डलर झार्ने साधुमाथि कसले गर्ने कारबाही ?





हिन्दू धर्ममा पाहुनालाई भगवान्सरह मानिने हुनाले ‘अतिथि देवो भव:’ भन्ने संस्कृत-वाक्य अत्यन्त प्रचलनमा छ । पाहुनासँग सुमधुर र मीठो व्यवहार राख्नुपर्छ भन्ने मान्यता छ तर हाम्रो देशमा पाहुनासँग यदाकदा अत्यन्त तीतो व्यवहार गरिन्छ । यतिखेर हामी नेपाल पर्यटन वर्ष मनाइरहेका छौँ र हाम्रो उद्देश्य भनेको आफ्नो संस्कृति तथा परम्परालाई विश्वसामु चिनाउनु हो । पर्यटन वर्षसँग प्रत्यक्ष रूपमा आर्थिक लाभको विषय पनि जोडिएको छ । पर्यटक हाम्रा पाहुना हुन्, पाहुनासँग हामीले मीठो र सुमधुर सम्बन्ध राख्न सके मात्र ‘शान्तिका लागि पर्यटक’ भन्ने नारा सफल हुन सक्छ । यसका लागि हामीले हाम्रो राष्ट्रको राजधानी सहर काठमाडौंदेखि गाउँका कुनाकाप्चाका बस्तीसम्म पर्यटकलाई कुनै पनि किसिमको अप्ठ्यारो तथा अमर्यादित क्रियाकलापहरू हुन दिनुहुन्न । एक ठाउँबाट अर्को ठाउँ जाने जोसुकै मानिसका लागि पनि धेरै किसिमका समस्या देखापर्छ, जस्तो त्यहाँको भाषा, व्यवहार, रहनसहन आदि । हाम्रो देशमा आउने पर्यटकले कस्ताकस्ता किसिमका अप्ठ्याराको सामना गर्नुपर्छ भन्ने कुरा हामी नेपालीले नै बुझनुपर्छ र यसको समाधान पनि हामी र हाम्रा निकायहरूले नै गर्नुपर्छ । यस्ता कुरामा हामी र हाम्रा सम्बन्धित निकायहरूले ध्यान दिएनन् भने हाम्रो देशमा आउने पर्यटकको सङ्ख्या निश्चय पनि घट्न सक्छ । अहिले हामीसँग पर्यटन वर्ष २०११ को नारा छ जसमा हामीले दस लाख पर्यटक भित्र्याउने लक्ष्य लिएका छौँ । हामीकहाँ जति धेरै पर्यटक आउँछन् त्यति हाम्रो राष्ट्रले आर्थिक लाभ हासिल गर्छ भन्ने त स्पष्टै छ । हाम्रो लक्ष्य २०११ मा मात्र दस लाख पर्यटक भित्रियोस् भन्ने नभई बरु यो वर्षभन्दा अर्को वर्ष अझ बढी पर्यटक आओस् र यो क्रम निरन्तर बढिरहोस् भन्ने हुनुपर्छ ।
हामी पर्यटक व्यवस्थापनमा धेरै पछाडि छौँ । पर्यटकलाई भरपर्दो सुरक्षा दिन सकिरहेका छैनौँ । गुणस्तरीय सेवा र सामान दिन सकिरहेका छैनौँ, न हामीले लोडसेडिङ, ट्राफिकजाम र सहरको धुलो धुवाँबाट मुक्त नै गराउन सकेका छौँ । पर्यटकहरू एयरपोर्टमा र्झन नपाउँदै दलालहरूले पछ्याएर हैरान पारिरहेका हुन्छन्, कहिले त उनीहरूको सामान नै लुट्छन्, धम्क्याउँछन् । पर्यटकहरू बाटोमा हिँड्दा पनि भिखारीहरूले पैसा मागेर दिक्क लगाउँछन्, केटाकेटीहरू पर्यटकको पछिपछि लागिरहेका हुन्छन् । बाटोमा सामान बेच्ने पसलेहरूले पनि पर्यटकलाई पैसाको रूख नै सम्झेका हुन्छन् । एक त राम्रो सामान दिँदैनन् त्यसमाथि बेच्ने मूल्यभन्दा धेरै महङ्गोमा बेच्छन् । रुटमा चल्ने गाडी, ट्याक्सीहरूमा यात्रा गर्दा पनि पर्यटकहरूले सामान्य भाडाभन्दा झन्डै दोब्बर भाडा तिर्नुपर्छ । यो सबै कुराहरू भनेको पर्यटक विकासका लागि बाधा पुर्‍याउने गतिविधि हो । जुन पर्यटकले यस्ता गतिविधिहरू भोगिसकेको हुन्छ यसको हृदयमा पक्कै पनि हाम्रो देशप्रति नकारात्मक सोचाइ जान्छ र त्यसपछि ऊ दोहोर्‍याएर यो ठाउँमा आउन चाहँदैन ।
यस किसिमका गतिविधि रोक्न राष्ट्रको कानुन नै बलियो बन्नुपर्छ । तर, यदाकदा त कानुन र बलियो सुरक्षागार्ड हुँदाहुँदै पनि पर्यटकहरूलाई अप्ठ्यारो पर्ने गरेको छ । जस्तो कि विश्वसम्पदा सूचीमा रहेको पशुपतिनाथ मन्दिरवरपरको क्षेत्र जहाँ प्रवेश टिकटसँग पाँच सय तिरेपछि आर्यघाटवरपरको क्षेत्र पुग्छन् पर्यटक । त्यस क्षेत्रमा झन्डै दुई दर्जनको सङ्ख्यामा रहेका साधुहरूले आफ्नो फोटो खिच्न कर लगाउँछन् । तर, जब पर्यटकले फोटो खिच्छन् अनि ती साधुहरू पैसा माग्न थाल्छन्, त्यो पनि एक-दुई रुपैयाँ होइन चालीस-पचास डलर नै चाहिन्छ भनी किचकिच गरिदिन्छन् । यस्तो परिस्थितिमा पर्यटक असमञ्जसमा पर्छ तर यी सबै चर्तीकला गरिरहेका गार्डहरू भने मूकदर्शक बनेर उभिरहन्छन् । यस्ता घटनाबाट पर्यटकहरू निकै निरुत्साहित हुन्छन् र पुन: नेपाल आगमनका लागि रुचि राख्दैनन् । तर्सथ पर्यटकलाई अप्ठ्यारो हुने गतिविधिहरूको अन्त्यका लागि सम्बन्धित निकायले तत्काल पहलकदमी लिनु अत्यावश्यक छ ।-शिविश भण्डारी

प्रतिक्रिया