सर्वमान्य सुशील

सर्वमान्य सुशील


special-articleनेपाली काङ्गे्रसमा गणेशमान सिंहलाई सर्वमान्य नेता भनियो, तर उहाँलाई सर्वमान्य नेताको हैसियतमा व्यवहार गरिएन, जीवनको उत्तराद्र्र्धमा पार्टीबाटै खेदिने स्थिति बन्यो र उहाँले काङ्गे्रस छोडेको सार्वजनिक घोषणा गर्नुप¥यो । कृष्णप्रसाद भट्टराईलाई सन्त नेताको पदवी दिइयो, उहाँलाई पनि सन्तको जस्तो नभई प्रतिद्वन्द्वीको व्यवहार गरियो र कालान्तरमा काङ्गे्रस परित्याग गर्नुपर्ने स्थितिमा कृष्णप्रसाद भट्टराई पनि पुग्नुभयो । बीपी कोइराला पार्टी र सरकारको सर्वोच्च पदमा रहनुहुँदा उहाँका पनि आलोचक थिए र पार्टीकै उपल्लो दर्जाका नेताहरूको साथ भएर मात्र तत्कालिक राजा महेन्द्रलाई बीपी कोइराला नेतृत्वको दुई तिहाई बहुमत प्राप्त सरकारलाई विस्थापित गर्ने सफलता मिलेको थियो । गिरिजाप्रसाद कोइराला २०४८ सालमा प्रधानमन्त्री बन्ने वित्तिकै पार्टीभित्रको विरोध र घात–प्रतिघातका कारण अन्तत: मध्यावधि निर्वाचनमा जानु परेको तथ्य पनि जाहेर छ । तर, प्रधानमन्त्री रहनुभएका सभापति सुशील कोइरालाका प्रति भने काङ्गे्रसका समकालिक नेताहरू मौन रहेर सहयोगी भूमिकामा देखापर्नुलाई रोचक मानिएको छ । सुशील कोइरालालाई बीपी, गणेशमानजी र किशुनजी भन्दा बडा कदको नेताका रुपमा लिईंदैन । गिरिजाप्रसाद कोइराला जीवित छइन्जेल सुशील कोइरालालाई गिरिजाकै एउटा छायाँका रुपमा मानियो र पार्टीमा उहाँको विरोध नहुने कुनै दिन थिएन । गिरिजाप्रसाद कोइरालामा राम्रा कामहरूको जस (क्रेडिट) लिने खुवी थियो र हरेक उत्तम कार्यको जस (यश) उहाँ आफू एक्लैले लिने गर्नुहुन्थ्यो । गिरिजाप्रसादबाट बिगे्र–भत्केका हरेक कामका निम्ति सुशील कोइरालालाई दोषी मानिन्थ्यो र स्वयम् गिरिजाप्रसाद पनि गुनासो लिएर जानेहरूलाई ‘सुशीलले सबै बिगा¥यो’ भन्ने गर्नुहुन्थ्यो । प्रत्यक्ष रुपले ‘पावर’मा नरहँदा पावरमा रहेकाहरूले भन्दा बढी आलोचना र विरोधको सामना सुशील कोइरालाले गर्नुपरेको थियो, तर अहिले ‘पावर’मा पुगेपछि चाहिँ सुशील कोइरालालाई दु:खाउनेभन्दा प्रशन्न तुल्याउने, फकाउने भूमिकामा पार्टीको अघिल्लो पङ्क्तिका नेताहरूबीच प्रतिस्पर्धा भएको देखियो । काङ्गे्रस, प्रजातन्त्र र देशका लागि यो आफैंमा सकारात्मक भए पनि ‘विरोधहीन’ हैसियतमा सुशील कोइराला रहनुको रहस्यबारे मन्थन गर्न यहाँ आवश्यक ठानिएको छ । गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता नेताहरूलाई नमिलेको साथ, सहयोग, समर्थन र सहानुभूति सुशील कोइरालालाई प्राप्त भएको उहाँको विशिष्ट कार्यक्षमता या उचाइदार व्यक्तित्वका कारणले हो या त्यसका अन्य रहश्यपूर्ण कारण छन् भन्ने बारे उत्खनन् गर्दा देखिने सत्यले नेपाली राजनीतिको एउटा रोचक तस्बिर उजागर गर्दछ ।
सुशील कोइरालाले प्रधानमन्त्री पदको दुरूपयोग गर्नुभएको छैन, किनभने त्यसका लागि पनि क्षमता हुनुपर्दछ । उहाँले प्रधानमन्त्रीको हैसियतमा विशेष कुनै चामत्कारिक काम गर्नुभएको छ भनियो भने चमत्कार शब्दको यो भन्दा ठूलो अवमुल्यन शायदै हुनसक्ला । बनाउने या बिगार्ने दुवै भूकिाकामा प्रधानमन्त्री कोइरालाले अग्रता लिनुभएको छैन । यस्तो अवस्थामा प्रधानमन्त्रीको कार्यशैली, क्षमता र कार्य व्यवहारलाई लिएर प्रमुख विपक्षी दलले विमति र विरोध जनाउनुपर्ने हो । प्रमुख विपक्षी दल तीन कारणले कोइरालाका विरुद्ध ‘फोकस्ड’ नभएको देखिन्छ । पहिलो, सरकारको नेतृत्व प्रभावहीन रहनु भनेको विपक्षीका निम्ति चैनको विषय हो, त्यसैले उनीहरू सुशील कोइरालाको विरोध गरेर अमहत्वको (महत्वहीन) वस्तुलाई महत्वपूर्ण बनाउन चाहँदैनन् । दोस्रो, प्रमुख प्रतिपक्षी दल एमाओवादी आफैं आन्तरिक विवाद र सङ्कटमा फसेको छ । सरकारको विरोध या आलोचनातर्फ ध्यान केन्द्रित गर्न सक्ने गरी एमाओवादी नेतृत्व तङ्ग्रिएको आभास हुन्न । तेस्रो, एमालेसँगको गठबन्धन टुटेको दिन काङ्गे्रससँग सत्ता साझेदारी गर्ने ढोका खुला राख्न एमाओवादी नेतृत्व चाहन्छ, त्यसैले सुशील कोइरालाको चर्को विरोधमा उत्रन ऊ उत्साहित छैन ।
सत्ता साझेदार दलहरू प्रधानमन्त्रीको ‘हस्तक्षेप’का कारण कहिलेकाहिँ चिढिन्छन् र कहिले ‘बार्गेनिङ’का लागि पनि विरोधको नाटक मञ्चन गर्ने तहमा पुग्छन् । सुशील कोइराला नेतृत्वको सरकारमा काङ्गे्रस बाहेकका सबै मन्त्रीहरू स्वेच्छाले काम गर्न स्वतन्त्र छन् । त्यसमाथि लामो समयदेखि एमाले नेता बामदेव गौतमकै ‘नेतृत्वमा’ सरकार चलिरहेको छ, त्यसैले साझेदार दलहरू प्रधानमन्त्री कोइरालाप्रति ‘प्रशन्न’ छन् । खास अवस्थामा सरकारको नेतृत्व परिवर्तन गर्ने खेल आरम्भ भएछ भने सत्ता साझेदारहरू प्रधानमन्त्रीप्रति कठोर बन्न पनि सक्लान्, बिरामी र अशक्त भूमिकामा रहनुभएका प्रधानमन्त्रीलाई चाहिँ सबै साझेदार दलहरूले सशक्त ढङ्गले समर्थन र सहयोग पु¥याइरहने अवस्था छ । कुनै दिन प्रधानमन्त्रीका रूपमा कोइरालाले आफ्नो पनि भूमिका खोज्नुभएछ भने साझेदारहरूको मन फेरिने सम्भावना प्रवल भए पनि तत्कालका लागिचाहिँ कोइरालाले साझेदार दलहरूको अभूतपूर्व ‘समर्थन’ पाइरहनुभएको छ ।
काङ्गे्रस सत्तामा हुँदा काङ्गे्रस नै सबभन्दा ठूलो खतरा र चुनौति बन्ने गरेको तीक्त यथार्थबारे सिङ्गै मुलुक जानकार छ । २०४८ पछि गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा छत्तिस भाइ सांसद प्रधानमन्त्री विरुद्ध खडा भए र अन्तत: काङ्गे्रसको ठाउँ एमालेले लिने स्थिति बन्यो । २०५२ सालमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुभएपछि उहाँ पनि काङ्ग्रेसभित्रबाटै त्रसित हुनुप¥यो । अन्तत: देउवालाई पनि तत्कालिक अवस्थामा कोइराला क्याम्पका दुई भाइ बिकाउ सांसदहरूलाई अघि सारेर सत्ताबाट झारिएको हो । कुनै विपक्षीका कारण २०५३ मा देउवा नेतृत्वको सरकार ढलेको थिएन । २०५६ सालमा सन्त नेता कृष्णप्रसाद भट्टराई नेतृत्वको सरकारलाई विस्थापित गर्न पनि गिरिजाप्रसाद कोइराला आफैं सक्रिय हुनुभएको हो । २०५८ सालमा गिरिजाप्रसाद कोइरालाले झोक्किएर राजिनामा दिनुभएपछि प्रधानमन्त्री बन्नुभएका शेरबहादुर देउवालाई सत्ताबाट हटाउन खोज्ने क्रममा काङ्गे्रस विभाजन हुन पुगेको हो । त्यसताक राजदरबार र युद्धरत माओवादीभन्दा देउवालाई ‘दुष्मन’ ठान्नुहुन्थ्यो गिरिजाप्रसाद । देउवा नेतृत्वको सरकार विस्थापित गर्न गिरिजाप्रसादले तत्कालिक संविधानको धारा १२७ संशोधन गरी राजामा अधिकार जाने मार्ग प्रशस्त गरिदिएको घटना सुजाता कोइरालाहरूले भुले पनि इतिहासले बिर्सन सक्दैन ।
२०६३ सालमा माओवादीकै रूपरङमा प्रकट भएर प्रधानमन्त्री बन्नुभएका गिरिजाप्रसाद कोइराला माओवादी र कुन्नि क–कसका कारण २०६५ मा आफ्नो इच्छाविपरित सत्ताच्यूत हुनु परेपछि काङ्गे्रस नेतृत्वमा पहिलोपटक सरकार गठन भएको हो । काङ्गे्रसका आमकार्यकर्ता तथा समर्थकहरू पार्टीभित्रको विवादका कारण सरकारको नेतृत्व नगुमोस् भन्ने कामना गर्दछन् । तर, कार्यकर्ता र समर्थकहरूको यस्तो कामनाका कारण पार्टीभित्रबाट सुशील कोइरालाको विरोध नभएको भने होइन । सुशील कोइरालाले एक वर्ष (२०७१ माघ)भित्रै संविधान बनाएर पदत्याग गर्ने सार्वजनिाक घोषणा गर्नुभएको र संविधान निर्माण हुन नसकेमा नसकेकै कारण पदबाट राजिनामा दिन सक्ने सम्भावना भएकोले रामचन्द्र पौडेल र शेरबहादुर देउवाले एक वर्ष धैर्य गर्नु उपयुक्त हुने ठान्नुभएको छ । सुशील कोइरालामा गम्भीर रोग समस्या देखिएकोले यस्तो अवस्थामा माधव नेपालले केपी ओली बिरामी पर्दा अमानवीय व्यवहार दर्शाएझैँ व्यवहार गर्नु देउवा र पौडेलले उपयुक्त ठान्नुभएको छैन । ‘अब सकिनँ×’ भनेर कोइरालाले कुनै पनि दिन पदत्याग गर्नुहुने ठानिएको छ र त्यसरी पद त्याग गर्दा आफूमा हस्तान्तरण हुने अपेक्षा देउवा र पौडेल दुबैले राख्नुभएको छ भने त्यो अस्वाभाविक होइन । आफ्ना कारणबाट कोइरालालाई अप्ठ्यारो महसुस नहोस् भन्ने चाहना देउवा र पौडेल दुबै नेतामा विद्यमान रहेको महसुस गर्न सकिन्छ । अर्थात्, उहाँहरू दुई नेताबीच सुशील कोइरालालाई बिच्क्याउने नभई प्रशन्न तुल्याउने शान्त प्रतिस्पर्धा नै चलेको छ भन्दा गलत हुने छैन । आफ्ना कारणबाट सरकार ढल्ने स्थिति बनेमा कोइरालाले रामचन्द्र पौडेललाई पद हस्तान्तरण गर्नुहुनेछ भन्ने देउवालाई थाहा छ र पौडेल पनि यस विषयमा देउवाजस्तै सचेत र जानकार हुनुहुन्छ । स्वेच्छाले आफू सत्ताबाट हट्नुपर्ने अवस्थामा बाहेक देउवा र पौडेल दुबैका कारण सत्ताच्यूत हुनुपरेको यदि सुशील कोइरालाले ठान्नुभयो भने सत्ताको नेतृत्व एमाले, एमाओवादी या अन्यत्र कतै हस्तान्तरण हुनसक्छ भन्नेप्रति पनि उहाँहरू सचेत हुुनुहन्छ । त्यसैले काङ्गे्रसमा सुशील कोइरालाको विरोध या आलोचना गरेरभन्दा कोइरालालाई प्रशन्न तुल्याएर सत्ताप्राप्तिको प्रतिष्पर्धा सुरु भएको छ, यसको भरपुर लाभ सुशील कोइरालालाई पुगेको छ । सुशील कोइराला आफैंमा बीपी, गणेशमान या किशुनजीको हैसियतको नेता भएकोले उहाँलाई कांगे्रसभित्रबाट भारी समर्थन मिलेको अर्थमा बुझियो भने त्यो गलत हुनेछ । हो, सुशील कोयराला गिरिजाप्रसाद कोइरालाभन्दा चाहिँ कैयन अर्थमा माथि हुनुहुन्छ, समयाक्रममा यो तथ्य पुष्टि पनि हुने नै छ । दक्षिण एसियाली मुलुकसुहाउँदो नेताहरूको लाममा गिरिजाप्रसाद कोइराला उपयुक्त पात्रका रुपमा देखिनु/चिनिनुभएको भए पनि एउटा असल नेतामा हुनुपर्ने गुणका आधारमा निष्पक्ष तुलनात्मक विवेचना गरियो भने गिरिजाप्रसादले भन्दा अनेक पक्षमा सुशील कोइरालाले बढी अङ्क प्राप्त गर्नुहुनेमा शङ्का गर्नुपर्ने छैन । यद्यपि, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई हाराहारीको व्यक्तित्व प्रमाणित हुन सुशील कोइरालाले अरु केही परीक्षाहरूको सामना गर्नुपर्ने छ ।
प्रधानमन्त्री सुशील कोइराला यतिबेला ‘सर्वमान्य’झैँ हुनु या देखिनुका अनेक कारणहरूको यहाँ उल्लेख गरिएको भए पनि समग्रमा त्यसको एक मात्र कराण हो– सत्ता । सुशील कोइरालालाई चिढ्याएर भन्दा प्रसन्न तुल्याएर सत्ता प्राप्त हुने सम्भावना भएकोले सबैथरी राजनीतिक शक्ति र व्यक्ति उहाँलाई रिझाउने धुनमा छन्, सबैले रिझाउन लागेपछि सुशील कोइराला सर्वमान्यझैँ देखिनुभएको छ, दीर्घकालसम्म ‘सर्वमान्य’ तुल्याइरहने कामचाहिँ कोइरालाले गर्न बाँकी नै छ ।