छटपटीमा प्रधानमन्त्री

छटपटीमा प्रधानमन्त्री


sushil_koiralaकमजोर स्वास्थ्यका कारण आफैँमाथि भरोसा गर्न छोड्नुभएका प्रधानमन्त्री सुशील कोइराला देशका लागि केही गरिहाल्ने हतारो गर्न थाल्नुभएपछि झन् अन्योलग्रस्त बन्नुभएको छ । ज्यादा दबाब महसुस गरी चिढिने र छिनछिनमा सोच बदल्ने क्रम पछिल्लो समयमा झनै बढ्दै गएको छ । अमेरिकामा उपचारको क्रममा राम्रो सेवा गर्ने मृदुला कोइरालालाई सभासद् मनोनयन गर्ने वचन दिनुभएका कोइराला पारिवारिक दबाबपछि आफ्ना भाइ डा. अरुण कोइरालालाई सभासद् बनाउने चक्करमा लाग्नुभएको छ । मृदुलालाई राजदूत बनाइदिने आश्वासन उहाँले दिनुभएको छ । त्यस्तै, नेकपा एमालेले विभिन्न निहुँ झिकेर बखेडा गर्न थालेपछि एमालेलाई हटाएर एमाओवादीलाई सरकारमा सहभागी गराउन इच्छुक देखिनुभएका कोइराला फेरि एमालेसँगको गठबन्धनलाई नै निरन्तरता दिने निष्कर्षमा पुग्नुभएको छ । २६ सभासद्को मनोनयन र राजदूत नियुक्ति गरेर मात्र थप उपचारका लागि अमेरिका जाने योजनामा रहनुभएका प्रधानमन्त्री यी दुवै विषयमा टुङ्गो लगाउन नसकेपछि थप तनावमा पर्नुभएको छ ।
देशको लागि संविधान र कोइराला परिवारको उत्तराधिकारी चयन प्रधानमन्त्रीको उच्च प्राथमिकतामा परेका छन् । कृष्णप्रसाद सिटौलालाई हटाएर डा. सशांक कोइरालालाई महामन्त्री बनाउने चाहना सुशील कोइरालाले राख्नुभएको छ । यद्यपि त्यो त्यति सजिलै सम्पन्न हुनसक्ने देखिँदैन । सशांकलाई महामन्त्री चयन गर्दा कोइराला परिवारको उत्तराधिकारी सुनिश्चित हुने भएकोले उहाँका निम्ति महामन्त्री परिवर्तन प्राथमिकतामा परेको हो । पहिले ६६ देखि ७० किलोग्राम तौलका सुशील कोइराला यतिबेला घटेर झन्डै ५१ केजीको हाराहारीमा पुग्नुभएको छ । उहाँ असोजको पहिलो साताभित्रै उपचारको लागि अमेरिका प्रस्थान गर्ने तयारीमा रहनुभएको छ । स्वास्थ्यस्थिति र कामको चापका कारण प्रधानमन्त्रीमा थप चिडचिडाहट पैदा भएको छ ।

देशको प्रतिष्ठामाथि खेलवाड
आसन्न १७औँ एसियाडमा कराते खेलाडीले नखेल्ने निर्णय गरेका छन् । दुई वर्षको लगातार प्रशिक्षणपछि अन्तिम आठमा परेर एसियाडका लागि छनोट भएका खेलाडीमाथि प्रश्न उठाएपछि खेलाडीले यस्तो निर्णय गरेका हुन् । सनसनीपूर्ण खेलबाट अन्तिम छनोट भएका आठ खेलाडीको नामावली नेपाल कराते महासङ्घले गत महिना नेपाल ओलम्पिक कमिटीमा पठाए पनि एनओसीले अहिलेसम्म उक्त नामावली एसियाडमा नपठाएपछि यस्तो स्थिति पैदा भएको हो । अस्तित्वहीन झैँ बनेको महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखेले ओलम्पिक कमिटीको पदाधिकारीको रवाफ देखाउँदै कराते खेलाडीको नामावली रोकेपछि यो विवादको सिर्जना भएको हो ।
नेपाल कराते महासङ्घले उत्कृष्ट २१ खेलाडीबाट अन्तिम सर्वोत्कृष्ट आठ खेलाडी छनोट गरेको थियो । तीनचरणको छनोटपछि आठ खेलाडी चयन भएका थिए । तर, लाखेले पुन: छनोट गर्नुपर्ने भनी भाँजो हालेपछि करातेको विवादले उग्ररूप लिएको छ । लाखेले दुई साताअघि पनि कराते खेलाडीको पुन: छनोट गर्ने भनी छनोट खेलको आयोजना गरेका थिए । तर, लाखेले आह्वान गरेको छनोट खेलमा एउटै खेलाडी पनि समावेश नभएपछि उनको दुस्प्रयास बीचैमा तुहिएको थियो । त्यसपछि पनि नचेतेका लाखेले छनोट भएका खेलाडी र प्रशिक्षक दीपक श्रेष्ठलाई धम्क्याउँदै आएको बुझिएको छ । लाखेले पुन: छनोट नगरे कुनै हालतमा पनि कराते खेलाडीलाई एसियाडमा नपठाउने भन्दै कराते खेल र खेलाडीको भविष्यमाथि खेलवाड गर्दै आएका छन् ।
दक्षिण कोरियाको इन्चोनमा हुने १७औँ एसियाली खेलकुद प्रतियोगितामा करातेलाई सम्भावित पदक विजेता खेलको रूपमा लिइएको छ । यसरी सम्भावित पदक जित्ने खेलका खेलाडीलाई अन्तर्राष्ट्रिय धक्कु लगाएर लाखेले भाँजो हाल्दासमेत राज्य मौन रहनु आफैँमा दुर्भाग्यपूर्ण भएको छ । खेल आयोजना हुन तीन हप्ताको समय मात्र बाँकी रहेको अवस्थामा समेत कराते खेलाडीको नामावली एसियाडमा नपठाइनुले करातेको सहभागिता अन्योलमा परेको छ । यसबारेमा विगत दुई वर्षदेखि राष्ट्रिय कराते टिमलाई प्रशिक्षण गर्दै आएका दीपक श्रेष्ठले भने, ‘यो करातेलाई विखण्डन गर्ने अराजकतावादी सोच हो, यसले कसैलाई फाइदा हँुदैन, छनोट भएका खेलाडीलाई अन्तिम समयमा आएर रोक्नु दुर्भाग्य हो, हामीले आफ्नोतर्फबाट पहल गरिसकेका छौँ, समयमै खेलाडीको नामावली ओलम्पिक कमिटीमा पठाएका हौँ, तर अहिलेसम्म एनओसीले किन प्रक्रिया अगाडि बढाएन त्यो सोचनीय भएको छ ।’
प्राप्त जानकारीअनुसार लाखेको दबाबमा एनओसीले कराते खेलाडीको नामावली रोकेको हो । लाखे एनओसीका सदस्य भएको र कराते महासङ्घका अध्यक्ष दावा गुरुङसँगको खटपटका कारण लाखेले यस्तो गैरकानुनी हर्कत गरेको बुझिएको छ । अझ खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र एनओसीको महासचिव जीवनराम श्रेष्ठ एमाले पार्टीकै भएकाले शक्तिको आडमा लाखेले कराते खेलाडीको भविष्यमाथि खेलवाड गरेको बताइन्छ । लाखेले यस्तो गैरकानुनी हर्कत गर्दासमेत टुलुटुलु हेरेर बसेका आयोजक कमिटीका अध्यक्ष मन्त्री पौडेलले करातेको विवाद अहिलेसम्म समाधान गर्न सकेका छैनन् । अध्यक्ष पौडेलले समिति गठन भएको केही समयपश्चात् नै करातेको विवाद समाधान हुने बताएका थिए । तर, दिनप्रतिदिन समाधानभन्दा विवादतर्फ उन्मुख भइरहेको करातेको विवादले एसियाडमा करातेको सहभागितालाई धुमिल पारिदिएको छ । पुन: छनोट नभए करातेलाई एसियाडमा सहभागिता गराउन नदिने र कुनै पनि हालतमा पुन: छनोट नगर्ने कराते पदाधिकारीबीचको टकरावले अहिले करातेको विवाद झन् जटिल बन्दै गएको छ । कराते महासङ्घका अध्यक्ष दावा गुरुङले यदि आफूले छनोट गरेका आठ खेलाडीमध्ये कसैलाई पनि चलाइए वा हटाइए अन्तिम छनोट भएका कुनै पनि खेलाडीले एसियाडमा सहभागिता नजाउने बताएपछि विवादको गाँठो अझ कस्सिएको छ ।

ओइरिँदै विदेशी सहायता
सरकारले कार्यालय पुनर्संरचनादेखि स–साना विकास निर्माणका कार्यहरूमा समेत वैदेशिक सहायता रकम खर्चिने भएको छ । वैदेशिक सहायता रकम कहाँ र कसरी खर्च गर्ने भन्नेमा विभिन्न मन्त्रालय तथा मातहतका निकायले कार्यक्रम बनाइरहेका छन् । बीचबीचमा पनि वैदेशिक सहायता रकम आउने भएकोले सोहीअनुसार कार्यक्रम बनाई खर्च गर्ने गरिन्छ ।
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षमा नेपालमा कार्यालय नै सञ्चालन गरेर बसेका एक सय चौबीसवटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले झन्डै साढे नौ अर्ब सहयोग रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । सरकारले यही रकम खर्च गर्नेछ ।
अर्थ मन्त्रालय वैदेशिक सहायता महाशाखाका अनुसार राष्ट्रिय योजना आयोग, राष्ट्रिय मानवअधिकार आयोग, निर्वाचन आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा मन्त्रालयहरू अर्थ, कृषि विकास, महिला, बालबालिका तथा समाजकल्याण, श्रम तथा रोजगार व्यवस्था, उद्योग, वाणिज्य तथा आपूर्ति, वातावरण, विज्ञान तथा प्रविधि, भूमिसुधार तथा व्यवस्था मन्त्रालयलाई आर्थिक सहयोग उपलब्ध हुँदै आएको छ । त्यस्तै वन तथा भूसंरक्षण, शान्ति तथा पुनर्निर्माण, शिक्षा, सङ्घीय मामिला तथा स्थानीय विकास, स्वास्थ्य तथा जनसङ्ख्या, गृह, सामान्य प्रशासन, सिँचाइ, सहरी विकास, जल तथा ऊर्जा आयोग, सर्वोच्च अदालत, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र कानुन, न्याय, संविधानसभा तथा संसदीय मामिला मन्त्रालयलगायत २४ वटा निकाय पनि वैदेशिक सहायता पाउनेमा परेका छन् । यी निकायले भौतिक एवम् प्राविधिक सहायताअन्तर्गत वैदेशिक सहयोग रकम खर्च गर्नेछन् । अर्थका अनुसार वैदेशिक सहायतास्वरूप यी निकायले चालू आर्थिक वर्षमा २० अर्ब ७१ रुपैयाँ आर्थिक सहायता प्राप्त गर्दै छन् ।
चालू आर्थिक वर्षको ‘प्राविधिक तथा अन्य सहायता विवरण’को द्विपक्षीय एवम् बहुपक्षीय वैदेशिक स्रोत तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामार्फत प्राप्त सहयोग विवरण प्राप्त गर्नेको सूचीमा रक्षा, सूचना तथा सञ्चार, सहकारी तथा गरिबी निवारण, परराष्ट्र र भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयको नाम भने छैन ।
अर्थका अनुसार राष्ट्रिय मानवअधिकार आयोगलाई युरोपेली सङ्घ, डेनमार्क, फिनल्यान्ड, यूएनडीपी, शरणार्थीसम्बन्धी राष्ट्रसङ्घीय उच्चायुक्तको कार्यालय, स्विस सहयोग नियोग र डीएफआईडीले ९२ करोड एक लाख रुपैयाँ उपलब्ध गराउने भएका छन् । निर्वाचन आयोगलाई डीएफआईडी, यूएनडीपी र ईयूले ७८ करोड ५८ लाख, राष्ट्रिय योजना आयोगलाई एडीबी, यूएनडीपी, जाइका तथा स्विस सरकारले साढे २६ करोड नेपाली रुपैयाँ सहयोग गर्नेछन् ।
वैदेशिक प्राविधिक तथा अन्य सहायता विवरणअनुसार सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले दुई अर्ब ८४ करोड ६५ लाख, उद्योग मन्त्रालयले दुई अर्ब ६५ करोड ७४ लाख, गृह मन्त्रालयले दुई अर्ब ५३ करोड ३८ लाख, अर्थ मन्त्रालयले एक अर्ब ९३ करोड ५६ लाख, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक अर्ब ८० करोड १५ लाख, शिक्षा मन्त्रालयले एक अर्ब ३८ करोड ७१ लाख र कृषि मन्त्रालयले एक अर्ब सात करोड रुपैयाँ पाएका छन् । उनीहरूले यो रकम कहाँ र कसरी खर्च गर्न भन्ने योजना तयार गरी अर्थमा पेस गर्ने तयारी गरिरहेका छन् । स्रोतका अनुसार आफ्ना विभिन्न कार्यालय पुनर्संरचनाका साथै ग्रामीण क्षेत्र विकास, समावेशी अभिवृद्धि केन्द्र, गरिबका लागि वित्तीय पहुँच कार्यक्रम, नेपाल बजार विकास कार्यक्रम, दिगो तथा भरपर्दाे औद्योगिक विकास कार्यक्रम, लघु उद्यम विकास कार्यक्रम (चौथो चरण) कार्यान्वयनमा खर्च गर्ने तयारी गरिरहेका छन् । अर्थका अनुसार यस कार्यक्रमका लागि तीसभन्दा बढी अमेरिकी अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र १७ वटा बेलायती गैससले पनि सहयोगको प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार सरकारले तीन सय पाँचवटा परियोजनालाई वैदेशिक लगानी प्रतिबद्धताका लागि स्वीकृति दिएको छ । यो अवधिमा सबैभन्दा धेरै सेवा क्षेत्रका एक सय ६ परियोजनामा वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएका छन् । त्यस्तै, पर्यटनसम्बन्धी ८७, कृषि तथा वनसम्बन्धी ४७, उत्पादनसम्बन्धी ४४, खानीसम्बन्धी ११ र ऊर्जासम्बन्धी १० रहेका छन् ।

अस्पताल पनि गुण्डा परिचालनमा !
काठमाडौंमा च्याउसरी खुलेका निजी अस्पतालहरूबीच बिरामीमाथि कब्जा जमाउन सुरु भएको प्रतिस्पर्धा अब विकृतिको चरम उत्कर्षमा पुगेको छ । अस्पताल र डाक्टर खोज्दै बिरामी आउनुपर्नेमा बिरामी खोज्दै अस्पताल हिँड्ने गरेपछि सुरु भएको विकृति अब गुण्डागर्दी र प्रहरी प्रशासनको सहारामा बिरामी तथा घाइतेमाथि कब्जा जमाउने तहसम्म पुगेको छ । खासगरी पृथ्वीराजमार्गमा यस्तो रोग देखापरेको छ । राजमार्ग क्षेत्रमा अचेल काठमाडौंमा खोलिएका अनेकौँ अस्पतालको नाममा सञ्चालित एम्बुलेन्सहरूको बिगबिगी त छँदै छ, खासखास नाकाहरूमा बिरामी तथा घाइतेहरूलाई नियन्त्रणमा लिई एम्बुलेन्समा राखेर तोकिएको अस्पतालसम्म पु-याउन गुण्डाहरूसमेत परिचालन गरिएको छ । अचेल राजमार्गमा कुनै दुर्घटना भयो भने घाइतेहरू आफूले चाहेको चिकित्सक या अस्पतालसम्म जान पाउँदैनन् । गुण्डादस्ताले चाहेको अस्पतालमा मात्र उपचार गराउनुपर्ने बाध्यता घाइतेहरूलाई छ । केही खासखास अस्पतालहरूको यस्तो धन्दामा कतिपय प्रहरी अधिकृतहरूको समेत सहयोग र संलग्नता रहेको देखिएको छ । राजमार्ग क्षेत्रमा खोलिएका केही सरकारी अस्पताल, सामान्य औषधि पसल र कतिपय निजी अस्पतालसमेतलाई प्रयोग गरी राजधानीका केही निजी अस्पतालले बिरामी तथा घाइतेहरूलाई नियन्त्रणमा लिने गरेका छन् । यस क्रममा ललितपुरको धोबीघाटमा सञ्चालित मेघा नामक अस्पताल सर्वाधिक अगाडि देखिएको छ । केही महिनाअघि मात्र खुलेको मेघा अस्पतालले बिरामी ल्याउनका लागि बाहुबल र प्रहरीसमेत प्रयोग गर्ने गरेको पाइएको छ । अस्पताल सञ्चालक समितिका अध्यक्ष किशोरजंग राणा आफैँ यस कार्यमा बढी सक्रिय रहेका छन् । राजमार्गमा सवारी दुर्घटना हुनेबित्तिकै आफ्नो मोबाइल (९८५१०९५१७५) मा प्रहरीबाट खबर प्राप्त गर्ने व्यवस्था राणाले मिलाएका छन् । गजुरीस्थित इलाका प्रहरी कार्यालयका निरीक्षकबाट दुर्घटनाको सूचना प्राप्त गर्नेबित्तिकै मलेखुबाट धादिङ जाने त्रिशूली पुलको वरिपरि तैनाथ बाहुबलीहरूलाई राणाले तत्काल घाइते तथा बिरामीहरू कब्जा गर्न निर्देशन दिने र निर्देशन आउनेबित्तिकै उनीहरू घटनास्थलमा पुगी मेघा अस्पतालमा जान बाध्य बनाउने गर्दछन् । घाइते, घाइतेका आफन्त र अन्य एम्बुलेन्सचालकहरूले आनाकानी गरेमा बाहुबलीहरू आफैँ एम्बुलेन्समा बसी घाइतेहरूलाई सोझै मेघा अस्पताल पु-याउने गरिएको छ । केही समयअघि मलेखुनजिकै बिहानी पेट्रोलपम्प आसपासमा भएको माइक्रोबस दुर्घटनामा परी घाइते भएका बिरामीहरूलाई नियन्त्रणमा लिन तीनवटा गाडीमा बाहुबलीहरू लिएर किशोरजंग राणा आफैँ घटनास्थल पुगेका थिए । राणाले सानेपा एरियाका प्रहरी निरीक्षकलगायत राजमार्ग क्षेत्रका केही प्रहरीलाई आफ्नो नेटवर्कमा सामेल गराएका छन् । प्रहरी लगाएर अन्य एम्बुलेन्सका चालकहरूलाई समेत धम्क्याएर उनले आफ्नो अस्पतालमा बिरामी ल्याउन बाध्य बनाएका छन् । इप्रका उजुरीअन्तर्गतका सबै ठाउँमा हुने दुर्घटनाका घाइतेलाई अस्पतालमा बिरामी ल्याउन बाध्य बनाएका छन् । इप्रका गजुरीअन्तर्गतका सबै ठाउँमा हुने दुर्घटनाका घाइतेलाई अस्पतालमा भिœयाएपछि एम्बुलेन्सचालकलाई नगद उपलब्ध गराउने काम पनि मेघा अस्पतालले गरेको छ । रातिको समयमा दुर्घटना भएमा इप्रका गजुरीबाट किशोरजंगले तत्काल सूचना प्राप्त गर्ने र नागढुङ्गामा आफूद्वारा पालितपोषित बाहुबलीहरूलाई परिचालन गरेर सबै एम्बुलेन्सहरूलाई सोझै मेघा अस्पतालमा जान बाध्य बनाउने पनि गरिएको छ । भदौ ४ गते मलेखुनजिकै राति एघार बजे ना.१ख ८१८२ नम्बरको ट्रक दुर्घटना हुँदा स्थानीय तहमा खटाइएका बाहुबलीहरू सुतिरहेकाले प्रहरीमार्फत सूचना पाएपछि किशोरजंग राणाले काठमाडौंबाटै एक दर्जन केटाहरू नागढुङ्गामा पठाएर राति करिब एक बजे चारवटा एम्बुलेन्स आफ्नो नियन्त्रणमा लिई अस्पतालमा भिœयाएका थिए । चारवटा एम्बुलेन्समा ल्याइएका सबै आठजना बिरामीलाई राणाले आफ्नो अस्पतालको आईसीयू कक्षमा भर्ना हुन बाध्य तुल्याएका थिए । आईसीयूमा राख्नुपर्ने प्रकारका घाइते नभएकाले सामान्य वार्डमा राखी उपचार गर्न आग्रह गर्दा राणाले एम्बुलेन्सचालकलगायतलाई धम्क्याएका थिए । स्मरणीय छ, आईसीयूमा बिरामी राखिएपछि त्यसबापत मोटो रकम असुल्ने गरिन्छ । किशोरजंगले पृथ्वी राजमार्गको बैरनीमा गन्तव्य सहकारीको स्वामित्वमा रहेको एम्बुलेन्स भाडामा लिई राखेका छन् । यसरी अस्पतालले अपहरण शैलीमा बिरामी तथा घाइतेलाई कब्जामा लिन थालेपछि स्थानीय तहमा सञ्चालित एम्बुलेन्स काम नभएर थन्किने अवस्थामा पुगेका छन् । घाइते तथा बिरामीहरूबाट चर्को शुल्क असुल्न नक्कली बिल प्रयोग गर्ने गरेकोले बिमा कम्पनीहरूसमेत मारमा पर्ने गरेका छन् । सरकारले यसतर्फ तत्काल ध्यान नपु-याए यसै विषयलाई लिएर कुनै पनि दिन राजमार्गमा अप्रिय घटना हुनसक्ने सम्भावना रहेको छ ।
– दीपाङ्कर पन्त/गजुरी

प्रधानमन्त्रीका मित्र भन्छन्– सुशीलजीबाट चल्दैन
गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेका बेला बारम्बार चर्चामा आइरहने ‘चार दाह्री’मध्येका एक मोहन चापागाईंले सुशील कोइराला प्रधानमन्त्री बन्नुभएको सात महिनापछि मौनता तोड्नुभएको छ । सुशील कोइरालाको अन्तरंग मित्रका रूपमा समेत परिचित चापागाईंले कोइराला नेतृत्वको सरकारले देशलाई निकास दिन नसक्ने निष्कर्ष निकाल्नुभएको छ । घटना र विचारसँग रोचक कुरा गर्दै उहाँले भन्नुभयो, ‘सुशीलजीसँगको दुई दशकभन्दा बढी अवधि दोस्तीका क्रममा देखे–बुझेको र हाल उहाँको स्वभावमा आएको परिवर्तनका आधारमा त सुशील कोइरालामा पनि सिद्धान्तविहीनता मौलाउन थालेको देख्छु म । उहाँ पनि कसैले दिएर खाइरहेको र अब यसलाई कसरी बचाउने भन्ने सोचबाट पे्ररित भएको आभास मिल्दै छ । यसर्थ उहाँबाट पनि मुलुक अघि बढ्ने, निकास पाउने अपेक्षा गर्न सकिन्न ।’ एक प्रश्नको जवाफमा चापागाईंले भन्नुभयो, ‘०४७ सालको संविधान अझै जीवित छ ।’ उहाँको भनाइ छ, ‘यस्तै राजनीति जारी रहने हो भने यो देश रहँदैन, यो स्वरूपको नेपालको ‘एग्जिस्टेन्स’ रहँदैन । (विस्तृत कुराकानी पृष्ठ तीनमा)

रित्तिँदै देश : वर्षेनी विदेशिनेको सङ्ख्या पाँच लाख नाघ्यो
सरकारले प्रत्येक वर्षको आफ्नो नीति तथा कार्यक्रम र बजेट भाषणमा ‘नेपाली युवा–युवतीलाई स्वदेशमा रोजगारी सिर्जना गरी कुनै पनि नेपाली युवा रोजगारीको खोजीमा विदेशिनु नपर्ने वातावरण सिर्जना गरिनेछ’ भने पनि वैदेशिक रोजगारीमा जाने युवा–युवतीको सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको छ । सरकारी तथ्याङ्कअनुसार ०५०/५१ मा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या वार्षिक दुई हजारको हाराहामीमा हुने गथ्र्यो, तर अहिले यो सङ्ख्या बढेर लाखमा पुगेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार रोजगारीको सिलसिलामा अहिले आधा करोडभन्दा बढी नेपाली युवा–युवती विदेशिएका छन् । त्रिभुवन विमानस्थलबाट मात्र चालीस लाखभन्दा बढी नेपाली विदेशिएका छन् । बाँकी गैरकानुनी बाटोबाट नेपाल–भारतको विभिन्न नाका हुँदै विदेशिएका छन् । त्यस्तै छिमेकी राष्ट्र भारत पुगेर पनि धेरै युवाले रोजगारी गरिरहेका छन्, यसको पनि आधिकारिक तथ्याङ्क सरकारसँग छैन । अनौपचारिक तथ्याङ्कअनुसार भारत हुँदै रोजगारीका लागि जाने नेपालीको सङ्ख्या वार्षिक करिब लाखको हाराहारीमा रहेको छ । त्यस्तै विभिन्न सङ्घ–सङ्गठनले तयार गरेको तथ्याङ्कअनुसार भारतमा मात्र चालीस लाखभन्दा बढी नेपालीले रोजगारी गरिरहेका छन् । यसबाहेक विदेशमा उच्च शिक्षा अध्ययन गर्न तथा पर्यटन वा अन्य कुनै बहानामा पुग्ने नेपालीको सङ्ख्या पनि ठूलै रहेको छ । तर, यसको आधिकारिक तथ्याङ्क सरकारसँग छैन ।
श्रम विभागका प्रवक्ता बद्रीकुमार कार्की पहिले भएका लिखित फाइलहरू ‘मिसप्लेस्ड’ भएकोले पुराना तथ्याङ्कहरू उपलब्ध नहुने बताउँछन् । फेरि पछिलो समय विभागमा ६–६ महिनामा कर्मचारी फेरिने र पुराना कर्मचारीले बुझबुझारथ नगर्ने गर्नाले समेत तथ्याङ्क सङ्कलनलगायतका काममा अप्ठ्यारो परेको छ ।
विभागले सङ्कलन गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०७०/७१ मा मात्र पाँच लाख २७ हजार आठ सय १४ जना नेपाली रोजगारीका सिलसिलामा विदेश पुगेका छन् । यो अघिल्लो वर्षको भन्दा ७४ हजारले बढी हो । विभागले उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष ०६९/७० मा चार लाख ५३ हजार पाँच सय ४३ जना वैदेशिक रोजगारीका लागि विदेशिएका थिए ।
रोजगारीको खोजीमा विदेशिनेमा अघिल्ला वर्षहरूका तुलनामा पछिल्ला वर्षहरूमा औसतमा ३५ हजारले थपिने गरेका छन् भने दैनिक पन्ध्र सयको हाराहारीमा हुने गर्छन् । श्रम विभागका अनुसार आर्थिक वर्ष ०६१/६२ मा एक लाख ३९ हजार सात सय १८, ०६२/६३ मा एक लाख ६५ हजार दुई सय ५२, ०६३/६४ मा दुई लाख चार हजार पाँच सय ३२, ०६४/६५ मा दुई लाख ४९ हजार ५१, ०६५/६६ मा दुई लाख १९ हजार नौ सय ६५, ०६६/६७ मा दुई लाख ९४ हजार ९४, ०६७/६८ मा तीन लाख ५४ हजार सात सय १६ जना वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ०६७/६८ मा तीन लाख ५४ हजार सात सय १६, आव ०६८/६९ मा तीन लाख ८४ हजार ६ सय वैदेशिक रोजगारीमा गएका छन् ।
मुलुकमा रोजगारी नपाउनु तथा पाएको रोजगारीमा चित्त नबुझाउने अवस्थाका कारण धेरै युवा विदेशिएको देखिन्छ,’ श्रम विभागका प्रवक्ता बद्रीकुमार कार्की भन्छन्, ‘यसमा छिमेकीको देखासिकी र विदेश जानेहरूले गरेको प्रगतिले पनि स्वदेशभन्दा विदेशमा काम गर्न जानेहरूको लहर चलेको देखिन्छ ।’
वैदेशिक रोजगार व्यवसायी सङ्घका पूर्वअध्यक्ष बलबहादुर तामाङका अनुसार अहिले विदेशमा गएकामध्ये ९५ प्रतिशतभन्दा बढी अर्धदक्ष कामदार छन् । यदि दक्ष कामदार लैजान सके विदेशबाट अत्यधिक काम आउने र अहिलेको भन्दा दोब्बर कामदार विदेश पुग्नेछन् । स्वदेशमा रोजगारी नहुने र राजनीतिक फस्ट्रेसनले गर्दा धेरै नेपाली बाहिरिएको जानकारी गराउँदै तामाङले भने, ‘यो क्रम अझै केही वर्षसम्म चलिरहन्छ ।’ उनले थपे, ‘अघिल्ला वर्षहरूको तुलनामा अहिले नेपाली कामदार दक्ष हुँदै गएका छन्, तर पनि विदेशीले अदक्ष ठान्ने नीतिले केही समस्या देखिएको छ ।’
यस्तै ०६० सालयता विदेशिने महिलाको सङ्ख्या पनि उत्तिकै बढेको छ । विभागको तथ्याङ्कअनुसार आर्थिक वर्ष ०६० देखि ०६४ मा वैदेशिक रोजगारीमा जाने महिलाको सङ्ख्या पाँच हजार तीन थियो । तर, यो सङ्ख्या बढेर अहिले वार्षिक २९ हजारको हराहारीमा पुगेको छ । वैदेशिक रोजगार विभागले आर्थिक वर्ष ०६३/६४ अघिकोे वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या राखे पनि महिला र पुरुषको छुट्टै सङ्ख्या राख्ने गरेको थिएन । विभागले तथ्याङ्क राख्न थालेयताको आठ वर्षमा एक लाख १३ हजार सात सय ७८ जना महिला वैदेशिक रोजगारीमा गएको देखिन्छ । विभागका अनुसार आर्थिक वर्ष ०६४/६५ मा चार हजार ६ सय ८५, ०६५/६६ मा आठ हजार पाँच ९४, ०६६/६७ दश हजार ५६ र ०६७/६८ मा १० हजार चार सय, ०६८/६९ मा २२ हजार नौ सय ५८, ०६९/७० मा २७ हजार सात १३ र ०७०/७१ मा २८ हजार नौ सय ६६ जना महिला वैदेशिक रोजगारीमा गएको देखिन्छ । युवा–युवतीहरू यसैक्रममा विदेशिए नेपाल युवाविहीनहरूको मुलुक बन्ने र गाउँहरू रित्तिने खतरा विज्ञहरूले औंल्याएका छन् ।
वैदेशिक रोजगारीको १० वर्षे तथ्याङ्क :
आर्थिक वर्ष सङ्ख्या
०६१/६२ १,३९,७१८
०६२/६३ १,६५,२५२
०६३/६४ २,०४,५३३
०६४/६५ २,४९,०५१
०६५/६६ २,१९,९६५
०६६/६७ २,९४,०९४
०६७/६८ ३,५४,७१६
०६८/६९ ३,८४,६६५
०६९/७० ४,५३,५४३
०७०/७१ ५,२७,८१४

जे पनि गर्छन् गभर्नर !
गभर्नर युवराज खतिवडाले आफूले अवकाश पाउन केही महिना मात्र बाँकी रहँदा बैंकका विशिष्ट श्रेणीका कर्मचारी सेवानिवृत्त भएमा औपचारिक बिदाइको प्रचलन बसालेका छन् । तर, यस्तो प्रचलन पनि कर्मचारीसँगको विगतको व्यवहारलाई रिसइवी साध्ने माध्यम बनाइएपछि लज्जित बन्नुपर्ने अवस्था आएको अधिकारीहरू बताउँछन् ।
गत आइतबार बैंकको केन्द्रीय कार्यालयमा पछिल्लो समयमा सेवानिवृत्त भएका कार्यकारी निर्देशकहरूको बिदाइका लागि एक कार्यक्रमको आयोजना गरिएको थियो । तर, यो वर्ष प्रारम्भ भएपछि अवकाश पाएका चारजना कार्यकारी निर्देशकमध्ये तीनजना मात्र कार्यक्रममा उपस्थित भए । सहभागीले एकजना कामविशेषले अनुपस्थित भएको अनुमान लगाउँदानलगाउँदै समारोहमा बिदाइ उपहारको तीनवटा मात्र पोको सार्वजनिक भएपछि ती छक्क परे । गत जेठमा सेवानिवृत्त भएका कार्यकारी निर्देशक नरेश ढकाललाई विगतको रिसइवी साध्नैका लागि कार्यक्रममा नबोलाइएको चर्चा चलेको छ । आफूमातहतका कार्यकारी निर्देशकहरूमध्ये पनि आफूलाई मन परेकालाई मात्र बैंकको खर्चमा आयोजना गरिएको कार्यक्रममा बोलाउने गभर्नरको ‘सन्की निम्तो’ले उनको मानमर्दन ग-यो कि विशिष्टको भनेर यतिखेर राष्ट्र बैंकमा बहस सुरु भएको छ ।
त्यस्तै, कार्यक्रममा उपस्थित तीनजना कार्यकारी निर्देशकहरूमध्ये दुईजनालाई खतिवडाले गुलियो शब्दमा गुणगान सुनाए । तर, प्रजातन्त्रवादी भएकै कारण रामजी रेग्मीको सम्बन्धमा गभर्नरले द्विअर्थी शब्द प्रयोग गरेर घुमाउरो भाषामा विमति जनाए । उनले रेग्मीलाई जहाँ गए पनि तरङ्ग ल्याउने मान्छे भनेर टिप्पणी गरेका थिए ।
उता, सोही दिन केन्द्रीय बैंकमा विशेष अनुगमनका लागि पुगेको राष्ट्रिय सतर्कता केन्द्रको टोलीले अर्का कार्यकारी निर्देशक डा. विनोद आत्रेयलाई -याख-याख्ती पारेको छ । बैंकले हजारौँ रुपैयाँ दिएर उपलब्ध गराएर तोकिएको पोसाक नलगाई कार्यालय आएका आत्रेयलाई टोलीले रङ्गीचङ्गी पोसाक लगाउन मन भए कलिउड वा बलिउडतिर जान सुझाव दिएको स्रोतले बताएको छ ।

साल्ट टे«डिङमा ‘रहस्यमयी’ भ्रष्टाचार !
जनतालाई सर्वसुलभ र सस्तो मूल्यमा गुणस्तरीय नुन आपूर्ति गर्न/गराउन ०२० भदौ २० मा स्थापित साल्ट टे«डिङ कर्पोरेसन नेपाल सरकारको समेत सेयर लगानी रहेको सार्वजनिक–निजी साझेदारीको नीतिबमोजिम सञ्चालित संस्थान हो ।
स्थापनाकालदेखि नै भ्रष्टाचारको दलदलमा फसेको यस संस्थानलाई जुनसुकै सरकार या बोर्ड–समिति आए पनि दुहुनो गाई बनाएर टाट पल्टाउने परिस्थिति सिर्जना भएपछि संस्थानको हिसाब–किताब हेरी सरकारको सेयर सुरक्षित गर्न र सो संस्थानभित्र निरन्तर भइरहेको भ्रष्टाचार समाप्त पार्न ०६६ असार १४ मा तत्कालीन बोर्ड समिति र वाणिज्य तथा आपूर्ति मन्त्रालयविरुद्ध अर्थ मन्त्रालयमा उजुरी परेको थियो । उक्त उजुरीमाथि विशेष ध्यान दिँदै अर्थ मन्त्रालयका तर्फबाट तत्कालीन राजस्व अनुसन्धान विभागका महानिर्देशक महेश्वरप्रसाद दाहालको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन भएको थियो । सो छानबिन समितिले चार महिना लगाएर अनुसन्धान गरी साल्ट टे«डिङ कर्पोरेसनभित्र व्यापक भ्रष्टाचार भएको र भ्रष्टाचारमा आपूर्ति मन्त्रालयका उच्चपदस्थ कर्मचारीलगायत संस्थानका बोर्ड पदाधिकारीहरू संलग्न रहिरहेको निष्कर्ष निकाल्दै तत्काल कारबाही प्रक्रिया अगाडि बढाएर बोर्ड समितिसमेत विघटन गर्न र सरकारको सेयर सुरक्षित गर्न सुझाव दिएको थियो ।
तत्पश्चात् अर्थ मन्त्रालयले ०६६ माघ ३ गते वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रतिवेदनअनुुसार कारबाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेको थियो । तर, उदेकलाग्दो रहस्यको कुरा के छ भने कारबाही प्रक्रिया अगाडि बढ्नु त कता हो कता, सो पत्र र प्रतिवेदन दुवै मन्त्रालयबाट गायब पारिएको छ । यस विषयमा हालका वाणिज्य तथा आपूर्तिसचिव नारायणगोपाल मलेगोसँग जानकारी लिन खोज्दा आक्रोशित हुँदै उनी आलटाल गरी पन्छिने गरेका छन् भने साल्ट टे«डिङ कर्पोरेसनकी महाप्रबन्धक उर्मिला श्रेष्ठ सम्पर्कमा नै आउन चाहन्नन् । साल्ट ट्रेडिङका यी उपल्ला तहका सरोकारहरू किन यस विषयमा यसरी बिच्किरहेका छन्, घोर रहस्यको विषय बनेको छ । स्वच्छ छविका आपूर्तिमन्त्री सुनीलबहादुर थापाले यस मामलामा भावी कदम कसरी चाल्ने हुन् भन्ने सन्दर्भमा अख्तियारले समेत निगरानी बढाएको स्रोतले जनाएको छ ।

रेडियोमा रडाको !
रेडियो नेपालमा कार्यरत पत्रकार र कर्मचारीका विभिन्न सात सङ्गठनले कार्यकारी निर्देशक सुरेशकुमार कार्कीको विरोधमा सुरु गरेको आन्दोलन निर्णायक चरणतर्फ अघि बढेको आन्दोलनकारीले बताएका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको कार्यकालमा अनियमितता र भ्रष्टाचार भएको भनी कागजात नियन्त्रणमा लिएपछि सञ्चार मन्त्रालय गम्भीर चासो राखी निष्कर्ष खोज्नतर्फ लागेको छ ।
आन्दोलनकारीले आन्दोलनका क्रममा कार्यकारी निर्देशक कार्कीलाई १३ दिनदेखि कार्यालय प्रवेशमा पूर्णत: रोक लगाएका छन् भने उनले दुरुपयोग गरेको भन्दै भे.१ज १२२ नम्बरको गाडी पनि नियन्त्रणमा लिएका छन् । पासपोर्ट काण्डमा परेका तत्कालीन सभासद् बीपी यादवलाई आर्थिक प्रलोभन देखाएर राजकिशोर यादव सञ्चारमन्त्री हुँदा नियुक्ति लिएका सुरेशकुमार कार्कीले रेडियोको साख खस्काएको, रेडियोको क्षमता घटाउन नाजायज कार्य गरेको, क्षेत्रीय प्रसारण केन्द्रहरूका फिलिङ स्टेसनहरूबाट प्रसारण क्षमता घटाई आर्थिक हिनामिना गरेको, राज्यको सम्पत्तिको दुरुपयोग गरेको आरोप आन्दोलनकारीले लगाएका छन् । त्यसैगरी, वर्षौंदेखि करारमा कार्यरत कर्मचारीको व्यवस्थापन गर्नुको सट्टा जथाभावी ४२ कर्मचारी भर्ती गरेको र भर्ती गरिएकामध्ये कतिपय युवतीलाई दुरुपयोग गरेको विषयले निकै चर्चा पाएको छ । जसबारे रेडियोको उच्च प्रशासन र मन्त्रालयको समेत गम्भीर ध्यानाकर्षण भएको बुझिएको छ ।
गलत प्रवृत्तिको विरोधमा विज्ञप्ति निकालेकै आधारमा उनले रेडियो नेपालस्थित नेपाल प्रेस युनियनका अध्यक्ष सन्तोष रेग्मी र प्रेस चौतारी नेपालका अध्यक्ष ध्रुव सापकोटाको करार अन्त्य गर्ने निर्णय गर्नुका साथै रेडियो नेपालस्थित कर्मचारी सङ्घ खारेज गर्न र पत्रकार महासङ्घलाई कारबाही गर्न पत्राचार गरेका छन् ।
कार्यकारी निर्देशकले सञ्चारमन्त्री र सचिवसहित विभिन्न व्यक्तिलाई दिग्भ्रमित गर्ने प्रयास जारी राखे पनि उनको चरित्र र व्यवहारका कारण सबै वाक्कदिक्क हुँदै गएका छन् । उनको रवैया बाहिर आएपछि सञ्चारमन्त्री मीनेन्द्र रिजालले उनलाई बोलाएर हप्काएको बुझिएको छ ।
मन्त्रीले हप्काए पनि र कर्मचारीको यतिका विरोधका बाबजुद उनले राजीनामा दिएका छैनन् । यी सबै कुरा बाहिर आएपछि सञ्चार मन्त्रालयले घटनालाई गम्भीर रूपमा लिएर छलफल अघि बढाएको छ । सञ्चारमन्त्री मीनेन्द्र रिजाल, सञ्चारसचिवसहितका उच्च अधिकारीहरू रेडियोको समस्या समाधान गर्न कानुनी परामर्शमा जुटेको मन्त्रालय स्रोतले जनाएको छ ।
काङ्ग्रेस र एमालेका नेताहरूले पनि सिंहदरबारभित्र रहेको रेडियो नेपालको जमिन बेच्ने, भैंसेपाटीको जग्गा र संरचना बेच्ने भन्दै जथाभावी बोल्दै हिँड्ने र प्रधानमन्त्रीले समेत नपाउने मासिक चार सय लिटर इन्धन प्रयोग गरी तीनवटा सवारीसाधन दुरुपयोग गरी सरकारी सम्पत्ति दुरुपयोग गरेकोलगायतका विभिन्न कर्तुतको छानबिन गरी निजलाई हटाउन मन्त्रीमाथि दबाब दिन थालेको बुझिएको छ ।
पत्रकार महासङ्घ, प्रेस युनियन, प्रेस चौतारी, ट्रेड युनियन काङ्ग्रेस, ट्रेड युनियन महासङ्घ, पेसागत महासङ्घलगायतले पनि रेडियोका कर्मचारी र पत्रकारको पक्षमा आवाज उठाउँदै मन्त्रीस्तरबाट भए मन्त्रीस्तर, त्यो सम्भव नभए मन्त्रिपरिषद्बाटै भए पनि तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका छन् ।

बाढीपीडितलाई काङ्गे्रसको सहयोग
सिन्धुपाल्चोक र पश्चिम नेपालको विभिन्न स्थानमा गएको बाढीपहिरोपीडितहरूलाई सहयोग पु-याउने अभियान देशैभरि जारी रहेको छ । यसैक्रममा ललितपुर काङ्गे्रसको दश नम्बर वडा समितिले प्रधानमन्त्री राहत कोषमा २७ हजार चार सय सत्तरी रुपैयाँ उपलब्ध गराएको छ । काङ्गे्रस वडा समितिका कार्यवाहक अध्यक्ष दिनेश शर्मालगायतको विशेष अग्रसरतामा जम्मा गरिएको उक्त रकम गत सोमबार प्रधानमन्त्री सुशील कोइरालालाई हस्तान्तरण गरिएको छ । ज्ञातव्य छ, काङ्गे्रसले देशभरिका आफ्ना सक्रिय कार्यकर्ताबाट निश्चित रकम उठाई बाढीपहिरोपीडितलाई सहयोग उपलब्ध गराउने भएको छ ।

करोडपति खरदारमाथि अख्तियारको आँखा
आर्थिक अनियमितता र भ्रष्टाचारले आक्रान्त पारी तहसनहस भएको मुलुकको अर्थव्यवस्थालाई बर्बाद हुनबाट जोगाउन गठित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विगत केही समयदेखि भ्रष्टाचार गरी अकुत सम्पत्ति कमाउने मन्त्री, सांसद, सचिवलगायतका उच्चपदस्थ व्यक्तिलाई कारबाही प्रक्रिया अगाडि बढाएर जेल पु-याउने र निजहरूको सम्पत्ति जफत गर्ने काम गरिरहेको छ । यसैक्रममा अब अख्तियारले तल्लो तहका अवकाशप्राप्त एवम् वहालवाला भ्रष्ट कर्मचारीका उजुरीउपर पनि यथाशीघ्र कारबाही प्रक्रिया अगाडि बढाउने तयारी गरेको बुझिएको छ । अख्तियारको यही सक्रियतामा बाग्लुङ जिल्ला, मूलपानी गाविस, रातामाटा, रुम्टा घर भई केही वर्षअगाडि कर कार्यालयबाट अवकाश प्राप्त गरेका खरिदार खिलराज पौडेल पनि अख्तियारको हिट लिस्टमा परेको बुझिएको छ ।
केही वर्षअघि शाही आयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निजले भ्रष्टाचार गरी कमाएको अकुत सम्पत्तिउपर छानबिन गरी कडाभन्दा कडा कारबाही गर्न निजउपर उजुरी परेकोमा, निजले पचासौँ लाख नजराना दिएर उच्चपदस्थ व्यक्तिहरूलाई हात लिई तत्कालीन आयुक्त ललितबहादुर लिम्बूलाई प्रभावमा पार्दै आयोगबाट आफूउपर परेको उजुरी फाइल थाती राख्न सफल भएका थिए । तर, हाल परिस्थिति बदलिएको छ र आयोगले थाती राखिएका फाइलहरू पुनरावलोकन गर्ने क्रममा उनको फाइल हिट लिस्टमा परेको छ । अब कुनै पनि बेला अख्तियारले उनको सामाखुसी, धापासीस्थित करोडौँ मूल्यका दुईवटा भवनमाथि छापा मार्ने, अनि उनलाई पक्राउ गरेर खोरमा राखी अनुसन्धान प्रक्रिया अगाडि बढाउने निर्णय गरेको बताइन्छ ।
स्मरण रहोस्, पियनको पददेखि जागिर सुरु गरेर बीस वर्षमा खरिदारसम्म पुगेका खिलराजले अवकाश पाउँदासम्ममा करोडौँको सम्पत्ति कुम्ल्याएका छन् । काठमाडौंमा मात्र चारवटा कम्प्लेक्स, ठाउँ–ठाउँमा पचासौँ रोपनी घडेरी, विभिन्न वाणिज्य बैंकहरूमा करोडौँ मौज्दात, नेपाल, भारत र अमेरिकाका बैंकहरूमा कुस्त बैंक ब्यालेन्स उनले थुपारेको निकटवर्तीहरूको दाबी छ । जसबारे यथार्थ फेहरिस्तसहित अख्तियारमा उजुरी परेको छ ।
अख्तियारको कारबाही र समाजको दृष्टिबाट बच्न उनले आफ्नो सबै सम्पत्ति, श्रीमती, अमेरिकामा रहेका छोरी–ज्वाइँहरू, छुट्टिइसकेका सौतेनी आमा र भाइहरू तथा विवाह भइसकेका बहिनीहरूको नाममा राख्नुका साथै आफूलाई धार्मिक र नैतिकवान देखाउन राधास्वामी सत्संग व्यास नामक धार्मिक संस्थाको सदस्यसमेत बनेका छन्, जसले गर्दा उक्त संस्थाको प्रतिष्ठामा समेत आँच पुग्न गएको संस्थामा आबद्ध अनुयायीहरू बताउँछन् ।
उल्लेखनीय कुरो के छ भने सूर्यबहादुर सेन ओलीले गठन गरेको देशभक्त गणतान्त्रिक मोर्चाले समेत उनका अक्षम्य काला कर्तुत, नैतिकहीन चरित्र र भ्रष्टचारपूर्ण रवैयाले मोर्चाको छविमा आँच पुगेको आरोप लगाई मोर्चाबाट केही वर्षअगाडि साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेर निकालेको थियो ।

मेघा सहकारी लुटमा सुन्दरीको हात ?
पोखरा/ चार महिनाअघि पोखराको न्युरोडस्थित मेघा बचत तथा ऋण सहकारी संस्थाबाट दिनदहाडै गोली प्रहार गरी रकम लुट्ने लुटेरा पोखरामै खुला रूपमा हिँडिरहँदा पनि प्रहरी प्रशासनको दृष्टि नपुगेको देख्दा सर्वसाधारण आश्चर्यमा परेका छन् । गत वैशाख १५ गते लुटेरा समूहले सहकारीबाट ३१ लाख ४२ हजार रुपैयाँ लुटेको थियो । प्रत्यक्षदर्शीका अनुसार लुटेराहरू तीनजनाको समूहमा थिए । सहकारी भवनको भ-याङमा लुकेर बसेका उनीहरूले यती डेभलपमेन्ट बैंकका कर्मचारी भगवान बराल बाहिर निस्कनेबित्तिकै गोली हानेका थिए । पुम्दीभुम्दी–४, कास्की घर भएका बराल कञ्चटमा गोली लागेर ढलेपछि लुटेरा समूह पैसा लिएर भागेको थियो ।
बैंकका सुरक्षागार्ड गोविन्द थापामगरसहित बराल बेलुकी ४ बजे सहकारीको रकम यती डेभलपमेन्ट बैंकमा जम्मा गर्न जाँदा लुटको घटना भएको थियो । सहकारीमा दैनिक जम्मा भएको रकम लिन बैंकका कर्मचारी सो समयमा सहकारी पुग्ने गर्थे । रकम लुटेपछि लुटेराहरू सहकारीको पछाडिपट्टि रहेको ब्लकको सानो प्वालबाट भागेका थिए । बैंकका सुरक्षागार्ड मगर मसेल गाविस गोरखाका बासिन्दा हुन् । बैंकका गार्ड मगरका अनुसार पहिलो सिँढीबाट ओर्लनेबित्तिकै तीमध्ये एकले मगरलाई नियन्त्रणमा लिएका थिए । दुईजनाले बराललाई गोली प्रहार गरी रकम लुटेका थिए । ०७१ वैशाख १५ गते सहकारी लुटिएको भए पनि चार महिना बितिसक्दा पनि प्रहरीले कसैलाई पक्राउ गर्न सकेको छैन । प्रहरीले घटनास्थलबाट नौ एमएम पेस्तोलमा लाग्ने गोली र गोलीका केही खोका बरामद गरेको थियो ।
सहकारीमा गोली प्रहार गरी पैसा लुट्ने लुटेराहरू वैशाख ३ गतेदेखि पोखरामा रहेका थिए । उनीहरू करिब पाँचजनाको समूहमा रहेको बताइन्छ । पाँचजनामध्ये दुई महिला वैशाख पहिलो सातादेखि नै पटक–पटक सहकारी आसपासको क्षेत्रमा पुगेर सहकारीको अवलोकन गर्ने गरेको सूत्रको दाबी छ । दुईमध्ये एक महिला तोपगाछी– ५ झापाकी छिरिङ लामा रहेको बताइएको छ । उनी त्रिभुवन विश्वविद्यालय कीर्तिपुरकी विद्यार्थी रहेको थाहा हुन आएको छ । उनी पोखरास्थित रानीपौवा बजारमा कोठा लिएर बस्ने गर्थिन् ।
वैशाख पहिलो साता उनको कोठामा केही व्यक्ति अस्वाभाविक रूपमा आउने–जाने गरेको देखिएको थियो । सूत्रका अनुसार उनीहरू दिनभरि कोठामा बस्ने र मध्याह्नतिर फेवातालमा बोटिङ गर्न जाने गर्थे । बैंक लुट्ने योजना रानीपौवास्थित छिरिङ लामाकै कोठामा बनेको सूत्रको दाबी छ । लामा अहिले पनि त्यहीँ बसी पञ्चकन्या टेक्निकल इन्स्टिच्युटमा काम गरिरहेकी छिन् । सहकारीमा पैसा लुटिएपछि पञ्चकन्या टेक्निकल इन्स्टिच्युटका चारजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरू निर्दोÈ रहेको पुष्टि भएपछि रिहा भएका छन् । सहकारी लुटिएपछि लामाले प्रयोग गर्दै आइरहेको ९८०३५८४१८६ नम्बरको सिम परिवर्तन गरी नयाँ सिम प्रयोग गर्न थालेकी छिन् । लुटेरा समूहबीच अहिले तीव्र विवाद रहेको सूत्र बताउँछ । उक्त विवाद हल गर्न लामा भदौ २ गते काठमाडौं आएर तीन दिन बसी पोखरा फर्किएकी छिन् ।
भारतको सिलगुढीबाट प्रकाशित हुने हिमालय दर्पण दैनिकमा प्रकाशित समाचारअनुसार छिरिङ लामा आफूलाई पोखरा र नेपाल बस्न असुरिक्षत महसुस गर्दै दशैँताका नेपाल छाड्ने र सिलगुढी, दार्जिलिङ या आसाममा गएर बस्ने तयारी गरिरहेका छिन् । हेर्दा शालीन र भद्र देखिने उनी नक्कली भारतीय मुद्राको कारोबारमा समेत संलग्न हुने गरेको समाचार सूत्रको दाबी छ । उनले यो काम आसाम बस्ने एक नातेदारमार्फत गर्दै आइरहेकी छिन् ।

गुठीको जग्गामा सरकारी गडबडी
पोखरा/ राज्यको स्पष्ट नीति र भएका ऐन–नियम कार्यान्वयनमा आएको अकर्मण्य कार्यशैलीका कारण नेपालमा गुठीका जग्गाहरू अलपत्र अवस्थामा थन्किरहेका छन् । राज्यको द्वैध नीतिकै कारण कतिपय राजगुठी न धनीको न मोहीको हुन पुगेको पाइएको छ । यस्तै विवादित बनाइएका गुठीहरूमा पोखरा– १२ स्थित शीतलादेवी गुठी पनि रहेको पाइएको छ । वि.सं. १९८५ मा स्थानीय समुदायबाट स्थापित शीतलादेवी मन्दिरअन्तर्गतका गुठी जग्गा विगत लामो समयदेखि खिचलोको भुमरीमा जेलिएको छ ।
झन्डै सय धुरी घरबासले ओगटेको शीतलादेवी गुठीको जग्गामध्ये २८ धुरीले रैकर बनाएर निजी बनाइसकेको स्थानीय भुक्तभोगीले दाबी गरेका छन् भने अझै ७२ घरधुरी अन्योलमा रहेका छन् । अधिकांशले लालपुर्जा पनि पाएका छन् । जग्गाधनी महलमा शीतलादेवी गुठी उल्लेख गरेर मोहीको नामको तीनपुस्ते लेखिएको पुर्जाबाट राज्यले मोहीबाट मालपोत (कर) उठाएको पाइएको छ । मालपोत रसिदमा गुठी रैताने नम्बरी स्पष्ट उल्लेख गरिएको छ ।
ऐनले गुठी रैताने नम्बरी भन्नाले दर्तावालाले संस्थानलाई मालपोत बुझाउनुपर्ने जग्गालाई बुझाउँछ । मालपोत कार्यालय कास्कीले शीतलादेवी गुठीअन्तर्गतको जग्गा भोगकर्तालाई गुठी रैताने नम्बरी शीर्षकअन्तर्गत मालपोत लिएर रसिद दिएको छ । मालपोतले गुठी रैताने नम्बरी लेखेर दिएको जग्गाधनी पुर्जामा मोहीको नाम खुलाएको छ । मालपोतले काट्दा गुठी रैताने नम्बरी भनेर काट्ने जग्गाधनी पुर्जामा मोहीको नाम खुलाउँदा जग्गाधनी विवादले उग्ररूप लिन पुगेको छ । सरकारी अड्डाले नै द्वैध चरित्रको काम गर्न थालेपछि गुठी जग्गा विवाद असामान्य बन्न पुगेको छ ।
जिल्ला मालपोत कार्यालय कास्कीका मालपोत अधिकृत ऋषिराम लामिछाने मालपोत कार्यालयबाट मालपोत असुल्नु नै गल्ती भएको स्वीकार्छन् । उनले भने, ‘गुठी रैताने नम्बरी जग्गा शीर्षकमा कर उठाउनुले झन् बढी द्विविधा सिर्जना गराएको छ ।’ गत चैतसम्म मालपोत उठाएकोसित गुठी रैताने जग्गाको राजस्व अब नलिने लामिछानेले बताए ।
मालपोत कार्यालय कास्कीले विगत लामो समयबाट गुठी रैताने नम्बरी शीर्षकबाट मालपोत असुल्दै आएको छ । सरकारी ढुलमुले नीतिका कारण कतिपय मोहीअङ्ज्ञिकत व्यक्तिले गुठी रैताने जग्गालाई रैकरमा परिणत गरिसकेका छन् भने कतिपयले वर्षौंसम्मको प्रयास खेर फालिरहेको अवस्था छ । शीतलादेवी– १२ पोखराका विनोद कार्की भन्छन्– सोझा निमुखा जनता झुक्याउन र वर्षौंसम्म अनिर्णयको बन्दी बनाइराख्न सरकारका कर्मचारीलाई कसले अधिकार दियो ? सरकारले दिने जग्गाधनी पुर्जामा समेत स्वेच्छाचारीपूर्ण कार्यशैलीले हद नाघेको छ । धनी गुठीको नाममा मालपोत रसिदमा गुठी रैताने नम्बरी, पुर्जाको बीचभागमा मोहीको फोटोसहितको विवरण भएको लालपुर्जा हेर्दा लाग्छ शीतलादेवी गुठीको जग्गा नौटङ्कीको पुलिन्दा मात्र हो ।
अनियमित र असीमित शक्ति प्रयोग गर्ने मालपोतका कर्मचारीहरूबाटै छानबिन गरी न्यायिक कठघरामा ल्याउने दायित्व अख्तियारको पोल्टामा पुगेको छ । जनता झुक्याउने प्रवृत्तिका नायकलाई दण्ड दिएर मात्र सर्वसाधारण जनताको पेटी–बलेसीमा गएर उनीहरूको न्याय निरूपण गर्नुपर्छ । शीतलादेवी गुठी संरक्षण समितिका का.वा. अध्यक्ष रामबहादुर कार्की पनि गुठीको नामको रैताने नम्बरी जग्गालाई कसको पोल्टामा हाल्ने भन्ने बारेमा स्पष्ट खुल्न सकेनन् । उनले भने, ‘तत्कालको कानुनी अवस्थामुताबिक के थियो त्यसैलाई आधार मान्नुपर्छ ।’ कार्कीले भने, ‘मन्दिरलाई टुहुरो बनाउनुहुन्न, यसको पूजा चलाउन धान्ने गरी खर्चको प्रबन्धको दीर्घकालीन समाधान खोजिनु आवश्यक छ ।’
– यदुनाथ बञ्जारा

लन्डनको नेपाली मेला उल्लासमय
लन्डन/ लन्डनस्थित केम्प्टन रेसकोर्स पार्कमा २०१४ को नेपाली मेला उल्लासमय वातावरणमा सम्पन्न भएको छ । ‘हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो गौरव’ नाराका साथ आयोजित नेपाली मेला नाराअनुरूप नै सम्पन्न भएको अनुभूति गरिएको छ । तमू धीं यूकेको आयोजना रहेको नेपाली मेलामा लगभग पाँच दर्जनजति सङ्घ–संस्थाको सहभागिता रहेको थियो ।
सूर्य गुरुङ, योगेश गुरुङ, पुष्पा गुरुङ, विभा गुरुङ, संगीता मरहट्टा, गौमाया गुरुङ, दुर्गा गुरुङ, श्रद्धा गुरुङ आदिले संयुक्त रूपमा सञ्चालन गरेको सो कार्यक्रममा तमू धीं यूकेका अध्यक्ष तथा कार्यक्रमका निर्देशक कमल गुरुङले पारम्परिक रूपमा मैनबत्ती बालेर कार्यक्रमको उद्घाटन गरे । स्टेजमा मेला समिति सदस्यहरू, तमू धीं यूकेका संस्थापक तथा भूपू अध्यक्षहरू, प्रमुख अतिथि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्री, विशेष अतिथि गैरआवासीय अध्यक्ष योगेन्द्रबहादुर क्षेत्रीलगायत अन्य सङ्घसंस्थाका अतिथिहरूको उपस्थिति थियो । कावा राजदूत क्षेत्रीले नेपाली मेलाले बेलायतमा नेपालीमा एकता कायम गरेको र त्यसले आफ्नो जातीय तथा स्थानीय पारम्परिकतालाई सम्वद्र्धन गरेको भावना व्यक्त गरेका थिए ।
सङ्घका उपाध्यक्ष ज्ञाम गुरुङले स्वागत मन्तव्य राखेका थिए भने लगत्तै सुनिता लिम्बू थेबेले स्वागत गीत गाएकी थिइन् । कार्यक्रम तथा सङ्घको अध्यक्ष कमल गुरुङले नेपाली मेलाबारे सङ्क्षिप्त चर्चा गर्दै कार्यक्रममा सहयोग गर्नेहरूलाई धन्यवाद दिएका थिए । मेलामा सहभागी पाँच दर्जनजति सङ्घ–संस्थाहरूले आ–आफ्नो व्यक्तित्व, संस्कृति, परम्परा आदि झल्काउने भेषभूषा तथा झाँकी लाइनबद्ध भएर प्रदर्शन गरेका थिए । एकेन्द्र गुरुङ, विमला सेने र शिवजी श्रेष्ठको निर्णायक समूहले उत्कृष्ट प्रस्तुतिको चयन गरेको थियो । आफ्नो पारम्परिक अनि सांस्कृतिक पक्षको परिचय दिई झाँकीमा क्षेत्रीय तथा जातीय इतिहासको गौरव बोक्दै भाग लिने सङ्घसंस्थाहरूमा पुन समाज यूकेले उत्कृष्टता हासिल गरी एम्बासडर कप हात पा-यो भने सोही प्रकारको प्रदर्शनी गर्दै लम्जुङ समाज यूकेको घाटुनृत्य उत्कृष्टता हासिल गरी पुरस्कृत भएको थियो ।
विभिन्न व्यापारिकलगायत जातिगत, क्षेत्रगत अनि पारम्परिक खानाहरूको स्टल, झाँकीलगायत नृत्यहरूको प्रस्तुति गरिने मुख्य स्थानभन्दा बाहिर भएकाले पनि नेपाली मेला यसपालि निकै व्यवस्थित देखिन्थ्यो । वास्तविक नेपाली हाटबजार वा मेलाको झझल्को दिने गरेर खोलिएका खानाको स्टलमा मानिसको घुइँचो लागेको थियो ।
स्मरणीय छ, मेलाबाट उठेको रकम नेपालमा बाढीपीडितलाई राहतस्वरूप उपलब्ध गराइने तमू धीं यूकेले जनाएको छ ।
– प्रकाश केसी (लन्डनबाट)

प्रेमी किन भयो यमराज ?
आफूसँग प्रेम गरी विवाहको सपना देखाउँदै आएका प्रेमीले शारीरिक सुखभोगबाट वाक्क भएर बिहे गर्न नसक्ने बताउन थालेपछि २५ वर्षीया पेमा विचलित बन्न थालेकी थिइन् । आफूहरूको सम्बन्धबारे साथीसङ्गीलाई मात्र नभई आफन्तजनले समेत जानकारी पाइसकेकाले जसरी पनि प्रेमी रमेश महर्जनसँग विवाह गर्नैपर्ने बाध्यता आइपरेको थियो उनलाई । जब उनले जिद्दी गर्न थालिन्, ४१ वर्षीय विवाहित तथा दुई सन्तानका बाबुसमेत बनिसकेका रमेश बिलखबन्दमा परे । आफू एक छोरा र एक छोरीका बाबु भएकाले अब फेरि अर्को विवाह गरेर परिवारको गाडी चलाउन नसक्ने भन्दै रमेशले पेमालाई अर्कै केटा खोजेर नयाँ जीवन सुरु गर्न फकाउन थाले । तर, पेमा फकिइनन्, धम्क्याउँदा पनि टसको मस भइनन् । विवाहको बाटोमा सन्तान अवरोध भएका हुन् भने उनीहरूलाई मारिदिने धम्की पेमाले दिएको रमेशको भनाइ छ । यसरी सजिलै पेमालाई पन्छाउन असफल भएपछि रमेशको दिमागमा खतरनाक योजना फु-यो । यसैको परिणाम थियो गत साता बिहीबार एकाबिहानै काठमाडौं डल्लु आवास क्षेत्रभित्र सडकमा घाँटी काटिएर तड्पिरहेकी युवती फेला पर्नु । प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु-याए पनि उनको ज्यान बच्न सकेन । तर, हत्यारा प्रेमी रमेश भने घटनाको भोलिपल्टै डल्लु क्षेत्रबाटै पक्राउ प-यो ।
प्रहरीसमक्ष रमेशले दिएको बयानअनुसार जब आफ्ना छोराछोरीको हत्या गर्ने धम्की पेमाले दिइन्, उसलाई सहिनसक्नु रिस उठेछ । त्यसपछि फकाएर उसले मर्निङवाक गर्ने बहानामा पाँच बजे सबेरै पेमालाई बोलायो । त्यहीँ बिहेसम्बन्धी योजना तय गर्ने आश्वासन उसले दिएको थियो । पेमा आफ्नो इच्छा पूरा हुने आशले बोलाएकै समयमा डल्लु पुगिन् । पुग्नेबित्तिकै माया देखाउँदै रमेशले पेमालाई अँगालोमा बेरेर केही अगाडिसम्म लग्यो । बिचरी पेमाले उनको प्रेमी यमराज बनेर आएको छ भनी कल्पना गर्ने कुरै भएन । धेरै दिनपछि रमेशको अँगालोमा बेरिन पाउँदा उनी लठ्ठै थिइन् । यस्तैमा अचानक पकेटबाट छुरा निकालेर रमेशले पेमाको घाँटी रेट्न थाल्यो । चिच्याउने या प्रतिवाद गर्ने निमेषभरको समय पनि पाइनन् उनले । अधमरा बनेर सडकमा छटपटाइरहेकी पेमालाई छोडेर रमेश टाप कस्यो । केहीबेरमा स्थानीयले चाल पाएर प्रहरीलाई खबर गरे । रगत निकै बगिसकेको थियो । यसरी सुन्दर भविष्यको कल्पनामा रमाएकी पेमा अतीत बन्न पुगिन् ।
रामेछाप डडुवा गाविस– ७ सैलुङ घर भई काठमाडौं भगवान पाउ स्वयम्भू डेरा गरी बस्ने पेमा र काठमाडौं महानगरपालिका– १२ लगनका रमेश विजेश्वरीस्थित अर्जुन श्रेष्ठको गरगहना प्याकेजिङ बक्सा बनाउने फ्याक्ट्रीमा सँगै काम गर्दै आएका थिए । पेमालाई छुरा प्रहार गरी फरार भएका महर्जनलाई डल्लु पुलनजिकबाट प्रहरीले घटनाको भोलिपल्टै गिरफ्तार गरेको थियो ।

रेललाइन परियोजनाको प्रगति–समीक्षा बैठक
जोगवनी–विराटनगर र जयनगर–बिजलपुर–बर्दिबास रेललाइन परियोजनाको प्रगति–समीक्षा तथा विचाराधीन विषयबारे छलफल गर्न समन्वय बैठक सम्पन्न भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवका साथै अन्य पदाधिकारी, भारतीय राजदूतावास र इर्काेन इन्टरनेसनलका प्रतिनिधिको उपस्थितिमा सम्पन्न बैठक सकारात्मक एवम् फलदायी रहेको सम्बद्ध पक्षको दाबी छ ।
जोगवनी–विराटनगरको उपलब्ध जमिनमा अर्थवर्क, ब्रिजवर्कका ७० प्रतिशत तथा जयनगर–बिजलपुरमा ३० प्रतिसत काम सम्पन्न भएको बैठकमा जानकारी गराइएको थियो । स्मरणीय छ, विराटनगर, जनकपुर र बर्दिबासमा जग्गा उपलब्ध हुन नसक्दा कार्यसम्पादनमा ढिलाइ भएको थियो । नेपाल सरकारले विराटनगर, जनकपुर र बर्दिबास परियोजनाका दुवै खण्डमा शीघ्र काम सम्पन्न गराउन आवश्यक जमिन यथाशक्य चाँडो अधिकरण गरी ‘इर्काेन’लाई हस्तान्तरण गरिदिने आश्वासन दिएको छ भने उल्लिखित महŒवपूर्ण परियोजना शीघ्र कार्यान्वयन गर्न आवश्यक सम्पूर्ण सहयोग प्रदान गर्न सबै पक्ष सहमत भएको पनि बताइएको छ ।

‘पाँचतारा’को प्रगति लोभलाग्दो
पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले सहकारी संस्था नेपालको माटोसुहाउँदो निकाय रहेको बताएका छन् । तीनखम्बे अर्थनीतिका पक्षधर अधिकारीले आफू अर्थमन्त्री हुँदा गाउँमा सहकारी हुनुपर्छ भन्ने अवधारणा ल्याएको र आफू बाहिर रहे पनि सो विचार कार्यान्वयनमा ल्याउन पहल गरिरहने प्रतिबद्धतासमेत जनाए । उनी गत शनिबार पाँचतारा बचत तथा ऋण सहकारी संस्था लि. को सातौँ वार्षिक साधारणसभालाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै थिए ।
साधारणसभामा मन्तव्य दिँदै पूर्वराज्यमन्त्री सूर्यमान दोङले आफू पेप्सिकोला क्षेत्रकै बासिन्दा भएको र सात वर्षको अवधिमै पाँचताराले गरेको प्रगति लोभलाग्दो रहेको बताए । यस्तै, राष्ट्र बैंकका प्रवक्ता मनमोहन श्रेष्ठले संस्था ठीक भए–नभएको कुरा संस्थाको वित्तीय विवरणले देखाउने उल्लेख गर्दै पाँचताराको विवरणमा उल्लेख भएको पुँजी, बचत र लगानीको अनुपात अत्यन्तै राम्रो देखिएको जानकारी गराए । पाँचताराले आफ्नै कार्यालय भवन निर्माण गरेकोले संस्था आत्मनिर्भर हुने विश्वास आफूले लिएको पनि उनले बताए ।
कार्यक्रममा उपस्थितलाई धन्यवाद दिँदै संस्थाका अध्यक्ष भोला नाथ पाठकले सदस्यले बिगारे संस्थाको आम्दानीमा असर गर्ने, सञ्चालकले बिगारे संस्थालाई असर गर्ने, तर राज्यले गलत नीति लिए सम्पूर्ण सहकारी क्षेत्र र त्यसमा लाग्नेहरूकै भविष्य अन्धकार हुने हुँदा सहकारीप्रति कुनै पनि सरकारले ढुलमुले नीति राख्न नहुने विचार व्यक्त गरे । यसैगरी, संस्थाका उपाध्यक्ष किरणप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै विश्व जातीय तथा क्षेत्रीय भावनाले विभाजित भइरहेको परिवेशमा नेपालमा सहकारीले जातीय–क्षेत्रीय तथा सङ्कुचित भावनाबाट अलग राख्दै एकले अर्कोलाई सहयोग गर्ने नेपाली परम्परालाई ज्युँदो राख्न मद्दत पु-याएको दाबी गरे ।
संस्थामा दुई हजार दुई सय १८ सदस्य रहेको संस्थाको कुल पुँजी तीन करोड ९६ लाख ५६ हजार चार सय ३५ रुपैयाँ ९५ पैसा तथा सदस्य बचत १३ करोड ४६ लाख ८९ हजार सात सय ७६ रुपैयाँ ८१ पैसा रहेको जानकारी दिइयो । संस्थाको कुल कर्जा लगानी १५ करोड ५३ लाख ११ हजार चार सय सात रुपैयाँ रहेको बताइएको छ ।

‘बैक–कर्मचारी’ बन्न नबिलमा आन्दोलन
विभिन्न ठेकेदार कम्पनीमार्फत नबिल बैंकमा राखिएका कर्मचारीहरू बैंककै स्थायी कर्मचारी हुनुपर्ने माग गर्दै लामो समयदेखि आन्दोलनमा उत्रिए पनि बैंक व्यवस्थापनले बेवास्ता गरेपछि तेस्रो चरणको आन्दोलनमा उत्रने भएका छन् । नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन, नबिल बैंक लि. केन्द्रीय तदर्थ समितिले राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै नबिल बैंकले आफूहरूले उठाएका जायज मागहरू पूरा नगरेकाले चरणबद्ध आन्दोलनमा उत्रनुपरेको बताएको हो ।
सङ्गठनका अध्यक्ष गणेश रानाले बैंकले आफूहरूको नाममा प्रतिव्यक्ति १७–१८ हजार छुट्याए पनि बिचौलिया बनेर काम गर्ने कम्पनीले आधा रकम खाइदिने हुनाले आफूहरू बैंककै स्टाफ बन्नु आवश्यक रहेको तर्क गरे । उनले दशकदेखि आफूहरूको ऊर्जाशील समय, श्रम र पसिना नबिल बैंकमै बगेको तर बैंकको स्थायी कर्मचारी नभएकाले भविष्य अन्धकार रहेको भन्दै नियमअनुसार दुई सय ४० दिनभन्दा बढी काम गरेका कर्मचारीलाई स्थायी गर्नुपर्ने माग गरे । त्यस्तै बैंक कर्मचारी कर्ण गुरुङले कार्यालय सहयोगी (म्यासेन्जर) स्तरका ९० जना र सहायक टेबुलवर्कर एक सय ५० जनाले काम गरेको ११ वर्È पुग्दासम्म पनि स्थायी नगरिएको, तर व्यवस्थापनले आफ्ना मान्छेलाई चाहिँ दुई वर्Èमै प्रक्रिया मिलाएर स्थायी गरेको आरोप लगाए । आन्दोलित कर्मचारीहरूले उपत्यका शाखाका कारोबारदेखि उच्च व्यवस्थापनको गाडी रोक्का गर्नेसम्मको आन्दोलन कार्यक्रम घोÈणा गरेका छन् ।
यसरी, विश्वका अर्बपतिको सूचिमा नाम लेखाउन सफल उद्यमी विनोद चौधरीको नामसँग जोडिएको नबिल बैंक लि.मा शालिन ढङ्गले माग राख्ने कर्मचारीमाथि व्यवस्थापनले धरपकडको रवैया अवलम्बन गर्नु विडम्बनाको विषय भएको सम्बद्ध क्षेत्रका जानिफकारहरूको धारणा रहेको छ ।

अर्गानिक खेतीतिर ‘ग्रिन नेपाल’
शिक्षा, स्वास्थ्य र वातावरणका क्षेत्रमा क्रियाशील संस्था ग्रिन नेपाल मानव विकास अन्तर्राष्ट्रिय मैत्री संस्थाले आफ्नो छैटौँ वार्षिकोत्सव मनाउँदै कृषि विकासका क्षेत्रमा समेत काम प्रारम्भ गरेको जनाएको छ । संस्थाले कृषि विकास र अर्गानिक खेतीलाई आफ्नो कार्यसूचीमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेको हो ।
नगरकोटमा आयोजित वार्षिकोत्सवमा विशेष अतिथि पूर्वसहसचिव यादव खनालले ग्रिन नेपाल दक्षिण कोरिया र नेपाललाई जोडने महŒवपूर्ण संस्था भएको बताए । उनले नेपालको कृषि विकासमा जोड दिन दक्षिण कोरियासँग सहयोग लिने हो भने त्यसले नेपालको कृषि विकासलाई उच्च बिन्दुमा पु-याउँदै आर्थिक रूपमा नेपाललाई सबल बनाउने धारणा व्यक्त गरे । उनले ग्रिन नेपालको सम्बन्ध दक्षिण कोरियासँग राम्रो भएकोले कृषि क्षेत्रलाई बढावा दिन कोरियाबाट कृषि प्राविधिज्ञहरू भिœयाउन यसले महŒवपूर्ण भूमिका खेल्न सक्ने बताए ।
ग्रिन नेपालका अध्यक्ष हीराबहादुर कार्कीले ग्रिन नेपालले गरेको कामबारे बताउँदै नेपालको आर्थिक विकासका लागि युवा शक्ति नै सक्रिय हुनुपर्ने विचार राखे । उनले कृषि विकासबाटै नेपालको आर्थिक समृद्धिलाई उचाइमा लैजान युवाले आफूलाई नेपालमै क्रियाशील गराउनुपर्ने सुझाव दिए । कार्यक्रममा प्राडा मनिन्द्रप्रसाद गोर्खालीले ग्रिन नेपालमार्फत नगरकोटको स्वास्थ्यचौकीलाई नि:शुल्क औषधि प्रदान गरेका थिए भने उनीलगायत रामेश्वर कार्की, श्याम कायस्थ, सिम्रिकलाल श्रेष्ठ, गोपाल श्रेष्ठले पनि मन्तव्य दिएका थिए ।

‘थाहा’ महोत्सवको तयारी
मकवानपुर उद्योग बाणिज्य सङ्घ उत्तरी क्षेत्र समितिले आयोजना गर्न लागेको कृषि, पर्यटन ब्यापार मेला ‘थाहा महोत्सव’को तयारी अन्तिम चरणमा पुगेको छ । यही भदौ २६ देखि असोज ४ सम्म इन्द्रायणी चउरमा हुने महोत्सवका लागि स्टल बुकिङ र थाहा आइडलको दर्ता चलिरहेको छ । कुल १ सय २५ वटा स्टल रहने महोत्सवमा ६० भन्दा बढी स्टल बुकिङ भइसकेको र केहीले फारम भर्ने काम गरिसकेको महोत्सवको सचिवालयले जनाएको छ ।
आइडलका लागि अहिलेसम्म २५ जनाले नाम दर्ता गरिसकेका छन् । महोत्सवमा अल्पाइन डेभलपमेन्ट बैंकको अफिसियल बैंक रहने बताइएको छ । बताइएअनुसार महोत्सवमा करिब ४ करोड रुपियाँको आर्थिक कारोबारको लक्ष्य लिइएको छ । पहिलो पटक आयोजना गरिएको महोत्सवले उत्तरी मकवानपुरको आर्थिक क्षेत्रलाई सकारात्मक प्रभाव पार्ने आयोजकले अपेक्षा गरेको छ । करिब दुई लाख मानिसले अवलोकन गर्ने अपेक्षा गरिएको महोत्सवमा विभिन्न साँस्कृतिक झाँकीहरुको प्रदर्शनी, नेवारी तथा तमाङ भेषभुषाको प्रदर्शनी, गोपालीहरूको हाकुपटासी बुनाइ तानसहितको प्रदर्शनी, चित्लाङको बाख्राको चिज बिक्री तथा प्रदर्शनी समेत गरिने छ । महोत्सवमा मदिराको बिक्री भने निषेध गरिने जनाएको छ । । महोत्सव १० दिनसम्म चल्नेछ ।

सामाजिक काममा छात्रछात्रा
रुपन्देही/ भैरहवा बहुमुखी क्याम्पस एमबीएस दोस्रो बर्षमा अध्ययनरत विद्यार्थी सामाजिक काममा अग्रसर हुन थालेका छन् । कलेजमा पढनु भनेको समाजको कार्यमा सरिक हुनु र सेवामा लाग्नु रहेछ भन्दै यहाँ अध्ययनरत विद्यार्थीहरूले यस क्षेत्रमा रहेका अनाथालय, बृद्धाश्रमहरूमा आफ्नो खाजा खर्च बचाएर सहयोगमा जुटिरहेका छन् । क्याम्पस हाताभित्र समेत सरसफाई र बृक्षारोपण कार्य गर्दै आएका यी विद्यार्थीले गत शनिवार कोटिहवाको नेपाल अभिनास अनाथ आश्रममा बिस्कुल, चामल, कापी–कलम लगायतका सामग्रीहरू सहयोग गरे । स्थानीय दाताहरूको सहयोगमा सञ्चालनमा रहेको यस आश्रममा रहेका अनाथहरूका लागि सक्दो सहयोग गरिरहने कार्यक्रममा सहभागी विद्यार्थीहरूले बताए ।
२३ जना अनाथ रहेको उक्त अनाथालयमा १२ बाबु र ११ नानीहरू रहेका छन् । अनाथालयमा रहेका सबै नानीबाबुलाई स्थानीय विद्यालयले नि:शुल्क पढाइरहेको अनाथ आश्रमले जनाएको छ ।