म किन खेदिएँ, सुन्नुहुन्छ ?– भरत सुवेदी

म किन खेदिएँ, सुन्नुहुन्छ ?– भरत सुवेदी


antarbichar० तपाईंमाथि विदेशी पिआर लिएर सरकारी सेवामा रहेको आरोप छ, यसबारे तपाईंको भनाई के छ ?
– यसबारे भन्नुपर्ने, बुझ्नुपर्ने र बुझाउनुपर्ने कुरा त धेरै छन् । तर एक लाइनमा भन्नुपर्दा जुन रूपमा ‘पिआर’को मुद्दा एक्कासी चर्काइएको छ, यो कुनै राष्ट्रप्रेम वा देशहितबाट प्रेरित नभई व्यक्तिविशेषलाई टार्गेट गरेर उठाइएको मामला हो भन्नेमा म विश्वस्त छु र सबैलाई यो बुझाउन चाहन्छु । मलाई विदेशी पिआर होल्डर कर्मचारीका रूपमा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले फोकस गरेर हल्ला गर्नुका पछाडि खास मकसद या षडयन्त्र लुकेको छ । यसमा ठूला भ्रष्ट, माफिया र तस्करहरूको हात छ । यो देशलाई लुटेर कङ्गाल बनाउने र आफू मालामाल हुने केही व्यक्तिविशेष नै यसका सुत्रधार हुन् । मन्त्री त एक मोहरा मात्र हुन् । उनलाई कुनै प्रलोभन दिएर उक्साइएको छ र त्यसैमा बहकिएर आफूलाई ‘हिरो’ तुल्याउन मन्त्री लालबाबु पण्डितलगायतका केही मानिस उद्यत् देखिएका छन् । तर, म पिआरधारी होइन भन्नेचाहिँ उहाँहरूले हेक्का राख्नुभएकै छैन । मलाई विदेशी पिआर लिएको आरोप त लगाइयो तर यसबारे अहिलेसम्म वास्तविकता के हो ? भनी सोधिएको पनि छैन । प्रमाण भए सार्वजनिक गरिदिए हुने, त्यो पनि गरिएको छैन । आफ्नै विवेकले भन्दा पनि कसैको भ्रमपूर्ण उक्साहटमा लागेर ममाथि यस्तो अत्याचार गरिँदैछ ।
० यसरी तपाईंलाई नै तारो बनाएर यो प्रकरण उछाल्ने व्यक्ति र कारणबारे पनि बताउन मिल्ला नि ?
– व्यक्तिको नाम तोकेर यी–यी हुन् भनी औंल्याउनुभन्दा पनि यसबारे अलिक खुलस्त ढङ्गमा मैले आफ्ना कुरा राख्नु उपयुक्त होला । विभिन्न अनियमित काण्डमा नाम मुछिँदै आएका व्यापारी राजेन्द्र खेतान मसँग चिढिएका छन् । उनले गरेको एउटा आर्थिक अपराधमा मैले एक जिम्मेवार राजश्व अधिकृतका नाताले १० करोड राजश्व असुलउपर गराएको थिएँ । खेतान सभासद् हुँदाकै अवस्थाको घटना हो त्यो । पदको आडमा उनले धेरै नै छलछाम गरेका रहेछन् । गोर्खा ब्रुअरीको नाममा ठूलो आर्थिक घोटला गरिएको थियो । उनका यस्ता अनेकौँ अवैधानिक क्रियाकलापबारे पत्रपत्रिकामा आइरहेकै हुन् । यस्तै, ‘वल्र्ड लिङ्क’ नामक अर्को एउटा कम्पनी छ, जसले गरेको र गर्दैआएको राजश्व छली तथा लुटको कुरा जनमानस समक्ष छर्लङ्ग हुने हो भने प्रत्येक देशभक्त नागरिकको रगत नै उम्लन सक्छ । उक्त कम्पनीलाई पनि मैले छानबिन र राजश्वअसुलीको दायरामा ल्याउन आफ्नो पदीय दायित्वले दिएसम्मको अधिकार प्रयोग गरेको हुँ । यसरी राजश्व छलेर मुलुकलाई कङ्गाल पार्न खोज्ने अन्य ठूला–साना थुप्रै तत्वहरू छन् । यिनीहरूको अवैधानिक क्रियाकलाप पक्रिएर मैले वैधानिक बाटोबाट हिँडाउन खोजेँ । तर, उनीहरू आफ्नो कालो कर्तुत स्वीकार गरी आवश्यक जरिवाना भुक्तान गरेर वैधानिक हिसाबले कारोबार गर्नतिर लाग्नुको साटो विभिन्न शक्तिकेन्द्र धाउने र मन्त्री वा नेताहरूलाई उक्साएर मेरो बाटो छेक्न उद्यत् रहे । अरु केही उपायले मलाई तगारो हाल्न नसकेपछि कथित ‘पिआर’को झुठो वहानाको सहारा लिइएको हो । यसले मलाई केही फरक पार्दैन । म आफ्नो जिम्मेवारी र देशप्रतिको दायित्वबाट विमुख हुन सक्दिनँ ।
० तपाईं हालै सहसचिवमा बढुवा हुनुभएको राष्ट्रसेवक हुनुहुन्छ, यसअघि तपाईंले त्यस्तो के काम गर्नुभयो जसप्रति तपाईं गर्व गर्नुहुन्छ ?
– सबै कर्मचारीले आफ्नो कार्यक्षेत्र, स्तर वा ओहदाअनुरूप दिइएको जिम्मेवारी निर्वाह गर्ने हो । फरक के मात्र हो भने आफ्नो जिम्मेवारी निर्वाहमा को कति सक्षम वा प्रभावकारी छ, कसले कति इमानदारीपूर्वक काम गरिरहेको छ र उसको कामबाट सेवाग्राही तथा देशले कति लाभ हासिल गरेको छ भन्ने कुराचाहिँ व्यक्तिको योग्यता–क्षमता वा कार्यशैलीमा भर पर्दोरहेछ । जहाँसम्म मेरो कुरा छ, यिनै सवालमा म खरो उत्रिएको छु र मेरो कामलाई नजिकबाट देखेका–बुझेका सबैले यो महसुस गरेका पनि छन् । १५ वर्षअघि तातोपानी भन्सारमा मैले जिम्मेवारी पाउनुअघि वर्षको जम्मा १२–१३ करोड राजश्व उठ्ने गरेको ठाउँमा म गएपछि ६ महिनामै १ अर्ब ३३ करोड र अर्को वर्ष २ अर्ब राजश्व उठाएर राज्यको ढुकुटीमा पु¥याएको थिएँ । जम्मा १९ महिना त्यहाँ बस्दा साँघुरो स्थानका बाबजुद १ सय ५० वटा गाडी पार्क गर्न मिल्ने ‘यार्ड’ बनाएँ । पाँचवटा ठुल्ठुला सरकारी विल्डिङ निर्माण गराएँ । राजश्व उठाउने काम मात्र नगरी निर्माणका काममा समेत संलग्न रहेँ र सफल पनि भएँ । चाइनासँगको स्थानीय सम्बन्धमा निकै प्रगाढता ल्याएँ । मेरो कामबाट प्रभावित भई त्यतिबेलै चिनीयाँ सरकारका तर्फबाट २० लाखबराबरको नगद पुरस्कार लिइदिन आग्रह नै गरियो । मैले नेपाल सरकारको स्वीकृति नलिई लिन मिल्दैन भन्दा पनि चिनियाँ पक्षबाट ‘चीन सरकारलाई अपहेलना गरेको ठहरिन्छ’ भन्दै त्यो सम्मान र पुरस्कार लिन आग्रह गरेकोग¥यै भएपछि मैले ‘नेपाल र नेपाली व्यापारीलाई सुविधा हुने गरी उक्त रकमबराबर यही कस्टममा केही निर्माण गरिदिए हुन्छ नि भनी अनुरोध गरेँ । त्यसैबाट काम सुरु भई चार करोडको कन्स्ट्रक्सन भयो । त्यसमा पनि मलाई उल्टै ‘भन्सारले नपुगी यसले रकम उठाएर खायो, यो निर्माण बेकार हो, पहिरोले लैजान्छ’ भन्नेजस्ता वेतुकको र अनर्गल प्रचार गराइयो । तत्कालीन अख्तियारप्रमुख सूर्यनाथजीले स्पष्टिकरण नै लिए । तर मेरो पहलकदमीमा निर्माण भएको त्यो ‘यार्ड’ आज पन्ध्र वर्षको भयो– छँदैछ, त्यसबाट ठूलो सुविधा पुगेको छ र त्यसले गर्दा पनि तातोपानी भन्सार हेर्नलायक भएको छ ।
० तपाईंसँग चिनियाँ पक्ष त्यस्तरी प्रभावित हुनुपर्ने कारण चाहिँ के रहेछ नि ?
– मैले तातोपानी भन्सारमा रहेर निर्वाह गरेको हरेक काम वा क्रियाकलाप उनीहरूले नियालेका रहेछन् । त्यहाँ मैले गरेका प्रशासनिक तथा भौतिक सुधारका कामले उनीहरूलाई पनि निकै राहत पुगेछ । १०–१२ वटा मालवाहक गाडी रोकिँदैमा मितेरी पुललाई धेरै भार पर्न थालेको थियो । त्यो चर्किएर टुट्ने अवस्थामा पुग्दैथियो । मेरो व्यक्तिगत पहलमा ‘यार्ड’ (हालको पार्किङ स्थल) बनेपछि सबैलाई सुविधा भयो, भन्सार पनि व्यवस्थित बन्यो । यहाँनेर एउटा महत्वपूर्ण कुरा के पनि उल्लेख गरौँ भने चाइनिज सरकार खुशी भएर कस्टम टू कस्टम ‘रोप–वे’को माध्यमबाट सामान वारपार गर्ने भनी सरकारी तवरमै एग्रीमेन्ट समेत भएको थियो । त्यसको जिम्मेवारी मैले नै पाएँ । त्यस प्रोजेक्टको लागि जम्मा नौवटा पिलर गाड्नुपर्नेमा म त्यहीँ हुँदै ६ वटा पिलर गाडिसकिएको थियो । तर, त्यहीबेला म सरुवा भएपछि जो अधिकृत मेरो स्थानमा खटिएका थिए, उनी आफ्नो कार्यकक्षबाट बाहिर निस्कँदैननिस्कने, चाइनिजहरूसँग भेटघाट र कुराकानी नै नगर्ने, यार्डतिर ओर्लिंदैनओर्लिने गरेर गजबको व्यवहार प्रदर्शन गरिदिएछन् । यसो भएपछि चाइनिज पक्षले ‘नो सुवेदी नो रोप–वे’ भन्दै गाडिसकेको ६ वटा पिलर पनि उप्काएर लगेछ । यदि त्यो प्रोजेक्ट सम्पन्न हुन पाएको भए निकासी–पैठारीमा चोरी–तस्करी हुने, भन्सारमा कमिसनको अवैधानिक चलखेल हुने जस्ता सबै अवैधानिक क्रियाकलाप बन्द भई राज्यलाई निकै फाइदा पुग्ने थियो ।
० तस्कर माफियामाथि तपाईं धेरै नै जोड दिँदैहुनुहुन्छ, अलिक प्रस्ट्याइदिनुस् न ?
– हेर्नुस्, राजनीतिक शक्तिको आडमा यहाँ भन्सार नाका प्रयोग गरेर माफियातन्त्रले हतियारसमेत सप्लाइ गर्छन् । म अघिल्लो पटक राजश्व अनुसन्धानमा डाइरेक्टर हुँदा के सम्मको घटना भयो भने, अवैध सामान लोड गरिएका ट्रक नेपाल प्रवेश गरेको भन्ने सूचना पाएपछि केही गाडीहरू तातोपानीबाट रातारात समातेर ल्याइयो, तर त्यो गाडीमा के छ भनी मलाई खोलेर हेर्नसम्म पनि दिइएन । वर्षमान पुन अर्थमन्त्री हुनुहुन्थ्यो त्यसबेला । यो कुरा उहाँलाई पनि थाहा छ । अमुक पार्टीका पोलिटब्युरो तहका नेता मन्त्री अनन्तकहाँ पुगेर ‘त्यो भरत सुवेदी भन्ने मान्छे अलिक चर्को छ, उसलाई गाडी खोलेर हेर्न दिनैभएन’ भनी दबाब दिएछन् । हार खाएर मन्त्रीले मलाई अनुरोधको शैलीमा ‘कृपया तपाईंले ती गाडी एकपटकलाई नहेरिदिनुस् न, है ?’ भनी भन्नुभयो । यसरी राज्यले नै चाहँदैन भने मैले मात्र ज्यानकै रिस्क मोलेर किन पछि लागिरहनु त ! भन्ने भाव त्यतिबेला मभित्र उत्पन्न भयो र मैले हेरिनँ । पछि राजश्वको नाममा निकै कम शुल्क लिएर त्यो गाडी छोडिएछ । जबकि, त्यसमा अवैध हतियार थिए भनी त्यतिबेला समाचारहरू पनि प्रकाशित भए । यस्तो काम कुन शक्तिको आडमा कसले गरे या गराए होला भन्ने अनुत्तरित सवाल अहिले पनि मेरो हृदयमा तरङ्गित भइरहेछ ।
यसैगरी, वल्र्डलिङ्क कम्युनिकेसन भन्ने एउटा कम्पनी छ, त्यसले यति ठूलो मात्रामा देशको राजश्व ठग्ने काम गरिरहेको छ कि यो देशको इतिहासमै यति डरलाग्दो राजश्वछली सम्भवत: भएकै छैन होला । यसबारे मैले राज्यका निकायलाई घच्घच्याउँदै आएको छु, तर त्यो कम्पनीवाला उल्टै मेराबारे आफूलाई नम्बर वान दाबी गर्ने पत्रपत्रिकामा भए–नभएको समाचार लेखाउँछ र त्यसको कटिङ हालेर मेराविरुद्ध अख्तियारमा उजुरी हाल्दै दु:ख दिन खोज्छ । उसको अवैध काममा राज्यका निकायलाई छिसिक्कै चियाउनसम्म पनि नदिने उसको प्रपञ्च जारी छ । पत्रिकामा विज्ञापन दिएर त्यसको सहारामा उ राज्यका कर्मचारीलाई तर्साउने, राज्यलाई चरम रूपमा ठग्ने काम गर्दैआएको छ । यस्ताहरू जे गर्न पनि पछि नपर्ने स्वभावका हुँदारहेछन् । इमानदार राष्ट्रसेवक कर्मचारीलाई धम्क्याउने, मौका पर्दा कुट्ने–पिट्ने र ज्यानकै धम्की दिनसम्म पनि पछि नपर्ने गर्छन् यिनीहरू । राजेन्द्र खेतान भन्ने व्यक्ति त एकपटक मलाई सरुवा गराउन २ करोडको ब्रिफकेस बोकेर तत्कालीन मूख्यसचिव भोजराज घिमिरेकहाँ पुगेका थिए । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईकहाँवल्र्ड लिङ्कवाला मेरोविरुद्ध अनर्गल चुक्ली हाल्न पुगिरहन्थ्यो । तत्कालिक सञ्चारमन्त्रीलाई नै प्रयोग गरेको थियो त्यो समूहले । सञ्चारमन्त्री नै प्रधानमन्त्रीसामु त्यस्ता ठग ब्यापारीको पक्षमा ‘प्लिट’ गर्थे । यसरी मचाहिँ ठुल्ठुला पहुँचवाला र खतर्नाक प्रवृत्तिका व्यापारीको लोभलालच र धम्कीको परवाह नगरी राज्यको लागि भन्दै अवैधानिक क्रियाकलाप नियन्त्रण गर्न खोज्ने, तर राज्य सञ्चालनकै जिम्मा लिएका चल्तापुर्जामध्येको एकपक्षले मलाई सधैँ तारो बनाउने काम भइरहेछ । यसले देशका लागि केही गरौँ भनी लागिपरेका हामीजस्ता कर्मचारीलाई दु:खी तुल्याएको छ ।
० तपाईंले आफ्नो काममा ‘रिस्क मोलेको’ कुरा गर्नुभयो, तपाईंमाथि त्यस्तो के खतरा हुन सक्छ, कतै आफूलाई चर्चामा ल्याउन त तपाईं यस्ता कुरा गरिरहनुभएको छैन ?
– म भरसक प्रचार या प्रोपोगण्डाबाट टाढा रहेर आफ्नो काम गर्न रुचाउने व्यक्ति हुँ । तर, मेरो कार्यशैली र हक्की स्वभावकै कारण कर छल्ने, राज्य लुट्ने माफियाहरू मविरुद्ध एकजुट भएका छन् । यतिबेला अर्थप्रशासनले मलाई अर्थमन्त्रालयमा तानेर राजश्व असुलीको जिम्मा दिन लागेको छ । तर म अर्थमन्त्रालय पुगेँ भने तस्कर र माफियाका काला करतुत छ्यालब्याल हुने र राज्यलाई करोडौँ–अर्बौं हर्जाना बुझाउनुपर्ने निश्चित भएकोले प्रशासनिक तजबिज नबुझेका सामान्य प्रशासनमन्त्रीलाई माफियाहरूले काँधमा बोकेर जसरी हुन्छ मलाई रोक्न खोजेका छन् । अर्थमन्त्रालय जानचाहिँ मलाई ‘पिआरधारी’ भन्ने आरोप लगाएर रोक्न खोज्ने, अनि सामान्य प्रशासन या अन्य मन्त्रालयमातहत पठाउनचाहिँ मिल्ने कसरी हुन्छ त ? यदि म पिआरवाला हुँ भने र पिआर लिनु अपराध नै हो भन्ने कानुनी व्यवस्था भए त मलाई ठाडै बर्खास्त गरी कारवाही गरिनुपर्ने होइन र ? अर्थमन्त्रालयमा नमिल्ने अरू मन्त्रालयमा मिल्ने भन्नुको तात्पर्य नै मबाट अत्तालिएका माफियाहरूको षड्यन्त्र हो भन्ने त यत्तिकै प्रस्ट छ नि ।
० तपाईंलाई अर्थमन्त्रालय नै चाहिएकोचाहिँ किन हो नि ?
– यो भ्रम रत्तिभर कसैमा नरहोस् कि म आफैं अर्थमन्त्रालय जान चाहिरहेको हुँ । अर्थमन्त्रालय जाने कुनै सोख थिएन र छैन मलाई । पाँच वर्ष अघिदेखि बनाएको एउटा सोचअनुसार काम गर्ने मनसुवा छ मेरो त । त्यो के भने कति मात्र राजश्व असुलीको काममा बसेर अर्काको तारो बनिरहने ? मैले राज्यका लागि जति नै राजश्व उठाइदिएको भए पनि आमजनताले त मेरो काम प्रत्यक्ष देख्न या अनुभूति गर्न पाएका छैनन् । त्यसैले म यस्ता ठाउँमा खटिन चाहन्छु, जहाँ राज्यका लागि केही गरेर देखाउने अवसर मिलोस् । काठमाडौं महानगरपालिकामा पनि त्यस्तो काम गरेर देखाउन सकिने ठाउँ धेरै छ । विश्वका महानगरपालिकाहरू घुमेर–हेरेर पाएको ज्ञान व्यवहारमा उतार्न चाहन्छु । जनतालाई सेवा कसरी दिनुपर्छ भन्ने सवालमा केही कल्पना मसँग छन् । वैदेशिक रोजगार विभागमा अस्तव्यस्तता छ । ७२ प्रतिशतसम्म ब्याजमा ऋण काडेर रगतपसिना नभनी गरिब युवाहरू विदेशिन आउँछन्, तर ती सब ठगीको सिकार भइरहेका छन् । त्यो निकायमा भ्रष्टाचार हुनु भनेको नेपाली जनताको रगत खानुसरह नै हो । त्यहाँको काम व्यवस्थित गरी गरिब नेपालीले ठगिनु नपर्ने स्कीमहरू मसँग छन् । यस्तोमा मलाई अर्थमन्त्रालय या सबैको तारो बन्ने ठाउँकै किन दरकार पथ्र्यो र ? वास्तविक कुरा के हो भने, म सहसचिवमा बढुवा भएँ, सामान्य प्रशासनमा हाजिर भई तपाईंको मन्त्रालय छोडेँ भनी जानकारी दिन म यसअघिको अर्थसचिव शान्तराज सुवेदीकहाँ पुगेको थिएँ । उहाँले बधाई दिँदै मलाई सोध्दैनसोधि सामान्य प्रशासन मन्त्रालयका सचिवलाई फोन गरेर ‘चार वर्षदेखि राजश्वबाट कुनै कर्मचारी बढुवा भएको छैन, यो टेक्निकल मिनिस्ट्री पनि हो, भरत सुवेदी सक्षम व्यक्ति भएकोले मलाई चाहियो, तपाईंले भरतजीलाई यहाँ खटाएर पत्र पठाइदिनुस्’ भनी फरर्र भनिदिनुभयो । उता त्यसो भनिसकेर उहाँले मलाई बोको घिसारेजस्तो गरी जवर्जस्ती अर्थमन्त्री डा. महतकहाँ लतार्दै लिएर जानुभयो । ‘म मन्त्रीज्युसँग भेट्दिनँ, मलाई राज्यले जहाँ खटाउँछ उहीँ जान्छु’ भन्दै थिएँ, तर सचिवज्यूले मन्त्रीकहाँ पु¥याइहाल्नुभयो । त्यहाँ पनि उहाँले मेरो सक्षमताको बारेमा बखान गर्नुभयो र अर्थमा ल्याउनका लागि सामान्यलाई पत्र पठाउने अनुमति माग्नुभयो । डा. महतले पनि तत्काल ‘हुन्छ नि’ भन्दै स्वीकृति दिनुभयो । मलाई अर्थमन्त्रालय खटाउने कुरा यसरी भएको हो, मेरो इच्छाले होइन ।
० मन्त्री लालबाबुलाई गलत तत्वहरूले उक्साएरै यत्रो प्रोपोगण्डा मच्चाइएको हो त ?
– हेर्नुस्, राजनीतिक नेतृत्वमाथि हामी कर्मचारीले के–कति बोल्न मिल्ने हो, कति बोल्नुपर्ने हो, हामीले चुपचाप अन्याय सहनु पर्ने हो कि केही प्रस्ट्याउन पनि मिल्ने हो, म जादिनँ । जहाँसम्म मन्त्री लालबाबु पण्डितजीको कुरा छ, मैले जानेसम्म उहाँ एउटा टेक्निकल लाइनको व्यक्ति हो । थापाथली मेकानिकल कलेजबाट ओभरसियर पास गर्न नसकेपछि बालाजु यन्त्रशाला गएर टेक्निकल्ली पास गरेको व्यक्ति हो उहाँ । चुनाव लडेर जनताबाट चुनिएर आएको जनउत्तरदायी व्यक्ति पनि होइन क्यारे ! तस्करहरू आएर ‘फलानालाई रोकिदे, म यति–उति दिउँला’ भनी उहाँलाई उक्साएको हुनसक्ने प्रसस्तै आधार देख्छु म । होइन भने उहाँजस्तो टेक्निकल मानिसलाई निजामति ऐन–कानुनबारे कति ज्ञान थियो होला र मजस्तो एउटा इमानदार कर्मचारीमाथि मात्र केन्द्रीत भई यसरी कोकोहोलो मच्चाइरहनु पथ्र्यो ? यहाँनेर म थप के भन्न चाहन्छु भने अर्बौंको सम्पत्ति भएर पनि एक रूपैयाँ राज्यलाई ट्याक्स नतिरेको एकजना हुनुहुहुन्छ शम्भु थापा, उहाँजस्ता मानिस मन्त्रीजीको कानुनी सल्लाहकार हुनुभएको छ । मलाई अर्थमन्त्रालय जानुबाट रोक्न थापाजीहरू पनि लागेका हुनसक्छन्, किनकि उहाँको फाइल पनि छानविनकै क्रममा छ अर्थमन्त्रालयमा । यदि गल्ती गर्नुभएको छैन भने किन मसँग डराउनुप¥यो उहाँहरू ? त्यसैले मैले दाबी गरेर भनिरहेको छु कि ट्याक्स छल्ने, तस्करी गर्ने, भ्रष्ट आचरण भएकाहरूको सङ्गठित समूह या माफियातन्त्र नै ममाथि एकजुट भएर खनिएको अवस्था छ । यसले मलाई व्यक्तिगत रूपमा त केही फरक पर्दैन, म कसैसँग डराउने मान्छे होइन, तर मिथ्या आरोप लगाएर मेरो बाटो छेक्दा देशलाई भने घाटा पुग्छ भन्न म हिच्किचाउँदिनँ । यो मेरो घमण्ड होइन, यथार्थ हो । खुला किताब हुँ म, जसले पनि पढ्न सक्छ ।
० आफू पार्टीमहाधिवेशनमा व्यस्त रहेको बेला छलेर कार्यवाहक प्रधानमन्त्री बामदेव गौतम र अर्थमन्त्री डा. महतले तपाईंलाई अर्थमन्त्रालय लैजाने प्रस्ताव क्याविनेटबाट पास गराएको आरोप लगाएका छन् नि सामान्यप्रशासन मन्त्रीले त ?
– प्रधानमन्त्रीय प्रणालीमा प्रधानमन्त्रीले निर्णय गरिसकेपछि प्रश्न उठाउने हैसियत मन्त्रीले राख्छ जस्तो मलाई लाग्दैन । जहाँसम्म कार्यवाहक प्रधानमन्त्री र अर्थमन्त्रीमाथि मन्त्री लालबाबुले आक्षेप लगाउनुभएको सवाल छ, बामदेव गौतम कार्यवाहक भए पनि यो निर्णय गर्दाको बखत प्रधानमन्त्रीकै ओहदामा हुनुहुन्छ । यस्तोमा उहाँमाथि नै मुद्दा हाल्छु भनि सामान्य प्रशासनमन्त्रीले भन्न मिल्ने कुरै होइन । हो, चित्त नबुझे पदबाट राजीनामा दिएर हिँड्ने अधिकारचाहिँ छ है उहाँलाई । आफूले चाहेजस्तो नहुँदा पद छोडेर बाहिरिएका मन्त्रीहरूको धेरै उदाहरण छन् हामीकहाँ । उहाँले पनि त्यही बाटो रोज्दा हुन्छ । तर, एउटा भरत सुवेदी भन्नेलाई जबर्जस्ती पिआरको पगरी गुथाएर भए पनि अर्थमन्त्रालय जान त दिन्नँ–दिन्नँ भन्ने व्यवहार देखाएर उहाँ किन आफ्नो कद छोट्याउँदै हुनुहुन्छ, ताजुब लाग्छ । मैले यदि गल्ती नै गरेको भए त उहाँले यतिबेलासम्म मेरो मुटु, कलेजो, चोक्टा–लाम्टा जम्मै खाइसक्नुहुन्थ्यो । मलाई अर्थमन्त्रालय जानुबाट रोक्न कानुनी रूपले केही छिद्र नभेटेपछि उहाँले ‘पिआर’को कुरा उठाउनुभएको हो, जुन मसँग छँदैछैन । त्यत्तिकै हल्ला मच्चाएर उहाँले आफ्नो मिटर कहाँसम्म चढाउने हो, म पनि एक सचेत नागरिकका रूपमा हेरिरहेको छु ।
० अब मन्त्री ब्याक होलान् कि तपाईंले ब्याक हुनुपर्ला त, के देख्नुहुन्छ ?
– म त ब्याक हुने या नहुने भन्ने प्रश्नै रहेन नि । राज्यको कर्मचारी हुँ, जे खटायो त्यही गर्ने हो । मेरो क्षमतालाई कहाँ कसरी प्रयोग गर्ने भन्ने त राज्यको दायित्व हो । तँ काम नगर्, बसेरै खा, राज्यलाई केही योगदान नदिएवापत नै तैँले तलब पाउँछस् भनी राज्यको कुनै निकाय या पक्षले भन्छ भने योजस्तो विडम्बना अरू के हुन सक्छ र ? सीप विकास तालिम केन्द्र पठाइएको भन्ने पत्र बनाइएको पनि सुन्छु । सीप विकासमै जा भनी चिठी दिएको भए मैले जानैपथ्र्यो, त्यो पत्र पनि दिइएको छैन । सामान्य प्रशासनमन्त्रालयको अतिरिक्त समूहमा थन्क्याइएको छ । त्यहीँ हाजिर गरिरहेको छु, तीन–चार महिनादेखि तलवै बुझ्न नपाई । दुई महिनाभन्दा बढी काम नदिई राखेमा विभागीय कारवाही हुने भनी निजामति सेवा ऐन–२०५० को १८ (ख)मा उल्लेख भएको कुरालाई उपेक्षा गरेर मलाई तीन–चार महिनादेखि त्यत्तिकै थन्क्याइएको छ । यसरी ममाथि पूर्वाग्रहवश गरिएको ज्यादतिका कारण कारवाही भोग्नुपर्ने डरले उक्त कारवाहीबाट बच्न भित्रभित्रै तालिमकेन्द्र पठाउने निर्णय गरेको बुझेको छु, तर ‘कार्यालय नै आएन, चिठी बुझ्नै मानेन’ भन्दै मलाई पत्र पनि दिइएको छैन । म विदेशी नागरिकलाई तालिमकेन्द्र पठाउने निर्णयचाहिँ किन गरेको ? सरकारी सेवामा नराखी देशनिकाला गर्नु नि विदेशीलाई ! कसैले भनेको यसले मान्दैन, कानुन छोड्दैन, तस्करलाई संरक्षण दिँदैन भनेरै मलाई यसरी प्रताडित तुल्याईंदै छ भन्ने नै मलाई लागिरहेको छ ।
० पिआरधारी कर्मचारीले स्वेच्छाले घोषणा गरुन्, नभए म कारवाही गर्छु भनेर मन्त्रीले उठाएको इश्युचाहिँ जायज हो कि होइन, तपाईंको धारणा के छ यसमा ?
– निजामति कर्मचारीलाई सरकारी आचारसंहिता या कानुनले बाँधेको छ भने उहाँले उठाएको कुरा सान्दर्भिक होला । कानुनमा त यस्तो केही छैन । कानुनले बन्देज गरेको या नगर्नु भनेको कुरा राज्यको नागरिकले नगर्ने हो । नगर्नु भनेको बाहेकको कुरा गर्न त व्यक्तिले आ–आफ्नो चाहना, रुचि र अनुकुलताअनुसार व्यक्तिगत स्वतन्त्रता उपभोग गर्छ । यही स्वतन्त्रताको उपयोग गर्ने क्रममा कसैले ग्रिन कार्ड लिएका होलान्, कसैलाई डिभी परेको होला, कसैले पिआर पाएका होलान्, कसैले भारतको राशन कार्ड हासिल गरे होलान् । यसलाई कानुन बनाएर व्यवस्थित गर्ने अधिकार सरकारलाई छ, तर निजामति कर्मचारी र त्यसमा पनि भरत सुवेदीले चाहिँ पाउँदैन भनी राज्य खनिने कुरा भने घोर पूर्वाग्रही र अन्यायपूर्ण ठहरिन्छ । मन्त्रीजी तथा उहाँका मतियारहरूको नियत त ‘भरत सुवेदीले चाहिँ पाउनु भएन, अरूका हकमा जे–जे होस्’ भनेजस्तो दर्शियो । निजामतिका हकमा मात्र नभई सेना, प्रहरी, शिक्षकमा पनि यो लागु हुनुप¥यो । किनकि, यी सबै राज्यबाटै वेतन खाने वर्ग परे । निजामति कर्मचारीलाई मात्रै ऐनमा समेट्ने कुरा गर्नु न्यायोचित हुन सक्दैन ।
० आफूबारे लागेको आरोपमाथि थप केही भन्नु छ कि ?
– ममाथि पिआरधारी भनी लगाइएको आरोपबारे पहिले नै दुईपटक लेखेर सम्बन्धित निकायलाई दिइसकेको छु । मसँग पिआर छ कि छैन, म कतिपटक विदेश गएँ, कतिपटक आएँ भन्ने सम्बन्धमा मेरो पासपोर्ट नै बोलिहाल्छ । ममाथि चार्ज गर्न खोजिएको सवालमा कुनै प्रमाण छ भने जनतासमक्ष पेस गर्नुपर्छ, कारवाही गर्न मिल्ने ठाउँ भए कारवाही गरिहाल्नुपर्छ । राज्यले आफ्नो नागरिकमाथि आरोप मात्र थोपरेर अपमानित गर्न हुँदैन । मैले कुनै पिआर–फिआर लिएको छैन । आफ्ना कटाकेटी विदेशमा पढिरहेका, काम गरिरहेका हुँदा भेट्न जाने मेरो अधिकार हो, त्यसका लागि कहिलेकाहीँ जाँदा–आउँदा सर्टटर्म भिसा लिएको हुन्छु । अहिले त तीन वर्ष जति भयो म केटाकेटी भेट्न गएको पनि छैन । नेपालीले बाहिर साधारण मुलुकमा गएर एउटा लेवरको रूपमा काम पाउनु पनि ठूलो कुरो भइसकेको अवस्थामा विकसित देशको पिआर पाउनु त अत्यन्त महत्वको कुरा हो । चाहेर पनि हामीजस्ताले कहाँ पाउनु त्यो त्यत्ति सजिलै ?! तर यहाँ त पिआर लिनु भनेको ज्यानमारेको भन्दा ठूलो अपराधका रूपमा पो ब्याख्या र व्यवहार गर्न खोजिँदै छ, म त छक्क परिरहेको छु यो ‘गरिव मानसिकता’ देखेर ।
अर्काे तजुब लाग्ने कुरा के छ भने ११ हजार नेपालीले पिआर लिएको कुरा मन्त्री लालबाबु पण्डितले गरिरहनुभएको छ । अनि यत्तिका मानिसमध्ये एउटा भरत सुवेदीकै मात्र किन नाम लिइरहनुहुन्छ उहाँ ? कि एघार हजार व्यक्तिकै नाम भरत सुवेदी हो ? यस्तो पनि लाग्छ– मानौँ मलाई नै केन्द्रीत गरेर उहाँ ऐननियम बनाउन लाग्दै हुनुहुन्छ ! यस्तो प्रपोगण्डा मच्चाएर मलाई बदनाम गराउने र आफू हिरो बन्न खोज्ने मन्त्रीको यो चाल उहाँको हितमा त छैन नै, देशकै लागि पनि अहितकारी छ । तस्करी गर्नेहरू मसँग आतङ्कित भएकोले यो सबै प्रकरण उठाइएको छ ।
० यो कुरा राज्यको सम्बन्धित निकायलाई तपाईंले बुझाउन सक्नुभएन कि बुझाउने अवसर पाउनुभएन ?
– जसले मसँग काम गरेका छन्, उनीहरूलाई बुझाउनै पर्दैन, मेरो कार्यशैली, क्षमता सबै बुझेका छन् । मसँग काम गरेका मन्त्री, सचिव र डिजीहरू सबैले मलाई इमानदार र सक्षम कर्मचारीका रूपमा चिन्दछन् । जस्तोकि, वर्षमान पुनले त विराटनगरमा भाषण नै गर्नुभयो कि भरत सुवेदीको कारणले सरकारले राजश्व संकलनमा निकै ठूलो फड्को मा¥यो भनेर । डा. बाबुराम भट्टराईले पनि बुझ्नुभएको छ मेरो कामलाई, बाटोमा भेट्दा पनि उहाँ ‘भरतजी, तपाईं बडा हिम्मतिलो कर्मचारी हो’ भनी अहिले पनि भनिरहनुहुन्छ । के उहाँहरूलाई मैले मेरो प्रशंसा गरिदिनुहोस् भनेर बोल्न लगाएको हो र ? मेरो काम र त्यसको परिणाम हेरेरै त तारिफ गर्नुभएको होला नि । डा. महतले पनि मेरो क्षमता चिनेरै होला जिम्मेवारी दिन खोज्नुभएको । यसरी जस–जसले मलाई जिम्मेवारी दिएर कार्यक्षमताको परख गरेका छन्, उनीहरूलाई म के–कस्तो हुँ भन्ने थाहा छ । तर, जो यो मुलुकलाई लुटेर खान पल्किएका छन्, तिनले मलाई बाधक नै देख्छन्, मलाई देखिसहँदैनन् । कुन नाकामा के–कस्तो धन्दा चल्छ, कुन प्रहरीले के गरिरहेछ, कुन कर्मचारीको कोसँग साँठगाँठ छ, कुन नेताले कसरी आफ्नो दुनो सोझ्याइरहेको छ आदि कुराबारे मलाई यथेष्ट जानकारी छ । यसैले गर्दा तस्कर र देश लुटाहाहरू मसँग अत्तालिएका छन् र मलाई पन्छाउन अनेक प्रपञ्च रचिरहेका छन् । यसबारे मिडियाका साथीहरूले गम्भीरताका साथ बुझ्नुपर्ने कुरा छ । मन्त्रीले मलाई ‘विदेशी नागरिक’को आरोप लगाउनुभएको छ । ध्यान दिनुपर्ने कुरा के छ भने अर्थमन्त्रालय जानचाहिँ म ‘विदेशी नागरिक’ भएकोले नमिल्ने, तर श्रम मन्त्रालय या अर्को कुनै निकाय जानचाहिँ विदेशी नागरिक भए पनि चल्ने !? यो मुलुकको कानुनले यही भन्छ ? मलाई अर्थमन्त्रालय जान नदिएबापत उहाँहरू आफ्नो ‘मिटर’ चढाउँदै हुनुहुन्छ । प्रोपोगण्डा मच्चाएर, जनतामा के–के न हो भन्ने हौवा फैलाएर आफूलाई ‘हिरो’ बनाउन खोज्दैहुनुहुन्छ । मैले त भनिरहेकै छु कि २०–२२ वर्ष अर्थमन्त्रालय बसिसकेको व्यक्ति हुँ, मेरो कुनै रहर छैन त्यहाँ जान । तर राज्यले मेरो योग्यता देखेर जिम्मेवारी दिन चाहन्छ भने मैले अस्वीकार गर्न पनि मिल्दैन । अवकास पाइनुअघि सेवामा रहँदा हो काम गरेर देखाउने, रिटायर्ड भएपछि एउटा नागरिकका रूपमा देशप्रति अर्कै कर्तव्य हुन्छ । त्यसैले अहिले नै आफ्नो क्षमता देशहितका लागि प्रयोग गरी काम देखाउँ भन्ने रहर कुन इमानदार कर्मचारीलाई हुँदैन र ? मलाई पनि त्यो छ । तर, एकथरी मानिसहरू सधैँ मेरो छायासँग पनि तर्सिरहेको देख्दा टिठ लागेर आउँछ उनीहरूप्रति ।
हामी कर्मचारीले जति रिस्क लिएर अर्बौं राजश्व उठाइदिए पनि त्यो रकम राजनीति गर्नेहरूकै हातमा पुग्छ, अनि उनीहरूचाहिँ रकम बाँडेरै सिध्याइदिन्छन् । त्यसैले अब राजश्व उठाउनेमा भन्दा जनताले प्रत्यक्ष रूपले देख्न सक्ने काम गर्ने निकायमा गएर पौरख देखाउने रहर छ मलाई । अर्थमा जाने त मेरो रहर नै होइन । आफूसँग भएको भिजनअनुसार काम देखाउन मेरा लागि अरू पनि निकाय छन् ।
– प्रस्तुति : जयप्रकाश त्रिपाठी