कर्णालीको एउटा बेग्लै कथा

कर्णालीको एउटा बेग्लै कथा


nisedhसन् २००५ को कुरा हो, बेल्जियमको राजधानी ब्रसेल्स जाँदै गर्दा म्युनिख (जर्मनी)को ट्रान्जिटमा भेटिएकी एक युरोपियन महिलाले मेरो छेउमा आएर ‘तिमी नेपाली हो ?’ भनिन् । मलाई अचम्म लाग्यो ‘कसरी चिनिन् तिनले ?’ प्रश्न गर्न नपाउँदै उनले भनिन्, ‘तिम्रो नाकको फुली र अरू कुराले तिमी नेपाली हौ जस्तो लागेर बोलाएकी ।’ उनी नेपालबाट आफ्नो देश फर्कंदै रहिछिन् । कुराकानीकै क्रममा सोधिन्, ‘कर्णाली गएकी छौ ?’ मैले ‘गएको छैन’ भनेपछि उनले मुख खुम्च्याउँदै भनिन्, ‘नेपाली भएर आफ्नो देशको त्यस्तो महत्वपूर्ण ठाउँमा पुगेको छैनौ ?’ ब्रसेल्स पुग्न सक्ने कर्णाली पुग्न नसक्ने ? भन्ने शैलीमा उनले त्यसो भन्दा मलाई अलि अप्ठ्यारो लागेर भनेकी थिएँ– अब यहाँबाट फर्किएर जाने हो । त्यसबीचमा काठमाडांैमा बसेर कर्णालीको बारेमा धेरै कुरा सुनियो । तर, पुग्न भने सकिएको थिएन । ‘अब चाँडै जाने हो’ भनेको नौ वर्षपछि गत हप्ता कर्णालीको प्रवेशद्वारको रूपमा चिनिने कालिकोटबाट फर्कंदै गर्दा म बाटोमा सोचिरहेकी थिएँ–कर्णाली नटेकेको भए मैले जीवनमा ठूलै कुरा ‘मिस’ गर्ने रहेछु । आफ्नो देश कतिसम्म सुन्दर छ भन्नेदेखि लिएर ती दूरगाउँहरूमा के–कस्ता सांस्कृतिक अभ्यासहरू छन्, अन्धविश्वासले कतिसम्म जरा गाडेको छ हुँदै स्थानीयहरूमा एकता नहुँदा विकासका कुराहरू कसरी छायामा पर्छन् र सर्वसाधारणले दुःख पाउँछन् भन्नेसम्मका अनेक कुरा कर्णालीसँग छन् । त्यसो त मुलुकका अरू ठाउँमा पनि यसप्रकारका कुरा नभएका होइनन् तर कर्णालीमा भने अलि अचम्मै लाग्ने खालका अभ्यास जारी रहेछन् । कर्णाली नदीजस्तै गहिरा कतिपय मूल्य–मान्यतालाई छिमोल्न कहाँबाट सुरु गर्ने हो, कसरी गर्ने हो भनेर सोच्दा खै यही जुनीमा होला र ? जस्तो पनि लाग्छ । बदल्नका लागि सबैभन्दा गाह्रो मानवीय प्रवृत्ति हो, त्यही एटिच्युडको समस्या धेरै छ कर्णालीमा । निदाउनेभन्दा निदाएको जस्तो गर्नेहरूको सङ्ख्या जब धेरै हुन्छ, तिनलाई जगाएर केही गराउन निश्चय नै गाह्रो हुन्छ । यसको प्रत्यक्ष असर सर्वसाधारणलाई परिरहेको छ ।
विगत एक वर्षदेखि कालिकोटमा बिजुलीबत्ती छैन । राजधानी मान्मा साँझ परेपछि अँध्यारो हुन्छ र एकैपल्ट बिहानीको उज्यालोसँगै उज्यालो हुन्छ । राजनीतिक दलका सबै नेताले चाहेका भए एक वर्षअघि पहिरोमा परेको पावरहाउस जस्ताको तस्तै बनेर मान्मा बजार र वरिपरिका गाउँ झलमल्ल हुने थिए । तर, राजनीतिक दलपिच्छेका ठेकेदारहरूमा एकथरीले ठेक्का पाए अर्कोले मुद्दा हाल्ने, अर्कोले पाए अर्कोले हाल्ने गर्दागर्दै अहिलेसम्म पुनर्निर्माणको सुरुवातसमेत हुन सकेको छैन । राजनीतिक दलहरूबीच मेलमिलाप नहुँदा विकास योजनाहरू जस्ताको तस्तै कार्यान्वयन हुन सकेका छैनन् । जसोतसो बाटो भने बन्ने क्रममा छ । सबै मिलेर सडक निर्माणका नाममा छुट्टिएको रकमको सदुपयोग गर्न सकेको भए कर्णाली राजमार्गको रूप अहिले बेग्लै भइसक्ने थियो । यदि यो राजमार्ग राम्रो बनेमा हिमालपारि मानिने कर्णाली टेक्न सुर्खेतबाट पाँच घन्टाभन्दा बढी लाग्दैन । त्यसपछि राम्रो बाटोसँगसँगै राम्रा–नराम्रा धेरै कुरा कालिकोट पुग्नेछन् । तर, बाहिरबाट जे–जति कुरा पुगे पनि प्रवृत्तिगत सुधार भने कालिकोटवासी आफैँले गर्नुपर्नेछ । कर्णालीमा अहिले पनि सरकार र गैरसरकारी क्षेत्रबाट ठूलो लगानी भएको छ । लगानीअनुसारको प्रतिफल भने छैन । जिल्लाभरि छरिएर रहेका स्कुलहरू ठाउँठाउँमा छन्, तर शिक्षाको गुणस्तर ज्यादै कमजोर छ । राम्रो शिक्षा दिलाउन जबसम्म शिक्षकमा जागरुकता आउँदैन तबसम्म शिक्षाको गुणस्तर बढ्न गाह्रो छ । आफू पढाउन नजाने, अरूलाई खेतालाको रूपमा पढ्न पठाउने शिक्षक धेरै रहेछन् । यदि यस्तो कुरामा अनुगमन गरेर कारबाही गर्ने परिपाटी भएको भए शिक्षाको हालत पक्कै पनि सुध्रिने थियो । अभिभावकहरूमा पनि छलछामको प्रवृत्ति कम छैन । खाजाभत्ता पाउने कारणले एउटा बच्चालाई तीनवटासम्म स्कुलमा भर्ना गरिदिने चलन पनि रहेछ ।
हरेक कुरा अरूले गरिदिनुपर्छ भन्ने मान्यता स्थापित हुँदै जाँदा गाउँघरमा तरकारी खेतीलगायतका कुराहरू पनि गर्ने चलन रहेनछ । करेसाबारीमा तरकारी लाउन छाडेर भारतबाट नेपालगन्ज, सुर्खेत हुँदै आएको दाल, तरकारीले निकै भाउ पाउने गर्छ । चामलको भातबाहेक फापर, कोदोलगायतका कुरालाई अन्न नमानिदिँदा कुपोषणको असर पनि त्यत्तिकै छ । मुलुकका अन्य स्थानमा हेरेर सफासुग्घर बस्ने चलन पनि धेरै कम छ । गाउँगाउँमा गएर काम गर्ने व्यक्तिहरूका अनुसार बिहान उठेर मुख धुने, घर सफा गर्ने, भाँडाकुँडा सफा गर्ने, नुहाउनेजस्ता कुरासँग पूजाआजा या पाठपूजाको गहिरो सम्बन्ध हुने रहेछ । आ–आफ्नो चलनअनुसार बिहान पूजापाठ गर्नेहरूले पूजाकै लागि पनि आफूलाई उक्त सिस्टममा ढाल्ने रहेछन् । तर, कालिकोटमा बिहान पूजा गर्ने चलन नै नहुँदा गर्नैपर्ने नित्य कुराहरू पनि नहुने रहेछन् । सुग्घर, सफा र धर्मका बीच ठूलो सम्बन्ध रहेछ भन्ने कुराको जानकारी पनि कालिकोट पुगेर भयो । बेलाबेलामा हुने जात्रा (जहाँ धामी नाचिन्छ) मा भने ठूलो आकर्षण छ । तरकारी मात्रै होइन, फूल पनि रोप्ने चलन छैन । कोही नयाँ मान्छे जिल्ला पुग्दा सम्बन्धित अधिकारीहरूले धुपीका पातको माला गाँसेर लगाइदिने गरेका छन् ।
प्राकृतिक रूपमा दैवी प्रकोपबाट बच्नका लागि कालिकोटमा गर्नुपर्ने कुरा धेरै छन् । सदरमुकाम मान्मा आफँै दैवी प्रकोपको जोखिममा छ । तर, विपत् व्यवस्थापनमा सक्रिय सशस्त्र प्रहरी बल कालिकोटमा छैन । यसप्रकारको संवेदनशील ठाउँमा सशस्त्र प्रहरी बलको दह्रो उपस्थिति आवश्यक छ । लैङ्गिक र जातीय विभेद धेरै छ कालिकोटमा । लैङ्गिक हिंसाका अनेक रूपहरूमध्ये रक्सी खाएर श्रीमतीलाई कुटपिट गर्नु सामान्यझैं मानिन्छ । रक्सीको खपत धेरै नै छ । यतिसम्म कि व्यापार–व्यवसाय गर्नका लागि क्षेत्री–बाहुनका घरमा पनि रक्सी बन्दोरहेछ । क्षेत्री–बाहुनले रक्सी खाए पनि अन्य क्षेत्रमा सामान्यतया घरमा पकाउने चलन भने हुँदैन । कामको बोझ र उचित पोषणको अभावले महिलाको उमेर दोब्बरभन्दा बढी झैं देखिन्छ । त्यसमा पनि सुत्केरी अवस्थामा पोषिलो खानाको अभाव र चर्को कामका कारण धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित छन् । महिनावारी (छाउ) हुँदा महिलालाई दूध–दहीलगायतका खानेकुरा खान दिइँदैन र छाउ गोठमा राखिन्छ । छाउ गोठ नबनाएकाहरूले गाईवस्तुकै गोठमा राख्ने गर्छन् । घरमा बच्चा जन्मिँदा छोरा भए बन्दुक पड्काएर हर्षबढाइँ गर्ने र छोरी भए चुपचाप बस्ने चलन रहेछ । छोरीको न्वारान पनि गरिँदैन । जन्मिँदैदेखि विभेदमा परेका महिला चरम विभेद र हिंसाकै बीचमा आङमा कहिल्यै घाम नलागीकनै यो संसार छोडेर जाने गरेका छन् । यसका अलावा राम्रा कुराहरू पनि धेरै छन कालिकोटमा । कतिपय मानिस यति सिर्जनशील छन् कि कुनै पनि घटना–प्रसङ्गलाई कवितामा ढालिदिन सक्छन्, तर साहित्यिक कार्यक्रमहरू भने जिल्लामा हुँदैनन् । कालिकोटवासीहरूले देउडालगायतका गीत गाउँदा स्वर घाँटी हुँदै मुखबाट होइन सीधै मनबाट निस्कन्छ । त्यस्ता प्रतिभाले ठाउँ पाएका छैनन् । कर्णालीका नाममा काम गर्ने साहुजी–साहुनीहरूमध्ये धेरैका घर सुर्खेत, नेपालगन्ज र काठमाडौंतिर बनिसके । तर, कर्णालीवासी सर्वसाधारणको जीवनमा भने खासै परिवर्तन आउन सकेको छैन । साँच्चिकै निदाएका मान्छेहरू धेरै छन्, तर निदाएजस्तो गर्नेहरूले तिनलाई उठाउन दिइरहेका छैनन् ।