स्त्री पुजनालाई श्रीमान्को थप्पड-राजन घिमिरे

स्त्री पुजनालाई श्रीमान्को थप्पड-राजन घिमिरे


सिनेमाभित्र पात्रले आफ्नो उपस्थिति गतिलो रूपमा जनाउन नसकेको मात्र होइन, अन्तत: चलचित्रले नै दर्शकमाझ आफ्नो प्रभाव छाड्न नसकेपछि चलचित्र ‘श्रीमान्’ ‘उही ड्याङको मूला’ जस्तै सावित भएको छ । आफैं लगानी गरेर नायक बनेका कल्याण घिमिरेको यो प्रयोग पनि बालुवामा पानी हालेजस्तै सावित भएको छ । नयाँ अनुहारहरू राखेर गतिलो फिल्म बनाएरै छाड्छु भन्ने घिमिरेको दाबी र लहडले मूर्तरूप पाउन नसकेपछि कलाकार होइनन् कथा चल्ने हो भनेर खोक्ने केही निर्माता यतिबेला चुकचुकाउन थालेका छन् । ‘क्या राम्रो छ भनेर थाहा पाउन त पहिले दर्शक हलमा पनि आउनुपर्‍यो नि ! दर्शकलाई हलमा ल्याउन पहिले अनुहार त बिकेकै राख्नुपर्दो रहेछ’ उनीहरूले अहिले बुझन थालेका छन् ।
सिनेमाको नाम राम्रो छ- श्रीमान् । तर नामजस्तै सिनेमा नभइदिँदा एउटा राम्रो नाम ‘मिसयुज’ हुन पुगेको छ । सिनेमा राम्रो छ अनि ‘वाहवाही’ गर्नलायकको छ भनेर जति खोके पनि सिनेमा निर्माण व्यवसायका लागि हो भनेर प्रतिस्पर्धामा उत्रिएपछि त्यो सिनेमाले लगानी उठाउने मात्र होइन कमाउनु पनि सक्नुपर्छ । पैसा नकमाउने फिल्म अवश्य पनि सफल मानिँदैन, यो विश्वमान्यता हो ।
वर्षमा एक दिन हलमा पुग्ने । त्यो पनि पास पाएपछि मात्र नि:शुल्क सिनेमा हेर्ने एक/दुई जनाले तारिफ गर्दैमा नाक फुलाउने चलचित्र श्रीमान्का निर्माता अनि निर्देशकको यही कमजोरीले नै अन्तत: यो समूहलाई आर्थिक मारमा पार्‍यो । मूलधारको प्रचारप्रसार र दर्शकलाई लत्याएर आत्मरतिमा रम्दा अन्तत: पन्ध्र वर्षअगाडि नै नायक भएका कल्याण घिमिरेले पन्ध्र वर्षपछि आइपुग्दा पनि आफूलाई सच्याउन सकेका रहेनछन् । यदि उनमा व्यावसायिक सोच, विचार अनि उद्देश्य थियो भने उनले ‘स्त्री’ विशेषणधारी असफल नायिका पुजना प्रधान र अर्का एक बिल्कुलै नयाँ अनुहारलाई नायक लिँदैनथे होलान् । गलत पात्र चयन नै चलचित्र श्रीमान्को कमजोरी पक्ष हो ।
चलचित्र हिरोमार्फत पहिलोपटक रेखा थापा र पुजना प्रधानले एकसाथ अभिनय यात्रा सुरु गरेका थिए । तर, आज रेखा कहाँ छिन् भने पुजना कहाँ छिन् । यसबाटै थाहा हुन्छ कि कलाकारिता क्षेत्रमा रेखा र पुजनाको स्थान । आफ्नो कलाकारितालाई त बलियो बनाउन नसक्ने पुजनाको एकल उपस्थितिले कसरी चलचित्र ‘श्रीमान्’लाई बलियो बनाउन सक्छ र ? केवल बाँकी रहेको समय अनि रहर र सोखले पनि चलचित्र खेल्ने पुजनाजस्ता कलाकारितालाई माध्यम बनाउनेलाई शीर्ष भूमिकामा उभ्याउनु नै यसका निर्माता अनि निर्देशकको कमजोरी हो ।
‘स्टारभ्यालु’ भएका कलाकारको उपस्थितिले मात्र चलचित्र चल्दैन भनेर उनीहरूविरुद्ध कर्ुलदै हिँड्ने यसका निर्माता अनि नायक कल्याण घिमिरे अन्तत: नराम्ररी पछारिन पुगेका छन् । रेखा थापाभन्दा पुजनालाई स्टार अनि राजेश, विराज र निखिलभन्दा आफूलाई गतिलो मान्ने कल्याणको दाबी यसरी चकनाचुर भयो कि चलचित्र प्रदर्शनमा आएको केही घन्टापछि नै उनी सर्म्पर्कविहीन छन् । चलचित्रमा कल्याण स्वयम्को आवाज सुन्न सकिन्न, उनको आवाजमा अर्कैले आवाज भरिदिएको छ । जब कि सिनेमालाई ‘बोल्ड’ बनाउने भनेको कलाकारको आवाज हो, त्यही आवाजले नै अनुहारको ‘एक्सपे्रसन’लाई झल्काउँछ ।
सिनेमाको यति सानो मान्यतासमेत आफूमा नभएकाले किन ठूला कुरा गर्नु ? यसै भन्छन् कल्याणसँग असन्तुष्ट हुनेहरू । आज राजेश र विराजसँग जे छ त्यो आवाजमा नै छ । आवाजसमेत अर्काको भर्नुपर्ने आफ्नो नियति घामजस्तै छर्लङ्ग हुनेले पूरा सिनेमा थेग्ने ‘स्टार भ्यालु’ भएका राजेश, रेखा अनि विराजहरूको कुरा किन काट्नु ? कि कसो कल्याणजी । नामजस्तै सबैको कल्याण सोच्नुस् न ! हुन्न र ?

सञ्चिता भेटेपछि पेटमा क्लिक्क !
‘कसलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा’ भन्ने प्रचलित नेपाली उखान यसै साता नायिका सञ्चिता लुइँटेलसँग मेल खाएको छ । कसैले कुनै सिनेमाको मुहूर्त, प्रिमियर र कार्यक्रममा बोलायो भने यहाँ थुप्रै कलाकार व्यस्तताका कारण जान भ्याउँदैनन्, तर एउटी नायिका यतिबेला कसैले बोलाइदियोस् र आफू त्यहाँ जान पाइयोस् भनेर बिन्तीभाउ गर्नतिर लागेकी छिन् । दिउँसोभरि घरमै यता र उताको कोठा चहार्दा-चहार्दै दिक्क भएकी ती नायिका हुन्- सञ्चिता लुइँटेल ।
आफू नायक निखिल उपे्रतीको बच्चाको आमा बन्दै छु भनेर लामो समयदेखि उनले भन्दै आएकी थिइन् र यो कुरालाई सबैले विश्वास गरून् भन्ने इच्छा पनि उनमा थियो । आमा बन्दा त महिला गर्भवती हुँदा उनको पेट पनि ठूलो हुनुपर्ने हो तर विडम्बना सञ्चिताको यो कुरा कसैले पनि विश्वास गरेका थिएनन् । जब कि उनको शारीरिक अवस्थाको बारेमा सबै अनविज्ञ थिए । यो हप्ता भने सञ्चिताले आफ्नो वास्तविकता चलचित्रकर्मी र चलचित्र पत्रकारहरूसमक्ष राख्न पाइन् । सञ्चितालाई यो अवसर दिलाइदिएका थिए हास्य कलाकार निर्मल शर्माले । शर्माको छोराको व्रतबन्धको अवसरमा उनले एउटा रात्रिभोजको आयोजना गरेका थिए । त्यो भोजमा चलचित्रकर्मीहरूको बाक्लै उपस्थिति थियो । त्यही उपस्थितिमा आइन् सञ्चिता लुइँटेल । निकै लामो समयको ‘ग्याप’पछि आफू सार्वजनिक कार्यक्रमतिर आएको कुरा पनि बताइन् उनले ।
गर्भवती शरीरका साथ कार्यक्रममा आएकी सञ्चितालाई देख्नासाथ क्यामेराम्यानहरू सञ्चिताको अनुहारको ‘क्लोज अप’ नभएर उनको पूरा शरीरमा फ्रेममा आउने गरी तस्बिर खिच्न थाले । कुनै समय ‘क्युट’ नायिका भनेर चिनिने सञ्चिताको अनुहारमा मात्र घुम्ने क्यामेराको लेन्स यसपटक उनको पूरा शरीरभरि र विशेषगरी उनको पुष्ट पेटतिरै घुम्यो । कारण थियो सञ्चिता साँच्चिकै गर्भवती भएकी हो रहिछिन् भन्ने स्पष्ट हुनका लागि ।
हुन पनि हो, मौखिक रूपमा सञ्चिताले आफू निखिलको बञ्चाको आमा बन्दै छु भनेर भन्नुलाई कसैले विश्वास गरेका थिएनन् । तर, त्यो सार्वजनिक कार्यक्रममा आउँदा उनलाई पनि फाइदा भयो अनि सशरीर सञ्चिताले आफूलाई प्रस्तुत गर्ने अवसर पाइन् । आफ्नोबारेमा कुरा काट्नेहरूलाई पनि देखाइदिइन् सञ्चिताले प्रत्यक्ष रूपमा उपस्थित भएर ।

हात खाली भएपछि सिक्किमको बाटो
चलचित्रको सुटिङ स्पटमा ‘स्पट ब्वाय’हरूलाई यी नेपाली काम मात्र बिगार्छन् भनेर आफू भारतीय भएको स्पष्ट पार्दै आएकी नायिका निरुता सिंह अन्तत: भारत अर्थात् सिक्किमतिरै पलायन हुने भएकी छिन् ।
केही वर्षको अमेरिका बसाइपछि नेपाल फर्किएकी नायिका करिश्मा मानन्धरको वजन अनि क्रेज पहिलेकै अवस्थामा फर्किएपछि यता करिश्माको अभावमा काम पाइरहेकी निरुताले अहिले काम पनि पाउन छोडेकी छिन् । निरुता र करिश्माको उमेर एकै हुनु र क्रेज करिश्माको बढ्नुले करिश्माको आगमनपश्चात् निरुताको क्रेज र काम घट्दो भएपछि उनी यतिबेला आफ्नो नाजिकका साथीहरूलाई भन्न थालेकी छिन्, ‘नेपालमा बस्न गाह्रो भयो । काम छैन । कति उताबाट पैसा मगाउनु । अब त उतै र्फकनुपर्ला ।’ यसरी हरेश खाएकी निरुता यतिबेला साँच्चि नै बेकामे भएकी छिन् ।