झलनाथ र माधव एमाले बनाउनभन्दा ओलीलाई हराउन सक्रिय

झलनाथ र माधव एमाले बनाउनभन्दा ओलीलाई हराउन सक्रिय


mainnewsमतान्तर कम भए पनि अगाडि ओली नै
देशको प्रधानमन्त्रीसमेत भइसकेका दुई एमाले नेताहरू झलनाथ खनाल र माधव नेपालको मुख्य उद्देश्य नै ‘केपी शर्मा ओलीलाई सिध्याउन प्रयत्न गर्नु’ रहेको थप पुष्टि भएको छ । पाँच वर्षअघि बुटवल महाधिवेशन (आठौँ) मा माधव र झलनाथ मिलेर ओलीलाई पार्टी अध्यक्ष बन्नबाट जसरी रोकेका थिए नवौँ महाधिवेशनमा पनि झलनाथ र माधव मिलेर सोहीस्तरको तिकडम गरेपछि उहाँहरू दुईजनाको प्रमुख उद्देश्य नै ‘केपी ओलीलाई किनारा लगाउनु’ भएको स्पष्ट हुन पुगेको हो । झापा विद्रोहको जगमा उभिएको नेकपा एमालेले उक्त विद्रोहका मूल नेताहरूमध्ये एक सीपी मैनालीलाई धेरै अघि नै पन्छाइसकेको छ भने राधाकृष्ण मैनाली पनि झलनाथ र माधवको योजनाअनुसार खेदिएका हुन् । मोहनचन्द्र अधिकारीलाई उनीहरूले घर न घाटको बनाइदिएका छन् भने नरेश खरेल, घनेन्द्र बस्नेत र मनकुमार गौतमलगायतलाई उनीहरूको क्षमताअनुसारको जिम्मेवारी कहिल्यै दिइएन । उक्त विद्रोहका संस्थापक नेता केपी ओलीलाई पनि पार्टीको मुख्य नेता बन्नबाट रोक्न खनाल र नेपालको टोलीले निरन्तर प्रयास गर्दै आएको छ । ओली झापा विद्रोहमा संलग्न रहेका बेला बाग्लुङतिर शिक्षक जागिर खानुहुने झलनाथ खनाल र नेपाल बैंक लिमिटेडमा खरिदारसरहको खजाञ्ची पदमा रहेर काम गर्नुहुने माधवकुमार नेपालले पार्टीको प्रमुख पद सम्हाल्ने अवसर पटकपटक प्राप्त गर्नुभएको र देशको प्रधानमन्त्रीसमेत बनिसकेको भए पनि चौध वर्ष कठोर जेल सजाय भोगेका केपी ओली भने अहिलेसम्म उल्लिखित दुवै अवसरबाट वञ्चित हुनुहुन्छ । कार्यकर्तापङ्क्तिको अगाध स्नेहका कारण संसदीय दलको नेता बन्ने मौका ओलीले प्राप्त गर्नुभए पनि उहाँलाई अध्यक्ष बन्नबाट रोक्न खनाल र नेपालले बलियो गठजोड बनाउनुभएको छ । स्मरणीय छ, माधव नेपालले मदन भण्डारीको देहावसानपश्चात् पन्ध्र वर्षसम्म पार्टीको प्रमुख कार्यकारी भई महासचिवका रूपमा काम गर्नुभएको थियो भने झलनाथ खनालले ०३९ सालदेखि ०४६ सम्म महासचिवका रूपमा र पछिल्लो समयमा अध्यक्षको हैसियतले प्रमुख कार्यकारीको भूमिका निर्वाह गरिसक्नुभएको छ । पार्टी र देशको सर्वोच्च जिम्मेवारी प्राप्त गरिसकेका झलनाथ र माधव फेरि पनि केपी ओलीलाई पन्छाउन एकजुट हुँदा उहाँहरूको अमानवीय व्यवहार मात्र प्रकट भएको छैन, नेकपा एमालेको सुदृढ भविष्यसमेत सङ्कटमा पर्ने सम्भावना बढेको छ ।
झलनाथ र माधवबीचको गठबन्धन सतहमा आउनुअघि केपी ओलीको स्थिति निकै सुदृढ मानिएको थियो । प्रतिनिधि चयनपछिको प्रारम्भिक दिनहरूमा केपी ओली ६ सय ३५ मतले माधव नेपालभन्दा अगाडि देखिनुभएको थियो । झलनाथको खुला साथपछि माधव नेपालको स्थिति केही सुदृढ बन्न पुगेको छ, तर अझै पनि केपी ओलीलाई परास्त गर्ने स्थिति भने झलनाथ–माधवले बनाउन सक्नुभएको छैन । उपत्यकासमेत पन्ध्र अञ्चलमध्ये कोसी, नारायणी, महाकाली, सेती, जनकपुर, उपत्यका र बागमतीमा माधव नेपाल केपी ओलीभन्दा अगाडि देखिनुभएको छ । सबभन्दा बढी मतान्तर कोसी अञ्चलमा रहेको छ जहाँ माधव नेपाल केपी ओलीभन्दा पचास बढी मतले अगाडि हुनुहुन्छ । त्यसपछि उपत्काञ्चलमा बीस तथा बागमतीमा चार, नारायणीमा तेह्र, जनकपुरमा सात, महाकालीमा ६ र सेतीमा दश मतले माधव केपीभन्दा अगाडि रहनुभएको छ । तर, केपी ओली अगाडि रहनुभएको स्थानमा भने माधव धेरै मतले पछाडि देखिनुहुन्छ । एक सय सत्ताइस मत रहेको गण्डकीमा केपी ओलीका पक्षमा पन्चानब्बे, एक सय उनान्नब्बे मत भएको लुम्बिनीमा एक सय उनान्चालीस र एक सय चवालीस मत रहेको जनसङ्गठनमा केपीको पक्षमा चौरान्नब्बे मत भएको विश्वास गरिएको छ । त्यस्तै मेची, राप्ती, भेरी र धवलागिरीमा पनि केपी ओलीको स्थिति निकै ठूलो मतान्तरले सुदृढ रहेको छ । केन्द्रीय कमिटीका सदस्यहरूको एक सय सोह्र मतमध्ये केपीको पक्षमा छैसठ्ठी र माधवको पक्षमा छयालीस मत स्पष्ट रूपमा देखिएका छन् । यसरी हेर्दा झलनाथ र माधव एकातिर हुँदा पनि करिब दुई सय मतले केपी ओली अगाडि रहनुभएको देखिन्छ । त्यसैले कुनै अप्रत्याशित घटना भएन भने केपी ओली थोरै मतान्तरले भए पनि एमालेको अध्यक्ष बन्नुहुने सुनिश्चित भएको छ ।
मतान्तर कम हुँदै गएपछि माधव नेपालका पक्षधरहरूको सक्रियता निकै बढेको छ । प्रतिनिधिहरू बास बसेको होटल–होटलमा पुगेर माधव नेपालले केपी ओलीविरुद्ध नकारात्मक टीका–टिप्पणी गर्दै आफूलाई मतदान गर्न आग्रह गरिरहनुभएको छ । नेपाल र उहाँका समर्थकहरूले ओलीको स्वास्थ्यस्थिति कमजोर भएकोले अन्ततः पार्टीको नेतृत्व वामदेव गौतमजस्ता ‘भौँजाहा’को हातमा जाने भनेर डर देखाउँदै आफ्नो पक्षमा भोट माग्ने गरेका छन् । माधव नेपालले स्वस्थ पाखुरा देखाउँदै ओलीविरुद्ध भोट माग्नुलाई प्रतिनिधिहरूले उचित मानेका छैनन्, तथापि नेपालले ‘आफ्नो स्टे«न्थ’का रूपमा ‘पाखुरा’ देखाउन छोड्नुभएको छैन । एमाले महाधिवेशनका प्रतिनिधिहरूमा यसपटक ओलीलाई अध्यक्ष बनाइछाड्ने दृढता देखिएको छ । बरु महासचिव पदमा भने ईश्वर पोखरेलभन्दा सुरेन्द्र पाण्डे अगाडि रहनुभएको अनुमान गर्न थालिएको छ । अध्यक्षमा ओलीलाई चयन गरेर महासचिवमा सुरेन्द्र विजयी बनाउँदा पार्टीको आन्तरिक सन्तुलन मजबुत हुने प्रतिनिधिहरूको विश्वास भएकोले पनि पाण्डे महासचिवमा विजयी बन्ने सम्भावना बढेको हो ।
असार २५ गतेसम्म चल्ने भनिएकोमा महाधिवेशन थप एक वा दुई दिन लम्बिन सक्ने सम्भावना छ । महाधिवेशनमा प्रस्तुत प्रतिवेदनमाथि टोलीनेताहरूद्वारा आफ्नो मन्तव्य राख्ने क्रम जारी छ र बुधबार (२५ असार) सम्म यो क्रम जारी रहने बताइन्छ । टोलीनेताहरूद्वारा अभिमत प्रकट गर्ने क्रम अन्त्य भएपछि विधान तथा प्रतिवेदन पारित हुने र त्यसपछि मात्र मतदानको प्रक्रिया सुरु हुनेछ । मतदानमा मेसिन (इलेक्ट्रिक भोटिङ) प्रयोग गर्ने सम्पूर्ण तयारी भइसकेपछि माधव नेपाल र उहाँका पक्षधरहरूले मेसिनमार्फत भोटिङ गर्ने कुुराको विरोध गरेका छन् । मेसिनमार्फत भोटिङ हुँदा निष्पक्ष हुने र निष्पक्ष हुँदा आफू पराजित हुनसक्ने ठानेर माधव पक्षले इलेक्ट्रिक भोटिङ मेसिनको प्रयोगप्रति असहमति जनाएको बताइन्छ । बुटवल महाधिवेशनमा झलनाथमाथि धाँधली गरेको आरोप लागेको थियो, यो महाधिवेशनमा सम्भावित धाँधली रोक्न ओली पक्षले सक्ने हो या होइन चिन्ताको विषय बनेको छ ।