प्रचण्ड जेल पर्छन् भन्नेलाई निलम्बन

प्रचण्ड जेल पर्छन् भन्नेलाई निलम्बन


prachanda123‘प्रचण्ड जेल पर्ने’ भन्दै समानान्तर कमिटी गठन गरी हिँड्ने एमाओवादी पोलिटब्युरो सदस्य गंगानारायण श्रेष्ठलाई पार्टीले निलम्बन गरेको छ । धनुषा, सिन्धुलीलगायतका जिल्लामा अनधिकृत रूपमा कार्यकर्ता भेला गरी समानान्तर कमिटी गठन गरेको र प्रचण्ड जेल पर्ने निश्चित रहेको भन्दै पार्टीमा गुमराह पैदा गरेको आरोप गंगानारायण श्रेष्ठमाथि लागेको छ । श्रेष्ठले भन्ने गरेका थिए, ‘पार्टी र देशको प्रमुख नेता डा. बाबुराम भट्टराई बन्नुहुनेछ । प्रचण्ड जेल जाने निश्चित छ, अख्तियारले प्रचण्डमाथि मुद्दा चलाउने पक्का भइसकेको छ । बाबुरामजी पार्टीको सर्वोच्च नेता बन्नुहुनेछ, यदि एमाओवादीको अध्यक्ष बन्न कारणबस नसकिने भएमा देशमा नयाँ शक्तिको उदय हुनेछ र त्यसको नेतृत्व बाबुरामजीले लिनुहुनेछ ।’ यसरी गंगाले विभिन्न जिल्लामा बोल्दै हिँडेको सूचना प्राप्त भएपछि प्रचण्डले बाबुराम भट्टराईलाई बोलाएर ‘यस्तो के भइरहेछ’ भनी प्रश्न गर्नुभएको थियो । भट्टराईले आफूलाई थाहा नभएको बताउँदै ‘त्यसो भए गंगाले गल्ती गर्नुभएछ’ भनी प्रचण्डलाई जवाफ दिनुभएको थियो । प्रचण्डले ‘मलाई जेल हाल्ने भन्दै हुनुहुन्छ, म जेल गएपछि तपाईंचाहिँ सुरक्षित हुनुहोला ?’ भनी प्रश्न गर्दा डा. भट्टराईले तपाईं जेल गएमा म मात्र कसरी सुरक्षित हुन सकौँला, गंगाले गल्ती गरे’ भन्नुभएको थियो । बाबुराम भट्टराई र उहाँका केही समर्थकले पार्टीविरोधी गतिविधि गरिरहेको विषयलाई लिएर अध्यक्ष प्रचण्ड केही दिनयता निकै गम्भीर बन्नुभएको थियो । यसै क्रममा प्रचण्डनिवास लाजिम्पाटमा सोमबार (साउन १९ गते) बसेको स्थायी समिति बैठकले व्यापक छलफल गरी गंगानारायण श्रेष्ठलाई तीन महिनाका लागि पार्टीबाट निलम्बन गर्ने र टोपबहादुर रायमाझी तथा देवेन्द्र पौडेललाई स्थायी समितिबाट हटाउने निर्णय गरेको छ । स्थायी समितिको यस निर्णयपछि एमाओवादी विवाद अब उत्कर्षमा पुग्ने सम्भावना देखिएको छ । संविधानसभा निर्वाचनमा पराजयपश्चात् पार्टीको पुरानो हैसियत पुनस्र्थापित गर्न सङ्घर्ष गरिरहनुभएका प्रचण्डलाई बाबुराम भट्टराई र उहाँका समर्थकहरूको गतिविधिले चिन्तित तुल्याएको छ । प्रचण्डले केही दिनयता अब ‘वार कि पार’ गर्ने मनस्थिति बनाउनुभएको थियो । पार्टीको पछिल्लो निर्णयले बाबुराम र उहाँका समर्थकहरूलाई प्रचण्डसँग सम्झौता गर्ने या एमाओवादीबाट अलग्गिने बाध्यात्मक अवस्थामा पु-याइदिएको छ ।

कुर्सी माथि राखिएकोमा सीपीको आपत्ति !
नकारात्मक सोचबाट ग्रस्त नेपाली मानसिकताको प्रतिबिम्ब गत आइतबार संसद्मा देखियो र देखाउनेमा परे नेकपा मालेका नेता सीपी मैनाली । आइतबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको संसद्लाई सम्बोधन गर्न संविधानसभा भवनमा प्रवेश गर्दै हुनुहुन्थ्यो । मोदीलाई सम्बोधन गर्नुअघि र त्यसपछि बस्नका लागि सभामुखको आसनको दायाँतर्फ सेतो कपडाको खोल भएको सामान्य कुुर्सी राखिएको थियो । प्रधानमन्त्री सुशील कोइराला, मन्त्रीहरू, विपक्षी र सत्तापक्षका नेताहरू दर्शकदीर्घाको अग्रभागमा बसेर मोदीको प्रतीक्षा गर्दै हुनुहुन्थ्यो र सांसदहरू आ–आफ्नो स्थानमा शान्तपूर्वक बसिरहेका थिए । कुनै ठूलै विपत्ति आइलागेझैँ माले नेता सीपी मैनाली उठ्नुभयो र प्रधानमन्त्री तथा अन्य नेताहरू भएतिर गई ‘यो हुँदै भएन’ भनेर कड्किन थाल्नुभयो । मैनालीको आपत्ति भारतीय प्रधानमन्त्री मोदीलाई बस्नका लागि कुर्सी सभामुखसँगै माथि मञ्चमा राखिएकोमा थियो । उनले भने, ‘हाम्रा प्रधानमन्त्री तल दर्शकदीर्घामा र भारतका प्रधानमन्त्रीलाई चाहिँ माथि किन ?’ मैनालीको प्रश्नको जवाफ प्रधानमन्त्री कोइरालाले दिन सक्नुभएन । उहाँ टुलुटुलु हेरिमात्र रहनुभयो । अन्य नेताहरूले ‘भैगोभैगो यसलाई इस्यु नबनाऊँ’ भनेर मैनालीलाई शान्त पार्न खोजे । तर, सीपी मैनालीको आपत्ति थामिएन । त्यसपछि नजिकै रहेका सभामुख सुवास नेम्वाङले भन्नुभयो, ‘मोदीजी हाम्रो विशिष्ट पाहुना हुनुहुन्छ, उहाँको विशेष स्वागत, सत्कार र सम्मान गर्नु हाम्रो सामान्य कर्तव्य हो । मोदीजी सधैँ हाम्रो संसद्मा उपस्थित हुनुहुने पनि होइन, त्यसैले यसलाई इस्यु बनाउने काम नगरौँ ।’ सभामुख नेम्वाङको यस्तो जवाफपछि सीपी मैनाली भुतभुताउँदै फर्किए र आफ्नो स्थानमा गई बसे । सीपीको यस्तो व्यवहारलाई देख्नेहरूले निकै अस्वाभाविक र अनौठो माने । विरोध र असहमतिका निम्ति कुनै इस्यु नभेटिएपछि नकारात्मक ग्रन्थी कसरीसम्म सक्रिय हुनसक्छ भन्ने दृष्टान्तका रूपमा यस घटनालाई लिइएको छ ।

प्रधानमन्त्री रातारात अस्पतालमा
प्रधानमन्त्री सुशील कोइरालाले थप अस्वस्थ महसुस गर्नुभएपछि सोमबार राति उहाँलाई सुटुक्क अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको छ । भारतीय प्रधानमन्त्री मोदीको स्वागतमा सशरीर उपस्थित हुनुपरेपछि उहाँ अस्वस्थ बन्नुभएको र मोदीको बिदाइ गरिसकेपछि रातारात अस्पताल जानुपरेको हो । सोमबार राति कोइरालालाई एउटा गाडीमा राखी सुटुक्क ओम अस्पताल पु-याइएको र आइसीयू कक्षमा राखी परीक्षण गरिएलगत्तै उहाँलाई बालुवाटार फिर्ता ल्याइएको जानकारी अस्पताल सूत्रले दिएको छ । अमेरिकामा छत्तीस दिन उपचार गराएर फर्कनुभएका कोइराला नेपाल आएदेखि नै ज्वरोमुक्त हुन सक्नुभएको छैन । ज्वरो आउँदाआउँदै पनि कोइराला मोदीको स्वागत कार्यक्रम तथा अन्य बैठकहरूमा उपस्थित हुनुभएको थियो । अस्पतालले प्रधानमन्त्री कोइरालालाई सख्त आरामको जरुरत भएको बताउँदै पूरा आराम गर्न सुझाएको बुझिएको छ । स्मरणीय छ, प्रधानमन्त्री कोइरालाको व्यवहारमा अमेरिकाबाट फर्किएयता परिवर्तन आएको छ । उहाँको मानिसहरूसँग झर्कने, फन्कने क्रम बढ्नुलाई अस्वाभाविक मानिएको छ । कोइराला चिसो खप्न सक्ने अवस्थामा हुनुहुन्न । यो मौसममा पनि उहाँलाई हिटरको तातोमा न्यानो बनाएर राख्ने गरिएको छ । कोइरालाको रक्तचाप असन्तुलित हुने गरेकोे र रक्तचाप बढेर ‘एक सय असी’सम्म पुग्ने गरेको बुझिएको छ ।

दासले मौका छोपे
सिङ्गै देशको ध्यान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणतर्फ एकोहोरिएको बेला पारेर एक विवादास्पद व्यापारीले नेपाली सेनाका लागि आवश्यक पर्ने ६ हजार थान बुटजुत्ता सप्लाई गर्ने ठेक्का उछिट्याएका छन् । संयुक्त राष्ट्रसङ्घीय मिसन (शान्तिसेना) मा खटिने सेनाका लागि आवश्यक भन्दै सम्भार रथी (विदेश) विभागले ६ हजार दुई सय चौंतीस थान बुट खरिद गर्न सार्वजनिक सूचना जारी गरेको थियो । पैंतीस दिनको समय दिनुपर्ने नियम भए पनि दश दिन मात्र समय दिएर सूचना जारी गर्दा दुईवटा कम्पनीले मात्र टेन्डरमा सहभागिता जनाएका थिए । दुईमध्ये प्रतिथान बुट साढे पच्चीस (२५.५) अमेरिकी डलर मूल्य कबुल गर्ने नरेश दासको ‘दास वल्र्ड प्रालि’लाई सप्लाई अनुमति दिने निर्णय ‘सम्भाररथी’ले गरेकोे छ । कर छलीमा संलग्न रहेको भनी विवादमा आएका र आफूलाई अमेरिकाको सीआईडी भएको दाबी गर्ने नरेश दासले बुटको नमुना पेस नगरीकन उक्त ठेक्का प्राप्त गरेका छन् । तराईकेन्द्रित दल र विभिन्न राजदूतावासहरूसँग समेत घनिष्टता रहेको बताउने दासले विगतमा राम्रो नमुना पेस गरेर कमसल गुणस्तरको सामान आपूर्ति गर्ने गरेका भए पनि यसपटक उनले नमुना नै पेस नगर्दा बुटमा ठूलो घोटाला हुनसक्ने शङ्का बढेको छ । सुडानको डाफरमा बिग्रिएर बसेका सैन्य सामग्री फिर्ता ल्याउने टेन्डर पारेका दासले अहिलेसम्म ती सामग्रीहरू ल्याउन सकेका छैनन् । एपीसी ल्याउनका लागि नेपाल प्रहरीका एसपी श्याम खड्कासँग विशेष गठबन्धन बनाएका दासले सम्भाररथीका अधिकारीहरूलाई धाकधक्कुकै भरमा प्रभाव पारी काम पट्याउने गरेको सम्बद्ध सूत्रहरूले जनाएका छन् । करिब डेढ करोड रुपैयाँबराबरको बुट सप्लाईको टेन्डर पारेका दासले कमसल बुट उपलब्ध गराई पचहत्तर लाख रुपैयाँभन्दा बढी घोटाला गर्ने योजना बुनेको बुझिएको छ ।

सरकार अमानवीय !
नेपालको वर्तमान सरकार आफ्ना नागरिकप्रति कतिसम्म अमानवीय र गैरजिम्मेवार रहेछ भन्ने कुराको पुष्टि सिन्धुपाल्चोकको प्रलयकारी घटनाले पुष्टि गरेको छ । सिन्धुपाल्चोकको जुरेमा राष्ट्रियस्तरमा मात्र नभएर अन्तर्राष्ट्रियस्तरमै क्षति पु-याउने गरी गत शुक्रबार राति भीषण पहिरोले बस्ती नै पुर्दा पनि सरकारले खासै चासो देखाएको छैन । पहिरोका कारण दुई सयभन्दा बढी नागरिक पहिरोमा पुरिएका छन् । उनीहरूको उद्धारमा सरकारले कुनै तत्परता लिएको छैन ।
पहिरोका कारण चौबीस घन्टासम्म थुनिएको सुनकोशी पूर्ण रूपमा खुलाउन सकिएको छैन । पहिरो झरेको ठाउँपट्टिबाट पानी बग्न थालेपछि यसअघिको आकारमा नदीको बहाब सुरु भए पनि थुनिएको नदी यथावत् छ । नदी थुनिँदा दुई किलोमिटरभन्दा लामो ताल बनेको छ । पहिरो गएको भित्तापट्टिबाट पानी बग्न थाले पनि यसअघि नदी बग्ने गरेको स्थानमा पहिरोले बनाएको पहाड यथावत् रहेको छ । तसर्थ थुनिएको नदी कुनै पनि बेला फुट्न सक्छ । नदी फुट्यो भने यसले पु-याउने क्षतिको कल्पनासमेत गर्न सकिँदैन । सरकारलाई यसबारेमा राम्रो जानकारी छ । कति क्षति हुन्छ भन्ने पनि जानकारी छ । तर, क्षतिबाट जोगिन उपाय अपनाउनतिर लागेको देखिँदैन ।
सप्तकोशीको सहायक नदीका रूपमा रहेको सुनकोशीको थुनिएको पानीले एक्कासि ढिस्कोलाई फोड्दै तीव्र गतिमा सप्तकोशीमा मिसिए पूर्वाञ्चलको सात जिल्लाका ५१ गाविसका बासिन्दालाई असर पार्न सक्छ । त्यसै नदीले काभ्रे, रामेछाप, सिन्धुली, सप्तरी, सुनसरी, उदयपुर, भोजपुर, ओखलढुङ्गा, खोटाङ र धनकुटा जिल्लाका नदी आसपासका बासिन्दालाई समेत गम्भीर असर गर्नेछ ।
नागरिकप्रति कुनै पनि विपद आइपर्दा त्यसबाट आफ्नो नागरिकलाई जोगाउनु सरकारको पहिलो कर्तव्य हुन्छ । जति सक्यो छिटो पीडितको उद्धार गर्न सक्यो, त्यति धेरै क्षति कम हुन्छ । तर, सरकारले सुनकोशी पहिरोपीडितको उद्धार गर्नु त निकै परको कुरा पीडितलाई सहानुभूति प्रकटसमेत गरेको देखिएन । जनतामा प्राकृतिक विपत्ति आएपछि विदेशमा सरकारप्रमुख एवम् राष्ट्रप्रमुखसमेत घटनास्थलमा जाने प्रचलन छ । यतिसम्म कि उनीहरू पदबाटै राजीनामासमेत दिन पछि पर्दैनन् । तर, नेपालमा दुई घन्टामै पुग्न सकिने स्थानमा पनि प्रधानमन्त्री, मन्त्री पुगेको पाइँदैन । यतिसम्म कि प्रधानमन्त्रीले दु:खसमेत व्यक्त गरेका छैनन् । बरु नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुनकोशी पहिरोप्रति दु:ख प्रकट गर्दै शोक वक्तव्यसमेत निकाले । तर, नेपालका प्रधानमन्त्री सुशील कोइरालाले गम्भीरता देखाएका छैनन् । यतिसम्म कि घटनास्थल जान चाहेका मुख्यसचिव लीलामणि पौडेललाई समेत सरकारले जान दिएन । मुख्यसचिव पौडेललाई प्रधानमन्त्री सुशील कोइरालाले नै जान रोकेको बुझिएको छ । शनिबार अपराह्न सिन्धुपाल्चोक घर भएका एमाले नेता अमृत बोहरा, अरुण नेपाल, एमाओवादी नेता अग्नि सापकोटालगायतका नेताहरू पुगेका थिए । तर, उनीहरू पनि रमिते मात्र बने ।
उद्धारमा खटिएको नेपाली सेनाको टोलीले शनिबार दिनभर सरकारको निर्देशन पर्खेर बसिरहेको थियो । आइतबार दिउँसो स्थानीय नेताहरूसँग गृहमन्त्री वामदेव गौतम पुगेका थिए । तर, उनी पनि घटनाको अवलोकन गरेर उद्धार छिटो गर्ने भन्दै हतारहतार राजधानी फर्के ।
पीडितहरूका अनुसार पहिरो गएको दुई दिनसम्म पहिरोमा पुरिएकाहरूको खोजी तथा विस्थापितलाई पुनस्र्थापित तथा थुनिएको सुनकोशी नदीलाई खुलाउनेतर्फ खासै तत्परता लिइएको छैन । यतिबेला पहिरोमा परेकाहरूको खोजीकार्य अघि बढाए पनि विस्थापितलाई पुनस्र्थापित गर्ने र थुनिएको कोशी खुलाउनेतर्फ कुनै चासो देखाएको छैन ।
आइतबार दिउँसो मात्र घटनास्थल पुगेका सरकारी प्राविधिकहरूको टोलीका अनुसार आधा किलोमिटरसम्मको दूरीमा पहिरो गएको छ भने झन्डै एक–डेढ किलोमिटरसम्म चिरा परेको छ । उनीहरूको अनुसार यतिबेला नदीमा दुई सय क्युसेक पानी बगिरहेको छ । पानी बग्न थालेपछि तालको आकार बढ्न रोकिए पनि कुनै पनि बेला जमेको पानी फुट्ने खतरा अझै कायम छ । पानी फुटे यसले पार्न सक्ने असरको कल्पना गर्न सकिँदैन । त्रिभुवन विश्वविद्यालय भूगर्भ विभागका सहप्राध्यापक रञ्जनकुमार दाहालका अनुसार जमेको पानी जतिसक्यो छिटो फाल्नुपर्ने हुन्छ । किनकि यहाँ कुनै पनि बेला थप पहिरो खस्न सक्छ र पहिरो खसेमा यसले फेरि सुनकोशी नदी थुन्न सक्ने खतरा छ ।
सरकारले पहिरोमा परी घाइते भएकाहरूको उद्धार गरी उपचार गरे पनि उनीहरूको पुनर्बासका लागि कुनै पहल गरेको छैन । पहिरोबाट करिब पाँच हजार बासिन्दा र व्यवसायी प्रत्यक्ष प्रभावित बनेका छन् । उनीहरू आफ्नो श्रीसम्पत्ति छाडेर अग्लो डाँडामा गएर बस्न बाध्य बनेका छन् । उनीहरू सडकमै खाना पकाएर खान बाध्य छन् । तर सरकारले उनीहरूको समस्या बुझेको देखिँदैन ।
पीडितहरूले दिएको जानकारीअनुसार शुक्रबार राति पहिरोमा परेकाहरूको खोजी तथा उद्धारकार्य आइतबार बिहानबाट मात्र सुरु भएको थियो । उद्धारका लागि तीनवटा स्काभेटरको प्रयोग गरिएको छ । सरकारबाट उपयुक्त आदेश नपाएको तथा पहिरो खस्ने क्रम जारी रहेको भन्दै उद्धारका लागि शनिबार बिहानै घटनास्थल पुगेका नेपाली सेना, नेपाल प्रहरी दिनभर रमिते मात्र बने । स्थानीयवासीहरू शनिबार दिनभर त्रासमा रहे । अहिले उद्धार तथा शव खोज्ने क्रम सुरु भए पनि भीषण पहिरोले पुरेका मान्छेका सबै शव भेटिएका छैनन् । दुई सयभन्दा बढी स्थानीय व्यक्ति पुरिएको भनिए पनि ३४ जनाको मात्र शव फेला परेको छ ।
पहिरोका कारण सुनकोशी नदी थुनिँदा राजमार्ग अवरूद्ध भएको छ । अवरुद्ध बाटो खुलाउन सरकारले अहिलेसम्म कुनै पहल गरेको छैन । तातोपानी नाका हुँदै नेपालमा हुने चिनियाँ सामान आयात गरिन्छ । चीनसँगको एक मात्र व्यापारिक नाका बन्द भएपछि दैनिक ढेड करोड राजस्व सङ्कलन कार्य रोकिएको छ ।
नेपाल विद्युत् प्राधिकरणका अनुसार पहिरोका कारण ६७ मेगावाट विद्युत् उत्पादनसमेत ठप्प भएको छ । सुनकोशी नदी थुनिएपछि सातवटा जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन ठप्प भएको हो । २ दशमलब ५ मेगावाटको सानिमा हाइड्रोपावर, ४५ मेगावाटको भोटेकोशी, १० मेगावाटको सुनकोशी, ३ मेगावाटको चाकुखोला, १ दशमलब ८ मेगावाटको मध्यचाकुखोला र १ दशमलब ६ मेगावाटको तल्लो चाकुखोला र ३ मेगावाटको भैरवकुण्ड जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन अवरुद्ध भएको छ । त्यस्तै, ५५ गाविसमा टेलिफोन र बिजुली बन्द भएको छ । काठमाडौंदेखि खासासम्म बिछ्याइएको अप्टिकल फाइभरको लाइनमा पनि क्षति पुगेको छ ।

‘नेपालीहरू बेल्जियमका लागि उदाहरणीय’
रमेश कँडेल, ब्रुज (बेल्जियम)÷ बेल्जियमका सिनेटर पोल भानदेन द्रिसले नेपाली मिहिनेती, उद्यमशील तथा बेल्जियमका लागि उदाहरणीय रहेका धारणा व्यक्त गरेका छन्््् । ब्रुजको कानिकास्थित सुसी रेस्टुरेन्टमा यहाँको एक प्रमुख राजनीतिक पार्टी ‘एन–भी आ ब्रुज’ र ब्रुजका नेपाली समुदायबीच भएको भेटघाट साँझ कार्यक्रममा सिनेटर द्रिसले यस्तो अभिव्यक्ति दिएका हुन् । गैरआवासीय नेपाली सङ्घ युरोपका अध्यक्ष अर्जुन श्रेष्ठ र अर्का उत्साही युवा रमेश कँडेलको संयोजकत्वमा गत सोमबार सम्पन्न भेटघाट कार्यक्रममा ‘एन–भी आ’का बोर्ड सदस्य एवम् प्रतिनिधिहरू अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा ब्रुजका नेपाली समुदायले एक–अर्कासँग परिचय गरी सम्बन्ध सुमधुर बनाउने काम गरे । एन–भी आ ब्रुजकी उपाध्यक्ष इङ फान हुलुलसँगको सल्लाहपछि तय गरिएको सो कार्यक्रममा ‘एन–भी आ’का तर्फबाट करिब २० बेल्जियनको सहभागिता थियो भने त्यति नै सङ्ख्यामा नेपाली उपस्थित थिए ।
कार्यक्रम सञ्चालनको जिम्मा लिएका रमेश कँडेलले पाहुनाको स्वागतमा मन्तव्य दिँदै भेटघाट कार्यक्रमको महत्वबारे प्रकाश पारे भने नेपाली समुदायको तर्फबाट अर्जुन श्रेष्ठले ब्रुज एन–भी आ अध्यक्ष एर्विन प्रिमलाई शान्तिको प्रतीक बुद्धको मूर्ति सम्मानसहित प्रदान गरे । त्यसैगरी सिनेटर द्रिसले एन–भी आकोतर्फबाट नेपाली समुदायलाई विशेष धन्यवाद मन्तव्य दिएका थिए । डच सिक्ने र बोल्ने सफल प्रयासका लागि नेपाली समुदायलाई बधाई दिँदै सिनेटर द्रिसले फ्लान्डर्समा बस्न तथा काम गर्न आउने सबैका लागि नेपाली समुदाय एक सुन्दर उदाहरण बनेको धारणा व्यक्त गरे ।
यस्तै, छोटो मन्तव्य प्रकटका क्रममा एन–भी आ ब्रुगेका अध्यक्ष प्रिम एर्बिनले नेपालीहरू मिहिनेती र इमानदार हुन्छन् भन्ने आफूले सुन्दै आएको बताउँदै प्रत्यक्ष भेटेर परिचय तथा कुराकानी गर्न पाउँदा त्यो प्रस्ट भएको उल्लेख गरे । कार्यक्रमको आयोजनाले आफूलाई खुसी तुल्याएको बताउँदै उनले नेपाली कम्युनिटीलाई सक्दो सहयोग गर्ने वचन दिए ।
यसलगत्तै एन–भी आले एक प्रेस विज्ञप्ति जारी गरी फ्लेमिङहरू जस्तै नेपाली समाज उद्यमी तथा मिहिनेतीका रूपमा चिनिने समुदाय भएको, ब्रुजका नेपाली विशेषगरी होटल व्यवसाय र पर्यटन उद्योग क्षेत्रमा अग्रसर रहेको उल्लेख गरे । विज्ञप्तिमा एन–भी आको सिद्धान्तजस्तै नेपाली पनि मानवीय समृद्धि तथा समाजको उन्नतिका लागि काम र जिम्मेवारी आवश्यक छ भन्नेमा विश्वस्त रहेकाले नेपालीको लगनशीलता प्रशंसनीय छ भन्ने स्पष्ट पारिएको थियो । फ्लान्दरनमा ठूलो पार्टीको रूपमा रहेको एन–भी आको नेपाली समुदायप्रतिको यस्तो सकारात्मक प्रतिक्रियाले नेपाली समुदायमा थप उत्साह तथा जाँगर निम्त्याउनुका साथै यो भेटघाटले नेपाली समुदायमा सकारात्मक आशा बढाएको अनुभूति गरिएको छ ।
उपस्थित नेपालीजनले पनि सो कार्यक्रमको खुलेरै प्रशंसा गरे । एक सहभागी अर्जुन काफ्लेले यसखाले कार्यक्रमले दुई समुदायबीचको दूरी घट्ने बताए । एभरेष्ट नेपाली समाजका निवर्तमान अध्यक्ष कमल पन्थीले यस्तो कार्यक्रम बेल्जियममै पहिलो भएको र यसलाई निरन्तरता दिनुपर्ने पनि उनले औँल्याए । यस्तै, स्थानीय नेपाली व्यवसायी कमल भारतीले नेपाली पनि स्थानीय राजनीतिमा आउनुपर्ने विचार व्यक्त गरे । एभरेष्ट नेपाली समाजका अध्यक्ष दुर्गा सुवेदीले हामी नेपाली इमानदार, मिहिनेती र समाजमा घुलमिल गर्न सक्ने मानिस हौँ भनेर बेल्जिकहरूलाई चिनाउन सक्नु नै कार्यक्रमको महत्वपूर्ण उपलब्धि भएको बताए । नेपालबाट आएका कलाकारद्वय सत्यराज र स्वरूपराजसँग कार्यक्रमको अन्त्यमा उपस्थित नेपालीजनले मनोरञ्जन लिएका थिए ।

एकै साता साढे बाह्र करोडको सहयोग सम्झौता
जाजरकोटको खलङ्गास्थित श्री भेरी ज्ञानोदय क्याम्पसको शैक्षिक एवम् प्रशासनिक भवन निर्माणका निम्ति नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत चार करोड ५४ लाख अनुदान सहयोग उपलब्ध हुने भएको छ । गत साता भारतीय राजदूतावास, जिल्ला विकास समिति जाजरकोट र भेरी ज्ञानोदय क्याम्पसबीच सो सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । मित्रराष्ट्र भारतको सहयोगमा नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत जाजरकोटका लागि लागू हुने यो पहिलो साना विकास परियोजना हो ।
जाजरकोटको खलङ्गा–२ मा सन् १९८६ मा स्थापित भेरी ज्ञानोदय क्याम्पस त्रिविसँग आबद्धता रहेको शैक्षिक संस्था हो । क्याम्पसमा हाल उपलब्ध पूर्वाधार जीर्ण एवम् अपर्याप्त रहेकाले नयाँ भवन निर्माणको आवश्यकता भए पनि आर्थिक दूरावस्थाका कारण सम्भव भइरहेको थिएन । भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिने नयाँ भवनबाट अत्यावश्यक कक्षाकोठाहरू उपलब्ध भई ५५ प्रतिशत छात्रासहितका करिब आठ सय विद्यार्थीलाई सहज शैक्षिक वातावरण सिर्जना हुने र विद्यार्थी भर्नादरमा समेत बढोत्तरी आउने अपेक्षा गरिएको छ । जाजरकोट जिल्लावासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने हेतुले भारत सरकारले एउटा एम्बुलेन्ससमेत उपहार प्रदान गरेको बताइन्छ ।
कञ्चनपुरको महेन्द्रनगर नपा–१० स्थित श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालय कञ्चनपुरको विद्यालय भवन निर्माणार्थ मित्रराष्ट्र भारतले तीन करोड २३ लाख ३० हजार अनुदान सहयोग उपलब्ध गराउने भएको छ । करिब १२ सय छात्रछात्रा अध्ययनरत सो विद्यालयका लागि नयाँ भवन निर्माणमा सहयोग गर्ने तथा काठमाडौंको श्री अरुबिन्दो योगा मन्दिरमा विद्यालय भवन निर्माण गर्नका लागि चार करोड ४४ लाख २० हजारसमेत गरी सात करोड ६७ लाख ५० हजार आर्थिक अनुदान सहयोगसम्बन्धी उपलब्ध गराउने सम्झौतापत्रमा गत साता भारतीय राजदूतावास, कञ्चनपुर जिविस, श्री सिद्धार्थ उच्च माध्यमिक विद्यालय, सहरी विकास तथा भवन निर्माण विभाग र श्री अरुबिन्दो योगा मन्दिरबीच दुई छुट्टाछुट्टै सम्झौतापत्रमा हस्ताक्षर भएका छन् ।
सन् १९८३ मा स्थापित अरुबिन्दो योगा मन्दिर टुहुरा र अनाथहरूको हेरचाह गर्ने नाफारहित संस्था हो । विद्यालय भवन निर्माणले आश्रमका विद्यार्थीलाई सहज शैक्षिक वातावरण सिर्जना गर्न मद्दत पुग्ने विश्वास गरिएको छ । यस्तै, मित्रराष्ट्र भारतले सात करोड ३३ लाखको लागतमा कञ्चनपुरमा अन्य पाँच परियोजना निर्माण गरिसकेको छ भने सात करोड ४१ लाख लागतका अन्य तीन परियोजनाको निर्माणकार्य जारी छ । साथै, कञ्चनपुर जिल्लालाई भारतले पाँचवटा एम्बुलेन्ससमेत प्रदान गरिसकेको छ । यसका अलावा भारतीय सहयोगमा काठमाडौंमा अन्य चार परियोजना सम्पन्न भइसकेका छन् भने ५४ करोड २४ लाख लागतमा सानाठूला विभिन्न पन्ध्रवटा विकास परियोजना सुचारु रहेका छन् । साथसाथै काठमाडौंका विभिन्न संस्थालाई ३३ वटा एम्बुलेन्स, २८ वटा स्कुलबस र तीनवटा विशेष मेडिकल भ्यानसमेत छिमेकी भारतले उपहारस्वरूप प्रदान गरेको छ । एक अर्ब ६० करोडको अनुमानित लागतमा मित्रराष्ट्र भारतले राजधानीमा ट्रमा सेन्टर निर्माण गरिदिएको सन्दर्भ त पुरानै विषय बनिसकेको छ ।
सम्बन्धित सम्झौतापत्रमा उल्लेख गरिएअनुसार कञ्चनपुर जिल्लाको परियोजना कञ्चनपुर जिविसद्वारा नेपाल सरकारको विद्यमान नीति–नियमअनुसार कार्यान्वयन गरिने र काठमाडांैका परियोजना सहरी विकास तथा भवन निर्माण विभागले कार्यान्वयन गर्नेछन् । यी निकायहरू परियोजनाको गुणस्तरीयता र समयमै समापनका लागि समेत जिम्मेवार रहने सहमति भएको बुझिएको छ ।
आफ्नो सबभन्दा नजिकको छिमेकी देशको नाताले शिक्षा, स्वास्थ्य, सिँचाइ एवम् विभिन्न पूर्वाधारका क्षेत्रमा नेपाललाई सहयोग गर्दै आएको मित्रराष्ट्र भारतले पछिल्ला वर्षमा सहयोगको हात बढाउने क्रममा तीव्रता दिएको छ । यसै तथ्यलाई उजागर तुल्याउँदै मुगुको श्री महादेवमस्त चतुर्देव क्याम्पसलाई पनि भारतले चार करोड ९७ लाख ८० हजार सहयोग उपलब्ध गराउने भएको छ । भारतीय दूतावास, मुगु जिविस र सो क्याम्पसबीच प्रशासनिक तथा शैक्षिक भवन निर्माणका लागि उल्लेखित सहयोग उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत मुगुका लागि लागू हुने यो पहिलो साना विकास परियोजना भएको बताइएको छ । सन् २००७ मा स्थापित तथा त्रिविसँग आबद्ध महादेवमस्त चतुर्देव क्याम्पस मुगुको कोटडाँडा गाविसमा अवस्थित छ ।

पशुपतिनाथलाई चन्दन उपहार
पशुपतिनाथ मन्दिर दर्शनको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिवलाई तीन करोड मूल्यबराबरको दुई हजार पाँच सय किलोग्राम चन्दन उपहार प्रदान गर्नुभएको छ । पशुपति क्षेत्र विकास कोषले भारत सरकारसँग पशुपतिनाथमा पूजाका लागि चन्दन प्रदान गर्न अनुरोध गरेअनुसार सो चन्दन उपहार प्रदान गरिएको बुझिएको छ । स्मरणीय छ, भारतमा चन्दन निर्यात प्रतिबन्धित छ ।
प्रतिबन्धित भए पनि नेपालसँग भारतको प्राचीन सांस्कृतिक सम्बन्धलाई मध्यनजर गर्दै भारत सरकारले हरेक दिन मन्दिर दर्शन गर्ने हजारौँ भक्तजनको इच्छापूर्तिका लागि यस्तो निर्णय गरेको भारतीय दूतावासले जनाएको छ । पशुपतिनाथ दर्शन गर्ने नेपाल र भारतका भक्तजन तथा तीर्थालुका लागि पूजाविधिको क्रममा चन्दन अभिन्न अङ्गको रूपमा लिइन्छ ।
स्मारकहरूको संरक्षण तथा पशुपतिनाथ मन्दिर परिसरको सरसफाइ सुधारका लागि भारत सरकारले प्रतिबद्धता जाहेर गरेको छ । यसका लागि करिब ४० करोडको भवन र भारतको सुलभ इन्टरनेसनलको सहकार्यमा सुलभ शौचालयका लागि पाँच करोड प्रदान गरिने बताइएको छ । बताइएअनुसार भारत सरकारले करिब २७ करोड लागतमा तिलगंगामा नेपाल–भारत मैत्री पशुपति धर्मशालाको निर्माण कार्य सुरु गर्नेछ । निर्माणकार्य शीघ्र सञ्चालन हुने दाबी गरिएको छ ।
कोषका सदस्यसचिवले पशुपतिनाथ मन्दिर दर्शन गर्ने हजारौँ भक्तजनले टीकाको रूपमा ग्रहण गर्ने चन्दन उपहार प्रदान गरेकोमा भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले यस्ता क्रियाकलापको माध्यमबाट दुई देशबीच पारस्परिक सांस्कृतिक सम्बन्ध मजबुत हुने आशा पनि व्यक्त गर्नुभयो ।