चरी मर्दा सभासद् चिच्याउनुको रहस्य खुल्दै

चरी मर्दा सभासद् चिच्याउनुको रहस्य खुल्दै


othernewsनेपाल प्रहरीको ‘मोस्टवान्टेड’ सूचीमा रहेका एक खुँखार अपराधी प्रहरीसँगको मुठभेडमा मारिएपछि नेकपा एमालेका जिम्मेवार नेताहरूबाट प्रस्तुत व्यवहारलाई लिएर मुलुकमा चिन्ता व्याप्त भएको छ । अपराधीहरूलाई राजनीतिक संरक्षण रहेको भनी धेरैले भन्ने गरे पनि औपचारिक तवरमा त्यसको पुष्टि हुन नसकेको सन्दर्भमा कुख्यात अपराधी दिनेश अधिकारी चरी मारिएपछि एमालेले उक्त तथ्यको पुष्टि गरिदिएको छ । देशमा जघन्य अपराधका कैयन घटना हुँदा नबोल्ने एमाले नेताहरू, कैयन होनहार मानिस मारिँदा अपराधीको खोजी गरी कारबाही गर्न कुनै प्रकारले दबाब दिन आवश्यक नठान्ने उनीहरू कुख्यात डन चरीको मृत्युमा यसरी क्रूद्ध भए– मानौँ, उनीहरूको शीर्षस्थमध्येकै नेता मारिएका थिए वा आर्थिक स्रोतको प्रमुख केन्द्रलाई नै सिध्याइएको छ । जिल्लावासीको नाताले भन्दै धादिङका केही सभासद्ले डन हत्या प्रकरणमा प्रहरीविरुद्ध दिएको अभिव्यक्ति हेर्दा लाग्थ्यो– ‘आम्दानीको निकै ठूलो स्रोत अब बन्द भएको छ । प्रहरीसँगको मुठभेडमा मारिएका डन चरी जसको बारेमा सांसद राजेन्द्र पाण्डेलगायतका केही एमाले नेताहरू क्रूद्ध र चिन्तित बनेका छन्, ती चरीले के–के गरेका थिए र कति सीधासाधा नेपाली यिनको सिकार बन्नुपरेको थियो भन्ने विषयमा बुझियो भने मुटु भएका हरेक मानिसको आङ नै जिरिङ्ग हुने स्थिति छ ।
०६० तिर डन कुमार घैँटेसँग मिलेर सोह्रखुट्टे, नयाँबजार र बालाजु क्षेत्रमा हप्ता असुली सुरु गर्दै अपराध जगत्मा पाइला हालेका दिनेश अधिकारी चरी मानिसको हत्या र अपहरणका कैयन घटनामा समेत संलग्न रहँदै आएका थिए । व्यापारी तथा विभिन्न पेसा–व्यवसाय गर्ने अन्य व्यक्तिहरूसँग बलपूर्वक असुलेको पैसा मोजमस्ती र गुण्डादस्ताको पालनपोषणमा खर्च गर्ने चरीले केही ढावा, रेस्टुरेन्ट र क्यासिनो भेनसमा नगद लगानी पनि गरेका थिए । ०६३ देखि घैंटेसँग छुट्टिएर एक्लै आपराधिक गिरोह सञ्चालन गर्दै आएका चरीले ०६४ मा धादिङको सिँचाइ कार्यालयमा भएको टेण्डरमा ठेकेदारहरूबाट दुई लाख पच्चीस हजार असुलेका थिए । ०६५ देखि यार्सागुम्बा लुट्ने कार्यमा संलग्न चरीले हालसम्म आठपटक गरी चालीस केजी यार्सागुम्बा लुटेको प्रमाण प्रहरीसँग रहेको छ । सो परिमाणको यार्साको मूल्य दुई करोडभन्दा बढी पर्ने बताइन्छ । चरीले त्रास देखाई रकम असुल्ने, ठेक्कापट्टामा जबर्जस्ती रकम असुलीका निम्ति गुण्डादस्ता खटाउने र अलिक ठूलै रकमको ठेक्का भएमा आफैँसमेत सहभागी भई नगद असुल्ने, मानिस उपहरण गरी फिरौती माग गर्नेजस्ता काम गर्दै आएको भए पनि उसका विरुद्ध उजुरी दिने हिम्मत कसैले पनि गर्दैनथे । तथापि उसका विरुद्ध केही उजुरी भने प्रहरीमा परेका छन् । जयराम बानियाँ, एडा भनिने सुनील पाण्डे र रविन भनिने रामेश्वर सापकोटाले चरीले पठाएको भन्दै लाखौँ रुपैया माग गरेपछि हरिप्रसाद शर्मा काफ्लेले ०७० फागुनमा उजुरी दिएका थिए । यिनै व्यक्तिहरूले चरीको नाम लिँदै रकम मागेर हैरान बनाएपछि नवराज अधिकारीले पनि प्रहरीमा उजुरी दिने हिम्मत जुटाएका थिए । उल्लिखित दुवै घटनामा संलग्न अन्य व्यक्तिहरू पक्राउ परे पनि चरी फरार थिए । ०६२ कात्तिक १५ गते प्रकाशराज सिलवाललाई खुकुरी प्रहार गरी घाइते बनाउने चरी पक्राउ परे पनि हिरासतबाटै भाग्न सफल भएका थिए । त्यसैगरी अरुण शर्मा र लक्ष्मण बस्नेतसहित तीनजनालाई घातक हतियार प्रयोग गरी सख्त घाइते बनाएपछि चरीलाई पक्राउ गरी एघार महिनासम्म कैदमा राखिएको थियो । ०७० कात्तिकमा गैंडाको खाग तस्करीमा सप्रमाण पक्राउ परेका चरी राजनीतिक दबाबमा छुट्न सफल भएका थिए । तर, धादिङकै राधाकृष्ण (राधे) भण्डारीलाई ज्यान लिने हमला गरेयता भने चरीले भारत र नेपालमा लुकिछिपी आफ्नो धन्दा चलाउँदै आएका थिए । काठमाडौं वडा नं. १६ मा ससुराली घरमा बस्दै आएका पच्चीस वर्षीय केशवबहादुर गुरुङसँग जबर्जस्ती पैसा असुली गर्न चरीले खटाएका अस्मित बस्नेतको भने निज गुरुङले पैसा लिन आउनु भनी बोलाएर हत्या गरिदिएका थिए । धादिङको बालुवा र ढुङ्गाखानी तथा एक जलविद्युत् आयोजनामा समेत लगानी गरेका चरीले धादिङकै एक–दुई सभासद्सँग मिलेर जग्गाको कारोबार गर्ने गरेकोसमेत जानकारीमा आएको छ । एमालेका दुई सभासद् (धादिङ) हरूको आम्दानीको ठूलो स्रोत चरी बनेकोले पनि चरीबध प्रकरणलाई लिएर उनीहरू अस्वाभाविक रूपमा ‘रियाक्टेड’ भइरहेको बताइन्छ ।
नेपाल प्रहरीले पछिल्लो समयमा गुण्डागर्दीविरुद्ध विशेष कारबाही सुरु गरेको छ । प्रहरी सक्रियताकै क्रममा मुठभेडमा परी चरीको ज्यान गएको छ । प्रहरीले चरीको आर्थिक कारोबारको सबै नसा पत्ता लगाउन अनुसन्धान प्रक्रिया अघि बढाएको छ । यसरी प्रहरीले अनुसन्धान सुरु गरेपछि चरीसँग आर्थिक सम्बन्ध भएका धादिङका केही सभासद्हरू मानवअधिकारवादी व्यक्ति र संस्थाहरूलाई गुहारी आफ्नो बचाउ गर्ने प्रयासमा लागेका छन् । जे होस्, यसपटक नेकपा एमालेले अपराधीहरूको संरक्षण राजनीतिक तहबाट नै भइरहेको तथ्यबारे सिङ्गै देशवासीलाई जानकारी गराएको छ ।

बाबुरामलाई चाहियो प्रचण्डको विश्वास
एकीकृत माओवादीमा अध्यक्ष प्रचण्ड र डा. बाबुराम भट्टराईबीच उत्पन्न विवाद पार्टी विभाजनको तहसम्म पुगेपछि उपाध्यक्ष नारायणकाजी श्रेष्ठको विशेष पहलमा विवाद साम्य पार्ने प्रयास भइरहेको छ । गत शनिबारबाट सुरु भएको यस्तो पहल सकारात्मक टुङ्गोमा पुग्न लागेको दाबी सम्बद्ध पक्षले गरेका छन् । पार्टी सत्तामा बाबुराम भट्टराईलाई उचित अंश दिएर कुरा मिलाउन प्रयास भएपछि विवाद टुङ्गो लाग्ने स्थिति बनेको बुझिएको छ । यसरी पार्टी सत्तामा अंशको मात्रा बढाएर विवाद टुङ्ग्याउने प्रयास गरिएको भए पनि गत शनिबारदेखि सुरु भएको तीन नेता (प्रचण्ड, बाबुराम, नारायणकाजी) बीचको विशेष बैठकमा बाबुराम भट्टराईले आफूलाई विश्वास गर्नुपर्नेमा विशेष जोड दिँदै आउनुभएको छ । ‘पहिले विश्वासको वातावरण बन्नुप¥यो, ममाथि बारम्बार आशङ्का जनाउनुभएन,’ बाबुरामको भनाइ छ । बैठकमा भट्टराईले खुलस्त ढङ्गले विषयलाई राख्नु त भएन, तर उहाँको सङ्केत ‘आफूलाई कुनै देशविशेषबाट सञ्चालित भनी ठान्नुभएन’ भन्ने थियो । बाबुरामको पटक–पटक एउटै आग्रह भएपछि प्रचण्डले बाबुरामलाई ‘विश्वास गरिदिने’ आश्वासन दिनुभएको बुझिएको छ ।

रत्नको ८७औँ जन्मदिवस
पूर्वमुमाबडामहारानी रत्नराज्यलक्ष्मीदेवी शाहको ८७औँ जन्म दिवसका अवसरमा उहाँको सुस्वास्थ्य र दीर्घायु कामना गर्दै महादेव मन्दिरमा पूजाअर्चना गरिने भएको छ । राजभक्त एवम् समाजसेवी राधेश्याम थापाले जनाएअनुसार भदौ ४ गते शिवानन्द आश्रम विशालनगरस्थित नेपालेश्वर महादेव मन्दिरमा पूजाअर्चना गरिनेछ र उक्त पूजा श्रीमती भेषराजलक्ष्मी सिंह, ज्योत्सना राज्यलक्ष्मी थापा र सीताबाई रोक्कालगायतको अग्रसरतामा सम्पन्न हुनेछ । पूजापाठपछि पुष्प र प्रसाद नारायणहिटी राजदरबारभित्र महेन्द्र मञ्जिलमा पु¥याइनेछ ।

चरीको चङ्गुलमा फस्दै सुन्दरी !
मूल थातथलो झापा, सुरुङ्गा भई सन् २००६ को मिस टिन प्रतियोगिता जितेर चर्चामा आएकी युवती खुश्वु ओलीका लागि कुनै बेला मोडलिङ अति प्रिय विधा थियो । तर, आजभोलि आफूलाई समाजसेवीको रूपमा चिनाउन रुचाउने उनका निम्ति मोडलिङ अब कुनै रुचि या चाहनाको विषय रहेन । एकप्रकारले उनले मोडलिङलाई माया मारिसकेकी छिन् । कुनै बेला काठमाडौंको फर्पिङमा ‘सपना आमाघर’ खोलेर आफूलाई समाजसेवी दर्शाउन खोज्ने खुश्वुको पहिचान विशालनगरमा सञ्चालित ‘स्ट्रिट चिल्ड्रेन रिहाबिलेसन होम’सम्म आइपुग्दा रहस्यमयी महिलाका रूपमा परिवर्तन भइसकेको छ । सडक बालबालिकाको उद्धारकर्ताको रूपमा आफूलाई चिनाउन खोज्ने खुश्वुले हालसम्म कति सडक बालबालिकाको उद्धार या सहायता गरिन् भन्ने पाटो त खुलस्त भइसकेको छैन, तर चर्चित ‘गुण्डा’ दिनेश अधिकारी उर्फ चरीसँग जीवनयात्राको तयारी उदाङ्गिन पुग्दा उनी यतिबेला नेपाली मिडियामा छाउन पुगेकी छिन् ।
कुनै नयाँ मानिससँग परिचय गर्नुपर्दा खुश्वु आफूलाई पूर्णकालीन समाजसेवी भन्न हिच्किचाउँदिनन् । उनी कसरी समाजसेवातर्फ आकर्षित भइन् र अनाथ एवम् सडक बालबालिकालाई सम्हाल्नेजस्तो चुनौतीपूर्ण कार्यका लागि खर्चको जोहो कसरी भइरहेको छ भन्ने खुल्दुली उनीमाथि थोरै मात्र चासो राख्नेका लागि पनि अनुत्तरित प्रश्न बनेर रहेका छन् । तथापि, बेलायतको किङ्सटन युनिभर्सिटीबाट एमएस्सी गरेको दाबी गर्ने उनी उनकै भनाइमा मानव कल्याण समूह नामक संस्थाको अध्यक्ष पनि हुन् । सडकमा जीवन बिताइरहेका बालबालिकालाई डेनड्राइटलगायतका ड्रग्सबाट छुटाएर पढाउने, बढाउने र रोजगार बनाउने काम उनले थालेकै थिइन् भने त्यो अत्यन्तै सराहनीय पनि हो । तर, यसरी समाजसेवी छविले पूर्णाकार लिइसक्दानसक्दै खुश्वु एक ‘डनकी प्रेमिका’को रूपमा रातारात ‘कुख्यात’ हुन पुगिन् । उनका लागि यसले कति असर पा¥यो या पारेन बेग्लै पाटो हो, तर नागरिक समाज भने खुश्वुको यस नयाँ पहिचानबाट झस्किन पुगेको छ । चरीको इन्काउन्टर भएको साँझ टिचिङ अस्पतालमा उनले प्रदर्शन गरेको व्यवहारबाट आश्चर्यमा परेका सर्वसाधारण नेपाली चरीले अवैध रूपले आर्जन गरेको सम्पत्ति राज्यले छानबिन गर्न लाग्दै गर्दा थप जिज्ञासु बन्न पुगेको छ– कतै खुश्वुको चरीप्रेम अवैध सम्पत्तिप्रतिको मोहसँग जोडिएको त छैन ?
समाजसेवामा अहिलेसम्म कुनै दाताको सहयोग नलिएको दाबी गर्ने सुन्दरी खुश्वु आफ्नो परिवार, आफन्त, साथीभाइ र बेलायतको आफ्नै व्यवसायबाट समाजसेवा धानिरहेकी छु भन्ने गर्थिन् । नियमित रूपमा मासिक केही रकम सहयोग गर्ने २०–२५ जना साथी छन् भन्ने अभिव्यक्ति उनले कुनैबेला मिडियालाई दिएकी थिइन् । तर, यी सबै दाबीमाथि शङ्काको औंला उठेको छ । प्रहरीले डन चरीको सम्पत्ति छानबिन गर्दैगर्दा खुश्बु बस्दै आएको धापाखेलस्थित सिभिल होम्सभित्रको एक आधुनिक घर सन्देहको घेरामा परेको बताइन्छ । सिभिल होम्सको घर नम्बर २४ चरीको सहारामा आफूलाई ठगेर खुश्बुले हत्याएकी हुन् भन्दै एक व्यापारीले प्रहरीको सहायता मागिसकेको पनि बुझिएको छ । आफूलाई ठगेर खुश्वुले घर किनेको दाबी गर्ने ती व्यवसायीले एक करोड रुपैयाँभन्दा बढी तिरेर सो घर किनेको अभिव्यक्ति दिने गरेका छन् ।
केही महिनाअघि तरबार हानेर एक युवकको ज्यान लिने कोसिस गरेको अभियोगमा चरी फरार भएपछि उसले प्रयोग गर्दै आएको गाडी केही दिनको खोजीपछि खुश्वुकै निवासमा फेलापरेको समाचार प्रहरीले सार्वजनिक गरेको थियो । यसपछि प्रहरीको नजरमा ‘समाजसेवी’ खुश्वु सन्देहको पात्र बन्न पुगेकी थिइन् । चरीको अवसानपछि खुश्वुुले नेपाल प्रहरीका केही अधिकृत तथा सिङ्गै प्रहरी फोर्स र गृहमन्त्री वामदेव गौतममाथि समेत भद्दा अभिव्यक्ति दिनुको के अर्थ थियो भन्ने प्रश्नको जवाफ खोज्दै जाँदा प्रहरीको अनुसन्धान टोलीलाई विशेष खुराक नै हात लाग्न लागेको अनुमान गरिँदै छ । प्रहरी मुठभेडमा मारिएका चरीले अवैध रूपमा आर्जन गरेको सम्पत्ति प्रेमिका र अन्य केही राजनीतिकर्मीका नाममा राखेको भन्दै प्रहरीले अनुसन्धान सुरु गरेको बुझिएको छ । जबर्जस्ती असुलेको रकम गर्लफ्रेन्डलगायतको नाममा राखेको भन्ने प्रहरीलाई प्राप्त सूचनाका आधारमा अनुसन्धान तथा छानबिन हुन लागेको सम्बद्ध स्रोत बताउँछ ।
खुश्वु त चरीको जीवनसाथी नै बन्न तयार भएकी पात्र भइन्, तर एमालेका एक जल्दाबल्दा नेतासमेत भित्रभित्रै डनको पार्टनर बनेर हाइड्रोपावरलगायतका बिजनेसमा हात हाल्न पुगेका प्रहरी स्रोतको कथन छ । आफ्नो राजनीतिक छविको समेत पर्वाह नगर्न ती नेताले मिडियाकर्मीलाई दिएको नसिहत र उनले संसद्मा चरीको पक्षमा दिएको कडा अभिव्यक्ति रहस्यपूर्ण रहेको भन्ने निचोडमा प्रहरी पुगेको बताइन्छ । प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसँग मिलेर चरीसँग जोडिएका पात्रहरूमाथि छानबिन गर्न लागेको समाचारसमेत सार्वजनिक भएको छ ।
भनिन्छ, बाँचिञ्जेल दुनियाँलाई दुःख दिनेले मरेपछि पनि सुख दिँदैनन् । अब हेर्नु छ, दुनियाँलाई दुःख दिन कहलिएका मृतक चरीको विगतको कर्मले को–कसलाई कतिसम्म हायलकायल पार्ने हो !

स्वास्थ्यस्थिति निराशाजनक
प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यस्थिति दिनप्रतिदिन कमजोर हुँदै गएपछि पहिले निर्धारण गरिएको समयभन्दा एक महिना अगावै उहाँलाई अमेरिका पु¥याउने भएको छ । गत असार २ गते उपचारका निम्ति अमेरिका जानुभएका कोइराला तीन महिनापछि पुनः परीक्षणका लागि जाने गरी ३६ दिनपश्चात् फर्कनुभएको थियो । पूर्वनिर्धारित कार्यक्रमअनुसार उहाँ आगामी असोजको अन्तिम सातातिर अमेरिका जानुपर्ने थियो, तर दिनप्रतिदिन स्वास्थ्य कमजोर हुँदै गएकोले भदौभित्रै उहाँ उपचारका लागि जान लाग्नुभएको हो । उपचारबाट फर्किएपछि कोइराला सिंहदरबारस्थित कार्यालयसम्म पनि जान सक्नुभएको छैन । भारतीय प्रधानमन्त्री मोदीसँग औपचारिक भेटका लागि कोइराला गत साताको आइतबार एकै क्षणका निम्ति सिंहदरबारस्थित आफ्नो कार्यालयमा पुग्नुभएको थियो । कोइराला अहिलेसम्म मन्द ज्वरोबाट मुक्त हुन सक्नुभएको छैन । कोइरालाको रक्त–सञ्चारमा निकै उतारचढाव देखिएको छ, खोकीले अहिलेसम्म छोडेको छैन, शरीरको तौल घट्दै गइरहेको छ, अनुहारको रंग पहिलेभन्दा कालो हुँदै गएको छ, बोल्ने, हिँड्ने कार्य उहाँलाई सजाय दिएसरह हुने गरेको छ, मानिसहरूसँग झर्कने–फर्कने क्रम बढेको छ । त्यसैले कोइरालासँग सर्वसाधारण जनताको भेटघाट बन्द करिब गरिएको छ । छिनछिनमा अक्सिजन दिइरहनुपर्ने कोइरालालाई चिसोबाट जोगाउन निरन्तर हिटरमा सेकाएर राख्नु परिरहेको छ । समग्रमा कोइराला ‘सागपात’जस्तै बन्नुभएको छ, यस्तो हुँदा पनि उहाँलाई प्रधानमन्त्री पद त्याग गर्न नदिएर उहाँका नातेदार तथा अन्य भित्रियाहरूले के उद्देश्य पूर्ति गर्न खोजेका हुन् बुझ्न सकिएको छैन ।

नातेदारको कब्जामा प्रधानमन्त्री
कार्यक्षमताका दृष्टिले अशक्त मानिनुहुने प्रधानमन्त्री सुशील कोइराला शारीरिक रूपमा समेत कमजोर हुनुभएपछि उहाँ आफन्त र नातेदारहरूको घेरामा पर्नुभएको छ । नाता नपर्ने एक मात्र सहयोगी (स्वकीय सचिव) लक्ष्मण ढकाललाई बालुवाटारबाट लखेटेपछि कोइरालाको वरिपरि नातेदारहरूको घेरा लागेको छ । प्रधानमन्त्री कोइरालाको स्वकीय सचिवको काम उहाँका भाञ्जा रमेश शर्मा भण्डारीले गरिरहनुभएको छ भने भतिज अतुल कोइरालाले पनि सचिवालयमै रहेर ‘सेवा’ गरिरहेका छन् । त्यस्तै भाञ्जीबुहारी प्रभा शर्मा भण्डारी र मृदुला कोइरालाले प्रधानमन्त्रीको स्याहारसुसारमा विशेष ध्यान पु¥याइरहेका छन् । यसरी स्याहारसुसार गरेबापत प्रधानमन्त्रीले प्रभा शर्मालाई छब्बीस सभासद्मध्ये नियुक्त गर्ने सोच बनाउनुभएको बुझिएको छ । मृदुला कोइरालालाई ‘छब्बीस’ भित्र पार्न नसकिएमा राजदूत बनाइदिने आश्वासन दिइएको जानकारीमा आएको छ । प्रधानमन्त्रीको वरिपरि घुमिरहने र ‘सेवा’ पु¥याउनेहरूमा उहाँका सहोदर भाइहरू अशोक कोइराला, अरुण कोइराला र भतिज सुधांशु कोइराला छन् । यीमध्ये अरुण कोइराला अघोषित सल्लाहकारको भूमिका निर्वाह गरिरहेछन् भने अशोकले विभिन्न ‘काम’हरूमा समन्वयकर्ताको रूपमा नदेखिने कामहरूमा ज्यादा समय दिइरहेका छन् । नातामा ज्वाइँ पर्ने हुर्मत न्यौपानेलाई कोइरालाले सचिवालयमै काम दिएका छन् । विगत सोह्र वर्षदेखि निरन्तर सुशीलको सेवामा रहेका लक्ष्मण ढकाललाई भने गत साता मात्र बिदा दिइएको छ । राजनीतिक पारिवारिक पृष्ठभूमिका ढकालले बालुवाटारबाट बिदा भएपछि आयोजना गरिएको पत्रकार सम्मेलनमा आफ्नो थर कोइराला नभएकोले बालुवाटारमा टिक्न नसकेको बताएका छन् ।
प्रधानमन्त्रीले प्रमुख स्वकीय सचिव राखेका वसन्त गौतम र आर्थिक सल्लाहकार राखिएका डा. चिरञ्जीवी नेपाल भने ‘नखाऊँ भने दिनभरिको सिकार खाऊँ भने कान्छा बाबुको अनुहार’को मानसिकताबाट गुज्रनुपरिरहेको छ । परिवारका सदस्य तथा नातेदारहरूका अघिल्तिर आफूहरू उपेक्षित भएको महसुस गौतम र नेपालले गर्ने गरेको बताइन्छ । डा. शशांक कोइराला डा. शेखर कोइराला र सुजाता कोइरालामध्ये शशांक र सुजाता अलिक निकट भए पनि सुशीलसँग शेखरको चाहिँ सम्बन्ध केही चिसिएको छ । डा. शेखर कोइराला पछिल्लो समयमा रामचन्द्र पौडेलसँग नजिकिनुभएको छ । स्मरणीय छ, डा. शेखर कोइराला कोइराला परिवारभित्रका सबभन्दा बढी क्षमतावान मानिनुहुन्छ ।

मुस्लिम देशमा ‘हिन्दुत्व’को चिन्ता
रोजगारीका सिलसिलामा मुस्लिम देश यूएई पुगेका स्याङ्जाका शिवलाल भण्डारी बिदा मनाउन स्वदेश फर्किंदा ‘हिन्दू जागरण समाज यूएई’ लेखिएको पहेँलो टिसर्ट लगाएर इत्तेहाद एयरलाइन्सबाट त्रिभुवन विमानस्थलमा ओर्लिए । मातृभूमिको माटो टेक्नासाथ उनले पशुपतिनाथ मन्दिरतर्फ फर्किएर दर्शन गरे र मुट्ठी उठाएर ‘जय पशुपतिनाथ, जय हिन्दूराष्ट्र नेपाल’ भनी भावविभोर हुँदै पुकारा गरे । उनको यो क्रियाकलाप देख्नेहरू आश्चर्यभावमा भण्डारीलाई नियालिरहेका थिए । वास्तवमा मुस्लिम देशबाट उड्नुअघि त्यसरी हिन्दुत्वको प्रतीक प्रिन्ट भएको टिसर्ट लगाएर जहाजमा बस्नासाथ नै उनी सबै यात्रुको नजरमा परेका थिए ।
शिवलाल त एक प्रतिनिधि पात्र मात्र हुन्, विदेशमा रहेका यस्ता कैयन नेपाली युवाले ‘हिन्दूराष्ट्र नेपाल’ अभियानमा सक्रियता दर्शाउन थालेको बुझिएको छ । ०६४ मा भएको पहिलो संविधानसभाको निर्वाचनपश्चात् रोजगारका लागि श्रम गर्न विभिन्न देशमा गएका हिन्दूधर्मप्रति आस्थावान नेपालीले संसारको एक मात्र हिन्दूराष्ट्र नेपाललाई धर्म निरपेक्षता भनेर गरिएको घोषणा फिर्ता गर्न माग गर्दै आफू कार्यरत रहेको देशमा सङ्गठित हुन थालेका हुन् ।
पशुपतिनाथको मन्दिरबाट लगभग दुई किलोमिटर दूरीमा रहेको संविधानसभा भवनमा चोरबाटोबाट छिराएर गरिएको धर्मनिरपेक्षताको घोषणा आफूलगायत झन्डै ८२ प्रतिशत हिन्दूलाई मान्य नहुने उक्त अभियानकर्ताहरूको धारणा छ । नेपाल उत्रिएलगत्तै हिन्दू जागरण समाज यूएईका सदस्यसमेत रहेका भण्डारीले आफूहरू मुग्लानमा भए पनि देशको धर्म, संस्कृतिप्रति चिन्तित रहने गरेको दाबी गरे । उनले मुलुकका नेता भन्नेहरू पैसामा बिक्री भएर संसारको एक मात्र हिन्दूराष्ट्र नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि आफूहरू मुस्लिम कन्ट्रीमा रहेर पनि त्यसको विरोधमा रहेको बताए । बताइएअनुसार नेपाललाई हिन्दूराष्ट्र कायम गराउने अभियान सञ्चालानार्थ रमेश खत्रीको अध्यक्षतामा ‘हिन्दू जागरण समाज यूएई’ गठन गरी हजारौँ सदस्य बनाइएको छ । मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दर्शाउनुभएको आफ्नो धर्म–संस्कृति तथा हिन्दुत्वप्रतिको सम्मानले हाम्रा नेताहरूलाई दर्बिलो झापड दिएको एयरपोर्टमा भेटिएका भण्डारीले बताए ।
हाल यूएइमै कार्यरत अभियानका अध्यक्ष रमेश खत्रीले टेलिफोनमा कुरा गर्दै मुलुकका सनातन धर्म मान्ने झन्डै ८२ प्रतिशत नागरिकलाई पाखा लगाएर देश–विदेशका अमूक शक्तिलाई खुसी पार्न गरिएको निर्णय खारेज हुनुपर्ने बताए । संसारले सगरमाथा र पशुपतिनाथको देश भनेर चिन्ने नेपाललाई धर्मनिरपेक्ष घोषणा गरेपछि त्यसका विरुद्ध चेतना जगाउन मुस्लिम देशमा बसेर पनि आफूहरूले सङ्गठन बनाएको उनको भनाइ छ । हिन्दू जागरण समाज यूएईले हिन्दूलाई एउटै छातामुनि गोलबन्द गरी आवश्यक परे देशमा हिन्दुत्वको अभियानका लागि फर्कन विभिन्न सहरमा साधारण सदस्यता वितरणदेखि इकाइ गठन गरेको बताइएको छ । यस्तै, आफूहरूले चन्दा उठाएर हरेक शुक्रबार यूएईमा हिन्दुत्वसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रम गर्ने गरेको शिवलालले जानकारी दिए । संसारको एक मात्र हिन्दूराष्ट्र नेपाल कायम नभए जस्तोसुकै सङ्घर्ष गर्न आफूहरू तयार रहेको पनि उनले बताए । हिन्दू जागरण समाज यूएईले आफ्ना गतिविधिबारे जानकारी दिन वेबसाइटसमेत सञ्चालन गरेको छ ।

‘परासीमा नपर्ने, चितवनले नहेर्ने’
नवलपरासी/ जगत्जननी सीतामाताको धर्ती प्रवेश महर्षि वाल्मीकि ऋषिको रामायण लेखन र मर्यादापुरुष श्रीराम पुत्र लवकुशको जन्म थलोको रूपमा परिचित वाल्मीकि आश्रम विकास पूर्वाधारको अभावमा ओझेलमा परेको छ । चितवन गद्री गाविस– ९ मा पर्ने वाल्मीकि आश्रम चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको छ भने आश्रममा आवत–जावत गर्ने सुगम बाटो भारत बिहार भैसालोटनबाट हुने गरेको पाइन्छ । नवलपरासी त्रिवेणीबाट नारायणी नदीमा डुङ्गा तर्नुपर्ने र दुई घन्टा पैदल जङ्गलमा हिँड्नुपर्ने बाध्यताले आश्रममा तीर्थालुको आवत–जावत कमै पाइन्छ । पौराणिककालको धार्मिक अध्यायसँग जोडिएको आश्रममा हिन्दू धर्मावलम्बीहरूका लागि महत्वपूर्ण स्थल भए पनि आवतजावतको असुविधाले हिउँदको महत्वपूर्ण धार्मिक चाडमा मात्र तीर्थालुहरू जाने गरेको पाइन्छ ।
त्रेता युगमा भगवान् रामद्वारा छोडिएको घोडालाई आश्रममा जन्मिएका श्रीरामपुत्र लवकुशले समाती घोडा बाँधिएको किला सीता माताले, मसाला पिस्ने सिलौटो, सीताजीको धरती प्रवेश स्थल र वाल्मीकि ऋषिद्वारा स्थापित धुनी र इनारलगायत पुरातात्विक सामग्रीबाट पनि आश्रमको महत्व त्रेतायुगसँग जोडिएको बैंकटेश मन्दिर त्रिवणीका पिठाधीश स्वामी माधवाचार्य बताउनुहुन्छ । चितवन जिल्ला मुख्यालय भरतपुरदेखि करिब ७५ किलोमिटर पश्चिम दिशातर्फ रहेको आश्रममा पुग्न राष्ट्रिय निकुञ्जले कठिनाइ बढाएको कारण सो क्षेत्रबाट मानिसको आवतजावत शून्य नै रहेको छ । फागुनमा पर्ने शिवरात्रि, चैत्रमा पर्ने रामनवमी र माघेऔँसीमा लाग्ने त्रिवेणी मेलाको समयमा भक्तजन कठिन र जोखिम यात्रा तय गरी आश्रम पुग्ने गरेको पाइन्छ । नवलपरासीमा नपर्ने र चितवनले नहेर्ने अवस्थाबाट गुज्रिएको वाल्मीकि आश्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नरेन्द्रराज शर्माको सक्रियतामा बृहत् गृहयोजनाअनुसार विकासको क्रम झिनो रूपमा अगाडि बढेको पाइएको छ ।
आश्रममा रहेका १२ सुमुम्बासी परिवारलाई सोलार सिस्टमको बत्ती, सत्तल निर्माण र तटबन्ध निर्माणकार्य पनि अगाडि बढेको छ । आश्रमलाई धार्मिक र पर्यटकीय रूपमा विकास गर्न सकिए नेपालको अन्य धार्मिक तीर्थस्थलको भन्दा महत्व कम नहुने विश्व सनातन धर्म स्थापनार्थ सीता माता मन्दिर व्यवस्थापन समितिका केन्द्रीय सदस्य दीपकराय माझीले जानकारी दिए । आश्रमको बृहत् गुरुयोजनाअनुसार त्रिवेणी वाल्मीकि आश्रम आवतजावत गर्न नारायणी नदीमा झुलुङ्गे पुल निर्माणका लागि गत असारमा नेपाल सरकारको मुख्य सचिव लीलामणि पौडेलले शिलान्यास गर्दै आगामी १८ महिनामा पुल निर्माण गर्ने जानकारी दिए । झोलुङ्गे पुल निर्माणपछि सदियौँपूर्व ओझेलमा परेको आश्रमले नयाँ उचाइ पाउने विश्वास पनि गरिएको छ । नेपाल भूमिमा पर्ने आश्रमलाई नेपालकै भूमिबाट प्रयोग गर्न पाइएमा आश्रम जाने तीर्थालुहरूको सङ्ख्यामा उल्लेख्य रूपमा वृद्धि हुने आशा गरिएको छ ।

थापाविरुद्ध अघिसरे लावती
राप्रपा नेपालभित्र फरक धारको नेतृत्व गरिरहेका नेता पद्मसुन्दर लावती अध्यक्ष कमल थापाविरुद्ध उभिएका छन् । पार्टीभित्र गुटगत भेला गरेको आरोप लगाएर अध्यक्ष थापाले आफ्ना आलोचकलाई धमाधम कारबाही गर्न थालेपछि एक प्रेस विज्ञप्ति प्रकाशित गर्दै पार्टीका भेट्रान नेता लावतीले कमल थापालाई घुमाउरो चेतावनी दिएका छन् । सो पार्टीसम्बद्ध सूत्रका अनुसार पछिल्लो चरणमा कमल थापा पूर्वराजा ज्ञानेन्द्र तथा राजसंस्थाबारे पार्टीले तय गरेको धारणाको आलोचक बन्दै आएका छन्, जो लावतीलगायतका नेताहरूलाई मन परेको छैन । मूलतः यही विषयमा दुई पक्षबीच आन्तरिक विवाद बढ्दै गएको थियो । यसबीच आफ्ना आलोचकहरूलाई कमल थापाले कारबाहीको डण्डा चलाउन सुरु गरेका थिए । यसैको विरोधमा लावतीले एक विज्ञप्ति नै प्रकाशित गरेका छन् ।
आगामी असोज ३ र ४ गते काठमाडौंमा बृहत् राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने मनसाय प्रकट गर्दै नेता लावतीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘देशव्यापी रूपमा कार्यकर्तामाझ छलफल चलाएर राप्रपा नेपाललाई सुदृढीकरणको मार्गमा अभ्यस्त गराउँदै राजासहितको प्रजातन्त्र र हिन्दूराष्ट्रको सिद्धान्तप्रतिको आस्था र विश्वास अविछिन्न राख्न, सैद्धान्तिक विचलन र अवसरवादी प्रवृत्तिबाट पार्टीलाई सुरक्षित राख्दै आममतदाताले ‘गाई’ चुनाव चिह्नमा गरेको मतदानलाई उपेक्षा हुन नदिन, नेतृत्वको अहम्बाट पार्टी र आमकार्यकर्तालाई सुरक्षित राख्दै पार्टीलाई मजबुत बनाउन, पार्टीभित्र बढेको तीव्र असन्तुष्टिका कारण पार्टीलाई सम्भावित दुर्घटनाबाट सुरक्षित राख्न राप्रपा नेपालका नेता–कार्यकर्ताका संलग्नतामा भेटघाट तथा छलफल कार्यक्रम अघि बढाइएको हो । वास्तवमा फरक मतबिना अघि बढेको प्रजातान्त्रिक परिपाटी सशक्त प्रजातन्त्र रहन सक्दैन । विविध विचारको सम्मान नगर्ने, फरक मतलाई स्थान नदिने र पुरातन परिपाटीजस्तो व्यक्तिविशेषको आदेश लाद्ने र विधिविधान भनेको अध्यक्षको निजी आग्रह हो भन्नेजस्ता मान्यता अङ्गीकार गर्ने हो भने त्यस्तो परिपाटीले स्वेच्छाचारी प्रवृत्तिलाई थप मलजल पु¥याउने स्पष्ट छ ।’
यस्ता प्रकृतिका खुला छलफल, भेला, गोष्ठी पार्टीको सिद्धान्त, नीति र विधान बर्खिलाफ छैनन् र थिएनन् भन्दै लावतीले पार्टीका नेता, कार्यकता र समर्थकबीच भेटघाट, छलफल र अन्तरक्रिया हुनु नै हुँदैन, कसैले सङ्गठित पहल नै गर्नुहँुदैन भन्ने सोच र मानसिकता प्रजातान्त्रिक ठहर हुनै नसक्ने ठोकुवा गरेका छन् । अध्यक्ष थापाप्रति लक्षित हुँदै उनले भनेका छन्, ‘पार्टीभित्र सकारात्मक सोच र जिम्मेवार पहललाई बढावा दिनुपर्नेमा पार्टी नेतृत्वबाट भएको आफूखुसी निलम्बन र स्पष्टीकरणको क्रम स्वेच्छाचारी अभीष्टको पराकाष्टा हो । छानीछानी निर्वाचित केन्द्रीय सदस्यहरूलाई बिनाकसुर तारो बनाएको देख्दा पार्टी अध्यक्षले पार्टी एकता र बृहत्तर पार्टी हित नभएर पार्टी विभाजनको विजारोपण गरेको स्पष्ट हुन्छ । फरक विचार राख्नेलाई अध्यक्षले यसरी एकतर्फी कारबाही अघि बढाइरहने हो भने कुनै समय पार्टीमा ‘यस म्यान’बाहेक अरू टिक्न सक्ने अवस्था रहँदैन ।’

जनहित गर्नेलाई सुजाताले ‘नोवल’ सिफारिस गर्ने !
नेपालको परराष्ट्र नीति नै परिवर्तन गर्नुपर्ने वर्तमान एवम् पूर्वपरराष्ट्रमन्त्रीहरूले आवश्यकता औंल्याएका छन् । परराष्ट्र नीति परिमार्जन गर्न नसक्दा कयौँ समस्या भोगिरहेको उनीहरूको ठहर रहेको छ । नेपाल प्राध्यापक संघद्वारा हिजो मंगलबार काठमाडौंमा आयोजित ‘गणतन्त्र नेपालको परराष्ट्र नीति’ विषयक विचार गोष्ठिमा बोल्दै वर्तमान एवम् पुर्वपरराष्ट्रमन्त्रीहरूले तत्काल परराष्ट्र नीति परिमार्जन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालको परराष्ट्र नीति नै परिमार्जन गर्नुपर्ने बताए । मन्त्री पाण्डेले मुलुक गणतन्त्रमा आईपुग्दा पनि पुरानै परराष्ट्र नीति रहेकाले यसलाई परिमार्जन गर्नुको विकल्प नरहेको उल्लेख गर्दै सरकार विदेशीको ईशारामा नचलेको र मुलुकको हितलाई मध्यनजर गर्दै छिमेकी मुलुकसँगको सम्बन्ध स्थापित गराउन लागिपरेको दाबी गरे । नेपाली जनताको हितलाई मध्यनजर गर्दै तत्काल भारतसँग कुनै महत्वपूर्ण सम्झौता नगरिएको उनको भनाई छ । अर्को प्रसङ्गमा मन्त्री पाण्डेले सिन्धुपाल्चोक घटनामा चीनले गर्न लागेको सहयोग मन्त्रीपरिषद्ले नभई गृहमन्त्रालयको निर्णयका आधारमा भएको प्रस्ट्याए ।
सोही कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसकी नेतृ एवम् विदेश विभाग प्रमु्ख सुजाता कोइरालाले राजनीतिक दलहरू कमजोर भएका कारण विदेश नीति पनि कमजोर भएको बताइन् । कुनै पनि विषयमा राजनीतिक दलहरूले स्वयम् निर्णय लिन नसकेका कारण विदेश नीतिमा समस्या बन्दै गएको नेतृ कोइरालाको भनाई छ । कोइरालाले आफुहरु कमजोर भएकै कारण बाहिरी शक्तिले पनि चलखेल गर्न सक्ने उल्लेख गरिन् । भारत र चीनसँगको सम्बन्ध जति आफुहरुले सुधार्न सक्यो उती नै नेपाल आर्थिक रूपमा सम्पन्न हुने उनको भनाई छ ।
सिन्धुपाल्चोकमा गएको पहिरोको व्यवस्थापन आफै गर्नसक्ने सेनाको भनाईप्रति लक्षित गर्दै कोइरालाले पुलिस र आर्मीको निर्देशनमा सरकार चल्न नहुने सुझाव दिइन् । दशैँ आउने बेला भइसकेको भन्दै तत्काल छिमेकीको सहयोग लिई बाढी–पहिरो पिडितलाई गाँस बाँस र कपासको व्यवस्था सहित खाद्यान ढुवानी गर्ने प्रमुख नाका भएकाले तत्काल बाटो खोल्न सरकारलाई उनले आग्रह गरिन् । भारतले नेपालकै विकासका लागि ठुलो सहयोग गरेको र पुनः गर्ने वचन दिएकाले सही दिशामा राजनीति लगी देशको आर्थिक, सामाजिक परिवर्तन गर्नुपर्ने नेतृ कोइरालाको सुझाव रहेको छ । दुई मुलुकको सम्बन्ध जति प्रगाढ बनाउन सकिन्छ त्यति नै हामी बलियो हुन्छौँ भन्दै कोइरालाले नेताहरुले काम गर्दा राष्ट्रको हितमा हुने गरी विकासका निर्णय गर्न पनि आग्रह पनि गरिन् । राजनीतिक नेताहरुकै कमी–कमजोरीले गर्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउँदा पीडीए र पीडीए गर्न नसक्नु दुःखद भएको उनको भनाई छ । राष्ट्र र जनताका लागि काम गर्ने नेताहरुको अभाव रहेको दर्शाउदै कोइरालाले भनिन्– ‘कसैले आफुलाई जनता र राष्ट्रको हितमा राम्रो काम गरेको व्यक्तिको नाम दिए म नोवेल पुरस्कारका लागि सिफारिस गर्ने छु ।’

‘मेरा बाबा’मार्फत विश्व रेकर्डको तयारी
‘विश्वमा सर्वआत्माले सुख, शान्ति र आनन्दको अनुभव गरिरहुन्, कुनै नेपालीले भोक, रोग, शोक, अशान्ति व्यहोर्न नपरोस्, देशले विकासको अग्रगति लिन ढिलो नगरोस्, राष्ट्र–सञ्चालकहरूमा आफूभन्दा देश ठूलो हो भन्ने भावना तत्काल पैदा होओस् भनी सबै आत्माका पिता शिव परमात्मासँग प्रार्थना तथा पुकारा गर्दै नौ लाख १६ हजार एक सय आठ पटक ‘मेरा बाबा’ लेख्ने प्रतिज्ञा गर्दछु ।’
उपरोक्त भूमिका बाँध्दै गत २०६९ चैत २५ देखि धादिङ, बेनिघाट (सलाङघाट)स्थित राजऋषि–गीता पाठशालामा बसेर ‘मेरा बाबा’ शब्द लेख्न सुरु गरेका ब्रह्मकुमार ऋषिप्रसाद पाण्डेले एक हजार दुई सय बहत्तर घन्टा लगाएर आफ्नो उक्त कठिन प्रतिज्ञा पूरा गरेका छन् । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रमा आबद्ध रहेका पाण्डेले माथि उल्लेख गरेअनुसार विश्वमा सर्वात्माले सुख–शान्ति र आनन्दको अनुभूति गरिरहन सकुन् भन्ने भावनाबाट अभिप्रेरित भई नौ लाख १६ हजार एक सय आठपटक सो शब्द लेख्ने प्रण गरेका थिए । ब्रह्मकुमारी राजयोग सेवाकेन्द्रमा सम्बद्ध व्यक्तिहरू कलियुगको अन्त्य भई छिट्टै सत्ययुग सुरु हुने र त्यस युगमा नौ लाख १६ हजार एक सय आठजना मात्र जीवित रहने विश्वास गर्दछन् । सोही विश्वासका आधारमा उल्लेखित सङ्ख्यामा मेरा बाबा लेखन कार्य गरिएको पाण्डेले बताए । झट्ट हेर्दा सरलजस्तो लागे पनि अविचलित भई त्यत्तिका पटक एउटै शब्द दोहो¥याएर लेख्ने कार्य कठिन तथा दुर्लभ हुने भन्दै ब्रह्मकुमारी राजयोग सेवाकेन्द्र तथा शुभचिन्तकहरूले पाण्डेको यस सत्कर्मलाई गिनिज बुक अफ वल्र्ड रेकर्डस्मा लेखाउन पहल गरिरहेको बुझिएको छ ।

समाजसेवीको सम्झनामा रक्तदान
भक्तपुर/ समाजसेवी स्व. श्यामबहादुर कार्कीको सातौँ स्मृति दिवसका अवसरमा भक्तपुरको बालकोटमा शनिबार खुला रक्तदान, निःशुल्क स्वास्थ्य शिविर तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ । कांग्रेस सभासद् ईश्वरी न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एक सय १५ जनाले रक्तदान गरेका थिए । त्यसअवसरमा पाँच सय १४ बिरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिनुका साथै औषधि पनि वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए । त्यसअवसरमा प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिने छात्रवृत्ति यस वर्ष नासा इन्टरनेसनल कलेजमा विज्ञान संकायमा १२ कक्षामा अध्ययनरत अरुण रानामगरलाई प्रदान गरिएको थियो ।
कार्यक्रममा सभासद् गगन थापा र रामेश्वरप्रसाद ढुंगेलले स्व. कार्कीको योगदानबारे चर्चा गरेका थिए । हरेक वर्षको साउनमा गरिँदै आएको स्मृति दिवसलाई आगामी वर्षहरूमा पनि निरन्तरता दिइने कार्यक्रमका सञ्चालक तथा प्रतिष्ठानका सचिव प्रदीप कार्कीले जानकारी गराए ।

मलेसियामा अपहरण गर्ने चितवनमा पक्राउ
मलेशियामा नेपालीलाई अपहरण गरी फिरौती लिने तनहुँ पुर्कोटका कमलबहादुर गौलीलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ । चितवन सौराहबाट नियन्त्रणमा लिइएका गौलीलाई जिल्ला अदालत काठमाडौंमा अपहरण तथा शरीर बन्धक तथा सङ्गठित अपराधअन्तर्गत मुद्धा दर्ता गरी कारवाही अघि बढाइएको छ ।
बताइएअनुसार वैदेशिक रोजगार व्यवसायसम्बन्धी कामको सिलसिलामा मलेसियामा हुँदा भक्तपुर सुडालका रामप्रसाद नेपाललाई त्यहाँको कोत्राय भन्ने ठाउँबाट गौली लगायतका अन्य नेपाली तथा मलेसियन नागरिकसमेत ६ व्यक्तिले अपहरण गरी पाँच दिनसम्म आँखामा पट्टी लगाई हातखुट्टा बाँधेर जङ्गलको बीच रहेको एक घरमा बन्धक बनाइएको थियो । सो क्रममा अपहरणकारीले कमलका आफन्तसँग नेपालमा सम्पर्क गर्न लगाई नगद ३० लाख फिरौती मागेका थिए । तर, बन्धक बनाई राखिएको बस्तीबाट शहरतर्फ लैजाने क्रममा गाडी दुर्घटना परेपछि कमल अपहरणकारीको फन्दाबाट भागेर नेपाल आउन सफल भएका थिए ।