि माधवकुमार नेपालले श्रेष्ठ र कोमललाई मात्र फोकस गरेर तस्बिर खिचेका थिए । आफूले खिचेको त्यस्तो तस्बिर माधव नेपालले भोलिपल्ट नेकपा सचिवालयको बैठकमा देखाएका थिए ।

नेता श्रेष्ठ र गायिका कोमल सँगै बसेको तस्बिर जुन सार्वजनिक भएको छ, त्यो फ्रान्सेली राजदूतद्वारा आयोजित एक रात्रिभोजका क्रममा माधवकुमार नेपालले खिचेका थिए । दूतावास सूत्रबाट प्राप्त जानकारीअनुसार नेपालका लागि फ्रान्सका राजदूतले मङ्सिर ६ गते महाराजगञ्जस्थित आफ्नो निवासस्थानमा एक रात्रिभोजको आयोजना गरेका थिए । नेपाल–फ्रान्स संसदीय समूहलाई दिइएको रात्रिभोजमा माधवकुमार नेपाल, नारायणकाजी श्रेष्ठ, सुरेन्द्र पाण्डे, भीम रावल, नवराज सिलवाल र कोमल वलीलगायतको उपस्थिति थियो । त्यस अवसरमा आयोजित समारोहमा संयोगवश नारायणकाजी श्रेष्ठसँगै कोमल वली सोफामा बस्न पुगेकी थिइन् ।

एक प्रत्यक्षदर्शीले जनाएअनुसार समूहमा बसिरहेका भए पनि माधवकुमार नेपालले श्रेष्ठ र कोमललाई मात्र फोकस गरेर तस्बिर खिचेका थिए । आफूले खिचेको त्यस्तो तस्बिर माधव नेपालले भोलिपल्ट नेकपा सचिवालयको बैठकमा देखाएका थिए । सचिवालय बैठकमा समेत नारायणकाजीलाई जिस्क्याउँदै माधव नेपालले विवाह गर्नुपऱ्यो भनेका र जवाफमा श्रेष्ठले ठट्टा नगर्नुहोस् भनी सचेत गराएका थिए । नेता नेपालले सचिवालय बैठकमा तस्बिर देखाउँदै विवाहको कुरा गरेकै भोलिपल्टदेखि नारायणकाजी श्रेष्ठ र कोमल वलीबीच विवाह हुने भन्ने समाचार तस्बिरसहित केही अनलाइन पत्रिकाहरूमा सार्वजनिक भएको थियो ।

माधव नेपालजस्तो प्रधानमन्त्री भइसकेका व्यक्तिबाट यस किसिमको आधारहीन हल्ला चलाइनुलाई नेकपाभित्र स्तब्धकारी घटनाका रूपमा लिइएको छ । केही नेताहरूले यसलाई हल्का रूपमा लिएका छन् भने कतिपयले नारायणकाजीको छवि धमिल्याउन माधव नेपालले जानाजान यसप्रकारको काम गरेको आशङ्का पनि गरेका छन् । तर, प्रचण्डबाट खेदिएका र केपी ओलीको ममता प्राप्त नगरेका नारायणकाजीको छवि खराब बनाएर माधव नेपाललाई के लाभ हुने हो सो भने स्पष्ट हुन सकेको छैन । श्रेष्ठले धेरै वर्षअघि नै आजीवन विवाह नगर्ने सार्वजनिक घोषणा गरिसकेको जानकारी हुँदाहुँदै पनि कुनै महिलासँग नाम जोडेर विवाहको हल्ला चलाउनुलाई माधव नेपालको ‘अर्थपूर्ण कदम’का रूपमा लिइएको छ ।