बस दुर्घटनामा २७ जनाको मृत्यु

बस दुर्घटनामा २७ जनाको मृत्यु


डडेल्धुराको अमरगढी नगरपालिका–११ रडुवा खोलामा आज साँझ बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको बुझिएको छ । घटनास्थलमै १३ जना र बाँकीको अस्पताल तथा उद्धारका क्रममा बाटोमै मृत्यु भएको बताइएको छ । अन्य केही घाइतेको उपचार जारी रहेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार भाडामा लिइएको डोटीको पिसजोन विद्या निकेतन स्कूलको से १ क २९३ नम्बरको बस दुर्घटनामा परेको हो ।

अमरगढी–५ स्थित उग्रतारा मन्दिरमा आज लागेको मेलाबाट घर फर्किँदै गरेका यात्रु दुर्घटनामा परेका हुन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी घाइतेको उद्धारमा खटिएका र घाइतेलाई उपचारका लागि डडेल्धुरास्थित उपक्षेत्रीय अस्पताल लगिएको छ । बस सडकबाट पाँच सय मिटर तल खसेको र राति भएकाले केही घाइतेको उद्धारमा कठिनाइ भएको प्रहरीको भनाइ छ ।