बारपाकमा अन्तराष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने

बारपाकमा अन्तराष्ट्रियस्तरको सङ्ग्रहालय बनाइने


गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले गण्डकी प्रदेश सरकारले पाँच वर्षभित्रमा प्रदेशभित्रका सबै जनताको पहुँचमा बिजुली, खानेपानी र सडक पु¥याउने योजना बनाएको बताएका छन् ।

बारपाक सुलिकोट गाउँपालिका वडा नं १ मा आइतबार साधना लघुवित्त संस्थाको शाखा कार्यालयको उद्घाटन गर्दै मन्त्री गुरुङले भने, ‘सरकारले दीर्घकालीन योजना बनाएर देशमा आर्थिक परिवर्तन गर्ने गरी राम्रो काम गरिरहेको छ ।’ मन्त्री गुरुङले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर केन्द्र, प्रदेश र स्थानीय सरकार सबैले नेपाललाई समृद्धि राष्ट्रका रुपमा विकास गर्ने गरी खाका कोरिसकेको बताए ।

उनले वित्तीय संस्थाले लगानी गर्दा उत्पादनमूलक क्षेत्रको लगानीलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने भन्दै त्यसले मात्र देशको आर्थिक समृद्धिलाई टेवा पुग्ने उल्लेख गरे । मन्त्री गुरुङले यस क्षेत्रको प्रवद्र्धनका लागि भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमा प्रदेश सरकारले अन्तराष्ट्रियस्तरको सङ्ग्रहालय निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए ।

प्रदेशभित्र आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउनका लागि ३०० घरबास सञ्चालन गर्ने कार्यक्रम रहेको उनले बताए । ‘अहिले गण्डकी प्रदेशभित्र घरबास सञ्चालन गर्न चाहनेका लागि अनुदानको व्यवस्था गरेका छौं ।’ उनले विकास निर्माणको जिम्मा लिएर समयमा काम गर्नेलाई पुरस्कृत गर्ने र काम नगर्नेलाई दण्ड जरिवाना गर्ने प्रदेश सरकारको नीति रहेको उल्लेख गरे ।