‘माओवादी–सङ्घीयता’को बदलिँदो स्वरूप

‘माओवादी–सङ्घीयता’को बदलिँदो स्वरूप


bichar– दामोदर पौडेल
प्रचण्डले संविधानसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै भनेछन् कि देशमा हत्या–हिंसा बढेको छ, काखेबालक पनि सुरक्षित छैन, शान्ति छैन, लुट मच्चिएको छ आदि–आदि । हिन्दीमा एउटा भनाइ छ– देर आया दुरुस्त आया । अर्को भनाइ पनि छ– दिनभर कतै गएर बेलुका घरमा आउनेलाई भट्केको भनिँदैन । बीसौँ हजार मानिसको टाउको गिँडेर वा उनीहरूलाई जीवनभर अपाङ्ग बनाएर माओवादीले राजनीति गरेको हो । सोझा जनतालाई भ्रम बाँडेर आफ्नो पक्षमा लगाए पनि उनीहरूको अवस्था अहिले पनि त्यही छ । असङ्ख्य सम्पत्तिको विनाश भयो । तर, अहिले प्रचण्डले बुद्धि फेरेर भनेका छन्– हत्या हुनुहुँदैन । हजार मुसा खाएर बिरालो भगत भयो भने उ भगत भएको दिनबाट त मुसाहरूको ज्यान जोगिन्छ ।
प्रचण्ड वास्तवमा अरू थप गल्ती नगरेकाले र आफूले गरेको गल्तीमाथि नै विरोधमा बोलेकाले महानै भए । उनी वास्तवमा उदार मन भएका तानाशाही सोच राख्ने मानिस हुन् । उनको सोच सानैदेखि कम्युनिस्ट भएकाले अब हटाउन गाह्रो छ । तथापि, जन्मजात तर नदेखिने मन भन्ने जन्तु उनमा बेलाबेलामा उदार भएर आउँछ । उनको भन्दा अलिक भिन्न अवस्था बाबुरामको छ । उनको भावना जहिले पनि लोकतन्त्रको पक्षमा देखिन्छ । उनले कमसेकम दलभित्र लोकतन्त्रको वकालत गरिरहेका हुन्छन्, तर उनी जुन कुरा बाहिर बोल्छन् त्यसले उनी क्रूर भावना भएका तर लोकतन्त्र चाहिन्छ भन्ने विश्वासचाहिँ भएका व्यक्ति जस्तो लाग्दछन् । यी दुईको चरित्रले कहिले फाइदा र कहिले घाटा गर्दछ भन्ने त समयअनुसार हुने हो । अहिले भन्नुपर्दा सत्तामा हुँदा बिप्पाजस्ता केही काममा बाहेक बाबुराम ठीक र सत्ताबाहिर हुँदा प्रचण्ड ठीक देखिन्छन् । प्रचण्डले सेनामा कब्जा जमाउन खोजेनन् कि सहरी विद्रोहबाट सत्ताकब्जा गर्ने सपना देखेनन् कि वा उनका लडाकुबाट देशै कब्जा गर्ने सपना देखेनन् ? जब सबैतिरबाट हार खाए तब भन्न थाले जीवनमा कहिल्यै हार नभएकाले बढी महत्वाकाङ्क्षी भएछु, वास्तवमा इरानी कम्युनिस्टले भनेजस्तै जहाँ घुम्ती हुन्छ त्यहाँ गाडी चलाउन बढी ध्यान दिनुपर्दछ, अन्यथा ह्यान्डिल घुमाउनभन्दा पहिला नै गाडी पल्टिइसकेको हुन सक्दछ । उनी आफ्ना कमजोरीलाई यसप्रकार उल्लेख गर्दछन् । चुनावमा हारेपछि सायद उनको दल अब खिलराज रेग्मी भाग्यले प्रधानमन्त्री बनेजस्तै पुन: सत्तामा आउन सक्दछ । अन्यथा उनीहरूको बाटो ओरालो नै हो । उनीहरूले आफूलाई पूर्ण रूपमा रूपान्तरण गरेर लोकतान्त्रिक दलको रूपमा विकसित भए भने अवस्था फरक हुन सक्छ ।
प्रचण्डहरू अब त विगतमा बोलेका विषयबाट पनि पछि हटेका छन् । विगतमा गर्वका साथ भनेर बोलेका विषय हामीले भनेकै होइन भन्नसमेत थालेका छन् । त्यही अवस्था बाबुरामहरूको पनि छ । उनीहरूले एकल जातीय आधारमा सङ्घीयता हुनुपर्दछ भने । जातलाई विभिन्न प्रदेशमा छुट्याए । तमुवान, लिम्बुवान, भोजपुरा आदि गरी कहिलेकाहीँ १४ वटासम्म काल्पनिक राज्यहरू बनाउने कार्य भयो । जनतामा जातीय, भाषिक, धार्मिक घृणा, असहिष्णुताको सुरुवात पनि भयो । त्यो रोगले अझै गाँजेकै छ । विभिन्न जातीय प्रदेशका झन्डा फहराउने काम भयो । माओवादीले मात्र जातीय आधारमा आफ्नो दलका प्रादेशिक इकाइहरू पनि बनायो ।
समय बललिँदै गयो, माओवादीले आफ्ना जातीय प्रदेशहरू खारेज गर्दै गयो । अहिले उनीहरू भन्दै छन्– हामीहरूले जातीय राज्य भनेकै होइनौँ । हामीले त पिछडिएका जाति, समुदाय आदिको हित भनेका हौँ । उनीहरू पिछडिएकाहरूका लागि सङ्गठन बनाउने पनि भन्दै छन् । त्यो भनेको दलित आयोग, महिला आयोग, तमु आयोग, खस आयोग आदि हो वा उनीहरूको सङ्गठन विस्तार हो भन्ने अहिलेसम्म प्रस्ट छैन र प्रस्ट हुन् आवश्यक छैन । किनभने, हामी प्रस्ट हुँदासम्म उनीहरूको अर्कै विचार आउन सक्दछ ।
जे होस् जातीय चरम झगडा भएर बाबुराम खसान प्रदेशमा र हिसिला नेवा: प्रदेशमा बस्ने तथा उनीहरूकी छोरीको बिल्लीबाठ हुने अवस्था अब उनीहरूको कारणले आउने भएन । प्रचण्डका छोरा प्रकाशका धेरै पत्नीमध्ये एक मगर भएकोमा प्रकाश बाउनवान र उनकी पत्नी मगरातमा बस्ने बाध्यता र प्रचण्डहरू बुढेसकालमा बाउनवानमा बस्ने कि मगरातमा बस्ने वा वृद्धाश्रम रोज्ने भन्ने समस्या पनि रहेन । उनीहरूलाई हामी सबैले साधुवाद भन्नैपर्दछ ।
जापानले आफ्ना विद्यालयमा उत्तर कोरिया र चीनका विरुद्धमा पढाइ हुने गरेकोमा माफ मागेर त्यसमा सुधार गर्ने प्रतिबद्धता जनायो । तर, दोस्रोपटक पुन: तिनै देशसँग माफी माग्यो किनभने केन्द्रीय सरकारले सो पाठ्यक्रम सुधार गर्न चाहेर पनि स्थानीय निकायको बढी अधिकार भएकाले सरकारले पाठ्यक्रम सुधार गर्न सकेन र तत्कालका लागि विकल्प माफ माग्नु नै बाँकी रह्यो । स्मरण रहोस्, जापानमा सङ्घीयता छैन, तर स्थानीय निकाय कतिपय विषयमा भारतका प्रान्तभन्दा पनि बढी स्वतन्त्र छन् । जनताको स्थानीयता वा स्थानीय अधिकारको चुरो भारतको सङ्घीयतामा छ कि जापानको एकात्मक राज्य प्रणालीमा छ भन्ने पनि हामीले सोच्ने विषय भएको छ । सङ्घीयता वा अन्य व्यवस्था झगडा गर्न र जनतालाई झुक्याउन हुन हुँदैन, जनताको हितका लागि हुन आवश्यक छ । कुनै पनि व्यवस्थाले जनतालाई विकास र जनजीविकाको बाटो सजिलो बनाउन पर्दछ न कि झगडा निम्त्याउने । यसमा हामीहरूका नेताहरूको ध्यान जान सकेको छैन । तर, कुनै दिन राप्रपा नेपालजस्तै माओवादी पनि सङ्घीयताको विरोधमा गएमा अन्यथा हुने छैन ।
माओवादी जनतालाई झुक्याएर सत्तामा जान चाहने दल हो भन्ने प्रमाणित भएको छ । यसले जे–जति गल्ती गरेको हो त्यसको मल्हम लगाउने कार्य यसले कहिल्यै गरेन । नेताहरूले अकुत सम्पत्ति कमाए । मान्छे मारेको नीतिका लागि कि निजी सम्पत्ति कमाउनका लागि भन्ने सवाल उठ्नु स्वाभाविक हो । त्यसैको परिणाम चुनाव हो । अझ आउँदो चुनाव माओवादीका लागि घातक हुन्छ किनभने अब जनतामा बाँकी रहेको डर पनि समाप्त भएको छ ।
अब यो देशमा सङ्घीयता कस्तो हुने भन्ने बहस यथार्थ धरातलमा हुन थालेको छ । कतिपयले पहिलाका विकास क्षेत्रलाई नै प्रान्त बनाउने भनेका छन् । कतिपयले ६, ७, ८ आदि भनेका मात्र होइन, क्षमतालाई ध्यान दिनुपर्ने पनि भनिएको छ । तर, अब सङ्घीयताबारे हामीले चलाएका बहसबाट जनतालाई विकासको बाटोमा लग्न यो देशको धरातलीय यथार्थले गर्दा सङ्घीयताभन्दा एकात्मक राज्य प्रणाली नै ठीक देखियो भन्ने विज्ञप्ति माओवादीबाट कुनै दिन आएमा अन्यथा नसोचे हुन्छ । किनकि जनता सङ्घीयताको विपक्षमा रहेको पाइएमा उनीहरूको लागि जनमतको आधार त्यही बन्न सक्दछ । तर, त्यस समयमा माओवादीले कमसेकम स्थानीय निकायलाई प्रान्तको जत्तिको अधिकार दिने वाचा गरे हुन्थ्यो । सायद यसो गरेमा माओवादीको गिरेको साख उठ्दछ भन्ने उनीहरूले सोचेका हुनेछन् । उनीहरू उचित समय र बाटोको पर्खाइमा छन् । जे होस्, जातीय राज्यको अवधारणाबाट बाहिर आउनु उनीहरूको सकारात्मक पक्ष हो ।
[email protected]