एक्लो अमरले अमेरिकामा देखाए नेपाली संस्कृति

एक्लो अमरले अमेरिकामा देखाए नेपाली संस्कृति


मलेसियालाई केन्द्र बनाएर व्यापारिक कार्यमा सक्रिय मारवाडी समुदायका एक युवाले अमेरिकामा नेपाली संस्कृति झल्काउन देउसी–गीत गाएर सबै सहभागीहरूलाई चकित पारिदिएका छन् ।

मलेसियामा अमेरिकी कम्पनी यूएसटी ग्लोबलको मुलुक प्रमुखको रूपमा कार्यरत अमर छाजेरले अमेरिकाको बोस्टनमा अवस्थित विश्वप्रसिद्ध हार्वर्ड बिजनेस स्कुलमा अध्ययनरत चालीस देशका सहपाठीहरूसमक्ष नेपाली सांस्कृतिक परम्पराबारे जानकारी गराउन देउसी–गीत प्रस्तुत गरेका थिए ।

देउसी–गीत समारोहमा अन्य ३९ मुलुकका विद्यार्थीहरू आ–आफ्नै पोसाकमा सहभागी भएका थिए भने अमर नेपाली राष्ट्रिय पोसाक दौरा, सुरुवाल र कोट तथा टोपीमा सजिएका थिए ।

भाइटीकाको साँझमा आयोजित देउसी–उत्सवमा अमरले तिहारबारे जानकारी गराउँदै सहभागीहरूलाई ‘देउसिरे’ गाउन सिकाएका थिए । उक्त सांस्कृतिक उत्सवमा अमरले भट्याउने र सहभागी सबै विदेशीहरूले ‘देउसिरे’ गाएका थिए ।

आईटीमा इन्जिनियरिङ गरेका अमरले एमबीए गरेका छन् र उनी यतिबेला बोस्टनस्थित हार्वर्ड बिजनेस स्कुलमा उच्च शिक्षा अध्ययन गरिरहेका छन् । मलेसियालाई केन्द्र बनाएर काम गरिरहेका मारवाडी परिवारका एक युवाले नेपाली राष्ट्रिय पोसाकमा सजिएर देउसिरे सांस्कृतिक उत्सव गरिएको घटनालाई अमेरिकामा रहेका नेपालीहरूले उच्च सराहना गरेका छन् । अमर छाजेर नेपालका ख्यातिप्राप्त व्यवसायी शुभकरण जैनका सुपुत्र हुन् ।

हेर्नुहोस् भिडियो-

https://www.youtube.com/watch?v=8aFCM-JjKRY